बढ्दो छ रुस–युक्रेन तनाव, किचलोमा परेको छ एउटा ग्यास पाइपलाइन

रुस र युक्रेनबीच तनाव बढ्दै जाँदा रुस हुँदै जर्मनीसम्म पुग्ने एउटा ग्यास पाइपलाइन भने किचलोमा परेको छ। जर्मनी त्यसको सञ्चालनको पक्षमा छ भने अमेरिका विरोधमा।

बढ्दो छ रुस–युक्रेन तनाव, किचलोमा परेको छ एउटा ग्यास पाइपलाइन
फाइल तस्वीर ।

काठमाडौं। अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा फेरी एकपटक युद्धको बादल मडारिन थालेको छ। दोस्रो विश्वयुद्धपछि चार दशक जति दुई सिंगो विश्व नै ध्रुवीकृत हुनेगरी टकरावमा रहेका संयुक्त राज्य अमेरिका र रुस पुनः एकपटक त्यस्तै स्थितिमा पुगेका छन् तर फरक सन्दर्भसहित। यसपटक टकरावको मैदान बन्नपुगेको छ, युक्रेन।

युक्रेनको विषयलाई लिएर अमेरिकी र रुसी नेताहरूबीच वाक्युद्ध चलिरहेको छ। अमेरिकी राष्ट्रपतिले यही फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गर्न सक्ने बताएसँगै त्यसको जवाफमा रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले आफूहरू युद्धको पक्षमा नरहेको जवाफ दिएका छन्। सँगसँगै उनले आफ्नो हितको रक्षा गर्न भने पछि नहट्ने जिकिर पनि गरेका छन्।

अमेरिका र ऊ नेतृत्वको नाटो गठबन्धन आफ्नो ‘पोजिसन’ बाट पछि नहटेको अवस्थामा आफू पनि नहट्ने अडान रुसले राखेको छ। नाटो गठबन्धनमा युक्रेनलाई समावेशन नगर्न रुसले अमेरिका र नाटोका सदस्य देशलाई चेतावनी दिँदै आएको छ। अमेरिकाले भने रुसको अन्य प्रस्तावमा छलफल गर्न सकिने धारणा राखे तापनि युक्रेनलाई नाटोमा समावेश नगर्ने विषय भने सम्बोधन गरेको छैन।

संकटको शुरुआत

सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नो भूभागमा गाभ्ने निर्णय गरेसँगै रुस र युक्रेनबीच हार्दिक सम्बन्ध छैन। युक्रेनमा सन् २००५ र २०१४ मा रुसी प्रभाव अस्वीकार गर्ने भन्दै ठूला प्रदर्शन भएका थिए। २०१४ मा भएको प्रदर्शनका कारण रुस निकट मानिने तत्कालीन युक्रेनी राष्ट्रपति विक्टर यानुकोभिचले राजीनामा समेत दिनुपरेको थियो। राष्ट्रपति हटेपछि युक्रेनी राजनीति अस्थिर रहेको समयमा रुसले क्रिमियालाई आफ्नो भूभागमा गाभ्यो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनलाई सन् २००० मा स्थापित मस्कोको प्रभाव रहेको स्वतन्त्र व्यापार संघको सदस्य बनाउन चाहन्छन्। पूर्व सोभियत संघका देशलाई एउटै मञ्चमा राख्ने ईच्छा छ पुटिनको। सोभियत संघमा हालका १५ वटा देश आबद्ध थिए जसमध्ये युक्रेन एक थियो। युक्रेनले भने पुटिनको प्रस्ताव अस्विकार गर्दै आएको छ।

पछिल्लो समय २६ मार्च २०२१ मा रुस समर्थित पृथकतावादीहरूले ४ युक्रेनी सेनाको हत्या गरेपछि दुई देशबीच पुनः समस्या देखिएको हो। उक्त घटनासँगै दुई देशबीच करीब एक वर्षदेखि कायम रहेको शान्ति भंग भयो। सीमा क्षेत्रमा तैनाथ रहने सैनिक संख्या बढ्न थाल्यो।

दुई देशबीचको समस्याको जड भने पूर्वी युक्रेन हो। सन् २०१४ मा क्रिमियालाई रुसमा गाभ्ने क्रममा पुटिनले क्रिमिया र दक्षिणपूर्वी युक्रेनमा रुसी नागरिक र रुसीभाषी जनतालाई जोगाउनुपर्ने अवस्था आएको टिप्पणी गरेका थिए। उनले त्यस्तो धारणा राखे लगत्तै त्यस क्षेत्रमा जातिय द्वन्द्व बढेको थियो। रुस समर्थक पृथकतावादीहरूले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्क क्षेत्रमा जनमत संग्रह गर्दै युक्रेनबाट स्वतन्त्र भएको घोषणा समेत गरेका थिए। त्यही समयदेखि पूर्वी युक्रेनमा सरकारी सेना र रुस समर्थक पृथकतावादीबीच हिंसात्मक द्वन्द्व चलिरहेको छ। द्वन्द्वका कारण हालसम्म १३ हजार भन्दा बढी सर्वसाधारण, चार हजार बढी युक्रेनी सेना र करीब ६ हजार रुसी पृथकतावादीको निधन भएको छ।

यो समस्याको हल गर्न युक्रेनी सरकारले उत्तरी एटलान्टिक सन्धि संघ (नाटो)को सदस्यता लिने प्रयास गरेको छ। युक्रेनको उक्त प्रयासलाई रुसले भने आफ्नो सीमा क्षेत्रमा नाटो सेना तैनाथ गर्ने रणनीतिको रूपमा लिएको छ। यी फरक रुची र बुझाईका कारण दुई देशबीचको समस्या चुलिँदै गएको हो।

स्थिति बिग्रिदै जाँदा रुसले युक्रेनसँगगको सिमानामा करीब एक लाख सेना तैनाथ गरेपछि अमेरिका प्रत्यक्ष रूपमै युक्रेनको समर्थनमा उत्रिएको छ।  उसले युक्रेनमाथि रुसले जुनकुनै बेला आक्रमण गर्नसक्ने बताउँदै आएको छ। त्यही खतरा देखाउँदै उसले त्यहाँ रहेका आफ्ना कर्मचारी र नागरिकलाई युक्रेन छोड्न आह्वान गरिसकेको छ

महत्त्व पाउँदै ग्यास पाइपलाइन

रुस–युक्रेनबीच टकराव बढ्दै जाँदा एउटा ग्यास पाइपलाइनको भूराजनीतिक महत्त्व भने बढ्दै गएको छ।

नर्ड स्ट्रिम–२ को नामले परिचित यो ग्यास पाइपलाइन पश्चिमी रुस हुँदै पूर्वउत्तरी जर्मनीसम्म समुद्रमुनिबाट जान्छ। यसको लम्बाई एक हजार दुई सय ७५ किलोमिटर छ। रुसी कम्पनी ग्गाज प्रोमको अधिनमा यो ग्यासपाइप लाइन रहेको छ। यो पाइप लाइनको काम सेप्टेम्बर २०२१ मा नै सम्पन्न भएको छ। यद्यपि, युरोपका एजेन्सीले पाइप लाइनलाई मञ्जुरी दिएका छैनन्।

यो पाइप लाइन चालु भएमा प्रत्येक वर्ष ५५ अर्ब क्युवीक मिटर ग्यास युरोप पठाउन सकिन्छ। नर्ड स्ट्रिम १ बाट रुसले हाल युक्रेन र बेलारुस हुँदै युरोपसम्म ग्यास पुर्याई रहेको छ।

‘द न्यूयोर्क टाइम्स’मा प्रकाशित एक लेख अनुसार हाल नर्ड स्ट्रिम १ मा पूर्ण क्षमतामा ग्यास आपूर्ती भएको छैन। त्यसैले युक्रेन हुँदै जाने नर्ड स्ट्रिम १ ग्यास पाइप लाइनको क्षमता बढाएर प्रत्येक वर्ष ७७ अर्ब क्युविक मिटर ग्यास आपूर्ती गर्न सकिन्छ। यो नर्ड स्ट्रिम २ को क्षमताको दुई गुणा हो। यद्यपि, नर्ड स्ट्रिम २ को आवश्यकता दुई कारणले छ।

पहिलो कारण सोभियत संघको विघटनसँग जोडिएको छ। रुस आफ्नो पुरानो गौरव फेरी प्राप्त गर्न चाहन्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि रुसको गौरवशाली इतिहास दोहोर्याउने पटक पटक बताइरहन्छन्। त्यसै कारण रुसले ग्यास पाइपलाइनबाट हुने ग्यास आपूर्तीबाट प्राप्त हुने फाइदाको केही प्रतिशत युरोपेली नेतालाई आफ्नो विचारसँग निकट रहने स्वार्थमा वितरण पनि गर्छ। कुनै युरोपेली देश पश्चिमा देशतर्फ नजिक भएको अवस्थामा त्यहाँ ग्यास आपूर्ती रोक्ने समेत रुसले गरेको छ। जसले इन्धनको मूल्यवृद्धि हुन्छ।

सन् २०१४ अघि युक्रेनमा रुस निकट सरकार थियो। तर, २०१४ मा भएको प्रर्दशनसँगै त्यहाँ रुस नजिक रहेको सरकार विस्थापन भयो। नयाँ गठन भएको सरकार आफूप्रति उदार नभएपछि युक्रेन हुँदै वितरण हुने ग्यास रुसले कम गर्ने अनुमान थियो। तर, यस्तो गर्दा रुसलाई पनि घाटा हुने थियो। त्यो पाइप लाइनबाट युक्रेनमा मात्रै ग्यास जाँदैन थियो, त्यो पाइप लाइनले पश्चिम युरोपका कैयौँ देशसम्म ग्यास आपूर्तीका काम गर्थ्यो। त्यसैले युक्रेन हुँदै जाने पाइप लाइनबाट ग्यास आपूर्ती कम गर्दा रुसी अर्थतन्त्रलाई ठूलो नोक्सानी हुन्छ।

यही नोक्सानीबाट बच्न र युक्रेन हुँदै पश्चिम युरोप ग्यास पुर्याउनुपर्ने बाध्यताबाट मुक्त हुन बाल्टिक सागर मुनीबाट ग्यास पाइप लाइन लाने योजना रुसले अघि सार्यो जसलाई नर्ड स्ट्रिम २ ग्यास पाइप लाइन भनिन्छ।

दोस्रो कारण जर्मनी हो। जर्मनी रुस र चीनसँग आफ्नो सम्बन्ध बिगार्नुको साटो सुमधुर राख्ने पक्षमा छ। जर्मनी नर्ड स्ट्रिम २ सञ्चालनमा आएपछि रुसलाई नियन्त्रणमा राख्न सकिने उसको मत छ। पाइप लाइनबाट रुसको अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने हुँदा पनि कसैसँग सम्बन्ध बिग्राने स्थितिमा ऊ नपुग्ने जर्मनीको विश्वास छ।

पाइप लाइन आवश्यक रहेको तर्क राख्नेहरू नर्ड स्ट्रिम २ ले जर्मनीको ग्यासको सम्पूर्ण आवश्यकता पुरा गर्ने बताउँछन्। तेलको तुलनामा प्राकृतिक ग्यास पर्यावरणका लागि कम हानीकारक हुन्छ। फेरी मार्च २०११ मा जपानको फुकुसिमा न्यूक्लीयर रियाक्टरमा दुर्घटना भएपछि जर्मनीकी तत्कालिन च्यान्सलर एन्जिला मर्केलले देशमा सञ्चालित सम्पूर्ण न्यूक्लीयर रियाक्टर बन्द गर्न निर्देशन दिएकी थिइन्।

नर्ड स्ट्रिम २ बाट अर्को फाइदा पनि छ। रुस र युक्रेनबीच सम्बन्धमा ठूलै समस्या आए नर्ड स्ट्रिम १ बन्द भएको अवस्थामा पनि त्यसले ग्यास आपूर्तीमा खासै समस्या आउँदैन।

युरोपेली देशहरूलाई  नर्ड स्ट्रिम २ बाट फाइदा भए पनि अमेरिका यो परियोजनाबाट खुशी छैन। अमेरिका बेखुश हुनुको पहिलो कारण यो पाइप लाइन सञ्चालन भएको अवस्थामा युरोप रुससँग ग्यासका लागि पूर्ण रूपमा निर्भर रहन्छ भन्ने हो। युरोपमा रुसले आफ्नो प्रभाव विस्तार गरेको अमेरिकालाई सह्य हुँदैन।

यसअघिका अमेरिकी राष्ट्रपति बाराक ओवामा देखि डोनाल्ड ट्रम्प र हालका जो बाइडेनसम्मले जर्मनीलाई रुसी पाइप लाइन सम्झौताबाट पछि हट्न आग्रह गर्ने गरेका छन्। रुसको बढ्दो प्रभावका कारण अमेरिकासँगै युरोपका अन्य देश पनि चिन्तित छन्।

युरोपेली देशसँग युक्रेन बेखुश हुनुको कारण आर्थिक लाभ हो। नर्ड स्ट्रिम १ सञ्चालनमा हुँदा युक्रेनले रुसबाट पैसा प्राप्त गर्छ। उसको जमिन उपयोग गर्दै युरोपसम्म ग्यास आपूर्ती भएको बदलामा रुसले युक्रेनलाई भाडा तिर्ने गरेको छ।

रुसी कम्पनीले युक्रेनलाई प्रति वर्ष २ अर्ब अमेरिकी डलर दिने गर्छ। नर्ड स्ट्रिम २ चालू भएको अवस्थामा युक्रेनले यो आम्दानी गुमाउनेछ। त्यसैले पश्चिमा देशसँग सम्बन्ध बिस्तार गरेको सजाय रुसले पाइप लाइन सञ्चालन बन्द गरेर दिन लागेको युक्रेनको गुनासो छ।

रुसले युक्रेनमा हमला गरेर पाइप लाइनबाट आपूर्ती हुने ग्यास रोकेको अवस्थामा के होला? यस्तो अवस्थामा युरोपले ठूलो क्षति व्यर्होनुपर्छ। युरोपमा केही समययता ग्यासको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ।

त्यसो त अर्थतन्त्रको प्रमुख स्रोत नै ग्यास आपूर्ती भएका कारण त्यो रोकिँदा रुसको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने विश्लेषण हुने गरेको छ।

तर, के युरोप रुसले ग्यास आपूर्ती बन्द गरिएको अवस्थालाई सामना गर्न तयार छ? यसको जवाफ यही नै हो भन्न मिल्ने अवस्था छैन। जर्मनीलाई रुसको ग्यासको आवश्यकता धेरै छ। जर्मनीका वित्तियमन्त्रीले रुसप्रति कुनै प्रकारको प्रतिबन्ध लागेको अवस्थामा आफ्नो देशले पनि त्यसको सामना गर्नुपर्ने बताउने गरेका छन्। रुसबाट आपूर्ती रोकिएको अवस्थामा जर्मनीसँग अन्य विकल्प नभएको भने होइन। जर्मनीले युरोपका अन्य देशबाट ग्यास आपूर्ती गर्नसक्छ। तर, यति छिट्टै जर्मनीले एक स्थानको आपूर्ती रोक्दै अर्को ठाउँमा जान सहज पनि छैन।

रुसपछि युरोपमा ग्यास आपूर्ती गर्ने सबैभन्दा ठूलो देश नर्वे हो। तर, नर्वे आफैले रुसको अभाव पुरा गर्न नसक्ने बताएको छ। यस्तो अवस्थामा युरोपलाई आवश्यक पर्ने ग्यास आपूर्तीका लागि अमेरिकाको भूमिका बढी हुन्छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनबाट रुस पछि नहटेको अवस्थामा नर्ड स्ट्रिम २ ग्यास पाइप लाइन सञ्चालन हुन नदिने स्पष्ट बताइसकेका छन्। तर, ग्यास पाइप लाइनको विषय रुस र जर्मनीसँग जोडिएका अमेरिकाले आफ्नो शक्ति यी दुई देशलाई कसरी थोपर्नसक्छ भन्ने प्रश्न स्वतः उब्जिन्छ।

यो प्रश्न अमेरिकी विदेशमन्त्रालयका प्रवक्तालाई सोधिएको थियो। जसको जवाफमा उनले प्रक्रियाको विषयमा आफूहरूले अहिले नै नसोचेको बताएकी थिइन्। अमेरिकाले जर्मनीसँग मिलेर यो समस्याको समाधान खोज्ने बताएको छ।

जर्मनी रुससँग अहिले युद्ध गर्ने मनस्थितिमा छैन। त्यसैले रुससँगको सम्बन्धको सवालमा बाँकी युरोपीयन देशले जर्मनीको व्यवहारलाई शंकाको दृष्टिले हेरिरहेका छन्। जर्मनीले युक्रेनलाई हतियार पनि दिएको छैन जबकी अमेरिका र युरोपका अन्य देशले रुससँग युद्ध भएको अवस्थामा आवश्यक पर्ने भन्दै हतियार सहयोग गरेका छन्। जर्मनीले भने युक्रेनलाई ५ हजार हेल्मेट भने प्रदान गरेको छ।

– एजेन्सीहरूको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved