उपभोक्ताको ढाड सेक्ने गरी बढ्यो महँगी तर राष्ट्र बैंकले थोरै देखाउँछ

आम मानिसको दैनिकी र बजार भाउसँग प्रत्यक्ष सम्बन्ध पेट्रोलियम पदार्थको भाउ छोइनसक्नु भइसकेको छ। उपभोक्ताले उपभोग गर्नुपर्ने सेवा तथा वस्तु उपभोगमा ‘ढाड सेकिने’ गरी चर्किएको मूल्य वृद्धिको सूचक चाहिँ किन कम देखिन्छ त ? राष्ट्र बैंकका पूर्व डेपुटीगभर्नर चिन्तामणि शिवाकोटीले भने, “राष्ट्र बैंकको बजार मूल्यांकन गर्ने विधिमै हेरफेर गर्नुपर्छ ।”

उपभोक्ताको ढाड सेक्ने गरी बढ्यो महँगी तर राष्ट्र बैंकले थोरै देखाउँछ

काठमाडौं। नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा लाग्छ- नेपालमा महँगी खासै बढेको छैन। माघ महीनामा यो छ प्रतिशतभन्दा तल छ जुन सामान्य नै मानिन्छ तर बजार भाउले भन्छ- महँगी असामान्य छ। बजारको महँगी राष्ट्र बैंकको तथ्यांकले देखाएको भन्दा असाध्यै धेरै छ।

राष्ट्र बैंकले हरेक महीना निकाल्ने मुद्रास्फीति दरले बजारको मूल्य वृद्धिको मापन गर्छ। अर्थशास्त्रको भाषामा सर्वसाधारणले उपभोग गर्ने वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्थालाई मुद्रास्फीति भनिन्छ।

मुद्रास्फीतिको अर्थशास्त्रीय परिभाषाले मुद्रास्फीतिले बजारको मूल्यको मापन गर्नुपर्ने हो। तर, नेपाल राष्ट्र बैंकले हरेक महीना निकाल्ने मुद्रास्फीतिको मापनले बजारको वास्तविकता मापन गर्न नसकेको अर्थशास्त्रीहरू बताउँछन्।

तथ्यांकले नसमेट्ने यत्रो महँगी

चालू आर्थिक वर्षको सातौँ महीना- माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत कायम छ। गत वर्षको माघ महीनामा यो दर २.७० प्रतिशत मात्रै थियो।

माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत छ।

अर्थशास्त्री गोविन्द नेपाल राष्ट्र बैंकको तथ्यांक विश्वासयोग्य नभएको बताउँछन्। उनले भने, “हाम्रो तथ्यांक नै विश्वासयोग्य छैन किनभने ५ देखि १० प्रतिशतको मुद्रास्फीति त्यति धेरै होइन तर बजारमूल्य अनियन्त्रित छ।” उनले यो अङ्कको मुद्रास्फीति कायम हुँदा बजार यति धेरै अनियन्त्रित रूपमा बढ्नु नपर्ने बताए।
बजारमा दैनिक उपभोग्य वस्तुको भाउ अनियन्त्रित रूपमा बढेको छ। गत वर्षको अन्तिममा १४ सयदेखि १६ सयसम्म रहेको २५ केजी चामलको मूल्य १६ सयदेखि २१ सयसम्म पुगेको खुद्रा व्यापार संघको तथ्यांक छ।

संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार, दिनहुँ नेपालीका भान्सा र दैनिक उपभोग्य खाद्यवस्तु निकै महङ्गिएका छन्। पछिल्लो दिनमा खानेतेलको निकै महङ्गो भएको छ। रसिया-युक्रेन युद्धका कारण खानेतेलको मूल्यमा झनै बढेको छ।

गत वर्षको दशैँपछि तेल मिलहरूले प्रतिलिटर अधिकतम खुद्रा मूल्य २४० देखि २६० रुपैयाँसम्म बनाएका थिए। अहिले तेलको खुद्रा मूल्य २५० देखि २९० प्रतिलिटर पुगिसकेको छ।

तरकारी, मासु, अण्डाको मूल्यमा पनि २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। निर्माण सामग्रीको भाउ निकै अकाशिएर निर्माण व्यवसायी पनि काम अघि बढाउन नसक्ने अवस्थामा पुगेका छन्।

महँगी मापन विधिमै प्रश्न

आम मानिसको दैनिकी र बजार भाउसँग प्रत्यक्ष सम्बन्ध पेट्रोलियम पदार्थको भाउ छोइनसक्नु भइसकेको छ। आम उपभोक्ताले उपभोग गर्नुपर्ने सेवा तथा वस्तु उपभोगमा ‘ढाड सेकिने’ गरी चर्किएको मूल्यवृद्धिको सूचक चाहिँ किन कम देखिन्छ त ? राष्ट्र बैंकका पूर्व डेपुटीगभर्नर चिन्तामणि शिवाकोटीले भने, “राष्ट्र बैंकको बजार मूल्यांकन गर्ने विधिमै हेरफेर गर्नुपर्छ।”

त्यसो त चालू आर्थिक वर्षमा गत आव २०७७/०७८ को भन्दा मुद्रास्फीति दर बढेको नै देखिन्छ। गत आवको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशतमा कायम थियो।

गत मंसिर महीनामा त मुद्रास्फीति झन ७.११ प्रतिशत पुगेको थियो। तर, बजारमा देखिएको महँगीको तुलनामा भने यो मापनले नछोएको अर्थशास्त्रीहरूको दाबी छ।

मुद्रास्फीतिले बजारमूल्य मापन गर्ने हुँदा कम गतिमा भएको मूल्य वृद्धिलाई उपभोक्ताले महसुस गर्नुपर्ने भए पनि सरकारी तथ्यांकले वास्तविकता महशुस गर्न नसकेको नेपाल राष्ट्र बैंकका भूतपूर्व डेपुटीगभर्नर शिवाकोटीको बुझाइ छ।

“सरकारी तथ्यांकमा देखिएको मुद्रास्फीति तथ्यांकमा मात्रै सीमित हुन पुग्यो। महामारीको चपेटाबाट विस्तारै उठ्दै गरेका उपभोक्ताले चर्को मूल्यवृद्धिको मारमै रहनुपरेको छ,” पूर्व डेपुटीगभर्नर शिवाकोटीले भने, “बजार मूल्यांकन गर्ने विधि नै ठीक छैन।”

मुद्रास्फीतिको मापनका लागि राष्ट्र बैंकले तोक्ने गरेका प्रतिनिधिमूलक बजारबाटै सत्य कुरो नआउँदा यस्तो समस्या भएको बताउँदै शिवाकोटीले भने, “हाम्रा प्रतिनिधिमूलक बजारबाटै सत्य कुरा आउँदैन। तथ्य जाँच पनि हुँदैन। आवधिक रूपमा आएका मूल्यलाई आधार मानी तथ्यांक निकालिन्छ। सही कुरा नै आउँदैन।”

वर्षौंदेखि आइरहेका यस्ता तथ्यांकले जनताको वास्तविकता समेट्न नसकेको बताउँदै शिवाकोटीले मुद्रास्फीति निकालेदेखि नै तथ्यांकहरूले खास उपभोक्ताको अवस्था समेट्न नसकेको दाबी गरे।

यसरी निकालिन्छ मुद्रास्फीति

नेपाल राष्ट्र बैंकले आवधिक रूपमा केही नमूना स्थानीय तहमा गइ पारिवारिक बजेट सर्वेक्षण गर्छ। सो सर्वेक्षणमा कुनै पनि घरपरिवारले किन्ने वस्तु तथा सेवाको छनौट गरिन्छ।

सर्वेक्षणमा अधिकांश घरपरिवारको बढी छनोटमा पर्ने वस्तु तथा सेवाको छनोट गर्ने गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।
वस्तु र सेवा छानेपछि उपभोक्ता मूल्य सूचकांक गणनाका लागि प्रतिनिधिमूलक बजार केन्द्र तोकिन्छन्। राष्ट्र बैंककाअनुसार अहिले २९ ओटा ग्रामीण तथा ३१ ओटा सहरी गरी ६० बजार केन्द्र तोकिएको छ।

पारिवारिक सर्वोक्षणबाट छानिएका वस्तु तथा सेवाहरूलाई निर्धारित बजार केन्द्रबाट मूल्य संकलन गरिन्छ। त्यहाँबाट सूत्रका आधारमा मुद्रास्फीति निकालिन्छ।

उक्त सूत्रअनुसार कुनै एक समूहको तोकिएको अवधिको शुरुवाती मूल्यलाई अन्तिम मुल्यबाट घटाइन्छ। उक्त नतिजालाई शुरूवाती मितिले भाग गरी १०० ले गुणा गरी मुद्रास्फीति निकालिन्छ।

अहिले नेपाल राष्ट्र बैंकले पारिवारिक बजेट सर्वेक्षण २०७०/०७१ ले मुद्रास्फीतिका आधारमा मुद्रास्फीति निकालिन्छ। उक्त पाँचौं बजेट सर्वेक्षणका आधारमा राष्ट्र बैंकले ४९६ ओटा वस्तु तथा सेवालाई मूल्यांकन गर्छ। उक्त सर्वेक्षणले छनोट गरेका वस्तुमा १६२ ओटा खाद्यवस्तु, १४ ओटा पेय पदार्थ र ३ सय २० ओटा गैरखाद्यवस्तु राखिएका छन्। राष्ट्र बैंकका अनुसार छनौटमा परेका बजार केन्द्रहरूबाट साप्ताहिक, मासिक तथा त्रैमासिक रूपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिन्छ। यसरी मूल्य संकलनका लागि राष्ट्र बैंकले केही शिक्षकलाई जिम्मा दिएको छ।

यसरी मूल्य संकलन गर्दा वास्तविकता नआउने अर्थशास्त्रीहरूको दाबी छ। राष्ट्र बैंकले भने बजेट सर्वेक्षणले छानेका वस्तु तथा सेवाले आम उपभोक्ताको ९५ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने भएकाले मुद्रास्फीतिको सुत्रमा समस्या नभएको बताउने गरेको छ।

मुद्रास्फीति र मूल्यवृद्धि

अर्थशास्त्रीय परिभाषाअनुसार मुद्रास्फीति नै मूल्यवृद्धि भने होइन। मुद्रास्फीतिले आममानिसले दैनिक तथा आवधिक रूपमा उपभोग गर्ने वस्तु तथा सेवाहरूको औसत मूल्यस्तरमा भएको निरन्तर मूल्यवृद्धिको अवस्था हो।

मुद्रास्फीतिले समग्र मूल्यवृद्धिको गतिलाई चित्रण गर्ने गर्छ। बजारमा केहीको मूल्य घटे पनि बजारमा धेरैजसो वस्तु र सेवाको लगातार मूल्यवृद्धि भएको अवस्थालाई मुद्रास्फीति भनिन्छ।

मानिससँगै पैसा बढी भएको बेला मागअनुसारको आपुर्ति नहुँदा पनि मुद्रास्फीति हुन्छ। यस्तो बेलामा पैसाको अवमूल्यन हुन्छ।

मुद्रा नै कमजोर हुँदा थोरै वस्तुका लागि धेरै पैसा तिर्नुपर्ने हुन्छ। यसको अर्थ मुद्रा बढेर बजार महँगो हुने नभइ मागअनुसार उत्पादन र आप”र्ति हुन नसकेर पैसा कमजोर बन्न जाने हो।

अर्थशास्त्रको सामान्य सिद्दान्तकाअनुसार माग र उत्पादनका आधारमा आपुर्ति हुने हो। अर्थात् माग जति बढ्यो आपूर्ति बढाउनुका लागि उत्पादन पनि बढाउनुपर्छ तर यही आपूर्ति उत्पादन कम भएका कारण कम भयो भने मूल्य बृद्धि हुने हो।

उदाहरणका लागि बजारमा आलु धेरै भएको बेला जताततै आलु पाइन्छ। तुलनात्मक रूपमा पर्याप्त आपूर्ति हुने हुँदा आलुको मूल्य स्थिर हुन्छ। तर, बजारमा आलु कम हुन थाल्यो भने माग बढ्न थाल्छ तर आपूर्ति हुन सक्दैन। यस्तो बेला मूल्य बढ्न जान्छ। मुद्रास्फीतिले निश्चित अवधिमा यही मूल्यवृद्धिको अवस्था जनाउँछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved