शिक्षा सुधार्न पढाइलाई सिकाइ केन्द्रित गराउनुपर्छ

सिकाइ सुधार गर्न सही ढंगको सिकाइ सामग्रीसँगै त्यही अनुसारको शिक्षक हुनुपर्छ। अहिले पनि नेपालमा पुरातन पद्धतिले नै पढाइरहेका छौं।

शिक्षा सुधार्न पढाइलाई सिकाइ केन्द्रित गराउनुपर्छ
मदन स्मारक मावि, पाटनको विद्यार्थीविहिन सुनसान कक्षाकोठा। तस्वीरः भागिरथी पण्डित
डा. बाल चन्द्र लुइटेल

धेरैले भन्ने गर्छन्, कोभिड महामारीले नेपालको शिक्षा प्रणालीमा रहेको सिकाइलाई कमजोर बनायो। यो आंशिक सत्य हो। कोभिड महामारी अघि पनि नेपालको शिक्षा प्रणालीको सिकाइ स्तर कमजोर नै थियो। कोभिडले थप क्षति पुर्‍यायो।

नेपालको शिक्षा सिकाइ केन्द्रित छैन, पढाइ केन्द्रित छ। पाठ केन्द्रित छ, सिप केन्द्रित छैन।

कोभिडले यो अभाव झनै बढाइदियो। विद्यालय बन्द भए। विद्यालयहरुले अनलाइन कक्षा शुरु गरे। अनलाइनमा पनि पढेर सुनाए मात्र क्रियाकलाप गराएनन्।

अनलाइनमा मात्र नभई पहिलादेखि नै कक्षाकोठामा पनि क्रियाकलाप गराइँदैनथ्यो। नेपालमा बालबालिकालाई अवलोकन गराएर पढाउने परिपाटी छैन। विद्यालय वरपर भएको बिरुवा पढाउँदा त्यसको फोटो देखाइन्छ।

कोभिडको समयमा शिक्षक र विद्यार्थीको अन्तरक्रिया एकदमै कम भयो। पहिला पनि धेरै हुँदैनथ्यो तर कोभिडको समयमा त्यति पनि हुन सकेन।

शिक्षकले पाठ सिध्याउने तरिकाले पढे पनि उनीहरू साथीसँग खेल्थे। सामाजिक अन्तरक्रिया हुन्थ्यो त्यसले गर्दा बालबालिकालाई राहत पुगेको थियो। कोभिडको समयमा सामाजिक अन्तरक्रिया समेत हुन सकेन। यसले सिकाइ शिक्षण प्रक्रियामा घाटा हुन्छ।

नेपालमा ‘स्किल बेस’ भन्दा पनि ‘मेमोरी बेस’ पढाइ हुन्छ। ‘मेमोरी बेस’ भएकाले यस्ता महामारी वा आकस्मिक  समयमा झन् धेरै सफल हुन्छ।

शिक्षक सिकाइ, शिक्षण पद्धति सुधार गर्नुपर्ने जरुरी छ। ‘प्रि’ कोभिड (कोभिड आउनुअघि) पनि यो जरुरी थियो। अहिले झनै जरुरी भएको छ।

कक्षा चढ्ने, एक कक्षाबाट अर्कोमा जानेमा धेरै क्षति भयो । बच्चाहरूले के सिक्ने भन्दा पनि शिक्षकले के पढाउने भन्ने बढी छ। यो तरिकाले पढाउँदा समय–समयमा आउने महामारीले सिकाइमा झन् अलमल थपिदिएको छ।

सिकाइ सुधार गर्न सही ढंगको सिकाइ सामग्रीसँगै त्यही अनुसारको शिक्षक हुनुपर्छ। अहिले पनि नेपालमा पुरातन पद्धतिले नै पढाइरहेका छौं। त्यसैले महामारीमा यसको प्रभाव बढी परेको हो।

कोभिडपछि बालबालिकामा पढेका विषय बिर्सने समस्या (विस्मरण) दुई प्रकारले भएको हुनसक्छ। एक स्वास्थ्य सम्बन्धी समस्याले अर्को सिकाइको कारणले।

गलत तरिकाले पढाए बालबालिकाले सिक्दैनन्। कण्ठ गरेर पढाउने ‘रुट अफ मेमोराइजेसन’ एक तरिका हो। यो तरिका ठिक होइन। उनीहरू समावेश भएर सक्रिय रुपमा सिके भने बिर्सदैनन्।

शिक्षकलाई बुझाएर पढाउन भन्दा पनि कोर्स सकाउन चटारो हुन्छ। यसरी कोर्स मात्र अघि बढाउँदा धेरै सूचना शिक्षकले सम्झाउनुपर्ने हुन्छ। यस्तो शिक्षा भएको हुनाले विद्यार्थीहरूमा हिनताबोध हुनसक्ने मनोवैज्ञानिक  असरहरू चिन्ता, डिप्रेसन र आत्मग्लानी हुने सम्भावना हुन्छ।

२०१९ मा जसरी पढाइन्थ्यो त्यसरी पढाएर हुँदैन। पढाइलाई सिकाइ केन्द्रित र सिकारु केन्द्रित बनाउनुपर्छ। सिकाइ केन्द्रित बनाउनलाई क्रियाकलापमा सहभागी गराउनुपर्छ। यसमा मन्त्रालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।

सिकाइ परिर्वतन गर्न शिक्षकलाई तयारी गर्नेमा सोच्नुपर्छ। अहिले हामीले शिक्षकलाई जसरी तयार पारेका छौँ, त्यो तरिका नै बदल्नुपर्छ।

बिए, बिएस्सी र अन्य संकाय पढाए जसरी नै बिएड पढाइरहेका छौं। यस्तो सिकाइ वातावरण, शिक्षक उत्पादन गर्ने  कार्यक्रम बन्द गर्नुपर्छ।

राम्रो ढंगको सिकाइ गराउने शिक्षक तयार पार्न सकिँदैन भने बिएडको नाममा चलेका कार्यक्रमहरू नचलाए हुन्छ।

अबको शिक्षा विद्यार्थी केन्द्रित र ‘स्किल बेस’ (कौशलमा आधारीत) सिकाइ हुनुपर्छ भनेका छौँ त्यतापट्टी जानुपर्छ। अर्को महत्वपुर्ण कुरा भनेको प्राविधिक व्यवसायिक शिक्षा दिनुपर्छ।

विद्यालय शिक्षामा नै प्राविधिक व्यवसायिक शिक्षालाई जोड्नुपर्छ। यसप्रति सरकार सकारात्मक छ। अब सरकारले पुर्वाधार निर्माण गर्नुपर्छ। प्रयोगशाला निर्माण गनुपर्छ। त्यसका लागि पनि शिक्षक छँदै छैनन्। शिक्षक तयारीको महत्वपुर्ण पाटो अतिक्रमण गरेका छौं। भएका जनशक्तिलाई सिस्टम (प्रणली)मा ल्याउन विभिन्न बाधा व्यवधान आइपरेका छन्। अर्को सही शिक्षक उत्पादन हुन सकेको छैन। अथवा जसरी शिक्षक उत्पादन हुनपथ्र्यो त्यसरी हुन सकिरहेको छैन।

शिक्षक आफैँ परम्परागत तरिकाले पढेर आधुनिक तरिकाले कसरी पढाउन सक्छ ? हामीले सोचेजस्तो बाल केन्द्रित सिकाइ केन्द्रित विधि कसरी प्रयोग गर्न सक्छन ? शिक्षक आफैँले अनुभव गरेका छैनन् त्यो पढाउँछन् भन्ने सोच्नु मूर्खता हो।

विश्वविद्यालय अर्थात् जहाँ शिक्षक उत्पादन हुने संस्थाले विद्यार्थी केन्द्रित, सिकाइ केन्द्रित ढंगले उनीहरूलाई पढाउनुपर्छ। बल्ल त्यो व्यक्ति शिक्षक भएर जाँदा राम्रो सिकाइ गराउन सक्छ।

पाठ्यक्रमहरू राम्रो भए तापनि हामीले शिक्षक त्यसरी तयार गर्न नसकेपछि राम्रोसँग काम गराउन सक्दैनौँ।

कोभिडले नेपालमा मात्र नभई विश्वको सिकाइमा नै असर पारेको छ।

नेपालको विकासका लागि आवश्यक जनशक्ति त्यहाँका समस्यासँग परिचित हुन सक्ने र समस्या समाधान गर्ने जनशक्ति कम हुन्छन्।

आफ्नो गाउँठाउँसँग परिचित नभई विदेश गए त्यो व्यक्ति झन् हराउँछ ।

नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने हो भने कुन देशलाई मानक बनाउन भन्ने यकिन गर्नुपर्छ।

सिगांपुरको मानकमा लाने तर शिक्षा पद्दति चाहि अरु कुनै देशको पछ्याएर हुँदैन। हामीले हाम्रो काम गर्ने तौरतरिका पनि परिकल्पना गरे अनुसार बनाउनुपर्छ।

शिक्षक बनाउनलाई तयार पारिएका कार्यक्रमले शिक्षक बनाउने जसरी पढाउन नसक्ने भएकाले नै अहिलेको सिकाइ कमजोर भएको हो। कुनै सूचना कण्ठ गर, यो विषयको यति पृष्ठको सारेर ल्याउ भनेर सिकाइ सम्भव छैन।

विद्यार्थीलाई यो विषयमा आलोचनात्मक, विश्लेषणात्मक तरिकाले खोजेर ल्याउ भन्ने तरिका अपनाउन सक्छौं।  अर्को तरिका भनेको जे पढाइरहेका गर्छौं त्यसलाई अवलोकन प्रयोगात्मक तरिकाले सिकाउनुपर्छ।

विद्यार्थीलाई खोजी गर्न लगाउने जिम्मेवार बनाउने गर्नुपर्छ। जिम्मेवार बनाउने भन्नुको अर्थ शिक्षकको आदेश मान्ने होइन। उनीहरूलाई आफ्नो सिकाइप्रति जिम्मेवार बनाउनु हो। त्यो कतिखेर हुन्छ भने विद्यार्थीलाई नै पढ्ने, सिक्ने र खोजी गर्ने जिम्मा दिनुपर्छ।

हामी ठूलो कुरा गर्छ तर साना काम गर्दैनौँ। हामीले बच्चालाई नै खोज्ने जिम्मा दिउँ। नेपालका कतिपय स्कुलले कक्षा छ, सात र आठका विद्यार्थीलाई किताब लेख्न लगाएका छन्। उनीहरूले लेखेका किताब प्रकाशन गरेका छन्। त्यसैले रचनात्मक तरिकाले सिकाए राम्रो हुन्छ। कक्षाकोठामा १२ घण्टा राखेर पढाइ सुध्रिदँैन।

न्युनतम घण्टा विद्यालयमा राखेर सोधिखोजी गरेर अन्तरक्रियात्मक वातावरण सिर्जना गर्न सके सिकाइ केन्द्रित हुन्छन् शिक्षण संस्थाहरू। सुनाएर पाठ सिध्याउँछन्, कोर्र्स सकियो भने परीक्षा लिन्छन्। यो अभ्यास कोभिड आउनुअघि पनि भइरहेको हो। त्यसैले कोभिडलाई मात्र दोष दिएर हुँदैन।  कोभिड आएपछि सिकाइ झन खस्किएको मात्र हो।

– काठमाडौं विश्वविद्यालयका शिक्षा संकाय डिन डा. लुइटेलसँग भागिरथी पण्डितले गरेको कुराकानीमा आधारित।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved