“अतिक्रमित ‍राज्यका सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि पदमा बस्दिनँ”

नेपालभ्युज

“अतिक्रमित ‍राज्यका सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि पदमा बस्दिनँ”

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अतिक्रमणमा परेका राज्यका सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समिक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको बताए।

विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसे र आफूले फिर्ता गराएरै छाड्ने उनले बताए। पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे।

मन्त्री आलेले सरकारी नियुक्ती पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए। “नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो। मैले भनेको छु साथीहरूलाई पब्लिकको कोर्टमा यो बल गएको छ। यदि यो प्रोपर्टी हामीले रिटर्न ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन म। मलाई त्यो नैतिकता पनि छैन। म बस्न पनि सक्दैन।”

नेपालका क्यासिनोहरूले बिगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए। आफूले राम्रो काम गरिरहे पनि केही मिडियाहरू भने आफूविरुद्ध लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे। मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए।

“अहिले अर्थतन्त्र एकदम धराशयी भएको बेलामा कम्तीमा क्यासिनोमा अर्बौँ रुपैयाँ राज्यले उठाउनुपर्ने तर उसले तिर्दैन। जुनसुकै मन्त्री आउँदाखेरि पनि यसो अलिअलि ट्याकटुक, ट्याकटुक मिलायो अनि त्यसपछि त्यत्तिकै बेरुजु, बेरुजु हुँदै जाने, महालेखाको मिटिङमा जाँदा लेखा समितिले बोलाउँदा त्यहाँ शिर निहुर्‍याउनुपर्छ। किनकि बेरुजु छ। हामीले असुल गर्न सकेका छैनौँ,” उनले भने।

यी सबै बेरुजु असुल गर्न मन्त्रालयका सचिव, विभागका महानिर्देशकलगायत सबै टिमले नै सहयोग गरेकाले अहिलेसम्म सफल भएका पनि बताए।

मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए। पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्यून छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिनेगरी काम गर्न उनले निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved