लोसपा वरिष्ठ नेता वृषेशद्वारा पार्टी छाड्ने घोषणा, तमलोपा ब्युँताउने तयारी

लोसपा वरिष्ठ नेता वृषेशद्वारा पार्टी छाड्ने घोषणा, तमलोपा ब्युँताउने तयारी

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का वरिष्ठ नेता वृषेशचन्द्र लालले पार्टी परित्याग गर्ने तयारी गरेका छन्।

नेता लालले नेपाल भ्यूजसँगको संक्षिप्त टेलिफोन वार्तामा पुरानो पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट राजनीतिक गतिविधि अगाडि बढाउने उनले बताए।

नेता लालले भने, “लोसपा र जसपा दुबै संस्थागत रूपमा चल्न नसकेको अवस्था देखिएको छ। लोसपा अध्यक्ष महन्थ ठाकुर केपी ओलीको पछाडि लागेको छ भने अर्को जसपा अध्यक्ष उपेन्द्र यादव प्रचण्डजीको पछि लागेको अवस्था छ।”

उनले मधेश आन्दोलनको मर्म र भावनालाई बेवास्ता गर्दै मधेशकेन्द्रित नेताहरू सत्ता र कुर्सीको पछि मात्र लागेको आरोप लगाए।

नेता लालले पार्टी परित्यागको छिट्टै औपचारिक घोषणा गर्ने बताउँदै मधेशकेन्द्रित दलको पहिचान गुम्ने खतरा देखिएकोले पार्टी छोड्न विवश भएको पनि बताए।

नेता लालका अनुसार रघुशंकरलाल कर्णका संयोजकत्वमा निर्वाचन आयोगमा तमलोपा पुनः दर्ता भएको छ। पुनः दर्ता गरिएको तमलोपामा संविधानसभा सदस्य डा. विजय सिंहलगायत मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने थुप्रै नेताहरू भएका बताइएको छ।

फागुन पहिलो साताबाट मधेश प्रदेशका सबै जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको नेता लालले जनाए।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट राष्ट्रियसभा सदस्यमा समेत विजयी भएका नेता लालले स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भइरहेको जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved