कञ्चनवनमें राम खेलैय होरी…

त्रेता युगमा श्रीराम र जानकी विवाहपश्चात् मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गर्ने क्रममा फागुन शुक्ल सप्तमीमा कञ्चनवन पुगेर रङ खेलेको विश्वास रहेको छ। “श्रीराम आ जानकीजी अजुके दिन कञ्चनवनमें होरी खेल्ने रहे,” होरी उत्सवमा सहभागी हुन जाने तयारीमा रहेका ८५ वर्षीय जितन यादव भन्छन्, “ओहीके यादमें अई ठाम परिक्रमाके आठम दिन होरी उत्सव मनाओल जायत अछि, हमहुँ जेवाक तयारीमें छी।”

कञ्चनवनमें राम खेलैय होरी…

महोत्तरी। ‘कञ्चनवनमें राम खेलैय होरी… हो, कञ्चनवनमें’ आज भङ्गाहा नगरपालिका–९ कञ्चनवन ‘होरी उत्सव’ मा उमङ्गित छ। एकाबिहानै मिथिला माध्यमिकी परिक्रमाका यात्री कञ्चनवन पुग्न थालेसँगै यहाँ ‘होरी उत्सव’ का गीत गुञ्जिन लागेका हुन्।

कञ्चनवन वरिपरिका बस्तीमा आज घरघरमा चटारो छ। मध्यान्ह शुरु हुने ‘होरी महोत्सव’ को घरघरै चर्चा छ। ‘ए मखानपुरवाली, तिमीले घरकाज सक्यौ, नानीहरूका लागि ख्वाउने प्याउने इन्तिजाम मिलाई सक्यौ ?’ एक गृहिणीले छिमेककी अर्की गृहिणीलाई सोध्ने आजको आम प्रश्न बनेको छ। अवधविहारी (श्रीराम) र किशोरीजी (श्री जानकीजी) को परिक्रमा डोला आइपुग्नासाथ गृहिणी घरको काम जे बाँकी छ, त्यो थाति राखेर कञ्चनवन दौडन्छन्। सबैको एउटै लय, एउटै स्वर ! ‘कञ्चनवनमें राम खेलैय होरी… हो, कञ्चनवनमें…!!’

अघि त्रेता युगमा श्रीराम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गर्ने क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ अबिर खेलेको विश्वासमा यहाँ सो दिन ‘होरी उत्सव’ को परम्परा चलेको मानिन्छ। “श्रीराम आ जानकीजी अजुके दिन कञ्चनवनमें होरी खेल्ने रहे”, (श्रीराम जानकीले आजकै दिन कञ्चनवनमा होरी खेलेका थिए) कञ्चनवनसँगै जोडिएको हरिणमरी बस्तीका आज होरी उत्सवमा सहभागी हुन जाने तयारीमा रहेका ८५ वर्षीय जितन यादव भन्छन्, “ओहीके यादमें अई ठाम परिक्रमाके आठम दिन होरी उत्सव मनाओल जायत अछि, हमहुँ जेवाक तयारीमें छी” ९त्यसैको सम्झनामा यहाँ परिक्रमाको आठौँ दिन होरी उत्सव मनाउने गरिएको हो, म पनि जाने तयारी गर्दैछु)।

कञ्चनवनमा परिक्रमा यात्री सखारै पुग्न थाले पनि ‘होरी उत्सव’ भने मध्याह्न कटाएर शुरु हुन्छ। यस भेगका जनजन परिचालन हुने यो खास पर्व बन्दै आएको छ। आज यस भेगका बस्तीबस्तीमा डुलन्ते व्यापारी साइकल खट्खटाउँदै विभिन्न रङ्का अबिर पोका बेच्न घरघर डुल्दैछन्। ‘अबिर लियौ अबिर !’ व्यापारीको स्वर घरका कोठाचोटासम्म पुग्छ। रातो, हरियो, निलो, पहेँलो र अन्य विभिन्न रङका पोकाको जोहो घरघरै हुन्छ। मध्याह्नअघि खानपिन सकेर चहकिला बस्त्रमा सजिएर मठतिर निस्कनेको ताँती लाग्छ होरी गीत गाउँदै झुम्दै।

‘हो… किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी…!’ एकपक्षको यो स्वरमा लय मिलाउँदै ‘रामजीके हात कनक पिचकारी, सीयाजीक हातमें अबिर झोरी…हो… खेलैय होरी…!’ को जवाफ फर्कन्छ। मिथिलामा श्रीपञ्चमीसँगै अतिथि सत्कारमा रङ अबिरको प्रयोग थालिए पनि जनजनले खेल्ने ‘होरी’ भने कञ्चनवनबाटै प्रारम्भ हुने परम्परा छ।

कञ्चनवनमा अवधविहारी र किशोरीजीको डोला पुगेर बिसाइएपछि सर्वसाधारणले दर्शन र पूजाआराधना गरेर अबिर चढाउँछन्। यो विधि सम्पन्न भएसँगै होरी उत्सव मेलामा पुगेका सर्वसाधारणले यात्रीलाई आदरपूर्वक अबिर लगाइ दिने क्रम शुरु हुन्छ। एकअर्कालाई अबिर लगाएर कल्याण र आनन्दको कामना गरिने यो पर्व उल्लाससाथ मनाइन्छ। कञ्चनवनको होरी उत्सव मनाउन भङ्गाहा नगरपालिकाले आज सार्वजनिक विदाको घोषणा गरेको छ।

कञ्चनवनमा आज ‘होरी उत्सव’ मनाउन मिथिलाक्षेत्रका ख्यातिप्राप्त सङ्गीत कला प्रतिष्ठानले होरी गायन कार्यक्रम आयोजन गरेका छन्। फागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु हुने परिक्रमा फागुन पूर्णिमाका दिन जनकपुर पुगेर अन्तगृह परिक्रमापछि समापन हुन्छ। यस यात्राको आठौँ दिन कञ्चनवनको विश्राम ‘होरी उत्सव’ कै परम्पराले खास बन्दै आएको पाका मैथिल बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved