“एमसीसीमा राष्ट्रलाई घात गर्ने कुराहरू छन्, नसच्याई कुनै हालतमा पास गर्न दिँदैनौं”

नेपालभ्युज

“एमसीसीमा राष्ट्रलाई घात गर्ने कुराहरू छन्, नसच्याई कुनै हालतमा पास गर्न दिँदैनौं”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारीत गर्न नदिने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरू भएकाले संशोधन नगरी संसदबाट पारीत गर्न नदिने बताए।

एमसीसी सम्झौता केवल करार सम्झौता भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले तर्क गरे।

सो सम्झौतालाई संसदले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू नै प्रभावित हुने उनले जिकिर गरे। भने, “गठबन्धनलाई कुनै ठेगानले छुँदैन। एमसीसी मुद्दा राष्ट्रकै विवादको मुद्दा हो। यो कुनै गठबन्धनको मुद्दा होइन। सिंगो नेपालको मुद्दा हो यो। नेपाली जनताको मुद्दा हो यो। सम्पूर्ण नेपाली जनताको अभिमतअनुरूप यो सवालमा टुंगोमा पुग्नुपर्छ। तर जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन भनेको निश्चित सवालमा सहमतिका आधारमा बनेको यो गठबन्धन हो।”

यो गठबन्धनलाई यो सवालले छुनुपर्ने कुनै पनि आवश्यकता आफूले नदेखेको उनले बताए। “एमसीसी सन्दर्भमा हाम्रो धारणा के हो भने, यसमा गम्भीर र गम्भीरतम् आपत्तिका कुराहरू छन्। यो राष्ट्रलाई घात गर्ने खालका पक्षहरू छन्। यी कुराहरू नसच्चिइकन, यिनीहरूलाई संशोधन नगरीकन हामी यसलाई पास गर्न दिदैनौँ। एमसीसी सम्झौता दुई देशबीचको भियना कन्भेन्सन अनुरूपको अन्तर्राष्ट्रिय सम्झौता होइन, यो करार सम्झौता मात्रै हो। करार सम्झौताहरूलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गरिदैन। नेपालको संसदले पनि गर्नु हुँदैन। गरियो भने यसले गलत नजिर बस्छ। र नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरू भोलि पनि प्रभावित हुन्छन्। त्यसकारण यो गलत कुरा हो।”

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ राजनीतिक दलहरूबीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताए।

कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उनले स्पष्ट पनि पारे। नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गरी आ-आफ्नो मत प्रकट गर्नुपर्ने उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved