रुपन्देहीमा एमालेलाई विरासत जोगाउन धौधौ, समाजवादीकै डर

रुपन्देहीका दक्षिणी क्षेत्रमा नेपाली कांग्रेस, माओवादी तथा मधेशवादी दलको अलि बढी प्रभाव देखिएकोले ती क्षेत्रका जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने काम भइरहेको एमालेले बताएको छ।

रुपन्देहीमा एमालेलाई विरासत जोगाउन धौधौ, समाजवादीकै डर

बुटवल। १६ वटा स्थानीय तह रहेको रुपन्देहीका सातवटा ठूला स्थानीय तहमा नेकपा (एमाले)ले २०७४ सालको निर्वाचनमा जित निकालेको थियो। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कञ्चन गाउपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका गरी ७ स्थानीय तह एमालेले जितेको थियो।

अघिल्लो स्थानीय तहको निर्वाचनको समयमा पनि एक्लै निर्वाचनमा गएको एमाले यो पटकको निर्वाचनमा पनि एक्लै मैदानमा जाने अवस्था छ।

जिल्लाका अन्य पालिकामा अत्यधिक प्रतिस्पर्धा भएपनी एमाले रुपन्देही भने दक्षिणी क्षेत्रका पालिकामा आफ्नो पकड बलियो बनाउन लागेको छ। नेकपा एमालेका एक युवा नेताले उपमहानगर र नगरपालिका क्षेत्रमा केहिमा जित सुनिश्चित जस्तै भए पनि दक्षिणी क्षेत्रबाट आफ्नो विरासत जोगाउन लागि परेको प्रतिक्रिया दिए।

रुपन्देहीका दक्षिणी क्षेत्रमा नेपाली कांग्रेस, माओवादी तथा मधेशवादी दलको अलि बढी प्रभाव देखिएकोले ती क्षेत्रका जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने काम भइरहेको एमालेले बताएको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट राहुल र नेपाली कांग्रेसका संघीय सांसद प्रमोद यादवका सहोदर भाइ रहेका जसपाका नेता तथा रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव ती पालिका र पार्टीको नेतृत्वसहित ठूलो संख्यामा एमालेमा प्रवेश गरेका थिए। यी नेताहरू आफ्ना कार्यकर्ता सहित एमाले प्रवेश गरेसँगै यी दुई पालिकामा एमाले ढुक्क बन्न पुगेको स्थानीय नेताहरू बताउँछन्।

तुलनात्मक हिसाबले एमालेको संगठन कमजोर रहेका ती पालिकामा कार्यकाल सकिन केही महीना मात्रै बाँकी रहँदा ती नेताहरू एमाले प्रवेश गरेसँगै दक्षिणी क्षेत्रमा चहलपहल बढेको छ।

गएको स्थानीय तहमा तुलनात्मक रुपमा कमजोर पालिकाहरू यसपटक कब्जा गर्ने रणनीतिअन्तर्गत पार्टीलाई बलियो बनाउने गरी लागेको एमाले रुपन्देही निवर्तमान अध्यक्ष शिवराज सुवेदी दाबी गर्छन्। पार्टीमा कार्यकर्ता टिकाइराख्ने बनाउन एमाले उपाध्यक्ष एव पूर्वमन्त्री विष्णु पौडेल नै आएर पार्टी प्रवेश गराएका थिए।

दुवै अध्यक्षहरू स्थानीयस्तरमा जनमतको हिसाबले बलियो मानिन्छन्। एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एमालेले रुपन्देहीका सबै पालिकामा विजय हासिल गर्ने योजनाअनुरूप जनप्रतिनिधिहरूलाई एमालेमा प्रवेश गराउने अभियानमा रहेको बताए।

“एमाले देशैभरि बलियो शक्तिको रुपमा आएको छ, रुपन्देहीमा हामी अब पहिलो शक्ति बनेरै छोड्छौं, अझै धेरै मतदाताहरू एमाले प्रवेश गर्दै हुनुहुन्छ”, उनले भने।

“दक्षिणी क्षेत्र एमालेको लालकिल्ला बनाउछौं”

ओमसतिया गाउँपालिकाको नेतृत्व र माओवादी पार्टी नेतृत्व लिएर एमाले प्रवेश गरेका हिरा केवटले माओवादी र गठबन्धनबाट देश नचल्ने भएकाले एमाले रोजेको बताए। उनले भने, “ओमसतिया, रोहिणी र क्षेत्र नम्बर १ लाई एमालेको लालकिल्ला बनाउँछौं। यो क्षेत्रलाई एमालेमय बनाउँछौं। जीवन रहँदासम्म कम्युनिष्ट पार्टीको झण्डामुनि रहनेछु।’

यता तराईमा एमालेलाई मधेशविरोधी भनेर धेरै समय प्रचार गरिएको बताउँदै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले सरकारमा रहँदा तराईमा एमालेले गरेको विकास र प्राथमिकताले धेरैलाई प्रभावित बनाएको बताए।

उनले भने, “पार्टीबाट असहयोग भएका कारण जसपा परित्याग गरेको हुँ। समग्र रोहिणीको विकासमा एमाले नेतृत्वको सरकारले सहयोग गरेको छ। एमालेलाई मधेशविरोधी भनिन्छ तर एमाले मधेशविरोधी भएको भए क्षेत्र नम्बर १, रुपन्देहीबाट जनताले कसरी एमालेलाई जिताए ? अब एमालेको लालकिल्ला बनाउने हो।’

समाजवादीकै डर !

नेकपा एमालेले रुपन्देहीमा आफ्नो विरासत जोगाउन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको डर छ। एमालेबाट छुट्टिएर बनेको समाजवादीले आफू जित्न नसके पनि एमालेलाई हराउन सक्ने मत रहेको भन्दै दाबी गर्दै आएको छ। नेकपा एसका रुपन्देही अध्यक्ष राजु गुरुङले अहिलेसम्मको अवस्थामा गठबन्धन काएमै रहेको उल्लेख गर्दै निर्वाचनमा एमालेलाई पराजय चखाउने दाबी गर्छन्। कुनै विचारमा भन्दा पनि एक व्यक्तिको पछि लागेको एमालेको जनमतले विचार र सिद्धान्त सहितको समाजवादीलाई समर्थन गर्ने दाबी गरे।

उनले निर्वाचन चिह्नकै कारणले एमालेमै बसे पनि समाजवादीलाई सहयोग गर्ने व्यक्तिहरू धेरै रहेको उल्लेख गर्दै संगठन बिस्तारको कार्य जारी राखिएको बताए।

गठबन्धन एमालेलाई गलपासो

एमसीसीले छुटाउन नसकेको अहिलेको गठबन्धन नेकपा एमालेको लागि ‘गलपासो’ बन्ने देखिएको छ। रुपन्देहीमा गठबन्धनदलको दबदबा काएमै रहेको अवस्थामा एमालेले आफ्नो विरासत जोगाउन गाह्रो हुने देखिएको हो।

नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले नेपाली कांग्रेसमा जनलहर बढेको बताउदै कांग्रेसको मत संख्या र विजयी स्थान वृद्धि हुने दाबी गरे। उनले गठबन्धन बाहिरका दलहरू बढारिएर जाने प्रतिक्रिया दिए। यता माओवादी तथा एकीकृत समाजवादी पनि आफ्नो संगठन बलियो बनाउँदै गएका छन्। गठबन्धनका दलहरू एकै ठाउमा हुँदा सत्ता गठबन्धन बाहिरका पार्टीलाई चुजाव जित्न निकै गाह्रो हुने माओवादी नेता एव संविधानसभा सदस्य विनोद पहाडीले बताए।

यस्तो छ अघिल्लो स्थानीय तहको मतपरिणाम

लुम्बिनी प्रदेशको मुकाम तथा रुपन्देहीको एकमात्रै उपमहानगरपालिका बुटवलमा एमालेले जित निकालेको थियो। बुटवलमा नेकपा एमालेका शिव राज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए। माओवादी र कांग्रेसको गठबन्धन भएपनी एमालेले जित निकालेको थियो। अहिले पनि यहाँ निकै प्रतिस्पर्धा हुने देखिएको छ।

यता देबदह नगरपालिकामा कांग्रेसका हिरा खत्री विजयी भएका थिए। उनले १० हजार २ सय ११ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टिकाराम जैसी चापागाईंले १० हजार ९९ मत ल्याएका थिए। देबदहमा कांग्रेस बलियो नै मानिन्छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि यो पटक कांग्रेसले बाजी मार्ने सम्भावना बढी छ।अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मनमोहन चौधरी अहिले जसपामा छन्। यसका बाबजुत तत्कालीन तमलोपाबाट पराजित भएका फकरुद्दिन यतिबेला कांग्रेस लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक छन्। उनले ठूलो जनलहरसहित कांग्रेस प्रवेश गरेका थिए। चौधरीले ८ हजार १ सय ७५ मत ल्याएका थिए भने खानको ७ हजार ३९ मत थियो।

यस्तै सैनामैनामा नेकपा एमालेका चित्र बहादुर कार्की विजयी भएका थिए। कार्कीको १३ हजार ३६ मत थियो। उनका प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माको १० हजार ३ सय ५ मत थियो। यस्तै सिद्धार्थनगरमा एमालेका हरि अधिकारी विजयी भएका थिए। उनले ६ हजार ७ सय ५ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मात्रिका यादवको ५ हजार २ सय ५० मत थियो।

यस्तै तिलोत्तमामा एमालेका बासुदेव घिमिरे विजयी बनेका थिए। उनको २१ हजार ८ सय ६८ थियो। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामकृष्ण खाँणको १९ हजार ९४ मत थियो।

गैडहवा गाउँपालिकामा फोरम संघीय समाजवादी फोरमबाट बच्चुलाल केवट विजयी बनेका थिए। उनको ५ हजार ४ सय ४१ मत थियो भने कांग्रेसका वसिउल्लाह मुसलमानको ३ हजार ४ सय १८मत थियो।

कन्चन गाउँपालिकामा एमालेका गोकर्ण बहादुर क्षत्रीले ६ हजार ७ सय ७७ मत ल्याएका थिए भने कांग्रेसका डोल ब थापाले ५ हजार ९ मत ६७ ल्याएका थिए।

कोटहिमाई गाउँपालिकामा फोरम संघीय समाजवादी फोरमका चन्द्र भूषण यादव ३ हजार ३ सय ११ मतसहित विजयी बनेका थिए भने वीरेन्द्र कलवारको ३ हजार १ सय ८९ मत ल्याएका थिए। मर्चवारी गापामा फोरम संघीय समाजवादी फोरमका केसबनन्द बानियाँ ३ हजार ४ सय ५ मतसहित विजयी बनेका थिए। कांग्रेसका ज्ञान प्रसाद मिश्रको २ हजार १ सय ६६ मत थियो।

मायादेवी गापामा कांग्रेसका ध्रुव नारायण चौधरी २हजार ८ सय १६ मतसहित विजयी भएका थिए। यहाँ स्वतन्त्र उम्मेद्बार राम अधारे अहिरको २ हजार २ सय ५२ मत थियो।

ओमसतिया गाउँपालिकामा तत्कालीन माओवादीका हिरा केवटले जितेका थिए। उनी हाल एमालेमा छन्। उनको २ हजार ४ सय ४२ मत थियो। उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मन्जिद कुमार यादवको २ हजार ३ सय ११ मत थियो।

रोहिणी गाउपालिकामा तत्कालीन फोरम संघीय समाजवादी फोरमबाट विजयी भएका सनोज कुमार यादव यतिबेला एमालेमा छन्। उनले ३ हजार ७ सय ६० मत ल्याएका थिए भने राप्रपाका ताहिर अलि भाटले ३ हजार ५ सय ४२ मत ल्याएका थिए।

अघिल्लो निर्वाचनमा जिते पनि अहिले भने सम्भावना कम हुँदै गएको छ। यहा राप्रपाको राम्रो पकड छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved