मीरगन्ज पुलबाट मालवाहक सवारी आवत-जावत गर्न पाउनुपर्ने माग

नेपालभ्युज

मीरगन्ज पुलबाट मालवाहक सवारी आवत-जावत गर्न पाउनुपर्ने माग

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले भारतको मीरगञ्ज खोलामा बनेको नयाँ पुलबाट मालवाहक सवारी आउजाउ खुलाउन माग गर्दै अररियाका डिस्ट्रिक मजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाएका छन्। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वमा गएको उद्योगी–व्यवसायीको टोलिले तत्काल ३० टनसम्मका मालवस्तु बोकेका मालवाहक सवारीको आवागमन सहज बनाउन माग गरेका हुन्।

संघमा आवद्ध उद्योगी–व्यवसायीको टोली अररिया पुगेर त्यहाँका अधिकारीसँग मीरगञ्ज खोलामा बनेको नयाँ पुल प्रयोगबारे आइतबार छलफल गरेका हुन्। गत पुस २२ गते सीमावर्ती जोगबनी बजारदेखि ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज खोलाको पुरानो पुल क्षतिग्रस्त बनेपछि रि–रुट गरेर मालवस्तु भीमनगर–सेतुबन्ध नाकाबाट पैठारी गरिदैं आएको छ।

जसका कारण उद्योगीहरुले ११६ किलोमिटर दुरी घुमाएर सुनसरीबाट भईरहेको आयात–निर्यातले झन्झटसँगै ढुवानी बढाएको गुनासो गर्दै आएका छन्। दैनिक दुईसयसम्म मालवहाक सवारी रि–रुट गर्नुपर्दा व्ययभार बढेको भन्दै उद्योगी–व्यवसायीले भारत सरकारले मीरगञ्ज खोलामा निर्माण गरेको नयाँ पुल सञ्चालनका लागि बाटो खोलिदिनुपर्ने अररियाका डिएमसँग आग्रह गरेका हुन्।

संघका अध्यक्ष रिजालले अररियाका डिएम प्रशान्तकुमारलाई ज्ञापन पत्र बुझाउँदै मीरगञ्ज खोलामा बनाइएको नयाँ पुलमा ल्याण्डिङ्ग र एप्रोच रोड निर्माणको काम समेत सकिएकोले सञ्चालनका लागि पहल बढाई दिन माग गरेका थिए। ‘‘ हामीले भारतीय अधिकारीसँग छलफल गरेका छौं,’’ अध्यक्ष रिजालले भने, ‘‘कम्तिमा १५ दिनभित्र पुल सञ्चालनको प्रक्रिया मिलाउने आश्वासन पाएका छौं।’’

नयाँ पुल सञ्चालनका लागि अहिले कुनैपनि समस्या नभएको नेपालका उद्योगीले बताउँदै आएका छन्। तर, भारतीय अधिकारीहरुले भने राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने पुलको सञ्चालनको निर्णय नहुँदासम्म खोल्न नमिल्ने बताउँदै आएका छन्।

संघको टोलिले सरकारीस्तरमा पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएर फर्केको छ। नेपाली उद्योगी–व्यवसायीको टोलीले भारतको अररियास्थित डिस्ट्रिक मेजिस्ट्रेट प्रशान्तकुमार, त्यहाँका प्रहरी उपरीक्षक बिनोदकुमार सिंहसहित पुलको स्थलगत निरीक्षण समेत गरेर फर्केको हो।

उद्योगीहरुले पुल सञ्चालनमा आए अहिले भईरहेको रि–रुटको झन्झट बेहोर्नु नपर्ने बताउँदै आएका छन्। नेपाल–भारत सीमा क्षेत्र बुधनगरमा बनेको एकिकृत जाँच चौकी ९आईसीपी०देखि ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज खोलाको पुलमा समस्या आएपछि नेपालका पैठारीकर्ताले ११६ किलोमिटर घुमाएर मालवस्तु भित्र्याउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved