कहिले हुन्छ धुर्मुस सुन्तलीले छाडेको रंगशालाको स्वामित्व हस्तान्तरण ?

२ पुसमा फाउन्डेसनले आर्थिक र प्राविधिक प्रतिवेदनसहितको पत्र महानगरलाई पठाए पनि अझै हस्तान्तरण हुन सकेको छैन। अझै कति समय लाग्छ भन्ने निश्चय नभएको महानगर र फाउन्डेसन दुवैले जनाएको छ।

नेपालभ्युज

कहिले हुन्छ धुर्मुस सुन्तलीले छाडेको रंगशालाको स्वामित्व हस्तान्तरण ?

काठमाडौं। ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले ले चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व हस्तान्तरण गर्न भरतपुर महानगरपालिकालाई पत्र लेखेको डेढ महिना बित्दा पनि प्रक्रिया पूरा हुन सकेको छैन।

२ पुसमा फाउन्डेसनले आर्थिक र प्राविधिक प्रतिवेदनसहितको पत्र महानगरलाई पठाए पनि अझै हस्तान्तरण हुन सकेको छैन। अझै कति समय लाग्छ भन्ने निश्चय नभएको महानगर र फाउन्डेसन दुवैले जनाएको छ। महानगरले स्वामित्व ग्रहण गर्नुपूर्व भौतिक निर्माण र आर्थिक पारदर्शितामा स्पष्ट हुन चाहेको छ। भौतिक प्रगति मूल्यांकन भइरहेको छ।

उता फाउन्डेसनले लेखापरीक्षणसमेत पुनरवलोकन भइरहेको जनाएको छ। फाउन्डेसन’ले ५१ करोड रुपैयाँ बराबरको भौतिक प्रगति भएको दाबी गरेको छ। यसलाई सरकारी पक्षले पनि मूल्यांकन गरिरहेको भरतपुर महानगरपालिकाले जनाएको छ।

फाउन्डेसनले परियोजनाको भौतिक प्रगतिको ३५ प्रतिशत दाबी गरेको छ। जसमा सरकारी टोलीले अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन तयार गरिरहेको छ। अन्तिम प्रतिवेदन तयार भएपछि मात्रै सबै विवरणहरू सार्वजनिक गरिने महानगरका प्रवक्ता अरुणपीडित भण्डारी बताउँछन्। उनले भने, ‘‘सरकारी टोलीले भौतिक प्रगतिबारे अध्ययन गरिरहेको छ। अझै कति समय लाग्छ भन्ने निश्चित छैन। अन्तिम प्रतिवेदन आएपछि मात्र हस्तान्तरण प्रक्रिया शुरु हुन्छ।’’

यता रंगशालाको सरकारी अध्ययन टोलीले गरेको प्रारम्भिक प्रतिवेदन बाहिर सार्वजनिक भएपछि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल असन्तुष्ट छन्। केही दिनअघि महानगरपालिकाले गरेका अन्तर्क्रियामा कट्टेलले भनेका छन्, ‘एउटा गल्ती के भयो भने पहिल्यै प्रारम्भिक प्रतिवेदन सार्वजनिक भयो। किन र के उद्देश्यले त्यो प्रतिवेदन बाहिर ल्याइयो। अहिले त्यसैलाई लिएर अख्तियारमा मुद्दा हालिएको छ। प्रतिवेदन आउँदै छ। तर, प्रक्रिया पूरा नहुँदै विभिन्न आरोप लाग्नु राम्रो हो र?’

फाउन्डेशनले पत्रमा ‘१७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण पनि सोचेअनुरूप सहयोग प्राप्त नभएपछि महानगरलाई स्वामित्व लिन’आग्रह गरेको छ। फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखी लागेको ऋण तिरेर बाँकी रहेको निर्माणको जिम्मा लिन अनुरोध गरेको छ।

फाउन्डेसनले ५६ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको दाबी गरेको छ। त्यसमध्ये ३९ करोड ५० लाख रुपैयाँ सहयोग संकलन भएको बताएको छ। भरतपुर महानगरपालिकाले निर्माणाधीन रंगशालाको अध्ययन गर्ने जिम्मा भौतिक पूर्वाधार तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरलाई दिएको छ।

रंगशाला निर्माणका लागि ४० देखि ४५ हजार हाराहारीका मानिसले आर्थिक भौतिक सहयोग गरेका फाउन्डेसनका कट्टेलले बताएका छन्। महानगर र फाउन्डेनबीच १६ माघ २०७५ मा रंगशाला निर्माणको लागि ११ बुँदे सम्झौता भएको थियो।

रंगशालाको स्वामित्व लिन हालसम्म भएका आम्दानी खर्चको पुष्टि हुने क्रममा रहेको मेयर रेणु दाहाल बताउँछिन्। केही दिनअघि महानगरले गरेको अन्तर्क्रियामा उनले भनिन्, ‘‘केन्द्र र प्रदेश सरकारसँग पनि यसबारे समन्वय गरेर काम अगाडि बढाउने तयारी छ। यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौँ। सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ। सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ।’’

कति भयो भौतिक प्रगति ?

करिब २५ हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, स्विमिङपुल र फिट्नेस सेन्टर पनि निर्माण गर्ने योजना बनाइएको थियो।

कमलको फूल आकारको रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ। अहिलेसम्म प्यारापिटका लागि २ सय ८६ वटा पिलर उठाइएको छ। चौरमा दूबो रोपिएको छ। भिआइपी टावर बनाउने काम अलपत्र छ। टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान हुँदै गर्दा निर्माण रोकिएको हो।

धुर्मुस भन्छन्, “वास्तविक कुरा बाहिर ल्याउन हतार छ”

रंगशाला निर्माणमा आफूले कुनै अनियमितता नगरेको फाउन्डेसनका सीताराम कट्टेल ‘धुर्मुस’को दाबी छ। सम्पूर्ण लेखापरीक्षण प्रतिवेदन बुझाएको र महानगरले मागेका कागजपत्र उपलब्ध गराउँदै आएको उनले बताए। वास्तविक कुरा बाहिर ल्याउन आफूलाई हतार भएको भन्दै उनले रंगशालामा कति हिसाब भयो त्यो जतिबेला पनि देखाउन तयार रहेको उनले दाबी गरे।

उनी भन्छन्,‘‘म कुनै पापको खोल ओढेर धर्ती छाड्न चाहन्न। केही कमी कमजोरी भएको रहेछ भने म जे सजाय भोग्न पनि तयार छु। पूरक प्रतिवेदन आएपछि हामीले गरेका सबै काम स्पष्ट हुन्छ। वास्तविक कुरा बाहिर ल्याउन मलाइ हतार छ।’’

अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले आर्थिक विषय सार्वजनिक गर्नुपर्नेमा जोड दिएपछि फाउन्डेसनका धुर्मुसले केही दिनभित्रमा नै आयव्यय सार्वजनिक गर्ने बताएका थिए। यो आयोजना विशेष परिस्थितिका कारण सम्पन्न गर्न नसके पनि आर्थिक रूपमा पारदर्शी गरिएको उनको भनाइ थियो।

भरतपुरमा निर्माणाधीन रंगशाला आर्थिक अभावका कारण विगत चार महिनादेखि काम रोकिएको छ। सो आयोजना सम्पन्न गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ। फाउन्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेपछि भौतिक मूल्यांकन र लेखापरिक्षणको काम भइरहेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved