क्यान्सरसँग जोडिएको महिला हिंसा

महिलालाई दुर्गा, सरस्वती र लक्ष्मीको रूपमा हेरिन्छ। भनिन्छ, ‘यत्र पुजयन्ते नारी, तत्र रमयन्ते देवता’। अर्थात्, जहाँ नारीको पुजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्। तर पनि नारीहरू किन हिंसामा छन?

क्यान्सरसँग जोडिएको महिला हिंसा

आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । “Gender Equality Today For A Sustainable Tomorrow” अर्थात सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ आज संसारभर यो दिवस मनाइन्छ। जसले लैंगिक समानताको व्यापक पैरवी गर्दछ।

आजको दिनले नारीविरूद्ध हुने अपमान, हिंसा र असमानताको सवालमा प्रतिबाद गर्न नारीहरूलाई जागरूक बनाउँछ। हामी जहिले पनि महिला अधिकारको कुरा गर्छौँ, समानताको कुरा गर्छौ, अब समयले कोल्टो फेरिसकेको छ। अब महिला हरेक क्षेत्रमा पुरूषभन्दा अगाडि आइसकेका विभिन्न उदाहरणहरु हामीले देखिसकेका छौँ। महिलालाई दुर्गा, सरस्वती र लक्ष्मीको रूपमा हेरिन्छ। भनिन्छ, ‘यत्र पुजयन्ते नारी, तत्र रमयन्ते देवता’। अर्थात्, जहाँ नारीको पुजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्। तर पनि नारीहरू किन हिंसामा छन?

सामाजिक तथा क्यान्सर अभियन्ता, अनि क्यान्सर विजेता भएको नाताले क्यान्सरको कारणले उब्जाउने महिला हिंसाको बारेमा सबैको ध्यान केन्द्रित गराउन चाहन्छु। क्यान्सर रोग दिनानुदिन बढ्दो अवस्थामा छ। विभिन्न क्यान्सरहरूमध्ये पनि महिलाहरुमा बढी हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हो। ग्लोबोकनको २०२० को तथ्याङ्कअनुसार नेपालमा नयाँ क्यान्सर बिरामीको संख्या २० हजार ५०८ छ, जसमध्ये लगभग ५७% महिलाहरू छन्।

आजसम्म क्यान्सरका भुक्तभोगी दिदीबहिनीको अवस्था कस्तो छ के उहाँहरू घरेलु अथवा सामाजिक हिंसामा हुनुहुन्छ, हुनुहुन्न भन्ने कुरामा कसैको पनि ध्यान नपुगेको देखिन्छ। विभिन्न क्यान्सर हस्पिटलमा क्यान्सरका बिरामीहरुलाई काउन्सिलिङ गर्ने क्रममा उहाँहरूको पारिवारिक गुनासो र समस्याहरु हामीले सुनेका हुन्छौँ।

एउटा क्यान्सरको बिरामीलाई उपचारको अलावा मनोपरामर्शको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ। मनोपरामर्श र आत्मबल दरो बनाउन र त्यसमाथि सकरात्मक ऊर्जा भर्न एउटा निको भइसकेको व्यक्तिले भर्खरै क्यान्सर पहिचान भएका बिरामीहरूलाई हौसला दिँदै गर्दा एकदमै प्रभावकारी रहेको पाइयो। यसै कुरालाई मध्यनजर राख्दै नेपालमा प्रतिष्ठित क्यान्सर विशेषज्ञ र क्यान्सर विजेताहरूको सहकार्यमा काउन्सिलिङ क्लिनिकको शुरूआत भयो। जसले क्यान्सर पहिचान भएका बिरामीहरूको हौसला बन्ने काम गर्यो। आफ्नो परिवारसँग, डाक्टरसँग भन्न नसकेका कुराहरू हामीसँग बाँड्ने र सरसल्लाह लिने क्रम बढ्दै गयो। यस्तो हौसला र प्रेरणा स्वरूप उर्जाले गर्दा क्यान्सरका बिरामीहरु समाजमा खुलेर आए।

क्यान्सर जो कोहीलाई हुन सक्छ। यो पूर्वजन्मको पाप हैन भन्ने कुरा महसुस गरेँ। आफूले दुःख पाए पनि अरू क्यान्सर बिरामीको हौसला बन्नुपर्छ भन्ने भावनाको विकास भयो र आफ्नो दुःख, सुख साटासाट गर्ने अभ्यास शुरु भयो। क्यान्सर बिरामीहरुले भोगेका र ओझलमा परेका हिंसाहरू बिस्तारै बाहिरिन थाले। तर, यस्ता हिंसाहरु जो भोग्नेले महसुस गर्छ, तर गर्नेलाई पटक्कै महसुस हुन्न। क्यान्सरका बिरामीहरुलाई घर परिवारले कुनै बोझ नदिइकन पारिवारिक वातावरणमा सहज तरिकाले बाँच्न दिनुपर्छ भन्ने सोचको विकास गर्नुपर्छ।

क्यान्सर एउटा यस्तो घातक रोग हो जसको उपचार मा धेरै खर्च लाग्छ र ढिला पत्ता लागेको खण्डमा ज्यानसमेत जान सक्छ। एउटा क्यान्सर बिरामीको यात्रा तब शुरू हुन्छ, जब उसको एकचरणको उपचार सकिन्छ। उ मानसिक स्वास्थ्यसँग दुर्बल शरीर लिएर जुधिरहेको हुन्छ। त्यो अवस्थामा डाक्टरको उपचारको साथसाथै परिवार र समाजको एकदमै मजबुत साथ चाहिएको हुन्छ।

उपचारको क्रममा र उपचारपछि जीवन जिउने हौसला चाहिएको हुन्छ। तर यस्तो अवस्थामा महिला क्यान्सर बिरामीमाथि हुने विभिन्न प्रकारका हिंसाले मानसिक तनावका साथसाथै मृत्युसम्म पुर्याउन सक्छ। मैले क्यान्सर बिरामी तथा विजेताहरूलाई परामर्श सेवा दिँदा देखेका सुनेका हिंसाहरु निम्न छन्ः

१. उपचारको क्रममा हुने हिंसा

  • केमो दिन जानुअगाडि सासुले बुहारीलाई घरको भएभरका लुगाहरु धुन लगाउने। किनकि केमो दिएर आएपछि उ हप्ता दिन थला पर्छे र केही काम गर्न सक्दिन भनेर।
  • बिरामीलाई अस्पतालमा भर्ना गरेर अलपत्र गरेर श्रीमान भाग्ने।
  • क्यान्सरले मरिहाल्छे पैसा धेरै खर्च गरायो भनेर उपचारमा बेवास्था गर्ने ।
  • मुखले विचारा भन्ने तर उपचारको समयमा पनि घरायसी काममा कसैले सहयोग नगर्ने।
  • श्रीमतीको उपचार भइरहेको अवस्थामा अर्को महिलाको प्रेममा रहने र उपचारमा बेवास्था गर्ने।
  • श्रीमान पत्रिका पढेर आरामले बस्ने। बिरामी श्रीमती आफ्ना सबै सामान र औषधि बोकी श्रीमानसँगै अस्पताल जानुपर्ने।
  • बिरामी महिलाले परिवारको लागि खाना बनाउनुपर्ने तर रोग सर्छ भनेर सबैले खाएपछि खानुपर्ने।
  • क्यान्सर उपचार भइरहेको अवस्थामा घरमा छोरीबेटीसहित बस्ने गरी पाउनहरू बोलाइदिने, सबै घाम ताप्दै गफ चुटेर बस्ने, अनि त्यो बिरामीले खाना पकाउने, भाँडा माझ्ने सबै काम गर्नुपर्ने।

२ः उपचारपछि हुने हिंसा

  • क्यान्सरमा नियमित फलोअप गर्नुपर्ने हुन्छ तर खर्चको कुरा देखाएर ढिला गरिदिने, जस्ले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने।
  • धेरै खर्च गराई, परिवारलाई कंगाल बनाई, अलच्छिनी जस्ता विभिन्न शब्दहरु प्रयोग गरी मानसिक यातना दिने।
  • श्रीमान श्रीमतीको सम्बन्धमा फाटो आउने÷ल्याउने प्रयास गर्ने।
  • बिरामीको पौष्टिक आहारमा ध्यान नदिने।

३. समाजबाट हुने हिंसा

  • उपचारको क्रममा अथवा उपचारपछि मरीहाल्छे भनेर घृणाको दृष्टिले हेर्ने।
  • मरीहाल्छ, उपचारमा किन खर्च गर्ने? अर्को बिहे गर्न उकास्ने।
  • असक्षम र असफल महिलाको रुपमा चित्रण गर्ने।
  • समाजका आफन्तले तिमी बाँच्दैनौ भनेर नकरात्मक असर पारिदिने।
  • बिरामीको अगाडि आएर क्यान्सरका नकारात्मक कुराहरु मात्र गरेर मानसिक तनाव दिने।

यी त हिंसाका केही उदाहरण मात्र हुन्। तर वास्तविक तितोसत्य हुन्, जुन क्यान्सर योद्धाले भोगेका छन्। यी कुराहरू सबै परिवारमा लागू नहुन सक्छ। सबै परिवार असहयोगी नहुन सक्छन्। तर, यो कथा न त काल्पनिक हो, न काठमाडौं उपत्यकाको मात्र हो। यो कथा त हाम्रो देशमा रहेको दूर्गम तथा उपत्यकामा क्यान्सर भएका महिला दिदीबहिनीहरुको मिश्रित व्यथा हो।

सामाजिक न्याय र लैंगिक समानता; दिगो विकासको सुनिश्चितता प्राप्त गर्नको निम्ति क्यान्सर रोग लागेका र क्यान्सर रोग जितेको महिलाहरूलाई पनि बिर्सनु हुँदैन। यसको लागि महिला क्यान्सर बिरामीहरूलाई मानसिक, आर्थिक र शारीरिक रूपमा सक्षम बनाउन जरुरी छ।

यसको निम्ति क्यान्सरका बिरामीहरुलाई मनोबल बढाउन र सकरात्मक ऊर्जा दिने काम श्रीमान, परिवार र समाजले गर्ने हो भने मात्र लैंगिक समानता का कुरा ले सार्थकता पाउन सक्छ।

अन्यथा रोगको समयमै पहिचान भए तापनि, उपचार सही समयमा भए तापनि क्यान्सर योद्धाहरूमा माथि उल्लेखित हिंसा भइरहने हो भने, आर्थिक रूपमा सक्षम नबनाउने हो भने लामो जीवन जीउन एकदमै कठिन र चुनौतीपूर्ण हुन जान्छ। तसर्थ, क्यान्सरबाट आइपरेका महिला हिंसामा पनि सरकार, महिला अधिकारकर्मी र महिला सशक्तीकरणमा काम गर्ने सबैको ध्यान पुग्न अति आवश्यक छ।

(खनाल नेपाल क्यान्सर सरभाइवर्स सोसाइटीकी अध्यक्ष हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved