गठबन्धन भत्किएर आकाश खस्दैन, एमसीसीको विरोध गर्छौँ : झलनाथ खनाल

नेपालभ्युज

गठबन्धन भत्किएर आकाश खस्दैन, एमसीसीको विरोध गर्छौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन भत्किएपनि केही फरक नपर्ने बताएका छन्। उनले एमसीसी विरोधमा नागरिकले रगत बगाइरहेको समयमा संसदबाट यो सम्झौता अनुमोदान गराउनु नेपालका लागि दुखद् हुने बताए।

‘‘गठबन्धन भत्किए पनि आकाश खस्नेवाला छैन, पृथ्वी फाट्नेवाला पनि छैन। हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ।’’

उनले एमसीसीबारे विरोध जारी रहने बताए। एमालेसँग गठबन्धन गर्न कांग्रेस स्वतन्त्र रहेको पनि उनले बताए। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले भने, ‘‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ। अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ। हामी हाम्रो बाटो हिँड्छौँ। आ-आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ। त्यसले केही फरक पार्नेवाला छैन।’’

‘‘यो ढंगले जबर्जस्ती ल्याउने जुन कुरा भएको छ, त्यसले आज राष्ट्र विभाजित छ। मान्छेहरु सडकमा निस्किएका छन्। मान्छेहरुलाई शेरबहादुर देउवाजीका पुलिसहरुले दनादन कुटिरहेका छन् । टाउको फुटाइरहेका छन्। रगत बगाइरहेका छन्,’’ उनले भने,‘‘आफ्नो देशका नागरिकहरुको रगत बगाएर, त्यो रगतमाथि कुल्चिएर, यो देशको सरकारले यस्ता कुराहरु अनुमोदन गराउँछ भने यहाँ भन्दा दुःखद् अध्याय नेपालको इतिहासमा अरु केही हुन सक्दैन।’

नेता खनालले अमेरिकाले थापेको पासोमा प्रधानमन्त्री देउवा परेको बताए। नेकपा एकीकृत समाजवादीले एमसीसीमा समर्थन नगर्ने र माओवादी केन्द्रले पनि यही निर्णय गरेको खनालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved