समयमै उपचार पाए निको हुन्छन् छारे रोग लागेका बालबालिका

विश्व स्वास्थ्य संगठनले विश्वभर करिब पाँच करोड मानिसहरू छारे रोगबाट पीडित भएको अनुमान गरेको छ। त्यस्तै हरेक वर्ष नेपालमा पनि छारे रोगको संख्या बढ्दै गइरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका तथ्यांक अधिकृत पुष्प श्रेष्ठले बताए।

समयमै उपचार पाए निको हुन्छन् छारे रोग लागेका बालबालिका

काठमाडौं। झापाका १२ वर्षीय निसान (नाम परिवर्तित) पाँच वर्षका हुँदा खेल्दाखेल्दै एक्कासि बेहोस भए। उनको शरीर काँप्यो। मुखबाट र्‍याल बग्यो। खेल्दाखेल्दैको छोरा बेहोस भएर ढलेपछि दौडेर समाउन पुगेकी आमा पुष्पालाई सासूले ‘छुन हुँदैन’ भन्दै रोकिन्।

दुई छोराछोरी हुर्काइसकेकी पुष्पाले अरु सन्तानमा यस्तो समस्या देखेकी थिइनन्। विचलित हुनु स्वाभाविक नै थियो। उनी छोरालाई उपचारका लागि अस्पताल लैजान चाहन्थिन् तर परिवारजनले झारफुक गर्ने भन्दै रोके।

“झारफुक गर्नेले केके लागेको भने। लगातार एक हप्तासम्म फुक्न लगियो। एक महीनासम्म बाबुलाई केही भएन तर एक महीनापछि फेरि पहिलेकै जस्तै भए, म घरमा नभएको बेला बेहोस भएछ”, उनले सुनाइन्।

झारफुक गर्दा निको नभएपछि परिवारसँग जिद्दी गरेरै अस्पताल लगेको उनले बताइन्। अस्पताल लगेपछि उनले छोरालाई छारे भएको थाहा पाइन्। तर परिवारले उपचारभन्दा पनि झारफुकमै जोड दियो।

“जता लगे पनि छोरालाई झनझन् शरीर काँप्ने र बेहोस हुने समस्या बढ्दै गयो, विस्तारै महिनाको चार/पाँच पटकसम्म पनि बेहोस हुने भएपछि अझै चिन्ता बढ्दै गयो, चार वर्ष झारफुकमै गयो”, पुष्पा दुखेसो पोख्छिन्।

निसान एकदमै रिसाउने, टोलाइरहने, कम बोल्ने, स्कूल जानै मन नगर्ने जस्ता क्रियाकलापहरू देखाउन थालेपछि पुष्पाले आफन्तकै भन्सुनमा काठमाडौंको बसुन्धारास्थित न्यूरो क्लिनिक ल्याउँछिन्।

सबै चेकजाच गरेपछि निसानलाई कडा खालको छारे रोग भएको र दिमागमा पनि निकै असर पारिसकेको बताएपछि पुष्पा छाँगाबाट खसे जस्तो भइन्। चाँडै उपचार गरे निको हुने नत्र समस्या झनै बढ्ने क्लिनिकले बताएपछि उनले तत्काल निसानको उपचार गर्ने योजना बनाइन् र भनेअनुसार गरिन्।

अहिले निसानको अवस्थामा निकै सुधार आइसकेको उपचारमा संलग्न न्युरोलोजिस्ट प्रा.डा रागेश कर्णले बताए। तीन वर्षदेखि नियमित भनेकै समयमा जाँच गर्ने र औषधि खुवाउने गरेकाले निसानमा अहिले निकै सुधार आइसकेको उनको भनाइ छ।

तर छोरालाई कहिलेसम्म औषधि खानुपर्ने हो पुष्पालाई थाहा छैन। छारेबाट पीडित निसानमात्र एक्ला होइनन्। कान्ति बाल अस्पतालमा साप्ताहिक रुपमा परीक्षण गराउने सय जना बालबालिकामध्ये ३० देखि ४० प्रतिशतमा छारे रोगको समस्या देखिने गरेको बाल न्युरोलोजिस्ट डा.अन्शु झा बताउँछिन्।

प्रा.डा.कर्णका अनुसार संसारभर २ देखि ४ प्रतिशत बालबालिकामा छारे रोग देखिने गरेको छ। त्यस्तै दुई वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धहरूमा यो रोग बढी देखिने गरेको छ।

किन हुन्छ बालबालिकालाई छारे ?

नेसनल न्युरो सेन्टरका उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. सुमन भट्टराईका अनुसार छारे रोग मानिसको मस्तिष्कमा आउने अस्वाभाविक विद्युतीय तरंग हो। जसले गर्दा मस्तिष्कमा अचानक र असामान्य विद्धुतीय तरंग एकैपटक उत्पन्न हुने र मस्तिष्कको भाग अनियन्त्रित भई शरीर काँप्ने र अचेत हुने लक्षण देखिन्छ।

नेपालका धेरै बालबालिकामा छारे रोगको समस्या भए पनि कति जना बालबलिकाहरू यसबाट पीडित छन् भनेर यकिन तथ्यांक भने नरहेको डा.भट्टराई बताउँछन्।
उनका अनुसार बालबालिका जन्मिँदा मस्तिष्कमा चोट अथवा खत भएमा, जन्मजातै मस्तिष्कमा समस्या भएमा क्याल्सियम र मस्तिष्कमा अक्सिजनको मात्रा कम हुँदा, सुगरको मात्रा बढ्दा, इन्सेफ्लाइटिस, मेनेन्जाइटिस आदिको संक्रमण हुँदा छारे रोग हुन सक्छ।

केही बालबालिकामा आनुवंशिक कारणले पनि छारे रोग हुनसक्ने मस्तिष्क रोग विशेषज्ञ प्रा.डा रागेश कर्ण बताउँछन्। उनका अनुसार आधाजसो छारे रोगीमा कारण खुले पनि आधामा भने कारण पत्ता लगाउन गाह्रो हुन्छ।

ज्वरोमा आउने छारे

डा. कर्णका अनुसार बालबालिकामा देखिनेमध्ये धेरैजसो छारे रोग ज्वरो आएको बेलामा हुने फेब्राइल छारे हो। “६ महीनादेखि ६ वर्ष उमेर समूहका केही बालबालिकामा अपरिपक्व मस्तिष्कको संरचना तथा तापक्रम संवेदनशीलताले गर्दा ज्वरो आएको बेलामा छारे आउने गर्छ”, डा. कर्ण बताउँछन्।

ज्वरो आएको बेला हुने छारे रोग औषधि नखाँदा पनि ६ वर्षपछि आफै हराएर जाने सम्भावना रहने उनले बताए। डा. कर्णकाअनुसार केही बालबालिकामा मात्र फेब्राइल छारे दोहोरिने गर्छ र त्यस्ता बिरामीमा मात्र दीर्घकालीन उपचार अत्यावश्यक हुन्छ।

भ्रम र वास्तविकता

छारे रोगलाई निको नहुने रोगका रुपमा लिने गरेको पाइन्छ। तर समयमै उपचार पाए निको हुने डा. कर्ण बताउँछन्। “समयमै उपचार पाए भने ९० प्रतिशत बालबालिकाको छारे रोग निको हुन्छ भने १० प्रतिशत बालबालिकामा पुनः दोहोरिने वा निको नहुने हुन्छ”, डा. कर्ण भन्छन्। छारे रोग लागेका मानिसहरू निको भएर दैनिकीमा फर्किन सक्ने उनले बताए। त्यसैले सबै क्षेत्रबाट जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन्।

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज ओझा पनि छारे रोग जनस्वास्थ्यकै समस्या भएकाले सबैले ध्यान दिन आवश्यक रहेको बताउँछन्।
“मानिसहरूले छारे रोगलाई देवीदेउताको असर भन्दै, अरु कुनै पनि विकल्प नै नभएको अर्थात उपचार नगर्ने र जीवनको अन्त्य नै यसैबाट हुन्छ भनेर सोचिरहेका छन्,” उनले भने, “जसले गर्दा बिरामीको समस्या बढ्दै जाने र मानसिकरुपमै विचलित हुने गर्छन्।”

सबैले छारे रोग सरुवा रोग होइन र समयमै उपचार गरे निको हुने रोग हो भनेर बुझ्न पनि निकै आवश्यक रहेको डा. ओझाले बताए। डा.अन्शु झाका अनुसार शहरी क्षेत्रमा भन्नदा ग्रामीण क्षेत्रमा छारे रोग देवीदेउताकै कारण हुने विश्वास राख्छन्। यस्तै अन्धविश्वासका कारण ठूलो संख्यामा बिरामीहरू उपचारको दायरासम्म आउन नसकेको उनको धारणा छ।

डा. झाका अनुसार बालबालिकामा हुने छारे रोगको आक्रमण वयस्कको जस्तै नै हुनेगर्छ। “ठूलो अट्याक हुँदा बेहोश हुने, आँखा पल्टाउने, हातगोडा कडा भइ काँप्ने, मुखबाट फिँज निकाल्ने हुन्छ”, उनले भनिन् “सानो अट्याकमा भने एकातिर मात्र काँप्ने, झम्झमाउने, आँखा वा आखीभौँ मात्र फर्पmराउने, आफै बेसुरमा हाँस्ने, बोल्ने जस्ता समस्या देखिन्छ।”

अभिभावकले आफ्ना छोराछोरीले केही फरक व्यवहारमा ध्यान दिनुपर्ने सुझाव छ डा. सुमन भट्टराईको। भन्छन्, “एकोहोरो टोलाइ रहने, शरीरको कुनै भाग काप्ने, दिसा पिसाब आएको थाहा नपाउने जस्ता समस्या देखाए भने अस्पताल लैजानुपर्छ।”

लुम्बिनी प्रदेशमा छारे रोगको अवस्था

विश्व स्वास्थ्य संगठनले विश्वभर करिब पाँच करोड मानिसहरू छारे रोगबाट पीडित भएको अनुमान गरेको छ। त्यस्तै हरेक वर्ष नेपालमा पनि छारे रोगको संख्या बढ्दै गइरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका तथ्यांक अधिकृत पुष्प श्रेष्ठले बताए।

उनले भने, ‘विगत पाँच वर्षको तथ्यांकलाई आधार मान्ने हो भने हरेक वर्ष एक हजार भन्दा बढिमा नयाँ छारे रोगका बिरामीहरू थपिरहेका छन्, २०७३/७४ मा देशभर कुल १५ हजार ६ सय ४७ जनामा रोग पुष्टि भएको थियो तर आर्थिक वर्ष २०७७/०७८ मा आएर २४ हजार ५ सय ३२ जनामा छारे रोग लागेको पुष्टि भएको छ, यो पाँच वर्षको अवधिभर ८ हजार ८७६ जना नयाँ छारे रोगका बिरामी थपिएका छन्।’

तथ्यांक अधिकृत श्रेष्ठका अनुसार आव २०७७/०७८ मा सबैभन्दा बढी बागमती प्रदेशमा १० हजार ८ सय ३४ जनामा छारे रोग पुष्टि भयो भने त्यसपछि, लुम्बिनीमा तीन हजार ७ सय ४७ जनामा छारे रोगबाट बिरामी पत्ता लागेका थिए।

जिल्ला अनुसार सबैभन्दा बढी छारेका रोग देखिएको मध्ये लुम्बिनी प्रदेशको रुपन्देहीमा २ हजार ५४ जनामा संक्रमण पुष्टि भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved