एमसीसी पास गरेर सभामुख र सरकार दुवै जोगायौँ : प्रचण्ड

एमसीसीकै कारण सत्ता गठबन्धन टुक्रिने र सरकारबाट बिदा हुनुपर्ने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसीसी पास गरेको प्रचण्डको भनाइ छ।

नेपालभ्युज

एमसीसी पास गरेर सभामुख र सरकार दुवै जोगायौँ : प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेर प्राप्त उपलब्धीहरु जोगाएको बताएका छन्।

सिन्धुलीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले धेरै सोचेर एमसीसी पास गर्ने निर्णय गरेको बताए। एमसीसीकै कारण पप्त उपलब्धीहरु गुम्ले स्थिति देखिएपछि आफूले पास गर्ने निर्णय गरेको उनले बताए।

एमसीसीकै कारण सत्ता गठबन्धन टुक्रिने र सरकारबाट बिदा हुनुपर्ने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसीसी पास गरेको प्रचण्डको भनाइ छ।

एमसीसीको पक्षमा मतदान नगरेको अवस्थामा सरकार छाड्नुपर्ने र सभामुख अग्नि सापकोटाको समेत पद जाने अवस्था देखिएको भन्दै प्रचण्डले व्याख्यात्मक घोषणाको उपाय निकालेर एमसीसीको पक्षमा गएको बताए।

एमसीसीमा पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने र शान्ति सम्झौता पनि जाने अवस्था आएको प्रचण्डको भनाइ थियो।

प्रचण्डले अब सबै पार्टी पंक्ति स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने बताए। भने, “हिजो हामी जसरी रेकी, पेट्रोल, आइएन्टी टिम बनाएर सेनासँग युद्ध लडेका थियौं, जनताका घरघरमा गएर उनीहरूलाई हलो जोत्न, भारी बोक्न सघाउँथ्यौं, जनताले पिरमर्का बुझ्ने माओवादी हो भन्ने बुझ्थे, अहिले त्यो फेरि बुझाउन जरुरी छ।”

प्रतिगमनकारी शक्तिहरू अहिले पनि संविधान र लोकतन्त्रको विनाश गर्न लागिरहेका भन्दै उनले खतरा अझै नटरेको बताए। प्रचण्डले आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्ने संकल्प गर्न पनि कार्यकर्तालाई अनुरोध गरे।

प्रचण्डले यो निर्वाचनलाई सामान्य नठान्न पनि कार्यकर्तालाई आग्रह गरे। “एउटाले जित्छ, अर्कोले हार्छ भनेजस्तो यो निर्वाचन होइन, यो निर्वाचन हामीले हार्‍यौं भने संविधान हार्छ। गणतन्त्र खतरामा छ। हामीले हारे जनयुद्धको उपलब्धि र शान्ति प्रक्रिया हार्दैछ,” प्रचण्डले भने, “यो ब्याटल हो, लडाइँ हो, जित्नैपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved