जसपाले बनायो स्थानीय तहमा उम्मेदवार छान्ने मापदण्ड, तर केन्द्रीय सदस्यहरू असन्तुष्ट

जसपाले बनायो स्थानीय तहमा उम्मेदवार छान्ने मापदण्ड, तर केन्द्रीय सदस्यहरू असन्तुष्ट

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले बैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने मापदण्ड तय गरेको छ।

आइतबार देखि शुरु भएको जसपा नेपालको केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी निर्देशिका प्रस्तुत गरिएको छ। सोमबारसम्म चल्ने जसपा बैठकले उक्त निर्देशिकालाई पारित गर्दै छ। गत १५ गते बसेको जसपा कार्यकारणी समिति बैठकले हिसिला यमी, नवराज सुवेदी र मनिष सुमन सम्मिलित तीन सदस्यीय स्थानीय तह निर्देशिका बनाउने समिति बनाएको थियो।

ती समितिले बनाएको निर्देशिका शनिबार जसपाको संघीय परिषदले अनुमोदन गरिसकेको छ। सोमबार केन्द्रीय समितिले यसलाई अव अनुमोदन गरे पछि यो लागु हुने जसपाले जनाएको छ।

आइतबार केन्द्रीय समिति बैठकमा उक्त निर्देशिका समिति सदस्य नवराज सुवेदीले प्रस्तुत गरेका थिए। त्यसको साथै स्थानीय तह निर्वाचन केन्द्रित रणनीति, समसमायिक राजनीतिक प्रस्ताव र संगठन सम्बन्धी प्रस्ताव गरी चार ओटा प्रस्तावहरू केन्द्रीय समितिमा प्रस्तुत गरिएको जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका छन्।

खतिवडाका अनुसार चार ओटै प्रस्तावमा आइतबारदेखि नै केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्न थालेका छन। सोमबार केन्द्रीय सदस्यहरूको धारणा सकिए पछि पार्टी नेतृत्वले यसबारेमा जवाफ दिएपछि केन्द्रीय समिति बैठक यी सबै प्रस्तावहरू पारित गर्दै सकिनेछ।

यस्तो छ उम्मेदवार छनोट गर्ने जसपाको मापदण्ड

जसपाले तयार पारेको स्थानीय तह निर्वाचनसम्बन्धी निर्देशिकाले स्थानीय तहमा उम्मेदवार छान्नेदेखि पार्टी परिचालनसम्म कार्यक्रमबारे मापदण्ड बनाएको छ। मापदण्डअनुसार जसपाले महानगरपालिको उम्मेदवार केन्द्रीय कार्यकारणी समितिबाट तय गर्नेछ भने अन्य पालिकाको हकमा स्थानीय कमिटीहरूमार्फत नै उम्मेदवारहरू छान्ने जनाएको छ।

सम्बन्धीत स्थानीय कमिटीले उम्मेदवार छान्न नसकेको अवस्थाम त्यसभन्दा पार्टीको उपल्लो कार्यसमितिले त्याहाको उम्मेदवार टुंग्याउने काम गर्छ। यद्यपि उपल्लो कार्यसमिसतिले पनि सम्बन्धीत कमिटीकै सरसल्लाहमा विवाद टुग्याउने निर्देशिकामा उल्लेख छ।

जसपा कार्यकारणी समिति सदस्य ईस्यितयाक राईले भने, “पार्टीको प्रत्येक संगठनको तहमा एउटा विवाद समाधान समिति बनाउने निर्णय भएको छ। कम्तीमा ३ जनाको नाम सिफारिस गरेर स्थानीय तहले आफैले टुंगो लगाउने निर्णय भएको छ। स्थानीय तहमा टुंगो लागेन भने जिल्ला समन्वय समितिमा पठाउने निर्णय भएको छ। जिल्ला समन्वय समितिले टुंगो लगाउन नसकेमा प्रदेश कमिटीमा विवाद पठाउने, प्रदेशमा रहने ३ जना सदस्य रहेको विवाद समाधान समितिले टुंगो लगाउने मापदण्ड तय गरिएको छ।’

पालिका प्रमुखका लागि पालिकामै रहेको कमिटीले सिफारिस गर्ने, महानगर र उपमहानगरपालिका उम्मेदवारको पनि जिल्ला तहले निर्णय गर्ने, विवाद भएको अवस्थामा मात्रै प्रदेश कमिटीको भूमिका हुने राईले बताए।

पार्टीको केन्द्रले महानगरको उम्मेदवार मात्र टुंगो लगाउने मापदण्ड तय गरिएको छ। महानगरमै उम्मेदवारमा सहमति जुटेमा केन्द्रले त्यसलाई स्वीकार गरेर जाने राईले बताए।

पार्टीले मुख्य भूमिकामा स्थानीय तह स्थापित गरेको छ। विवाद आयो भने जिल्ला समन्वय समिति, प्रदेश समितिले तय गर्नेछ। प्रदेश समितिमा पनि केन्द्रले सन्तुलित ढंगले विवाद समाधान समन्वय समिति बनाउने छ। उम्मेदवार छनौट गर्दा लोकप्रियता, जित्न सक्ने आधार, दक्षता, पार्टीमा निरन्तरता, समावेशिताको आधारमा छनोट गर्ने निर्देशीकामा उल्लेख छ।

निर्देशिकामै यस अघि निर्वाचित भएर राम्रो काम गरेका पार्टीका नेताहरूलाई पहिलो प्राथमिकतामा राख्न पनि निर्देशिकाले भनेको छ।

केन्द्रीय सदस्यहरू असन्तुष्ट

स्थानीय तह निर्वाचनका लागि पार्टीले गठन गरेको तीन सदस्यीय समितिले तयार पारेको निर्देशिकाप्रति केन्द्रीय सदस्यहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

आइतबार बसेको जसपाको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सबैभन्दा बढी यही विषयमा केन्द्रित भएर आआफ्नो धारणा राखेको जसपाका एक नेताले बताए। निर्देशिकामा स्थानीय तहलाइ अधिकार दिएको भए पनि विवाद समाधानमा उपल्लो कमिटीहरूमा प्रदेशबाट सीधै कार्यकारणी समितिमा पठाउने प्रावधान छ। केन्द्रीय सदस्यहरूले प्रदेश कमिटीबाट केन्द्रीय समितिमा नपठाएर केेन्द्रीय सदस्यहरूले अपमानित गर्न खोजेको आरोप लगाएका छन्।

बैठकमा जसपाका संघीय संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले नै केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन बनाउन खाजेको प्रति आपत्ति जनाएका थिए। उनले पार्टीको ५ सय सदस्यीय केन्द्रीय समिति भए पनि त्यसलाई पार्टीले नजरअन्दाज गरेर अगाडि बढ्न खोजेको आरोप लगाए। “पार्टीको केन्द्रीय सदस्यहरूलाई कमसेकम आआफ्नो जिल्लामा पनि भूमिका बढाउनुपर्ने हुन्छ,” साहले भने, “यसले निर्वाचनमा पार्टीलाई नै थप फाइदा हुन्छ।”

साहजस्तै अधिकांश केन्द्रीय सदस्यहरूले स्थानीय तह निर्वाचनदेखि अन्य सन्दर्भमा पनि केन्द्रीय सदस्यहरूको भूमिका बढाउन माग गरेका केन्द्रीय सदस्य सीमा सिंहले बताइन। उनले नामका लागि मात्रै केन्द्रीय सदस्यहरू नबनाउन भन्दै काम पनि दिन माग गरे। पार्टीको हरेक काम र निर्णय कार्यकारणी समिति र त्यस पनि अन्तिममा शिर्ष तीन नेतामा गएर टुगिने गरेको केन्द्रीय सदस्यहरूको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved