केपी ओली बोरामा पैसा हालेर चुनावमा जान्छन्, हामीसँग खल्तीमा हाल्ने छैनः झलनाथ खनाल

नेपालभ्युज

केपी ओली बोरामा पैसा हालेर चुनावमा जान्छन्, हामीसँग खल्तीमा हाल्ने छैनः झलनाथ खनाल
फाइल फोटो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता खनालले कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरूले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए।

खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए। आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै उनले सर्वहारा वर्गको पार्टीको रूपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे। निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले अघि बढ्ने उनले बताए।

सम्मानित नेता खनालले भने, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरू अहिले आउँदैछन्। एउटा कांग्रेस, कांग्रेस त बोरामा पैसा बोकेर आउँछ। उनीहरूको चरित्र पनि त्यस्तै हो। हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरूले, त्यो सबै धाक पैसाको हो। अरु केही को होइन। तर कतिपय कांग्रेस, खासगरी प्रधानमन्त्रीजी होइन, हामी एकतावद्ध भएर जानुपर्छ, गठबन्धन कायम राखेर जाुनपर्छ, भन्नुहुन्छ। कांग्रेसभित्र दुई धार प्रस्ट छ। नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ। अर्को इलेक्शनमा हामी पक्का जित्छौँ। हामीले जित्ने हिसावले जानुपर्छ। तर अरु बोरामा पैसा लिएर आउँछन्, केपी ओली पनि बोरामा पैसा लिएर जान्छन्। कांग्रेसका एकता नचाहने मान्छेहरूले बैठक गरे, उनीहरूले को मान्छेलाई हराउने भन्दा नम्बर एकमा झलनाथ खनाललाई भने। उनीहरूले त्यही ढंगले प्रयत्न गर्दछन्। एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो। केपी ओलीलाई ६ गते लाने रे। के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ। त्यति मात्रै होइन उनीहरूले पनि बोरामा नै पैसा लाने हो। यहाँ त एउटै केसबाट १८ अर्ब खाएको कुरा छ। हामीले समातेर जेल हाल्न त सकेका छैनौँ। बिस्तारै होला। तर हाम्रो पार्टी भनेको सर्वहारा वर्गको हो। हामी बोरामा पैसा होइन, खल्तीमा पैसा लिएर पनि हिँड्न सक्दैनौँ। विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले गर्न सक्ने कुरा हामी गर्नेछौँ।’”

नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढिरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए। उनले देशमा निर्वाचनहरू सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानून नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved