जनप्रतिनिधिहरूको चिन्ताः हुलाकी राजमार्ग निर्माणमा ठेकेदारले मनलाग्दी गरे

जनप्रतिनिधिहरूको चिन्ताः हुलाकी राजमार्ग निर्माणमा ठेकेदारले मनलाग्दी गरे

विराटनगर। तराईका जिल्लाहरू जोड्ने बहुप्रतिक्षित सडकखण्डको रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्यमा चरम लापरबाही भइरहेको भन्दै जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा जनप्रतिनिधिहरूले तराईका जिल्लाहरू जोड्ने लाइफलाइनका रूपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीहरूले कार्ययोजनाविपरीत आफूखुशी काम गरिरहेको बताएका छन्।

हुलाकी राजमार्गको मोरङ जिल्ला अन्तगर्तको सडकखण्डहरूमा दूरवस्था यथावत् रहेको उनीहरूको आरोप छ। कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले निमार्ण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण राजमार्गअन्तगर्त रंगेली रोडमा दुर्घटनाको जोखिम उच्च हुँदै गएको बताए। निर्माण कम्पनीले खनेको खाल्टो नपुर्दा दुर्घटनामा १ जनाको ज्यानसमेत गएको जानकारी गराए।

नेपालमा २०६२-०६३ सालबाट हुलाकी राजमार्ग निर्माणको कार्य शुरु भएको थियो। मोरङमा भने ३ वर्षअघि मात्रै राजमार्ग निर्माणको कार्य अघि बढेको हो। तर, शुरुआती चरणदेखि नै कागजी रूपमा भौतिक प्रगति देखाएर राजमार्ग निर्माणमा गम्भीर त्रुटिहरू हुँदै आएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीहरूले बताएका छन्।

मोरङमा कुल ७ वटा प्याकेजमा राजमार्ग निर्माणको कार्य भईरहेको छ। जसमा रतुवा–केशलिया सडकखण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका मैनाचुली वेदान्सी जेभी र श्रेष्ठ कन्सट्रक्सन, गान्धी मनमोहन मार्गमा कान्छाराम कन्सट्रक्सन तथा विराटनगर केशलिया रोड सडकखण्डमा देव एण्ड शायर भुमिले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेका छन्।

तर, राजमार्गको भौतिक प्रगति सन्तोषजनक नरहेको जनप्रतिनिधिहरूको तर्क छ। कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले संशोधित सम्पन्न मितिमा पनि निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले त्यस्ता निर्र्माण कम्पनीहरूलाई ब्ल्याक लिस्टिङ गर्नुपर्ने विषयमा जोड दिए।

मोरङमा हाल रतुवा–केशलिया, गान्धी मनमोहन मार्ग, कानेपोखरी–रंगेली र विराटनगर–केशलिया गरि कुल ९९.५ मध्ये ७७.५ किलोमिटर सडकखण्डमा हुलाकी राजमार्गको निर्माण कार्य भइरहेको छ। जसमा २२ किलोमिटर लम्बाईको कानेपोखरी–रंगेली सडकखण्ड यसअघि नै भारतीय अनुदानमा सम्पन्न भइसकेको छ।

३.५ किलोमिटरको विराटनगर–केशलिया खण्डमा सम्झौता भई भर्खरै काम शुरु भएको छ। तर, निर्माणाधीन सडकखण्डहरू पनि निमार्ण सम्पन्न नगरी अधुरै छाडिएको जनप्रतिनिधिहरू बताउँछन्। आइतबार आयोजित कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले हुलाकी राजमार्ग निर्माणको दौरान एकपटक पनि गाउँपालिकासँग समन्वयको प्रयास नभएको गुनासो गरे। उनले निमार्ण कम्पनीले आफूखुशी काम गर्दै आएको भन्दै असन्तुष्टि व्यक्त गरे।

इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले हाल हुलाकी राजमार्ग र उत्तर–दक्षिण लिङ्क रोडसमेत गरी कुल २ सय ९५ किलोमिटर सडकको काम हेरिरहेको छ। कार्यालयका अनुसार अहिले सडकको १८ र पुलको २७ गरी ४५ वटा ठेक्कामा निमार्ण कार्य जारी छ।

भारतीय पक्षले जिम्मा लिएको ८० किलोमिटरको २ वटा सडक कालोपत्रे भइसकेको छ। बाँकीको चौडाइ बढाउने र स्तरोन्नतिको कार्य जारी छ। चालु आर्थिक वर्षमा २७ वटा पुलमध्ये १८ वटा निमार्ण सम्पन्न हुने अवस्थामा रहेको कार्यालयको तथ्यांक छ। यद्यपि, जनप्रतिनिधिहरूले औंल्याएका कमी कमजोरीहरूलाई भोलिका दिनमा सच्याएर लैजाने विषयमा कार्यालय प्रतिबद्ध रहेको योजना प्रमुख इन्जिनियर विजय कुमार थापाले बताए।

आइतबार आयोजित कार्यक्रममा भने मोरङका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य, जिल्ला प्रहरी प्रमुख, जिल्ला प्रमुख अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, निर्माण कम्पनीका इन्जिनियर तथा साइट इन्चार्ज र विभिन्न राजनितिक दलका नेताहरूको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved