मिचिएका सरकारी जग्गा महँगोमा भाडामा लगाउँछ बेनी नगरपालिका

बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ। कालीपुलस्थित बालमन्दिर आधारभूतको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुमबासी र अव्यवस्थित बसोबासीको नाममा अतिक्रमण भएको छ।

मिचिएका सरकारी जग्गा महँगोमा भाडामा लगाउँछ बेनी नगरपालिका

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन्।

सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ। सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महँगोमा भाडामा लगाउने प्रवृत्ति बढेको बेनीका पहलबहादुर खत्रीले बताए।

“नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अतिक्रमण भएको सार्वजनिक जग्गा हटाउने कार्यमा अग्रसर बनेका छैनन्”, उनले भने, “सार्वजनिक जग्गा संरक्षण गर्नुको साटो भाडामा लगाउने गरिएको छ।” बेनी नगरपालिका–१० पात्लेखेतको आरसीयुपीको भवन धवलागिरि बोर्डिङ स्कुलले भाडा नतिरी प्रयोग गरेको छ। बेनीको क्याम्पस चोकको जग्गा पुरानो खोल्साले ओगटेको छ। त्यस क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन्।

बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ। कालीपुलस्थित बालमन्दिर आधारभूतको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुमबासी र अव्यवस्थित बसोबासीको नाममा अतिक्रमण भएको छ।

खाद्य संस्थानबाट किनेका जग्गा र बेनी नगरपालिकालाई दिएको चार आना जग्गाको भवन पनि व्यक्तिको कब्जामा छ। अख्तियारले निर्देशन दिए पनि गलेश्वरको रिभरसाइड होटल र हाडेभिरमा कुलदीप जुग्जालीले मोटरेबल पुल अतिक्रमण गरेर बनाएको टहरा हटाउन बेवास्ता भएको छ। पर्वत–बेनी जोड्ने झोलुङ्गे पुल र न्यूरोड पछाडिको प्रकाश माविको जग्गा पनि अतिक्रमण भएको छ। बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाएका छन्। स्थानीवासी कुलदीप जुग्जालीले खेर गएको जमिन नगरपालिकालाई भाडा तिरेर संरक्षण गरेको बताए।

“खेर गएको ठाउँमा उद्योग चलाएर ५० जनालाई रोजगारी दिएको छु”, उनले भने, “लोपोन्मुख आरन उद्योग चलाएर रोजगारी दिएको र सस्तोमा कृषि औजार उत्पादन तथा मर्मत गरेकामा प्रोत्साहन गर्नुका साटो हटाउन खोजेर दुःख दिने काम भएको छ।” बेनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनेबित्तिकै नगर क्षेत्रको सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने निर्णय गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना हटाउन गरेको निर्देशन तथा फैसला कागजमै सीमित भएको छ।

बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले कार्यपालिकाको बैठकले गरेको निर्णय अटेर गरेर आफूखुशी सार्वजनिक जग्गामा संरचना बनाएर अतिक्रमण गरेका बताए। “हाडेभिरको संरचना हटाउन भनेर ताकेता गरेका छौँ”, उनले भने, “अटेर गरेर खाली गर्नुभएको छैन।” बेनीबजारमा सडकको क्षेत्राधिकारमा निर्माण भएका संरचना हटाउन प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको टोलीले नापजाँच तथा हटाउन अनुरोध गर्दै घरदैलो गरेका थिए। बेनी नगरपालिका–८ कालीपुलमा नापी कार्यालयको प्रविधिक सहयोगमा अतिक्रमण भएको सार्वजनिक जग्गा छुट्याइएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए।

“व्यक्तिसँग जोडिएको साँधसिमानमा रहेको सार्वजनिक जग्गा छ जनाले ओगटेको भेटियो”, उनले भने, “पत्र काटेर वा फोनमार्फत जानकारी गराएर सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गरेका छौँ।” आयस्रोत जुटाउन सार्वजनिक जग्गा भाडामा लगाउने तत्कालीन अर्थुङ्गे गाविसले सुरुआत गरेको नीतिको कमजोरीमा टेकेर एकै व्यक्तिले व्यवसायका नाममा सस्तोमा सम्झौता गर्ने र अरूलाई भाडामा लगाउने विकृति बढेको हो।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अतिक्रमण भएको जग्गा र संरचना हटाउनका लागि नगरपालिकाले सहयोग मागेमा साथ दिन तयार रहेको बताए। “नगरपालिकाले स्पष्ट लेखेर सहयोग माग्यो भने हामीले अतिक्रमण हटाउन साथ दिन तयार छौँ”, उनले भने, “यो–यो जग्गा यो–यो व्यक्तिले कब्जा गरेको छ भनेर नगरपालिका आउनुप¥यो।” नगरपालिकाले पछिल्लोपटक बेनपा–७ को चार आना जग्गा र हाडेभिरको मोटरेबल पुलको टहरा हटाउन सहयोग माग्दै प्रशासनमा पत्र पठाएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved