रङ खेल्दा सचेत हुनुहोस्, नत्र देखिन सक्छ गम्भीर समस्या

नेपालभ्युज

रङ खेल्दा सचेत हुनुहोस्, नत्र देखिन सक्छ गम्भीर समस्या

काठमाडौं। आज काठमाडौं उपत्यकासहित देशका पहाडी जिल्लामा रङहरूको पर्व होली मनाइँदैछ। रङ मन पराउनेहरूका लागि यो उल्लासको पर्व हो। तर रङहरूसँग रमाउँदै गर्दा रङले पार्ने असरबारे बिर्सिन भने हुँदैन।

सामान्यतया रङ ‘केमिकल’ मिसाएर बनाइन्छ। अझ पछिल्लो समय बजारमा होली लक्षित केमिकल मिसाइएको रङको बिक्री र प्रयोग पनि बढेको पाइन्छ। होलीमा प्रयोग गरिने रङहरू रसायनिक वस्तु हुन्। जसले शरीरमा गम्भीर असरसम्म गर्ने स्वास्थ्यविद्हरू बताउँछन्।

होलीमा मुख्यतः प्रयोग गरिने रातो रङमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रसायनिक तत्वहरू हुन्छन्।

यस्ता केमिकलयुक्त रङहरूले छाला, आँखा, कान लगायत शरीरका विभिन्न भागमा असर पुर्‍याउँछन्। केमिकल मिसाएर बनेका रङ हानिकारक हुन सक्छन्। केमिकलयुक्त यी रङ शरीरमा परेपछि एलर्जी हुनसक्छ, कुन रङले कस्ता व्यक्तिलाई कति असर गर्छ भन्ने कुरा फरक पर्छ।

कसैलाई रातो, नीलो, हरियो र गुलाबी रङले बढी असर गरेर पूरै शरीरभर सुनिने गरी एलर्जी ल्याउँछ भने केहीमा रातो डाबर मात्र निकाल्ने गर्छ। केहीलाई निकै चिलाउने समस्या पनि निम्त्याउन सक्छ।

त्यस्तै, रङहरू कारणवश खाने नलीमा पस्यो भने, चक्कर आउने, बान्ता हुने, पेट दुख्ने जस्ता समस्याहरू पनि देखिन सक्छ। होलीमा कडा खालको रङ मिसिएको तेलको प्रयोग पनि बढेको पाइन्छ। त्यसमा अझै बढी केमिकल र एसिड मिसाइएकाले त्यसले शरीरमा असर पार्नसक्छ।

कडा केमिकल मिसाइएको तेल शरीरबाट सजिलै नछुट्ने, छाला जल्ने , छाला कडा पार्दै लैजाने जस्ता समस्या पनि देखिन सक्छन्। यसबाहेक घाउ चोटपटक लागेको छ भने छालामा लामो समयसम्म दाग पनि देखिनसक्छ।

होलीमा कस्तो रङ छनोट गर्ने?

सकेसम्म धेरै रङको प्रयोग नगरेर होली खेलेको राम्रो हुन्छ। यदि खेल्नै परे पनि फूल, वनस्पती र प्राकृतिक रूपबाट बनेका, कम केमिकलयुक्त रङहरू बजारमा उपलब्ध छन् ती रङको प्रयोग गर्ने।

वनस्पतीबाट बनाइएका रङहरू धेरै चहकिला हुदैनन् यस्तो कम चहकिला रङहरू शरीरमा परे पनि एलर्जी हुँदैन।
सुख्खा छालामा रङ पर्दा सबैभन्दा बढी असर गर्ने भएकाले रङ खेल्नु भन्दा पहिला शरीरभर, सनस्क्रिन लगाउनु पर्ने हुन्छ जसले एलर्जी हुने समस्यालाई कम गर्छ।

त्यस्तै होली खेल्नुपूर्व कपालमा तेल लगाउने, सनस्क्रिन लोसन लगाउने, छालामा मोस्चराइजर लोसन लगाउने, पुरै शरीर ढाकिनेगरी लुगाउनुपर्छ।

खासगरी बालबालिका र गर्भवतीको छाला बढी सेन्सेटिभ हुने भएकाले केमीकल मिसिएका रङले उनीहरूलाई निकै असर पुर्‍याउन सक्छ त्यसकारण विशेष ख्याल राख्नु पर्ने हुन्छ।

बजारमा पाइने चहकिला रङमा सिलिका, शिशाका कण, क्रोमियम, कपर, पारो, आइरन, जस्ता केमिकलहरू मिसाइएको हुन्छ। जसले छाला सुख्खा र खस्रो बनाउँने, एलर्जी, छालाको क्यान्सर, दम, आँखामा असर, मृगौला, कलेजो र श्वासप्रश्वासमा असर गर्दछ।

(छालारोग विशेषज्ञ डा. लैला लामासँग नेपालभ्यूजकर्मी समृद्धा केसीले गरेको कुराकानीमा आधारित)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved