निर्वाचनका लागि आजबाट गाउँ-गाउँ पस्दै कांग्रेस

'एक बुथ, सय युथ' कमिटी बनाइने

निर्वाचनका लागि आजबाट गाउँ-गाउँ पस्दै कांग्रेस

काठमाडौं। वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर प्रमुख सतारुढ नेपाली कांग्रेसले आजदेखि एकमहीने अभियान शुरु गर्दै छ।

‘घर-घर जाऔ, नेपाली कांग्रेस जिताऔ’ भन्ने नारा सहित कांग्रेसले शुरु गर्न लागेको चुनावी अभियानका लागि ७७ ओटै जिल्लामा कांग्रेस केन्द्रीय सदस्य पुुगिसकेको छ। आज दिउँसो एक बजे एक साथै देशभरिका स्थानीय तहमा यो अभियानको उद्घाटन कार्यक्रम राखिएको छ। उद्घाटन भएपछि कांग्रेसको वडा तह सम्मको केन्द्रले निर्धारण गरेको कार्यक्रम सुुचारु हुनेछ।

जिल्ला कार्यसमितको बैठकदेखि वडा कार्यसमिति सम्मको बैठक गरेर कार्यक्रम अगाडि बढाउने बताएको कांग्रेसले स्थानीय तहमै आआफ्नो घोषणा पत्र लेख्ने समितिदखि स्थानीय प्रचारप्रसार समितिसम्म बनाउने छ। स्थानीय तहको निर्वाचनमा कांग्रेसले हरेक तहमा छुट्टै आफनो घोषणा पत्र बनाउने भएको छ। त्यसका साथै जनता संवाद गर्ने गरी पनि विभिन्न कार्यक्रमहरू गर्दै छ।

१४ औं महाअधिवेशनपछि माघ अन्तिम हप्ता बसेको कांग्रेसको पहिलो कार्यसम्पादन समिति बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एकमहीने प्रचारप्रसार अभियान थाल्ने निर्णय गरेको थियो।

उक्त निर्णय स्वरूप नै कांग्रेसले आजदेखि २९ चैत सम्म ७७ जिल्लाकै सबै स्थानीय तहहरू लक्षित गरेर यो कार्यक्रम संचालन गर्न लागेको छ। “हामीले स्थानीय तहको पनि टोल टोलसम्म भनौं वा हरेक निर्वाचन वुुथ लक्षित गरेर प्रचार प्रसारदेखि पार्टी बैठकसम्म यसमा आयोजना गर्दछौं”, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नेपालभ्यूजसँग भने, “यसले पार्टीलाई तल्लो तहसम्म नै चलयामान बनाउनेछ।”

कांग्रेसले १४ औं महाअधिवेशनको क्रममा वडा तहदेखि नै समिति निर्माण गरेर पनि निर्वाचनलाई लक्षित गरेर बुथकेन्द्रित कमिटी बनाउने बताएको छ। ‘एक बुथ-सय युथ’ कार्यक्रम बनाएर कांग्रेसले हरेक मतदान केन्द्र लक्षित कमिटीहरू निर्माण गर्न लागेको छ।

साथै हरेक स्थानीय तहको हरेक वडा तहमै अलग अलग कार्यक्रमहरू गरी एक महीनासम्म लगातार कांग्रेसले आफ्नो पार्टीको विगतदेखिको कामहरूको प्रचार प्रसार गर्ने कार्यक्रम राखेको छ।

हालै प्रतिनिधीसभाबाट अनुमोदन भएको एमसीसीबारे कांग्रेसले केन्द्रबाटै एउटा पुस्तिका छापेर केन्द्रीय सदस्यहरूमार्फत हरेक स्थानीय तहमा पठाएको छ। उक्त पुुस्तिकामार्फत नेपालमा एमसीसीमार्फत हुने विकास आयोजनहरूबारे जानकारी दिनुका साथै केही कम्युनिष्ट पार्टीहरूले उठाएको राष्ट्रघाती विषयसम्म जानकारी दिएको छ।

“यो अभियान कांग्रेसको आन्तरिक जीवनका लागि महत्वपूर्ण अभियान हो”, कांग्रेस नेता प्रदीप पौडलले भने, “यसले पार्टीको तल्लो तहसम्मको नेता कार्यकर्तालाई एक प्रकारले स्थानीय तह निर्वाचनका लागि मनोवैज्ञानिक रूपमा तयार पार्छ।”

पौडेलले हालै भएको पार्टीको महाअधिवेशनको क्रममा आन्तरिक रूपमा भएको प्रतिस्पर्धालाई समेत यस्तो कार्यक्रमलाई बिर्साइदिने बताए। “यसले कांग्रेसको आन्तरिक एकतामा जोड दिन्छ”, पौडेलले भने, “गुट-उपगुट आफ्नो ठाउँमा भए पनि निर्वाचनमा हामी सबै एकै पार्टी भएको भावना बलियो बनाउँछ।”

मुस्ताङ पुगेका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार केन्द्रीय प्रतिनिधि बनेर जिल्ला पुगेका नेताहरूले पहिलो चरणमा जिल्ला कार्यसमिसतहरूसँग छलफल गरिसकेका छन्।

“हामी जिल्लामा सबैभन्दा पहिला जिल्ला कार्यसमितिको बैठक गरेर जिल्लाको समग्र परिस्थतिबारे छलफल गरेका छौं”, सिवाकोटीले नेपालभ्यूजसँग भने, “त्यसपछि हामी प्रदेश निर्वाचन क्षेत्रीय समिति र संघीय निर्वाचन समितिका साथीहरूसँग पनि छलफल गरेका छौं।”

आजदेखि स्थानीय तहका वडा समितिहरूसँग मिलेर अभियानअन्तर्गत तय भएका कार्यक्रमहरू शुरु गरिने सिवाकोटीले बताए। यसका लागि आफूहरू पर्यवेक्षपक जस्तो भूमिकामा मात्रै बस्ने पनि उनले बताए।

“अभियानका सबै कामहरू स्थानीय कमिटीहरूमार्फत नै गराउने हाम्रो योजना छ”, सिवाकोटीले भने, “कहीँ कतै समस्या आएमा हामीले त्यहाँ मध्यस्थता गर्ने मात्रै हो।” अभियानलाई लिएर स्थानीय पार्टीका नेता तथा कार्यकर्तामा उत्साह बढेको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved