खचाखच भरिएर गाउँ जान्छन् मालबाहक गाडी, फर्किँदा रित्तै

मानिस नबस्ने तर घर भने पक्की बनाउने रहरले गर्दा पनि गाउँमा निर्माण सामग्री लिएर सवारी साधन बढी भित्रिने गरेका छन्।केही वर्षयता विदेशबाट गाउँ फर्किएका युवाले व्यवसायिक रूपमा व्यवसायिक खेती गरे पनि निर्यात गर्नसक्ने अवस्था नबनेकाले गाडी फर्किँदा भने रित्तै हुने गरेका छन्।

खचाखच भरिएर गाउँ जान्छन् मालबाहक गाडी, फर्किँदा रित्तै

म्याग्दी। देशका विभिन्न शहरबाट म्याग्दीको सदरमुकाम बेनी आउने र बेनीबाट जिल्लाका विभिन्न ग्रामीण भेगमा जाने सवारीसाधन खाद्यान्न, फलफूल, तरकारी, निर्माण सामग्री लगायतका साधनले खचाखच भएर गाउँ जाने भए पनि गाउँबाट फर्किँदा भने रित्तै फर्कने गरेका छन्।

जिल्लाभित्र सञ्चालित तीन दर्जन भन्दा बढी ग्रामीण सडकमा आवतजावत गर्ने सवारी साधनमा मानिस कम र उपभोग्य तथा निर्माण सामग्रीका साधन बढी ढुवानी हुने गर्दछन्। गाउँ जाँदा सामानले खचाखच हुने ती सवारी साधन गाउँबाट फर्किँदा भने रित्तै फर्किने गरेका यातायात व्यवसायी तथा व्यापारीले बताएका छन्।

जिल्लाको ग्रामीण पछिल्लो पटक व्यावसायिक कृषि र पशुपालनमा उल्लेख्य प्रगति भएको भनिए पनि देखिनेगरी परिणाम आउन नसकेको पाइएको छ। केही वर्षयता विदेशबाट गाउँ फर्किएका युवाले व्यवसायिकरुपमा तरकारी तथा फलफूल खेती, बाख्रा, कुखुरा र पशुपालन गरेका भए पनि नियमित रुपमा निर्यात गर्नसक्ने अवस्था बनिनसकेकोले गाउँ जाँदा खचाखच भरिएर जाने यातायातका साधन फर्किँदा भने रित्तै हुने गरेका उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले बताए।

जिल्लाका ग्रामीण भेगमा सडकको पहुँच पुगे पनि थप सुविधाका लागि गाउँ छोडेर शहर पस्ने क्रम बढ्दै गएको स्थानीयवासीले बताएका छन्। “गाउँमा रहेका पुराना घर रित्तै छन्, पछि बनेका घर स्थानीय स्रोतसाधनको प्रयोग नगरी रड र सिमेन्टको प्रयोगबाट पक्की घर निर्माण हुँदै छन्” धौलागिरि गाउँपालिका ६ का इन्दु सुवेदीले बताए। मानिस नबस्ने तर घर भने पक्की बनाउने रहरले गर्दा पनि गाउँमा निर्माण सामग्री लिएर सवारी साधन बढी भित्रिने गरेका र ती साधन फर्किँदा रित्तै फर्किने गरेका उनको भनाइ छ।

गाउँघरमा घर निर्माण हुने क्रम बढेपनि युवा जनशक्ति भने घट्दै गएको छ। वैदेशिक रोजगार, बसाइँसराइ, जागिर र अध्ययनका लागि ठूलो संख्यामा युवा गाउँ बाहिर नै रहँदा उत्पादनजन्य कार्य रोकिएका स्थानीय बासिन्दाको भनाइ रहेको छ। म्याग्दीको उत्तरी र पश्चिमी क्षेत्र कृषि, पशुपालन, वनपैदावर र जडीबुटीको भण्डार नै मानिन्छ।

उत्तरी र म्याग्दीका १७ वटा गाउँ उत्पादकत्वको हिसाबले उत्कृष्ट गाउँ मानिए पनि गाउँले अझै पनि बजारबाट ट्याक्टर र जीपमार्फत गाउँमा आउने खाद्यान्न खाएर गुजारा चलाउँदै आएका मालिका गाउँपालिका– २ का श्यामबहादुर विकले बताए।

पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोट, ताकम, मुना, मुदी, बिम, गुर्जा र उत्तरी म्याग्दीका नारच्याङ, शिख, घार, भूरुङ तातोपानी, दोबा, हिस्तानलगायतका गाउँ कृषि उपज र वनपैदावरका लागि अत्यन्त सम्भावनायुक्त गाउँ हुँदाहुँदै पनि यहाँको उत्पादनले नपुगेर गाउँलेले आयातित खाद्यान्न खानुपरेको नारच्याङका टेकबहादुर पुनले बताए।

सडक पुगेपछि गाउँलेको आर्थिक अवस्थामा कुनै पनि परिवर्तन नदेखिएको स्थानीयवासीले बताएका छन्। विदेशबाट आफन्तले पठाइदिएको रेमिट्यान्सको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ। शहरबाट गाउँमा ट्रक जाँदा सामान भरिएर जाने, र आउदा रित्तै आउने प्रवृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन।

यसले हाम्रो अर्थ प्रणालीको नाजुक अवस्थालाई प्रष्ट पार्दछ। अझ राजनीतिक दबाबबाट सडक निर्माण गर्ने प्रवृत्तिले सडकको अवस्था पनि कमजोर हुनुले यातायात व्यवसायीले मनलाग्दी भाडा असुल्ने गरेका स्थानीयवासीको गुनासो छ। “शहरबाट गाउँमा लैजाने चिज धेरै हुन्छ, ट्रक, ट्र्याक्टरमा मात्रै होइन बसमा नै पनि सामान हालेर गाउँ लगिन्छ, तर गाउँबाट ल्याउने चिज केही नहुँदा रित्तै फर्किनुपर्छ” यातायात व्यवसायी कमल जिसीले भने “यसरी त गाउँ कहिले पो उँभो लाग्ला र ?”

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved