सामाजिक सञ्जालमा एउटा छोटो भिडिओलाई बारम्बार पोष्ट गरेको देखिन्छ। उक्त भिडिओमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ चीनको ग्रामिण क्षेत्रमा गएर जनतासँग कुरा गरिरहेको दृश्य देखिन्छ। संवाद हटाएर भिडिओमा शिशिर योगीले गाएको ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ बोलको गीत राखिएको छ।
गीतको भावसँग र भिडिओको दृश्य निकै मिलेको देखिन्छ। मान्छे त हामी सबै हौँ तर साँच्चै मान्छे हुनका लागि मुटु चाहिन्छ। मुटु त सबैसँग छ तर त्यसमा भावना हुन आवश्यक छ।
मुटुभित्र भावना छ कि छैन भन्ने कुरा कसरी थाहा पाउने? मुख्य कुरा यही हो। मान्छेको मुटुभित्र अर्काको सेवा गर्ने भावना भएमा त्यो पूज्य हुन्छ। लोभ, स्वार्थ, घृणा, इर्स्या, डाह, रीस बोकेको मुटुले अन्ततः आफ्नो पनि हित गर्दैन, अर्काको हितको कुरै नगरौँ।
शिशिर योगीको गीतले खोजेको मान्छे सामान्य मान्छे होइन। देश र जनताको सेवा गर्ने मान्छे, अरुका निम्ति काम गर्ने मान्छे, सबैका आँखामा राख्दा नबिझाउने मान्छे, मरेर पनि सधैँ अमर हुने मान्छे हो। यस्तो मान्छे पाउन मुस्किल हुन्छ तर हुँदै नहुने चाहिँ होइन। लाखौँमा एकाध मान्छे आफ्ना लागि होइन अरुका लागि बाँच्ने गर्छन् र अरुकै लागि मर्छन्।
शिशिर योगीले खोजेको मान्छे सी चिनफिङ जस्तै हुनुपर्छ भनेर सीको भिडिओमा योगीको गीत मिसाइएको हुन सक्छ। चीन र चिनियाँका लागि शिशिर योगीको गीतले भनेजस्तै ‘मान्छे’ हुन् सी चिनफिङ।
चिनियाँ कम्युनिष्ट पार्टी ‘सीपीसी’ को सन् २०१२ को नोभेम्बरमा सम्पन्न १८ औँ महाधिवेशनबाट सी चिनफिङ महासचिवमा निर्वाचित भएका हुन्। सीपीसीको महासचिव चीनको सबैभन्दा शक्तिशाली पद हो। नोभेम्बरमा महासचिव भएपछि त्यसको साढे तीन महिनापछि हुने राष्ट्रिय जनकंग्रेसले सी चिनफिङलाई चीनको राष्ट्रपतिमा नियुक्त गर्ने निश्चित थियो।
चीनमा राष्ट्रपति पदभन्दा पार्टीको महासचिव पदलाई ठूलो मानिन्छ। तल्ला निकायको संरचनाहरु पनि त्यस्तै प्रकारका छन्। प्रान्तको गभर्नरभन्दा प्रान्तीय पार्टी सचिव शक्तिशाली हुन्छ भने नगरपालिकाको मेयरभन्दा पार्टी सचिव ठूलो प्रभावशाली हुने गर्छ। मेयर, गर्भनर, राष्ट्रपति जस्ता कार्यकारी पद भए पनि ती पदमा आशिन व्यक्तिले पार्टीको निर्देशन मान्नु अनिवार्य हुन्छ।
सीपीसीको महासचिव हुनासाथ सी चिनफिङले एक प्रकारको अभ्यासको शुरु गरे। उनले शुरु गरेको अभ्यास १० वर्षसम्म नियमित रुपमा लागू भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ।
सी चिनफिङ चिनियाँ वसन्त चाडको पूर्वसन्ध्यामा ग्रामीण क्षेत्रका जनताको घरदैलोमा पुग्ने गर्छन्। परम्परागत चिनियाँ चन्द्रमासको पात्रो अनुसार मनाइने नयाँ वर्ष नै चिनियाँहरुको सबैभन्दा ठूलो पर्व हो। यसलाई चिनियाँहरु वसन्त चाड भन्छन्। वसन्त चाडका अवसरमा चीनमा लामो बिदा हुने गर्छ। यस चाडमा टाढा रहेका चिनियाँहरु परिवारसँगको मिलनमा रमाएका हुन्छन् भने धेरैजसो चिनियाँहरु परिवारसहित घुमघाममा निस्किएका हुन्छन्।

वसन्त चाडको रमझम शुरु हुँदै गर्दा नेता सी चिनफिङ चाहिँ जनताको घरदैलोमा पुगेर शुभकामना मात्र व्यक्त गर्दैनन्, उनीहरुका पीरमर्का र गुनासाहरु पनि सुन्ने गर्छन्। आफ्नै देशका नागरिकको घरदैलोमा पुग्नु कुन ठूलो कुरा हो र भन्ने प्रश्न उठ्न सक्छ। तर, चिनियाँ नेता सीको भ्रमण अन्य देशका नेताको भन्दा भिन्न छ। त्यसमा नेपाली नेताको भन्दा त कता हो कता फरक हुने गर्छ।
अनौपचारिक रुपमा दुर्गम गाउँमा सी चिनफिङ पुग्दा उनको अगाडि पछाडि सुरक्षाकर्मी र सहयोगीहरुको तामझाम हुँदैन। साइरन बजाउँदै गुड्ने प्रहरी र सेनाका गाडी पनि देखिँदैनन्। त्यति मात्र होइन नेता सीले स्थानीयबाट न फूलमाला लगाउँछन् न त खादा नै पहिरिन्छन्। स्थानीयसँग हात मिलाउँदै उनीहरुका घरमा पस्छन्। भान्सा नियाल्छन्। वृद्ध व्यक्तिको ओछ्यान छाम्छन् र स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गर्छन्।
सीपीसीको महासचिव भएको तीन महिनापछि सन् २०१३ को फेब्रुअरी ३ तारिखमा सी चिनफिङ चीनको पश्चिममा पर्ने कान्सु प्रान्तको युआनकुतुइ गाउँमा पुगे। सो ग्रामीण क्षेत्रमा पिउने पानीको समस्या थियो। उनले सो समस्याको समाधानमा स्थानीय पार्टी पङ्तिलाई काम गर्न आदेश दिए। स्थानीयको गुनासो सुनिसकेपछि अन्य प्रान्तबाट काम गर्न आएका नागरिको हक अधिकार रक्षाका लागि विशेष निर्देशन पनि दिए।
अर्को वर्ष सन् २०१४ को वसन्त चाडको पूर्वसन्ध्यामा सी चिनफिङ भित्री मङ्गोलिया स्वायत्त प्रदेशको एक ग्रामीण क्षेत्रमा पुगी गरिब किसानको अवस्थाको अवलोकन गरे। अघिल्लो वर्षको भ्रमणमा उनी सीपीसीका महासचिव मात्र थिए तर सन् २०१४ को भ्रमणमा जाँदा उनी चीनका राष्ट्रपति भइसकेका थिए।

भ्रमणका क्रममा उनले स्थानीयले भोगेका समस्या केही छन् कि भनेर सबैलाई खुलस्त बताउन आग्रह गरेका थिए। स्थानीयले सुनाएका समस्याको टिपोट गर्दै ती समस्याको यथोचित समाधान गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
सन् २०१५ को वसन्त चाडको पूर्वसन्ध्यामा सी चिनफिङ पल्लो शान्षी प्रान्तको लियाङचियाह गाउको भ्रमणमा गए। सी चिनफिङको अन्य भ्रमणभन्दा उक्त भ्रमण भावनात्मक रुपमा पृथक थियो। चीनमा सांस्कृतिक क्रान्तिको समयमा सी चिनफिङले श्रम शिविरको कैदीका रुपमा यही गाउमा सात वर्ष बिताएका थिए।
आफूले किशोरावस्ता र युवास्थाको महत्वपूर्ण समय लियाङचियाहमा बिताएकाले उक्त क्षेत्रमा पुग्दा आफू भावुक हुने सीले विभिन्न अन्तर्वार्तामा बताएका छन्। त्यतिबेला उनलाई माया गर्ने अग्रजहरु अहिले निकै पौढ उमेरमा छन् भने उनकै उमेरका व्यक्ति पनि सात दसकको सेरोफेरोमा छन्।
भ्रमणको सबैभन्दा भावुक पक्ष के थियो भने पाँच दसक अगाडिको ती मित्रहरु सबैलाई सीले स्पष्टसँग सहजै चिने। त्यतिबेलाको क्षण सम्झदै सीले उनीहरुका पुराना बोलाउने नाम समेत उच्चारण गर्दै अङ्कमाल गरे। उनीहरुका भान्सामा सी गए। ओछ्यान छामे र सन्चो बिसन्चो सोधे।
सी चिनफिङले गरेको यही अवलोकनको भिडिओमा शिशिर योगीको गीत मिसाइएको हो।

सन् २०१६ को वसन्त चाडको पूर्वसन्ध्यामा सी चिनफिङ चीनको पूर्वी क्षेत्रमा पर्ने चियाङ्सी प्रान्तको चिङकाङसान गाउँमा गएका थिए। त्यहाँ उनले चिनियाँ मुक्ति सङघर्षमा शहादत प्राप्त गरेका व्यक्तिका नाति चुओ सिउफालाई भेटेर कुराकानी गरे। चुओ सिउफाले स्थानीय बाँसको व्यवसाय गरी रोजगारी सिर्जना गर्दै स्थानीय गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
सोही भ्रमणका क्रममा ओखलमा चामल कुटेर लेसिलो पिठोबाट बनाइने एक प्रकारको खानेकुरा सिपा बनाउने काममा सी चिनफिङ पनि सहभागी भए।
सन् २०१७ को वसन्त चाडको पूर्वसन्ध्यामा सी हपेई प्रान्तमा गएका थिए। हपेई प्रान्तले बेइजिङलाई वरिपरी घेरेको छ। स्थानीयसँग कुराकानी गर्दै सी चिनफिङले उनीहरुको पिउने पानीको अवस्था, नयाँ वर्ष मनाउने बजेट, टेलिभिजन कार्यक्रमको प्रभाव, परिवारको संख्या र उनीहरुले गर्ने काम आदिका बारेमा जिज्ञासा राखेका थिए।
सन् २०१८ को वसन्त चाडको पूर्वसन्ध्यामा सी चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको लिआङशान यी स्वायत्त प्रिफेक्चरको पहाडी क्षेत्रमा पुगे। स्थानीयले पशुपालन, आलु खेती, खुर्सानी र ओखर खेतीबाट आम्दानी बढाएको र गरिबी निवारणमा उल्लेख्य योगदान दिएको कुराको निरीक्षण गरेका थिए।

सोही समयमा सीले बोलेको कुरा यतिबेला चीनमा लोकप्रिय बनेको छ। उनले भनेका थिए ‘गरिबी निवारण गरी समृद्ध समाज निर्माणमा कुनै पनि परिवार अथवा अल्पसङ्ख्यक जाति छुट्नु हुँदैन।’ अहिले यो वाक्य चिनियाँ विकासका हरेक दस्तावेजमा उल्लेख हुने गरेको छ। सोही क्रममा उनले अर्को वाक्य पनि भनेका थिए ‘मेरो काम भनेकै जनताको सेवा गर्नु हो।’
सी चिनफिङले नेपाल भ्रमणका क्रममा नेपाली नेताहरुलाई सम्बोधन गर्ने क्रममा सधैँ जनताको सेवा गर्नु नै राजनीतिककर्मीको कर्तव्य भएको सम्झाएका थिए।

सन् २०१९ को वसन्त चाडको पूर्व सन्ध्यामा सी चिनफिङ आकस्मिक रुपमा बेइजिङको हुथोङ क्षेत्रमा पुगे। हुथोङ भनेको बेइजिङ सहरको बीचभागमा रहेको पुरानो सहरी संरचना हो। बेइजिङको दोस्रो चक्रपथभित्र पर्ने हुथोङलाई पर्यटकीय संरक्षणका रुपमा राखिएको छ। यी क्षेत्रमा दुई तलेभन्दा अग्ला भवन बनाउन प्रतिबन्ध छ र घरहरु पुरानै शैलीमा बनाउनुपर्छ। पुराना राजाहरुले आफ्ना भारदारहरुका लागि दरवार नजिकै यस्ता घरहरु बनाउन लगाएका थिए। त्यही घरहरुको क्षेत्रलाई हुथोङ भनिन्छ।
स्थानीयसँग चिनियाँ मम खाँदै सीले सोधेका थिए ‘सीपीसीले मान्छेको जीवनस्तरलाई अझै सुधार गर्नका लागि के गर्नुपर्ला?’
चिनियाँ मम नेपाली ममजस्तो वाफमा पकाइँदैन। पानीमा उमालेर पकाउने चिनियाँ ममलाई चिनियाँ भाषामा ‘च्याउच’ भनिन्छ। यो चिनियाँ वसन्त चाडको सबैभन्दा लोकप्रिय खाद्यवस्तु हो।

सन् २०२० को वसन्त चाडको पूर्व सन्ध्यामा सी चिनफिङ युन्नान प्रान्तको सिमोला वा गाउँमा गएका थिए। त्यहाँ उनले स्थानीयसँग चामलको पिठोको केक बनाउन पनि सिके। त्यति मात्र होइन उनले स्थानीय जातीय परम्परा अनुसार नयाँ वर्षलाई स्वागत गर्नका लागि काठको ड्रम बनाउने परम्पराको अनुसरण गर्दै तीनपटक काठको ड्रम बजाएका थिए।
सन् २०२१ को वसन्त चाडको पूर्वसन्ध्यामा सी चिनफिङ क्विचौ प्रान्तको दुर्गम गाउँमा पुगी स्थानीय किसानसँग खाना खाए। क्विचौ प्रान्त चीनमा गरिबी निवारणमा सबैभन्दा कठिन भूगोल थियो। भ्रमणको क्रममा सी चिनफिङले अल्पसङ्ख्यक मिआवो जातिको गाउँमा पुगेर स्थानीय खाना ‘हुवाङपा’ खाए। मिआवो जातिको परम्परागत पेशा इम्रवइडरीको अवलोकन पनि गरे।
गत जनवरी २८ तारिखमा सी चिनफिङ उत्तरी चीनको वल्लो शान्षी प्रान्तको अवलोकनमा निस्किए। उक्त दिन चिनियाँ वसन्त चाड शुरु हुन दुई दिन अगाडिको समय थियो। सीले फेन्सी काउन्टीमा पर्ने तुआनछुन गाउँमा पुगेर स्थानीयको भान्सा, सुत्ने कोठा लगायतको निरीक्षण गरेर स्थानीयसँग भलाकुसारी गरेका छन्। उनीहरुको पारिवारिक आयश्रोत र जीनवस्तरका बारेमा सीले प्रश्न गर्दै आफ्ना जनताको अवस्थालाई नजिकैबाट छामेका छाम्ने काम गरे।

सी चिनफिङ जहाँ जहाँ जान्छन् सो क्षेत्रको पर्यटकीय विकास पनि हुने गरेको छ। नेताको सिको गर्दै चिनियाँहरु उक्त क्षेत्रमा जान्छन् र सी चिनफिङले रुचाएका सामग्री किन्ने गर्दा स्थानीय उत्पादनको बजार प्रवर्द्धन पनि हुने गरेको छ।
सीपीसीका हरेक नेता तथा कार्यकर्ताहरु जनतासँग घनिष्ट हुनुपर्छ भन्ने कुरालाई सीपीसीले पारित गरेको महत्वपूर्ण निर्देशिका बनिसकेको छ। सीपीसीले सबै चिनियाँ जनताको सुखमय र खुसमय जीवन जिउन पाउनुपर्छ भन्ने विषयलाई आफ्नो दस्तावेजमा उल्लेख गरेको छ।
नेपालका नेताहरुले सधैँ भाषणमा चीन र चिनियाँ नेताबाट सिक्न सक्ने कुरा बताउँदै आएकका छन्। कमसेकम नेपाली कम्युनिष्ट नेताहरुले त चिनियाँ नेतालाई आदर्श मान्ने हुनाले उनीहरुका लागि चिनियाँ नेताका क्रियाकलाप अनुसरणयोग्य हुनुपर्ने हो।
बिडम्बना नेपाली नेताहरु प्राकृतिक प्रकोपमा परेका जनतालाई हेर्न हेलकप्टरमा जान्छन् र आकाशबाटै फन्को मारेर फर्कन्छन्। हेलिकप्टर बसिहाले पनि जनतालाई दुःखै मात्र। धानबाली माड्ने र जनताको झुप्रो उडाउने पीर।
जनताको घरदैलोमा होइन भाषण गर्नका लागि सभामा जान्छन् नेपाली नेताहरु। आफ्ना आसेपासे र सुरक्षाकर्मीको लस्कर लगाउँछन्। फूलमाला र अबिरले आफूलाई छोप्न पाउँदा गमक्क पर्छन् र पिर्के सलामीमा मख्ख पर्छन्। उनीहरु यो सोच्दैनन् कि त्यही तामझामको खर्चले स्थानीयका थुप्रै समस्या समाधान गर्न सकिन्छ। तब न शिशिर योगी गाउँछन् ‘यो देशमा म एउटा मानिस खोजिरहेछु।’
नेपाली राजदूतावास सुरूसुरूमा हुथोङ् मा अवस्थित् थियो।
सान्दर्भिक सामग्री पठाउनु भएको रहेछ।
शिशिर योगीको गीतको चर्चा ः मार्मिक शब्द छन्, आह्वानको स्वर छ। चीनमा रुचाइएको समाचारले योगीको हौसला बढ्ने आशा गरौं।