प्रिय पात्र

ममा छाप छोड्ने यी पात्रहरू

लिउमा आफूजस्तै निम्न वर्गका केटाकेटीप्रति पनि उत्तिकै माया र एकता थियो। भेडा भेडासँग बाख्रा बाख्रासँग भनेझैँ उनी गरिब वर्गका केटाकेटीलाई परेको अप्ठ्यारो उस्तैउस्तै एकगठ गर्थिन् र दुःख दिने विरुद्ध प्रतिकार गर्थिन्। बाह्र पन्ध्र वर्षकी किशोरीले त्यो बुझ्झीपन देखाएको प्रशंसनीय हुन्छ नै।

ममा छाप छोड्ने यी पात्रहरू

गद्य होस् वा पद्य होस्, अथवा कथा, आख्यान, उपन्यास र नाटकहरू पढ्दा त्यसका नायक वा प्रमुख पात्रको चयन सायद पाठकलाई अमिट छाप छोड्ने नै गरी बनाइन्छ होला। मलाई पनि विभिन्न कालखण्डमा पढिएका पद्य र गद्यका प्रमुख पात्रले तत्काल मन छोएको र विस्तृत नभए पनि छिपछिपे सम्झना र प्रशंसा रहिरहेको अनुभूत हुन्छ। हरेक पढिएका साहित्यमा प्रभाव पार्ने कोही न कोही भए पनि अहिलेलाई चार वटाको सन्दर्भ उल्लेख गर्दछु।

१. कासावियन्का

नेपालको ०२८ सालअघि ९ र १० कक्षामा पढ्नुपर्ने अङ्ग्रेजी कवितासङ्ग्रहका धेरै चित्ताकर्षक कवितामध्ये पर्छ– कासावियन्का कविता। ४१ वर्षकै आयुमा बितेकी फेलिसिया हेमन्स (१७९३–१८३५) लिखित उक्त कवितामा एक युद्धमा लडन गएको सेनाप्रमुखको छोरा कासावियन्काको बाबुको आज्ञाकारिताको बेजोड उदाहरण वर्णन गरिएको छ। घटनामा नाइल नदीको युद्धको झझल्को छ। जहाजको एक छेउमा छोरालाई बसिरहन आदेश दिएर मोर्चामा गएकोे बाबु, छोराले थाहा नपाउँदै मृत्युवरण गरिसक्छ। जहाजमा आगलागी हुन्छ र आगोका लप्काहरू कासावियन्का बसेकातिर फैलिन लाग्छ अनि छोरो चिच्याएर भन्छ, ‘बा मेरो काम सिद्धिएको भए भन्नुहोस् है।’ बिस्तारै आगोको लप्का बढदै उसको फर्फराइरहेको कपाल र आँखीभुइँ पोलिएको गन्ध आउन थाल्छ। बहादुरीपूर्वक उभिएको त्यो बालक सकेको चिच्याउँदै भन्छ, ‘बा म यहाँबाट जानुहुन्छ कि ?’ तोपगोलाको आवाजसँगै उसका आवाज बिलाउँछ।

बहादुरीपूर्वक बाको आज्ञामा मृत्युक्षेत्रमा उभिएको त्यो बालक कासावियन्का आगोको मुस्लोबिचमा अन्तिम पटक चिच्याउँछ, ‘बा, म यहीँ बस्नैपर्ने हो ?’ बाबुको आज्ञालाई रौँ बराबर पनि फरक नगरी भनेकै ठाउँमा नै उभिने त्यो बालक जहाजको मस्तुलको झण्डाजस्तै उच्च आज्ञाकारिताकासाथ जहाज विस्फोटनसँगै भएको टुक्राटुक्राजस्तै कता पुग्छ, कसैलाई थाहा हुँदैन।

मेरो जीवनमा कासावियन्काको चरित्र सधैँ प्रशंसनीय, हृदयविदारक र बहादुर बालक आज्ञाकारिताको अनुपम पात्रको रुपमा रहिरहेको छ।

युद्धमोर्चाको वर्णनसहित बालक कासावियन्काको एकल सम्वाद रहेको यो कविता मैले राम्ररी नबुझेपछि मेरा बाले एकएक लाइन पढ्दै नेपालीमा भन्नुभएथ्यो। म मात्र होइन, यो वाचन गर्दा मेरा बा पनि पढ्दापढ्दै घुँक्कघुँक्क गरेपछि म बेजोडले रोएथेँ। पछि कक्षामा पढाउँदा पनि म रोएको थिएँ। त्यो कासावियन्काको स्थितिमा। अझै पनि परिवारमा आज्ञाकारिताको कुरा उठ्यो कि मलाई त्यही कविताको पात्र सम्झना हुन्छ र भावविह्वल हुन्छु।

२. लिउ हु-लान

चिनियाँ साहित्यकार छिउन लिले लेख्नुभएको लिउ हु–लानको बालककालका कथा (२० पानाको) शीर्षकमा नेपाल–चीन मैत्री सङ्घका लागि रामले अनुवाद गर्नुभएको हो। एसएलसीपछि वसन्तपुरको मैत्री सङ्घको पुस्तकालयमा अध्ययन गर्न जाँदा भेटेर पढेको थिएँ। आज पचास वर्षपछि पनि झलझली कथाको मूल विषयवस्तुको सम्झना छ।

सन् १९३२ मा जन्मिएकी लिउमा पारिवारिक, वर्गीय माया औधि थियो। सक्ने बेला भएदेखि घरमा आमालाई सघाउने गर्थिन्। नयाँ चिजविजको जोहो गर्नुपरे अरूका बाली उठाइसकेपछि खेतबारीमा गएर सिला खोजेर जम्मा पार्थिन् र आमाले बेचेर लुगाको जोहो पनि गर्थे। बहिनीलाई आफ्नो भाग पनि काटेर दिई लुगाको व्यवस्था गर्न सघाइन्।

लिउमा आफूजस्तै निम्न वर्गका केटाकेटीप्रति पनि उत्तिकै माया र एकता थियो। भेडा भेडासँग बाख्रा बाख्रासँग भनेझैँ उनी गरिब वर्गका केटाकेटीलाई परेको अप्ठ्यारो उस्तैउस्तै एकगठ गर्थिन् र दुःख दिने विरुद्ध प्रतिकार गर्थिन्। बाह्र पन्ध्र वर्षकी किशोरीले त्यो बुझ्झीपन देखाएको प्रशंसनीय हुन्छ नै। जमिनदारको छोरो शि ते चेन जस्ता उरन्ठेउला र दुष्ट मति भएका उही उमेर समूहका केटाहरूका ज्यादती विरुद्ध बदमासी नगर्न तर्क र सल्लाह दिन्थिन्। केही नलागेपछि भौतिक आक्रमणको घोषणा गर्दा पनि ठेगानमा नआएपछि नाथ्री फुटुन्जेल भकुरेर लखेट्न सक्षम भइन्। छोरोले कुटाइ खाएपछि धम्की दिँदै हकार्न आइपुगेको जमिनदारलाई सबै गरिब केटाकेटीहरूले एकमतोमा हामी सबैले कुटेका हौँ भन्छन्। सङ्ख्यात्मक बहुलता र एकमतोको रिसको अगाडि हच्केर जमिनदार पछि हट्छ।

राजनीतिक चेतनाको प्रकाशमा आलोकित हुँदै केटाकेटी नै भए पनि शत्रु पक्षबारे सचेत थिइन्। जनताको विरुद्धमा सुराकी गर्ने र गाउँमै बसी विदेशीका लागि दलाली गर्नेका गतिविधि निगरानी गर्न त्यतिखेरका परिवर्तनकारी शक्तिलाई सघाउँथिन्। विदेशीका कमाराहरूले देश र जनताविरुद्धमा परचक्रीलाई सूचना दिन्थे, त्यो कुरा बुझेपछि उनले त्यस्ता काम गर्नेका गतिविधि पछ्याएर देश र जनताका हितमा काम गर्ने काकाहरूलाई सघाउँथिन्।

जनतापट्टिबाट सङ्घर्ष गर्नेलाई अरू केही दिननसके सद्भाव र सहानुभूति प्रकट गर्न साँचेर राखेको कुरासमेत बेच्न पछि पर्दैन थिइन्। शत्रुको पञ्जामा परेपछि ज्यान बचाउन आफ्ना कुरा खोलिनन् बरु मृत्यु वरण गरिन्। त्यसैले उनको मृत्युलाई ‘ज्यादै ठूलो जीवन ! गौरवले भरिएको मरण’ भनि आदर गरिन्छ।

आफ्नो राजनीतिककालमा समेत धेरै उपयोग गरेको यो कथा र यसका नायिका लिउ हु–लान मेरा प्रिय पात्र हुन्।

३. भन्ज्याङ्को चौतारो

आख्यानकार रमेश विकलको ‘नयाँ सडकको गीत’ मूलतः गाउँले परिवेशका विविध घटनामा आधारित सीमित पात्रपात्री भएका नौवटा कथा समेटिएको सङ्कलन हो। काठमाडौँ उपत्यका र यसैको काँठ क्षेत्रमा हुनसक्ने घटनाहरू तथा पात्रहरूको संयोजन सजीव ढङ्गले प्रस्तुत गर्न आख्यानकार अति नै सफल भएको महसुस हुन्छ। म आफैँ काँठमा हुर्किबढेकाले पनि त्यस्ता घटना र पात्रहरू देखे जानेकैले पनि लेखकको इमानी आख्यानकारी यथार्थपरक लेखाइ भन्न सक्छु। पहिलो कथा ‘भन्ज्याङको चौतारो’ उपत्यकाको डाँडातिरको वा अलिपर पहाडी भूधरातलको भएको सम्वादबाट शुरु हुन्छ।

बले र पातली मूल पात्र हुन्। आख्यानकारले एउटा घटनामा भेट भएका पात्रपात्रीलाई मज्जाले स्मृतिका जलपले कुनै बेलाको सहवास र सम्बन्धको गहिरो छापको वर्णन पृष्ठभूमिमा देखाउँदै र अझै पनि हृदयको कुनै कुनामा चोप भई टाँसिएको मायालाई उजिल्याएका छन्। उमेरजन्य तथा स्नेहले आत्मीय भएका जोडी समयक्रममा तत्कालीन सामाजिक परिवेश र दैनिक आवश्यकता, क्षणिक बाध्यतामा परिवारको विखण्डनसम्मको निर्णय गराउन सक्दो रहेछ भन्ने देखाइएको छ। यस कथामा पातली बाध्यताबस बले लाहुरे हुन परदेश गई फर्किएको र भन्ज्याङमा थकाई मार्न बस्दा भेटिएकी उसकी पूर्वपत्नी पातलीलाई अर्काकी भएर एउटा घुतुमुने छोरोसहितको देखभेटमा उब्जेका भाव र पूर्वस्मृति मनोवैज्ञानिक भावका रुपमा उल्लेख छ। बले र पातली अति मिल्ने दया र प्रेमका सम्मिश्रणका जोडीका रुपमा स्मरण गरिएको छ। पूर्व जोइपोई भेट हुँदा पनि पूर्व प्रेमको चोखो वर्णन र अझै मनमा मायाको अनुभूतिले स्वच्छन्द विवाह गर्न सकिने र घरजम गर्ने मानिसका समूहमा आउने मनोदशाको बेजोड प्रस्तुति देखिन्छ।

पातलीले बलेको स्वभाव सम्झेर आफैँ नखाने तर चाम्रे र पुवा मनपर्ने भएर लुकाइछिपाई बनाएर ख्वाउनी र बले त्यसैले बालकले जस्तै पातलीले भनेको सबै मान्ने सम्झिई भने कसले ख्वाउँदो हो त्यो भोलेनाथ बलेलाई आजकाल भनेर मन कटक्क पार्छे। अहिलेको बालकको अनुहार बलेलाई नछोडेकी भए बलेको जस्तो हुन्थ्यो भन्ने पनि कल्पना गरी र ममताले पछुतो गरी ल्याएको खाजा दुई भाग लगाएर पातलीले बलेतिर सारी र बिस्तारै लिन अनुनय गरी तर बलेले सुन्दैन। पातली बलेलाई भोक लागेको थाहा पाएर मायाले मुखमा भएको फाँको पनि निल्न नसकेर द्रवित हुन्छे। थोरै सम्वादपछि पातली पुरानो माया सम्झँदै भन्छे, ‘केले केले मेरो बुद्धि भर्मनाइदियो, मेरो भाग्य त्यस्तो।’ सम्वादकै क्रममा विवाह गरी बस्न पातलीको सल्लाहमा बले पुरानै मायाको पाराले भन्छ, ‘तँ फेरि आउँछेस् भने….।’ उ रुँदै भन्छे, ‘जे हुनु भइगयो मेरो बिन्ती मान, म मारेको पाप लाग्ला, अब घरजम गरेर बस है।’ पातलीको नयाँ लोग्नेले बलेकै अगाडि झर्केर ‘चाँडै हिँड’ भन्दा बलेको मनमा मौन चित्कार थियो, ‘…पातली..घुम्ति घुम्ने बेलामा …एकपटक पछाडि फर्केर हेरी। ती आँखा विबश थिए।…जिन्दगी यस्तै हो …।’

यसरी बाध्यताबस र सामाजिक संस्कारअनुरुप जोडी समूह टुक्रिने प्रचलनमा सामान्य आर्थिक अवस्थामा र परिवेशमा पनि पहिलो पटकको जोडीबिच धेरै आत्मीय र प्राकृत प्रेम गढेको हुँदो रहेछ। माया र प्रेमको वजन आर्थिक र सामाजिक परिवेशले नघटाउने रहेछ, बरु गाढा हुँदो रहेछ। सबै अरु मानिसलाई आफूलाई मन परेको र माया भएको बिचमा एउटा निष्कलङ्क पे्रम जीवनभरि पिछा नछोड्ने गरेर टाँसिएको हुनेरहेछ भन्ने अनुपम उदाहरणका रुपमा बले र पातलीले मेरो मनमा ठाउँ पाइरहेका छन्।

४. रोल नम्बर चार

दस वटा कथाहरूको सँगालो भएको नियात्राकार निर्मोही व्यासको ‘स्वयम्भूका आँखाहरू’ को अन्तिम कथा ‘रोल नम्बर चार’ साह्रै मन छुने र द्रविभूत पार्ने परिवेशको कथा हो। कहिले कुल्ली काम गरेर, कहिले व्यापारीको सामान बोकेर, कहिले चिम्नी भट्टामा इँटा बोकेर परिवारको गुजारा गर्ने प्रयास गरिरहेको एक चौध वर्षे किशोर पढ्ने चाहनाले विद्यालय त भर्ना हुन्छ तर कहिल्यै समयमा उपस्थित हुन पाइरहेका हुँदैनन्। प्राज्ञिक अनुशासन प्रिय शिक्षक पहिला त राम्रो नमानेर कडाइ गर्न खोज्छन् तर कक्षाका अरु विद्यार्थीबाट थाहा पाएपछि सहानुभूति राख्छन्।

प्रायः कक्षामा अनुपस्थित हुने रोल नम्बर चार उपस्थित हुँदा चिरैचिरा परेको कमिज र पाइजामा, कलेँटी परेका ओठ, ठेला परेका कुर्कुच्चाबाट रगत बगिरहेको भए पनि शान्त र शिष्ट स्वरमा हाजिरी लिँदा ‘यस सर’ भन्छ। ऊ नभएको दिन शिक्षकलाई सून्यसून्य लाग्छ। बेलाबेला मध्यान्तरमा छुटेका पाठ लिन शिक्षकलाई भेट्छ।

शनिबार पिकनिक मनाउन शुक्रबार साँझ साथीकहाँ हिँडेका शिक्षक प्रकृति र अन्य मनमोहक दृश्यबाट आल्हादित हुँदै गइरहेका हुन्छन्। एउटा दाउरे पसिना पुछ्दै कम्बर मर्काउँदै दाउरा बोकेर बजारतिर लाग्दै हुन्छ। रेडियोमा तारादेवीको रोमान्टिक गीत घन्किरहेको हुन्छ, शिक्षक आनन्द मान्दै हिँडिरहेका हुन्छन्। एक चिनिएको आवाजले ‘नमस्कार सर’ भन्छ। तर त्यो दाउरे नै रोल नम्बर चार रहेछ। ऊ शिक्षकको उत्सुकतामा ‘दुःखीलाई दुःखसँग केको डर सर’ भनी हिँड्दै जवाफ दिन्छ।

रोल नम्बर चारको अवस्थामा शिक्षक सधैँ उत्सुक र चिन्तित हुन्छन् तर फोस्रो औपचारिकता पनि व्यक्त गर्न नसकी द्रविभूत हुन्छन्।

शिक्षक कमलपित्तले सताइएर तीन महिनाका लागि अस्पतालमा भर्ना हुन्छन्। एक दिन बिहान अस्पतालमा ‘नमस्कार सर’ भन्ने उही थाङ्ने पाराको रोल नम्बर चार। ‘आमालाई औषधि गर्न लेर आएको र सर हुनुहुन्छ भनेर पसेको’ भन्छ। अस्पतालले औषधि बाहिरबाट किन्न भनेको छ। सरकारी अस्पतालमा हामीलाई सिट छैन भन्छ, हुनेखानेलाई मात्र रहेछ भन्छ र द्रवित आँखा लिएर हात जोड्दै बाहिरिन्छ।

तीन महिनापछि शिक्षक अस्पतालबाट बाहिरिन्छन्। टेस्ट परिक्षा चलिरहेको हुन्छ। रोल नम्बर चार निमग्न लेखिरहेको हुन्छ। अर्को दिन परीक्षा शुरु हुन्छ तर रोल नम्बर चार छैन। एक घण्टा बितेपछि ‘मे आई कम ईन सर’ भन्ने स्वरले झस्किन्छु। निचोरिएको अनुहारमा रोल नम्बर चार रहेछ। जाँचमा बस्न दिउँ वा नदिउँ दोमनमा शिक्षकले बस्न दिन्छन्। प्रश्नपत्र र कापी दिएपछि उसले शिक्षककै कलम माग्छ र लेख्न थाल्छ।
कथामा उल्लेख छ, ‘परीक्षा सकिएपछि शिक्षकले कापी अफिसमा बुझाई घरतिर लाग्छन्। बजार बाटो जाँदै गर्दा ‘सर एकै छिन’ को आवाजले रोकिन्छु। गुण्टा बोकेर हातमा व्याग झुण्ड्याएको रोल नम्बर चारले मेरो कलम फिर्ता गर्न बिर्सेकोले पर्खाएको रहेछ। शिक्षकले अरु कुरा गर्दै सोधे, ‘आज बिहान परीक्षामा ढिलो किन आएको ?’ उसले मुख अँध्यारो पार्दै भन्यो, ‘आमालाई सेलाउन गएको थिएँ र मशानघाटबाट सरासर स्कुल आएँ त्यसैले …।’

विपन्नता र अध्ययनप्रतिको पराकाष्ठा चित्रित यो कथाको पात्र मेरा लागि सधैँ सम्झने नायक हुन्, जुन् नेपाल लगायत तेस्रो संसारका हरेक मुलुकमा पाइन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved