मधेशी दलहरूले मधेशी जनताका एजेण्डा र अपेक्षा पूरा गरेनन्ः सीके राउत (भिडिओ)

मधेशी दलहरूले मधेशी जनताका एजेण्डा र अपेक्षा पूरा गरेनन्ः सीके राउत (भिडिओ)

गाउँपालिकाले पूर्ण अनुदानमा वितरण गर्न ल्याएको गहुँको बीउ बाँड्न ढिला गरेको भन्दै पुसको पहिलो साता सिराहाको औरही गाउँपालिकाले गोदाममा राखेको बिउ जफत गरेसँगै सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ले मूलतः मधेश प्रदेशमा उक्त पार्टीले नियमित प्रदर्शन गरिरहेछ।

यस बीचमा राजमार्गमा अवरोध सिर्जना गर्ने क्रममा प्रहरीले गोली चलाउनेसम्मका घटना भएका छन्। यसै क्रममा राउतलाई लक्षित गर्दै ‘गौर हत्याकाण्ड’ दोहोर्‍याउने धम्की दिएपछि जनता समाजवादी पार्टीकी नेतृ एवं भौतिक मन्त्री रेणु यादव विवादमा पनि आइन्।

‘किसान आन्दोलन’ भनिएको जनमत पार्टीको आन्दोलनलाई केही विश्लेषकले निर्वाचन लक्षित भन्ने टिप्पणी पनि गरेका छन्। यही आन्दोलनको सेरोफेरोमा नेपालभ्यूजकर्मी नवीन झाले १६ माघमा जनकपुरस्थित जनमत पार्टीको सचिवालयमा सीके राउतसँग गरेको कुराकानीः

९ पुस देखि तपाईंले नेतृत्व गरिरहेको जनमत पार्टी किसानको मुद्दा लिएर मधेशका जिल्लामा आन्दोलनरत छ तर कुनै निष्कर्षमा पनि पुग्ने छाँटकाँट देखिँदैन। तपाईंले आफैँले कसरी समीक्षा गर्नुहुन्छ ?

९ पुसदेखि शुरु भएको आन्दोलनमा राज्य वा सरकारको यस्तो अहंकारी चरित्र देखियो त्यसले हामीलाई दुखी बनाएको छ। यो भन्दा पहिला हामीले सुनेका मात्रै थियौंं तर अहिले प्रस्ट रुपमा देखिरहेका छौ। लाखौंलाख आम नागरिकहरू आफ्ना समस्यासहित सडकमा आउँदा पनि त्यसको सुनवाइ गर्नुभन्दा केही पुँजीपति, व्यापारीको संरक्षणमा सरकार लागिपरेको छ।

आफूलाई दमन गर्ने प्रहरीलाई गुलाफ बाँड्ने सीके राउत र उनको पार्टीले अराजक प्रकृतिको प्रर्दशन गर्नु कत्तिको सुहाउँदो हो ? तपाईं आफैँ अहिलेको आन्दोलनको चरित्रसँग सन्तुष्ट हुनुहुन्छ ?

मान्छेको जीवनमा अनेक चरण हुन्छन्। तपाईंले उठाउनुभएको पृष्ठभूमिसँग जनमत पार्टीलाई नजोडौं। त्यतिबेला छुट्टै मुद्दा थियो। त्यसका आफ्नै छुट्टै आदर्श थिए। त्यतिबेला बोलेको गरेको कुरासँग अहिलेको जनमत पार्टी र यसको गतिविधि नजोडौं।

मान्छेले जन्म लिएपछि स्वतः समयअनुसार उसको विकास हुन्छ र एक दिन मर्छ। त्यही भएर सधैं एउटै कुरालाई समातेर हुन्छ भन्ने मलाई लाग्दैन। समयअनुसार गतिशील भएर परिवर्तन हुनु स्वाभाविकै हो। जहाँसम्म मलाई के मन पर्छ भन्ने यहाँ लागू हुँदैन। जनतालाई के मन पर्छ, जनता के चाहन्छ र त्यसलाई आपुर्ति गर्न जनताले कुन माध्यम रुचाउँछन भन्ने जनतामा नै निर्भर पर्छ। जनताले चाहेमा फ्रान्सेली क्रान्तिदेखि देखि अक्टोबर क्रान्तिसम्म भएकै हो। त्यही भएर जनताले चाहेमा जुन हदसम्म पनि जान सक्छ। त्यसमा म वा कुनै एक व्यक्तिको कुरा रहँदैन।

जहाँसम्म अराजकताको कुरा छ। पञ्चायतकालमा एउटा पर्चा छाप्दा पनि अराजकता भनिन्थ्यो। एउटा पर्चा छापेर बाँड्नेलाई पनि त्यहीबेला अराजक तत्व भने कै हो नि। त्यसैले जनताले आफ्नो कुरा भन्दा त्यसलाई अराजक भन्नुलाई म स्वाभाविक नै लिन्छु। राज्य वा सतामा बस्नेको सबै कुरा मान्यो भने त आन्दोलन नै हुँदैन।

सत्तामा बस्नेले सबैको कुरा सुनिदिए पनि कहाँ आन्दोलन हुन्छ र ? सरकारले जनताको कुरा नसुनेर त आन्दोलन हुन्छ। सरकारले जनताले कुरा नगरेकै कारण उनीहरू सरकारको विरोधमा उत्रने गर्छन्। आन्दोलन भनेकै सरकारको कुरा नमानेर आफनो कुरा पूरा गराउन दबाब दिने हो। सरकारले भनेको नमानेकाले नै आन्दोलनकारीलाई विद्रोही पनि भन्छन्। सरकारले भने निषेधाज्ञा लगाउँछ, धर्ना न दे भन्छ तर यी कुराहरू नगरेरसम्म माग पनि पूरा हुँदैन।

तपाईंको गतिविधी हेर्दा अहिले चलनचल्तीमा रहेका पार्टीले स्थापित हुन जे जस्ता हतकण्डा अपनाए, तपाईंहरूले पनि त्यहीँ गरेको देखिन्छ नि !

चलनचल्ती भन्दा पनि हुन्छ। जुन कुरा यहाँ चलनमै छैन, त्यो तपाईं लागू नै गर्न सक्नुहुन्न। अरू देशमा जनमतसंग्रह गर्ने अधिकार नै दिएको हुन्छ तर यहाँ त्यो अधिकार नै छैनभन्दा हुन्छ। अरूतिर एउटा ज्ञापन पत्र दिएर पनि माग पूरा हुन्छ। यहाँ त्यस्तो माहौल नै छैन। यहाँ त लाखौं जनता सडकमा आएर हजारौं पटक आफ्ना मागबारे सरकारलाई ज्ञापन पत्र दिँदा पनि सरकारलाई कुनै फरक नै पर्दैन। यहाँका सत्ताधारीले बुझ्ने भाषा नै सडकमा गएर गरिने अवरोध हो। राज्यको नियन्त्रणभन्दा बाहिर गएपछि मात्र आन्दोलनको आवाज सुन्ने चलन छ यहाँ।

त्यसैले राज्यले जुन भाषा बुझ्छ त्यहीँ भाषामार्फत जनता आफ्ना माग पूरा गराउन लागिपर्छन्। जनतालाई त आफ्नो मुद्दा सम्बोधन गराउनेसँग मात्रै मतलब हुन्छ। सरकारले शान्तिपूर्वक सुनुवाइ गरिदिएको भए यस्तो अवस्था नै आउने थिएन।

मधेशका जिल्लाहरूमा तपाईंहरूले गरिराख्नुभएको आन्दोलनको मुख्य निशाना जनता समाजवादी पार्टी र त्यसका अध्यक्ष उपेन्द्र यादव देखिएका छन्। तपाईंले उपेन्द्र यादवलाई आफ्नो राजनीतिक शत्रु मानेर मधेशमा राजनीति गर्न खोज्नुभएको त होइन ?

हामीले कसैलाई शत्रु मानेर राजनीति नै गरेका होइनौं। जनमत पार्टी खोल्दा नै हामीले प्रस्ट रुपमा भनेका थियौँ– यहाँ अरू पार्टीहरूले देश र जनताका लागि काम नै गरेनन्। दलहरू ठेक्कापट्टामा चले। एकप्रकारको जंगलराज आएको छ। त्यही भएर जनताको सम्प्रभुता कायम गर्न हामी राजनीतिमा आएका छौं। नेताको सम्प्रभुता तोडेर जनताराज स्थापित होस् भन्ने हाम्रो प्रस्ट मान्यता छ।

त्यो कुरा हामीले पार्टीको नाम राख्दा नै झल्कायौ। जनमत भनेकै जनताले भनेको काम गर्ने हो। त्यही भएर पार्टीको नाम नै ‘जनमत’ राख्यौं। त्यही भएर हामी कसैसँग शत्रुता कायम गरेर राजनीति गरेका छैनौं। हामीले पार्टी बनाएको दुई वर्षसम्म वडा–वडासम्म संगठन बनाउने काम गर्‍यौँ।

त्यसपछि पार्टीको महाधिवेशन गर्‍यौं। महाधिवेशनबाट पार्टी एउटा संरचनामा गएपछि हाम्रो गतिविधि देखिन थालेको हो। जनताले हामीलाई दिएका एजेण्डालाई हामीले पछिल्लो समयमा आफनो मुद्दा बनाउन थालेका छौं। जस्तै मंसीर १० तिर हामी नवलपरासी, कपिलवस्त्तु गयौं। त्यहाँका हरेक किसानले मलखाद र बीउ नपाएको गुनासो गरे। त्यसपछि हामीले त्यसलाई मुद्दा बनायौं।

तपाईंहरूले उठाएको किसानको मुद्दा मधेशमा चर्चित भए पनि सतारुढ दल र सरकारको कुनै चासो अहिलेसम्म देखिएको छैन ? यो आन्दोलन कहाँ गएर टुंगिन्छजस्तो लाग्छ ?

जनता जागेपछि जहाँ पनि सत्ता झुकेको छ। त्यही भएर जनता जागिराख्नुपर्छ भन्ने मेरो मान्यता हो। एउटा सीमामा पुगेपछि सरकारले जनतको माग पूरा नगरीकन सुख नै हुँदैन। अहिले राज्य दलाल पूँजीपतिको संरक्षणमा लागेको छ। किसानको मुद्दा सम्बोधन गर्दा सरकारलाई कमिशन आँदैन र पूँजीपतिको पक्षमा उभिएपछि त कमिशन आउँछ त्यही भएर किसानहरूको मागमा ध्यान नलिएको हो सरकारले।

तर मधेशमा तपाईंहरूको आन्दोलन बढी नै उपेन्द्र यादवविरुद्ध लक्षित भयो भन्छन् नी !

तपाईंले भनेको जस्तो किन देखियो भने हामीले जुनसुकै मुद्दा उठाउँदा पनि उहाँहरू अनसेक्युर भए जसरी प्रस्तुत हुनुहुन्छ। शुरुदेखि मैलै यो देखिरहेको छु। मानौं मधेशमा उहाँहरू बाहेक अरू नेता नै नबनुन् र आम मानिसको मुद्दा नै कसैले नउठाउन जस्तोगरी उहाँहरू प्रस्तुत हुनुहुन्छ। एकप्रकारले मधेश उहाँहरूको हैकमजस्तो गर्नुहुन्छ। त्यही भएर अहिलले मधेशमा जंगलराज छ भनेर म भन्ने गर्छु।

मैलै जनमत पार्टी नै नबनाउँदै जनकपुरमा ओर्लेपछि मेरो सबैभन्दा पहिला विरोध गर्ने को थियो ? मुख्यमन्त्रीले मेरो विरोध गर्नु भयो। तत्कालीन प्रदेश गृहमन्त्रीले मलाई कारबाही गर्ने धम्की दिनुभयो। जेलबाट छुटेर म जनकपुर आउँदा मलाई स्वागत गर्न मेरो कार्यकर्ता विमानस्थल आउदा मुख्यमन्त्रीलाई किन टाउको दुखाईको विषय बन्यो ?

त्यति मात्र होइन मैलै जनमत पार्टी बनाएपछि पनि जब कुनै मुद्दा अगाडि बढाउँदा त्यसमा खुट्टा अड्याउने काम जसपाबाट भएको छ। तत्कालीन केपी ओली नेतृत्वको सरकार नै हुँदा हामीले नागरिकता विधेयकको पक्षमा आवाज उठाएका थियौँ तर उहाँहरूले त्यसको विरोध गर्नुभयो। केहि समय अगाडि भ्रष्टाचारको विरोधमा जनकारबाही भयो तर जसपा त्यसको पक्षमा देखिएन।

मधेशमा अरू पार्टीहरू पनि छन्। काग्रेस, नेकपालगायत अन्य पार्टीलाई कुनै मतलब नै नहुने तर जसपा जहिले पनि विरोधमा उभिरहने, यो आश्चर्यजनक छ। केही महीनाअघि दूध किसानहरू आन्दोलनमा उत्रिए। यसमा पनि सबैभन्दा पहिला आन्दोलनको विपक्षमा जसपाले नै सप्तरीमा प्रदर्शन गर्‍यो। हामीले किसानहरूको माग कुनै एउटा पार्टीको विरुद्धमा अगाडि ल्याएको त होइन नि। हामीले आफ्नो संघीय सरकारलाई ज्ञापन पत्र दियौं तर जसपालाई त्यो टाउको दुखाइ बन्यो।

अरू कुनै पनि पार्टीले किसान आन्दोलनको विपक्षमा अहिलेसम्म बोलेको छैन तर जसपाले ठाउँ-ठाउँमा प्रदर्शन किन गरिरहेको छ ? यसको सिधा मतलब के हो भने जसपाले मधेशमा अरू कसैले राजनीति नगरून् भन्ने चाहेको छ।

कतै तपाईंको आन्दोलन उपेन्द्र यादवसँगको झडपमा परिणत त हुँदैन ?

हामीले संयमता अपनाएका छौं। जसरी उहाँहरूको पार्टीका वरिष्ठ नेता तथा संघीय सरकरका मन्त्रीले नरसंहार गर्ने धम्की दिएका छन्, जसरी सर्लाहीमा हाम्रो पार्टी कार्यालयमा आगजनी गर्ने काम भएको छ। हामी पनि प्रतिकार गर्न सक्छौं तर हामीले राजनीतिक चरित्र देखाएर संयमता अपनाएका छौं। उहाँहरू पनि रानीतिक चरित्र देखाउन् भन्ने मेरो सुझाव छ। हामी आफ्नो मुद्दा लिएर जनतामा जान्छौं। सबै आ–आफनो मुद्दासहित जनतामा जान पाउँछन्। कसैले कसैलाई अवरोध गर्नु राजनीतिक संस्कार होइन।

उपेन्द्र यादवले मधेशमा आर्जन गरेको शक्ति भत्काएर मधेशमा स्थापित हुन्छु भन्ने लागेको हो कि तपाईंलाई ?

हामीलाई त्यो लाग्छ किनकि मधेश आन्दोलनमार्फत मधेशी जनताले उठाएको एजेण्डा र अपेक्षा दुवै उनीहरूले पूरा गरेका छैनन्। पटक–पटक सरकारमा गए पनि उनीहरूले मधेशका लागि केही गरेनन्। आजको मितिमा मधेशको शिक्षा र स्वास्थ्यको अवस्था हेर्दा त्यो प्रस्ट हुन्छ।

यो बीचमा उनीहरू पटक–पटक शिक्षा र स्वास्थ्य मन्त्री भए तर मधेशको शिक्षा र स्वास्थ्यको अवस्था कहालिलाग्दो छ। विगत १४-१५ वर्षमा उनीहरू पटक–पटक सरकारमा सहभागी भए तर मधेशका समस्या थप विकराल हुँदै गएको देखिन्छ। मधेशको अवस्था पहिला भन्दा पनि खराब अवस्थामा पुगेको छ। त्यही भएर उनीहरू नयाँ नेताहरूसँग असुरक्षित महसुस गरेर डराएका पनि छन्।

तपाईंले मधेशको एजेण्डाको कुरा उठाइहाल्नुभयो, वर्तमान संविधानप्रति उपेन्द्र यादव र महन्थ ठाकुरहरूको असन्तुष्टि नै छ। उहाँहरूले यो संविधानमा संशोधनको माग राखिरहनुभएको छ। त्यसमा तपाईंको मत के छ ?

संविधानकैबारे पनि उहाँहरू अमूर्त कुरा गर्नुहुन्छ। संविधान संशोधन उहाँहरूको राजनीतिक टुल (औजार) बन्न पुगेको छ। १८ महिना उपेन्द्र यादव सरकारमा रहँदा संविधान संशोधनबारे कतिचोटि बोल्नुभयो ? एजेण्डा बनाएर मात्रै हुुँदैन। त्यसलाई सुल्झाउने उपाय पनि अगाडि ल्याउनुपर्छ। जो हामीहरू गर्छौं। यो संविधान आइसकेपछि दुवै पार्टी पालैपालो सरकारमा गए तर संविधान संशोधनको मुद्दा कतै देखिएन। त्यही भएर हामी यस्ता राजनीतिक खपतको कुरामा विश्वास गर्दैनौं।

त्यसोभए तपाईहरू संविधान संशोधनको पक्षमा होइन ?

हामी संविधान संशोधनको पक्षमा नै हो। हामी पनि यो संविधानका कैयौं मुद्दामा फरक मत राख्छौं। जस्तैः नागरिकतादेखि निर्वाचन क्षेत्र हुँदै प्रदेशको सीमांकनसम्ममा हामी सहमत छैनौं। हामीले आफ्नो १२ बुँदे राजनीतिक एजेण्डामा पनि यी विषय प्रस्टसँग राखेका छौं।

निर्वाचनबारे तपाईंको धारणा के हो ?

राष्ट्रिय राजनीतिमा अहिले त्यसबारे छलफल चलिरहेको छ। तर संविधान र ऐनमा प्रस्ट व्यवस्था भए अनुसार वैशाखभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसपछि संविधानअनुसार नै अरू तहको निर्वाचन हुनुपर्छ।

निर्वाचनकै प्रसंगमा तपाईंले नेकपा (एमाले) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने चर्चा पनि छ। के त्यो सत्य हो ?

राजनीतिमा गठबन्धन एउटा स्वाभाविक खेल हो जस्तो मलाई लाग्छ। तर अहिलेसम्म यसबारे मेरो कसैसँग कुनै कुराकानी भएको छैन। सरकारले अहिले पनि निर्वाचन मिति घोषणा गरेको छैन। स्थानीय तहको निर्वाचन जेठमा गर्ने कुरा भएको छ। निर्वाचन घोषणा भएपछि दलहरूको बीचमा गठबन्धनबारे छलफल हुन सक्छ। तर म अहिले नै यो वा त्योसँग गठबन्धन हुन्छ भन्ने ठोकुवा गर्न सक्दिनँ। तर म गठबन्धनको विरोधी होइन।

प्रसंग बदलौं, तपाईं अमेरिकामै लामो समय बसेको मानिस। राष्ट्रिय राजनीतिमा अमेरिकी परियोजना ‘एमसीसी’ एउटा पेचिलो मुद्दा बनिरहेको छ। तपाईंको विचारमा एमसीसीबारे कस्तो निर्णय लिनुपर्छ ?

हुन त यसमा मेरो रायले कुनै महत्त्व राख्दैन। तर जनताको तहमा मैलै महसुस गरेंअनुसार यसबारे अनेकन शंका उठेपछि नेताहरूले त्यसलाई अगाडि नबढाउँदा नै राम्रो हुन्छ। परियोजनाबाट आउने ५५ अर्ब रुपैयाँ हामीले देश भित्रको भ्रष्टाचार नियन्त्रण गरेर पनि असुल्न सक्छौं। जनताले प्रश्न उठाइसकेपछि दलहरू त्यसमा गम्भीर हुनुपर्छ भन्ने मेरो मान्यता हो।

नेपाल कतै भूराजनीतिक चपेटामा फस्दै गएको त होइन ?

यसमा म अरू भन्दा पनि यहाँका पार्टीहरूको दोष बढी देख्छु। पार्टीहरू आफूमा बलियो भए अरूले खेल्न मौका कम पाउँछन्। हामी आफै गल्तीमाथि गल्ती गर्दै जाने हो भने अरूले खेल्ने मौका पाइहाल्छन्।

अन्त्यमा, विगतमा जुन एजेण्डा उठाउनुभयो, स्वतन्त्र मधेश राज्यको, त्यो गलत थियो भन्ने निष्कर्षमा पुग्नुभएको हो ?

छैन। मैलै हिजोका दिनमा जुन मुद्दा उठाए त्यो मेरो व्यक्तिगत सोच विचारको आधारमा थियो र सही नै थियो। तर जनताले त्यसलाई पत्याइदिएनन्। वा जनता डर, त्रासका कारण सहमत भएनन्। मैलै उक्त एजेण्डा लिएर अगाडी बढ्दा दमनको कुनै सीमा नै थिएन। तीर्थालुलाई पानी बाँड्दा पनि हामीमाथि मुद्दा चलाउने काम भयो। यी कारणले होला जनतामा सहमत देखिएको मैलै पाइनँ। यसको अर्थ मेरो एजेण्डा नै गलत थियो भन्ने होइन। जनताको सहभागिता नदेखिएपछि मैले अहिलेको राजनीति अंगीकार गरेको हुँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved