काठमाडौं। सामान्यतया उमेर पुगेका व्यक्तिलाई मात्रै क्यान्सर हुने भ्रम अझै हाम्रो समाजमा छ। तर साना बालबालिकालाई पनि क्यान्सरको जोखिम उच्च हुने गरेको छ। बालबालिकामा हुने क्यान्सरको पहिचानदेखि उपचारसम्मको समस्याहरू हाम्रो समाजमा व्याप्त छन्।
विभिन्न क्यान्सरमध्ये पाँच वर्षमुनिका बालबालिकाहरूमा पनि आँखाको क्यान्सर हुने गरे पनि नेपालमा क्यान्सरको उपचारबाट अझै पनि थुप्रै बालबालिका वञ्चित छन्।अस्पतालसम्मको पहुँच, उपचार खर्च र जनचेतना अभावमा हजारौं बालबालिका क्यान्सरबाट पीडित भएका छन्।
बालबालिकामा एक वा दुवै आँखाको भित्री भागको पर्दा रेटिनाबाट पलाउने क्यान्सर लाग्न सक्ने चिकित्सकहरू बताउँछन्। तिलगंगा आँखा अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार १५ हजार नवजात शिशुमध्ये एक जनामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) देखा पर्ने ले बताउँछनि्।
“क्यान्सर शरीरको जुनसुकै भागमा लाग्न सक्छ,”उनले भनिन्, “आँखाको विभिन्न भागमा पनि क्यान्सर हुन सक्छ, शिशु जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई हुने क्यान्सरलाई रेटिनोब्लास्टोमा भनिन्छ, जुन शिशुले आमाको गर्भदेखि नै जेनेटिक म्युटेसन (वंशाणुगत उत्परिवर्तन) लिएर आएको हुन्छ त्यस्ता बालबालिकालाई रेटिनोब्लास्टोमा हुने गर्छ।”
रेटिनोब्लास्टोमा क्यान्सर आमाले कुनै खाना खाएर वा रोग लागेर नभई जेनेटिक म्युटेसनबाटै शुरु हुने उनी बताउँछिन्।उनकाअनुसार, शुरुआती चरणमा आँखाको कालो भागमा सेतो टिका जस्तो देखिन्छ। त्यतिबेला नै उपचार भएन भने त्यो ट्युमर आँखाको बाहिर पनि आउनसक्छ। मासु बढेको जस्तो देखिनु पनि रेटिनोब्लास्टोमा हो।
तिलगंगा आँखा अस्पतालमा वार्षिक रेटिनोब्लास्टोमा भएका तीन सय बालबालिकाको उपचार भइरहेको छ भने नयाँ क्यान्सरका ५० जना बिरामी थपिरहेको समेत उनले जानकारी दिइन।
लक्षण
“रेटिनोब्लास्टोमा क्यान्सर हुँदा हाम्रो परिवेशमा आँखाको नानी सामान्यतया कालो, खैरो हुनुपर्ने हुन्छ तर त्यो नभएर सेतो टिका जस्तो देखियो भने त्यो पनि एउटा लक्षण हो,” उनले भनिन्। त्यसबाहेक आँखाको दृष्टि कम हुनु, दृष्टि बाङ्गो हुनु, आँखा फुल्नु वा सुन्निनु, दुख्नु आदि लक्षणहरू पनि देखिने उनले बताए।
उपचार
डा.राजकर्णिकार भन्छिन्, “यसको उपचार क्यान्सर कुन भागबाट आयो भन्नेमा निर्धारण हुन्छ, जस्तै क्यान्सर आइलिड वा डिलको छेउमा छ त्यो सानो छ भने अप्रेसन गरेर फाल्न सकिन्छ, यदि आँखाको भित्री भागमा छ, क्यान्सर शुरुआती चरणमा छ भने त्यसलाई पनि काटेर फाल्न सकिन्छ। ”
अन्य क्यान्सरको जस्तै आँखाको क्यान्सरमा पनि स्टेज हुने भएकाले उपचार पनि त्यहीअनुसारको गरिने उनी बताउँछिन्।
“शुरुको स्टेजमा आउँदा आँखाको ज्योति र आँखा दुवै बचाउन सकिन्छ,” उनले भनिन्, “अलि ढिलो आयो भने आँखा बच्छ ज्योति जाने उनको भनाइ छ। अस्पताल अझै ढिलो भयो भने आँखा नै जाने र बिरामीको ज्यान जाने सम्भावना पनि बढ्छ।”
रेटिनोब्लास्टोमा हुँदा शुरुआती चरण छ भने बालबालिकालाई हातबाट लगाउँने किमोथेरापी, टि.टि.टि लेजर थेरापी दिएर आँखालाई बचाउँन सकिन्छ।
अभिभावकहरूले के कुराहरूमा ध्यान दिने
“रेटिनोब्लास्टोमा क्यान्सरलाई कसैले रोक्न सक्दैन,” उनले भनिन्, “यो वंशाणुगंत रोग भएकाले कुनै खानपान वा जीवनशैलीबाट लाग्ने रोग होइन। तर यसको शुरुआती लक्षणबारे परिवार सचेत रहेमा बालबालिकाको ज्योती बचाउन सकिन्छ।” त्यसका लागि अभिभावकहरूले आफ्नो बालबालिकाको आँखाको कालो नानीमा सेतो टीका देखिए वा असामान्य रातो भइरहेमा समयमै अस्पताल पुर्याए आँखा र ज्यान दुवै बचाउन सकिने उनले बताइन्।
त्यस्तै बालबालिकाको दृष्टि बाङ्गो हुँदै जाने र बोल्न सक्ने बालबालिकाले अभिभावकसँग आँखा हेर्नमा समस्या भयो वा आँखा देख्दिन जस्ता गुनासो गरेमा, आँखा आँखाको घरबाट बाहिर आउँने जस्ता लक्षण देखिएमा समेसम्म छिट्टो अस्पताल लैजानु पर्ने कुरामा, उनले जोड दिइन्।
पहिलो बच्चामा रेटिनोब्लास्टोमा भयो भने दोस्रो बच्चालाई लाग्न सक्ने सम्भावना धेरै रहने भएकाले दोस्रो बच्चा भयो भने जन्मिएको १ देखि २ महिना भित्रमा अस्पतालमा ल्याउने र चिकित्सकलाई देखाउदा पनि क्यान्सर लाग्नमा केहीसम्म कम गर्न सकिने जानकारी उनले दिइन्।
Facebook Comment
Comment