पोखरा । गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले मुलुकमा कुशासनको डढेलो लागेको दाबी गरेका छन्। शुक्रबार गण्डकी प्रदेश सभाको विशेष समयमा बोल्दै पहारीले केपी शर्मा ओली सरकारले बसालेको थितीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेथितीमा परिणत गराएको बताए।
प्रदेश सांसद पहारीले विदेशीहरूसँग भिख मागेरभन्दा पनि देशभित्रै उत्पादन र उत्पादकत्व बढाएर व्यवसाय मैत्री वातावरण सिर्जना गरेर मात्रै देशलाई समृद्ध बनाउन सकिने धारण राखे।
उनले झण्डावाल गाडी देखाएरभन्दा पनि जनतालाई सुशासनको अनुभूति गराएर सरकारको दायित्व पुरा गर्न प्रदेश सरकारलाई आग्रह गरे।
”बस्ती टोलमा मात्र होइन, सिङ्गो मुलुकमा आगो मात्र लागेको होइन डढेलो लागेको छ। भ्राष्टाचारको डढेलो लागेको छ, कुशासनको डढेलो लागेको छ, विकृति विसंगतिको डढेलो लागेको छ, मूल्यवृद्धिको डढेलो लागेको छ। यो कुरा मैले भनेको होइन, तथ्यांकले बताएको छु,” प्रदेश सांसद् पहारीले भने,”हिजो केपी ओली प्रधानमन्त्री हुँदा निर्यात ७ प्रतिशतले वृद्धि भएको थियो, आर्थिक वृद्धिदर लगातार तीन वर्षसम्म ७ प्रतिशतभन्दा माथि थियो।”