भेरीमा अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

नेपालभ्युज

भेरीमा अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ। कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिए।

उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। कोरोना सङ्क्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ।

सेवा बन्द

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ। नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन्। तीमध्ये केहीमा सङ्क्रमण पुष्टि भएको छ। पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाई भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको उनको भनाइ छ।

जिप्रकाबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङघ संस्था दर्ता–नवीकरण हातहतियार नवीकरणलगायतका सेवा हाललाई स्थगित गरिएको प्रजिअ खत्रीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved