एमसीसीबारे तीनथरी मत, अलमलमा गठबन्धन

कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा उभिँदा माओवादी सरकार छोड्ने मनस्थितीमा छ भने एकीकृत समाजवादी र जसपा अनिश्चित छन्।

एमसीसीबारे तीनथरी मत, अलमलमा गठबन्धन

काठमाडौं । शुक्रबारको सत्तागठबन्धन बैठकमा प्रधानमन्त्रीले एमसीसी टेबल गर्नुपर्ने विषयमा जोड दिइरहदाँ माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल यसलाई टेबल गर्न नहुने अडान दोहोर्या‍ए। अध्यक्ष नेपालले आफ्नो पार्टीको शनिबार हुने बैठकले एमसीसीबारे निर्णय गर्ने भएकाले त्यतिन्जेलसम्म पर्खन देउवासँग आग्रह गरे।

बैठकअघि माओवादीका अध्यक्ष प्रचण्डले नेपाल र यादवसँग आफ्नो निवासमा अलग छलफल गरेका थिए।

१० बजे बसेको सत्तारुढ गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, दिलेन्द्र प्रसाद बडु र कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालसँग छलफल गरे। छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्डले नेपाल र जसपाको यादव समूहसँग गुटबन्दी गरेर आफुमाथि दबाब सिर्जना गर्ने प्रयास गरेको निष्कर्ष प्रधानमन्त्रीको थियो, बैठकमा नरम रुपमा प्रस्तुत भएर नेपालले पार्टीको आसन्न बैठकको निर्णय कुर्न आग्रह गरेकाले शुक्रबार एमसीसीलाई संसदमा टेबल नगर्ने निर्णयमा पुगेको देउवाले सुनाएका थिए। उनले आइतबार भने कुनै हालतमा एमसीसी टेबल गर्ने योजना पनि सुनाए।

नेकपा माओवादी केन्द्रको बुधबारको बैठकले सत्तासाझेदारहरूसँग सहमति नगरी प्रधानमन्त्रीले संसद्मा एमसीसी टेबल गर्ने निर्णय लिए सरकारबाटै अलग हुने निर्णय गरिसकेको छ। जसपा र नेकपा एसले भने एमसीसी टेबल भएको अवस्थामा के गर्ने भनेर स्पष्ट निर्णय गरिसकेका छैनन्। त्यसैले यी दुई दललाई अझै एमसीसीका पक्षमा मनाउन सकिन्छ भन्ने आशा प्रधानमन्त्रीमा छ।

तर, प्रचण्डप्रति भने देउवा त्यति सकारात्मक देखिएका छैनन्। त्यहीकारण हुनसक्छ, बिहीबार साँझको बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई राम्रोसँग आफ्नो भनाइ पनि राख्न दिएका थिएनन्। उनले बोल्दा–बोल्दै प्रचण्डलाई रोकेका थिए। र, बैठक बिना निष्कर्ष टुंगिएपछि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न बालकोट लागेका थिए।

बिहीबारको बैठकमा सहभागी भएका कांग्रेस महामन्त्री गगनले पनि प्रचण्डकै कारण गठबन्धनमा अविश्वास बढेको बताए। शुक्रबार संसद् भवनमा पत्रकारहरुसँग कुुरा गर्दै उनले माओवादीले कांग्रेससंँग छलछाम गरेको आरोप लगाए। ‘‘ माओवादीको छलछाम अब वार—पार हुनेछ,’’ उनले भने।

छलफल स्वभाविक हो : राजेन्द्र श्रेष्ठ
आफुमाथि दबाब सिर्जनाका लागि तीन दलले गुटबन्दी गरेको निष्कर्ष प्रधानमन्त्रीले निकालेपनि जसपाका नेता राजेन्द्र श्रेष्ठ त्यसलाई स्विकार्न तयार छैनन्। उनले सत्ताघटक तीन दलबीचको छलफललाई सामान्य लिनुपर्ने बताए। ‘‘यसलाई गुटबन्दी वा कसैमाथि दबाब सिर्जना गर्ने रणनीति भनेर बुझ्नु हुँदैन’’ श्रेष्ठले भने, ‘‘हामीहरु पनि अहिले देखिएको समस्या कसरी समाधान गर्ने भन्नेमै केन्द्रित छौं। राष्ट्रिय राजनीतिमा उथलपुथल देखिएको बेला दलहरुबीच दुुईपक्षिय र बहुपक्षिय छलफल हुुनु सामान्य हो।’’

कांग्रेस सचेतक पुष्पा भुुसालले सतागठबन्धनमा थप सहमतिको प्रयास गरेर आइतबार एमसीसी संसदमा टेबल हुने दाबी गरिन्। ‘कांग्रेस तथा प्रधामन्त्री देउवाको चाहना सक्दो चाडों गठबन्धनभित्रै सहमति गरेर एमसीसी अघि बढोस् भन्ने छ,’ भुुसालले भनिन, ‘मेरो बुुझाईमा आइतबार एमसीसी टेबल हुन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved