पुस्तक मिमांशा

उपनिवेशबाट मुक्तिको नयाँ यात्रा प्रस्ताव गर्ने दुई पुस्तक

डिकोलोनियालिटी त्यो विश्वदृष्टिकोण हो जसले आदिवासी चिन्तन प्रणालीलाई अपनाउँछ र उपनिवेशवाद र साम्राज्यमार्फत थोपरिएको आधुनिकताबारेको पश्चिमा विचार अस्वीकार गर्छ।

उपनिवेशबाट मुक्तिको नयाँ यात्रा प्रस्ताव गर्ने दुई पुस्तक
अर्जन मार्टिन्सको ‘एटलान्टिको’ शीर्षकको तस्वीर जसले ल्याटिन अमेरिकी डिकोलोनियल संघर्ष अभिव्यक्त गर्छ। स्रोतः वर्ल्डभ्यूज डट अनलाइन।

प्रसंगवश

उपनिवेश नभए पनि नेपाल उपनिवेशवादका प्रभावहरूबाट मुक्त रहेन। एक सय चार वर्ष लामो राणा शासनमा आन्तरिक राजनीतिलाई अंग्रेजको प्रभावबाट मुक्त बनाए पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाल अंग्रेजकै एक अंगको रूपमा देखियो। साम्राज्यवादी शक्तिको सान्निध्यमा रहेर नेपाली शासकले गरेको शासन अभ्यासले कस्ता परिणाम सिर्जना गर्‍यो भन्नेबारे यथेस्ट नभए पनि केही प्राज्ञिक काम भएका छन्। तीमध्ये पहिलो पंक्तिमा आउँछन्, चैतन्य मिश्र, भीमबहादुर पाँडे लगायत। भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’मा खासगरी बेलायती फौजमा सहभागी भएर होस् वा नेपाली सेनाकै टुकुडीमा रहेर होस् पहिलो विश्व युद्धमा नेपाली सहभागिताले पारेको सामाजिक–सांस्कृतिक प्रभावको वर्णन गरिएको छ। चैतन्य मिश्रले आफ्नो बहुचर्चित निबन्ध ‘डेभलपमेन्ट एन्ड अन्डरडेभलपमेन्टः अ प्रिलिमिनियरी सोसियोलोजिकल प्रस्पेक्टिभ’मा बेलायती शक्तिसँगको साहचर्यसँगै नेपाली समाज पूँजीवादी हुँदै सिमान्त पूँजीवादी मुलुक भएको विश्लेषण गरेका छन्। मार्क्सवादी परम्पराका इमानुएल वालरस्टिनको ‘वर्ल्ड–सिस्टम थ्योरी’ (विश्व प्रणाली सिद्धान्त)को आलोकबाट उनले त्यस्तो व्याख्या गरेका हुन् ।

दोस्रो विश्व युद्धको अन्त्यसँगै एशिया, अफ्रिका र ल्याटिन अमेरिका (तीन महादेश जसलाई ट्राईकन्टिननेन्ट– त्रिमहादेश पनि भनिन्छ) साम्राज्यवादी शक्तिहरूको प्रभुत्वबाट मुक्त हुन थाले। स्वाधीनताको त्यो प्रक्रियासँगै राजनीतिक र प्राज्ञिक वृत्तमा नयाँ–नयाँ सिद्धान्त विकास भए। तीमध्ये एक थियो, उत्तर–उपनिवेशवाद (पोस्ट–कोलोनियलिज्म)। उपनिवेशवाद (कोलोनियलिज्म) र त्यसबाट मुक्त हुने प्रक्रियाहरूको अध्ययन गर्ने यो सिद्धान्त मार्क्सवाद, राष्ट्रिय स्वाधिनता आन्दोलन, सन् १९५० देखि १९७० सम्मका तीन दशकमा त्रिमहादेशमा भएका आर्थिक र सांस्कृतिक आलोचनाको परिणाम थियो (योंग, पोस्टकोलोनियलिज्मः एन हिस्ट्रिकल इन्टरडक्सन) ।

उपनिवेशबाट मुक्त हुने प्रक्रियामा सिद्धान्तहरूको निर्माण हुने प्रक्रिया भने त्यतिमै सिमित रहेन। उपनिवेशवादको अफ्रिकी र ल्याटिन अमेरिकी अनुभव एशियाली भन्दा नितान्त भिन्न थियो।

भारतको ‘प्रज्ञा सेन्टर फर रिसर्च’का निर्देशक राजामनिक्काम श्रीनिवासनका अनुसार  भारतजस्ता एशियाली मुलुकमा उपनिवेशकारीहरूले आफूलाई त्यो संसारको अंग ठान्थे जसमा उपनिवेश ‘अरू’ हुन्थ्यो। औपनिवेशिकहरू नभई उपनिवेशकारीहरूको अस्तित्व सम्भव थिएन। तर ल्याटिन अमेरिका र अफ्रिकामा उपनिवेशकारीहरूले औपनिवेशिक मुलुकका जनतालाई मानव समान पनि ठान्दैनथे। औपनिवेशिक शासनको यो फरकपनले अर्को नयाँ सिद्धान्त निर्माण गर्‍यो डिकोलोनियालिटी। डिकोलोनियालिटी मूलतः पेरुभियाली चिन्तक एनिबल क्‍विजानोका प्राज्ञिक कर्मको परिणाम हो ।

उपनिवेश र त्यसका प्रभावहरूबाट मुक्त हुने राजनीतिक र सांस्कृतिक प्रयत्नहरूको विश्लेषण गर्दै लेखिएका दुईवटा सैद्धान्तिक पुस्तकको लामो समीक्षा ‘न्यू योर्क युनिभर्सिटी’का म्याक्स वेबर ग्लोबल प्रोफेसर अर्जुन अप्पादुराईले गरेका छन्। यो सामग्री संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने म्यागेजिन ‘द नेसन’को २२–२९ मार्च २०२१ अंकमा प्रकाशित समीक्षाको  नेपाली अनुवाद हो।

यो अनुदित सामग्रीमा केही अंग्रेजी पारिभाषिक शब्दहरू प्रयोग भएका छन्। मैले ती शब्दको ठेट नेपाली अर्थ खोज्ने प्रयास गरेँ, सकिनँ। त्यसैले तिनको अर्थ लाग्ने गरी नेपाली शब्द निर्माणको जिम्मा भाषाशास्त्री र व्याकरणविद्हरुलाई छोड्दै अंग्रेजी शब्द नै प्रयोग गरेको छु। त्यसैले ती शब्दको संक्षिप्त परिभाषा शुरुमै राख्छु ।

डिकोलोनाइजेसन (Decolonization)

ड्युक विश्वविद्यालयका प्राध्यापक वाल्टर डी. मिग्नोलोले एक अन्तर्वार्तामा  बताए अनुसार, शीतयुद्धकालमा खासगरी अफ्रिकाली र एसियाली देशहरूले उपनिवेशबाट मुक्त हुन गरेको संघर्षलाई जनाउन यो शब्द प्रयोग गरिन्छ। यो संघर्षको मुख्य उद्देश्य राज्यलाई आफ्नो नियन्त्रणमा राख्नु हो। मिग्नोलो डिकोलोनियलिज्मलाई अर्ध–सफल प्रयत्नका रूपमा लिन्छन्। सफल यस अर्थमा औपनिवेशिक देशका शासक वर्ग उपनिवेशकारी देशका हाकिम, संस्था र मानिसलाई आफ्नै देशमा फर्काएर सरकारमा नियन्त्रण जमाउन सफल भए। असफल दुई कारणले। एक, पूर्वउपनिवेशका शासकहरूले राष्ट्रिय सार्वभौमिकताको नाममा ठ्याक्कै त्यही काम गरे जे उपनिवेशकारीहरूले गरिरहेका थिए। दुई, डिकोलोनाइजेसनले उपनिवेशकारीहरूले अपनाइरहेको राजनीतिक सिद्धान्त र अर्थ–राजनीति कायम नै राख्यो (उदाहरणका लागि, पूँजीवाद र शासनको आधुनिक–बुर्जुवा पश्चिमा शैली)।

डिकोलोनियालिटी (Decoloniality)

कोलोनियालिटी (यसलाई औपनिवेशीकरण भन्न सकिन्छ)बाट मुक्त हुने प्रक्रिया हो डिकोलोनियालिटी। यो अवधारणा सन् १९६० को दशकको अन्त्य र १९७० दशकको शुरुतिर क्‍विजानोले परनिर्भरता सिद्धान्तसँग बहसका क्रममा विकास गरेका हुन्।

क्‍विजानोले कोलोनियलिज्म (उपनिवेशवाद) र कोलोनियालिटी (औपनिवेशीकरण)को भिन्नता प्रष्ट्याएका छन्। उनका अनुसार कोलोनियलिज्म मूलतः पश्चिमा साम्राज्य वा उपनिवेशको विस्तार हो जसको शुरुआत इसाईकरणबाट भएको थियो। स्पेन र पोर्चुगलले अमेरिका (वर्तमान उत्तर र दक्षिण दुवै महाद्विप) बाट शुरु गरेको उपनिवेशकरण एशियासम्म पुग्यो। स्पेनी र पोर्चुगालीपछि यो उपनिवेशकरण क्रमैसँग डच, फ्रेन्च र बेलायतीहरू जोडिए। उपनिवेशवादलाई त्यसपछि संयुक्त राज्य अमेरिकाले कायम नै राख्यो तर उपनिवेशबिना।

कोलोनियालिटी भने मूलतः ज्ञान प्रणालीसँग जोडिन्छ। क्‍विजानोका अनुसार पश्चिमा आधुनिकता र कोलोनियालिटी एकै सिक्काका दुई पाटा हुन्। अर्को शब्दमा, पश्चिमा आधुनिकताको अँध्यारो पाटो हो कोलोनियालिटी।

उनका अनुसार पश्चिमा सभ्यता आधुनिकता र कोलोनियालिटीका दुई वटा खम्बामा खडा भएको छ। यी दुई खम्बालाई चाहिँ ज्ञानको जटिल र विविध संरचनाले आड दिएको छ। त्यो ज्ञान प्रणालीले मूलतः इसाई धर्मशास्त्र, विज्ञान र दर्शन समेट्छ। त्यो संरचनालाई ज्ञानको साथमा तयार भएको विशेष संस्थाहरूले साथ दिन्छन्। ज्ञानका लागि कर्ता र साधन (संस्था) दुवै चाहिन्छ। यी कर्ता र साधनहरूले ज्ञान जोगाउने, फैलाउने र परिवर्तन गर्ने काम गर्छन् तर शक्तिको उपनिवेशवादी व्यूह अन्तर्गत रहेर।

डिकोलोनियालिटी यो पश्चिमा ज्ञान प्रणालीबाट मुक्त हुने प्रक्रिया हो। यसको अर्थ हो, ज्ञान प्रणालीको पुनर्गठन। त्यो पुनर्गठन चिन्तन प्रणालीको, भाषाको र जीवन जिउने तरिकाको हो।

डिकोलोनाइजेसनले भने उपनिवेशवादी ज्ञान प्रणाली र त्यसले सिर्जना गर्ने ईच्छा, विश्वास र आकांक्षाहरूलाई प्रश्न नै गरेन। त्यो प्रक्रियाको असफलता यहीँनेर थियो।

थपः

  • डिकोलोनियालिटीबाट विकास भएका शब्द डिकोलोनियल, डिकोलानाइज्ड जस्ता शब्द यथावत राखेको छु।
  • colonizer लाई उपनिवेशवादी भन्ने गरिन्छ। तर त्यसो भन्दा उपनिवेशवादका अनुयायी मात्र पनि हुनसक्ने सम्भावना रहने लागेकाले उपनिवेशकारी लेखेको छु, कर्ता नै बुझाउँछ भन्ने लागेकाले।

– लक्ष्मण श्रेष्ठ


अर्जुन अप्पादुराई

प्राज्ञिक लेखनको स्थापित परम्परामा विश्वका विभिन्न भौगोलिक क्षेत्रहरूलाई प्राकृतिक रूपमा लिइन्छ। त्यो मान्यताले ऐतिहासिक घटनाहरूले उजागर गर्ने यथार्थ विपरीत भूगोलले भूमिका खेल्छ भन्ठान्छ। मन्टेस्क्युजस्ता प्रबोधन कालका चिन्तकहरूको चिन्तनबाट विकास भएको यो दृष्टिकोण सभ्यताहरू स्थायी भू–जातीय इकाईमा बनेका हुन् भन्ने धारणा राख्ने स्यामुअल हन्टिङटन जस्ता अनुदारवादी राजनीतिक सिद्धान्तकारदेखि केन्द्र र परिधी लामो भौगोलिक असन्तुलनका परिणाम हुन् भन्ठान्ने मार्क्सवादी चिन्तक इमानुएल वालरस्टिनसम्ममा पाइन्छ।

यो अवधारणाको निश्चित समयमा आफ्नै उपयोगीता हुनसक्छ। तर संसारलाई फरक दृष्टिकोणले पनि बुझ्नु पनि श्रेयस्कर नै हुन्छ।

ती भूभागलाई पूर्वस्थापित भौतिक यथार्थको कोणबाट भन्दा पनि मानवीय गतिविधी, आवागमन र परियोजनाहरूको परिणामको रूपमा लिन सकिन्छ। भूमी र पानी मानव इतिहासभन्दा पहिलेदेखि नै रहेका हुनसक्छन् तर क्षेत्रहरू र सभ्यताहरू मानवीय गतिविधीका उपज हुन्। यो दृष्टिकोण अनुसार इतिहासले भूगोल बनाउँछ, भूगोलले होइन।

दुईवटा नयाँ पुस्तकहरू – वाल्टर डी. मिग्नोलो र क्याथेराइन ई. वाल्शकृत अन डिकोलोनियालिटीअसिले एम्बेम्बेकृत आउट अफ् द डार्क नाइटले विभिन्न क्षेत्र र महादेशका इतिहासलाई औपनिवेशिकरण र साम्राज्यको सन्दर्भसँग जोडेर ती भूगोल पछाडि लुकेका इतिहास सम्झाउँछन्। यी दुवै पुस्तकले डिकोलोनाइजेसनका फरक–फरक यात्राको व्याख्या गर्दै के पुष्टि गर्न खोजेका छन् भने यो प्रक्रियाबाट राष्ट्र–राज्य र विश्वव्यापी पूँजीवादले परिभाषित गरेको राष्ट्र–राज्य दुवैले त्यो मुक्ति यात्राले गरेको स्वतन्त्रता दिलाउने वाचा पूरा गर्न सकेका छैनन्।

दुवै पुस्तकको सबैभन्दा बलियो पक्ष हो, तिनले टेकेको भूमी। मिग्नोलो र वाल्शको पुस्तकले ल्याटिन अमेरिकाको सन्दर्भ लिएको छ भने एम्बेम्बेको पुस्तकले अफ्रिकाको। दुवै पुस्तकले विगत पाँच सय वर्षमा उपनिवेशहरूबाट उपनिवेशकारीहरूले केवल श्रम र स्रोत दोहन गरेको थिएन बरु ज्ञानको पनि दोहन गरेको थिया भन्ने देखाउँछन्। उपनिवेश बनाइएका भूगोल र मानिस (विषय)लाई युरोपको तथाकथित तर्कको साम्राज्यमा अन्यको रूपमा वर्गीकरण गरिएको थियो।

दुवै पुस्तकले बाँकी संसारमा भएको युरोपेली उपनिवेशको क्रान्तिकारी आलोचना गरेका छन्। मार्क्सवादीहरू, परनिर्भरता (डिपेन्डेन्सी) सिद्धान्तकारहरू, वर्ल्ड–सिस्टम (विश्व–प्रणाली) सिद्धान्तकारहरू जस्ता भौतिकवादी विश्लेषकहरूले उपनिवेशवाद र त्यसपछिको विऔपनिवेशीकरणबारे गलत बुझाई राख्छन् भन्नेमा दुवै पुस्तक सहमत छन्।

साथसाथै लेखकहरूले आफ्ना उपनिवेशसँग युरोपले गर्ने व्यवहारबारे एकदमै फरक अवधारणाहरू पनि प्रस्तुत गर्छन्।

मिग्नोलो र वाल्शले डिकोलोनियल विचार र आधुनिकता, प्रगति र स्वतन्त्रताबारेको युरोपेली विचार उल्टो रहेको व्याख्या गरेका छन्।

अर्कोतर्फ एम्बेम्बेले भने उपनिवेशकारी र औपनिवेशिकबीचको द्वन्द्वात्मक सम्बन्धको तस्वीर प्रस्तुत गर्छन्। उनले अफ्रिकाको भविष्य र अफ्रिकाले प्रस्तुत गर्ने विश्वको दृश्य युरोप र यसका पूर्व उपनिवेशहरूको थप समावेशी, दिगो र समतामूलक बनाउने संयुक्त प्रयत्नको रूपमा दर्शाउँछन्। विगतका पाँच शताब्दीमा प्रस्तुत गरिएको भन्दा फरक दृश्य अहिले तयार हुँदै गरेको उनी व्याख्या गर्छन्।

०००

‘अन डिकोलोनियालिटी’ दुई भागमा बाँडिएको छ। पहिलो खण्डमा वाल्श र दोस्रो खण्डमा मिग्नोलोका विचारहरू समेटिएका छन्। दुवैका विचार एकअर्कासँग सम्बन्धित छन्। दुवैको संयुक्त प्रयत्न चाहिँ डिकोलोनियालिटी डिकोलोनियलाइजेसन र एन्टिकोलोनाइजेसनभन्दा फरक विचार हो। यो ग्लोबल साउथमा निरन्तर रहन सम्भव छ भन्ने स्थापित गर्ने हो। दुवै लेखक डिकोलोनियालिटी पश्चिमा ज्ञानको जगमा नभई आदिवासी ज्ञानशास्त्रीय शैली र दाबीहरूमा आधारित छ भन्ने पुष्टि गर्न प्रयत्नरत छन्।

डिकोलोनियालिटीको राजनीतिबारे आफ्ना विचार प्रस्तुत गर्ने क्रममा वाल्श र मिग्नोलो पेरुभियन समाजशास्त्री एनिबल क्‍विजानोप्रति सबैभन्दा धेरै ऋणी रहेको उल्लेख गरेका छन्। डिकोलोनियालिटीबारेका क्‍विजानोका विचारमा आधारित रहे आफ्नो आलोचनाको केन्द्रीय विषय निर्माण गरेको लेखकद्वयले उल्लेख गरेका छन्। क्‍विजानोका विचारलाई उनीहरूले ‘शक्तिको उपनिवेशकारी व्यूह’ नाम दिएका छन्। उनीहरूका निम्ति दक्षिण र मध्य अमेरिकाको उपनिवेशवाद र साम्राज्य दमनको बेग्लै शैली थियो जुन केवल आदिवासी जनताको मात्र नभई आदिवासी ज्ञान प्रणाली र संस्कृतिको समेत सीमान्तकरण, दमन र उन्मूलनमा आधारित छ। नयाँ संसार (न्यू वर्ल्ड) को युरोपेली विजयको केन्द्रमा केवल स्थानीय जनताको विस्थापन थिएन बरु संसारलाई बुझ्ने उनीहरूको तरिकाको पनि थियो। प्राकृतिक प्रक्रियाहरूको पुनर्उत्पादन र ठूलो भूभागमा मानिसहरूको बसाई गराउने उनीहरूको स्थानीय परम्परालाई क्रमबद्ध रूपमा प्रकृति, संस्कृति र प्रगतिबारेका पश्चिमा विचारहरूले विस्थापन गरे। यो नै ज्ञान व्यूह हो। उपनिवेशकारीहरूले त्यो भूगोल छोडेर जानुपर्दा पनि यो ज्ञान व्यूह कायम नै रहेको लेखकद्वयको दाबी छ।

उत्तर अमेरिकी भए पनि वाल्शले ल्याटिन अमेरिकामा अध्यापन र राजनीतिक गतिविधीका क्रममा वर्षौं बिताएकी छन्। उनले आफूलाई प्राज्ञिकभन्दा बढी अभियन्ताको रूपमा प्रस्तुत गर्छिन्। पुस्तकमा उनले राजनीतिक अभ्यासलाई सिद्धान्तको आलोचनात्मक क्षेत्रको रूपमा प्रस्तुत गरेकी छन्। उनले गम्भीर आलोचनात्मक सिद्धान्त व्यवहारको एक रूप हुने बताएकी छन्। त्यसैले शक्तिको उपनिवेशवादी व्यूहविरुद्ध हुने सशक्त राजनीतिक आन्दोलनबाट त्यस्ता आलोचनात्मक सिद्धान्तको उदय हुने उनको मान्यता छ।

उनको प्रेरणास्रोत पेरु, बोलिभिया, कोलम्बिया, ब्राजिल लगायत ल्याटिन अमेरिकामा भएका भूँईतहका आन्दोलनहरू हुन्। ती आन्दोलनले नारीवादी, पर्यावरणवादी र अमेरिकामा (यसको अर्थ दुवै महादेश हुन्) मा युरोपेली अतिक्रमणको क्रममा हावी भएको चिन्तन प्रणाली विरोधी पूँजीवादविरोधी चिन्तन प्रणालीलाई एकीकृत रूपमा समेट्ने प्रयास गरे।

युरोपेली ज्ञान प्रणाली विरुद्धको यो संघर्षलाई व्यक्त गर्न वाल्शले ‘मरुनेज’ (marronage) र सिमरुनेज (cimarronaje) भन्ने दुईवटा शब्द प्रयोग गरेकी छन्। यी दुवै शब्दले क्यारेबियाली र ल्याटिन अमेरिकाका अन्यत्रका दासहरू भाग्ने अभ्यासलाई जनाउँछन्।

क्याथेराइन ई. वाल्श

वाल्शको लेखनशील, उनका उदाहरण र तौरतरिका तथा संघर्षप्रतिको उनको झुकाव खासगरी एन्डिस पवर्तशृंखलामा रहेका देशका अश्वेत र नारीवादी अभियन्ता एवं ल्याटिन अमेरिकाका आदिवासी राजनीतिक आन्दोलनहरूबाट प्रेरित छन्। मिग्नोलोसँगको उनको मिल्ने पाटो भनेको उनीहरूको तीन दशकदेखिको सहयात्रा हो। त्यो सहयात्रा उपनिवेशवादी आधुनिकता (कोलोनियल मोडर्निटी) प्रतिको सैद्धान्तिक बुझाईदेखि आदिवासी आन्दोलनहरूको क्रान्तिकारी ठम्याईसम्मको हो जसमा प्रकृति, जाति र प्रगतीलाई बुझ्ने पश्चिमा तरिकाबाट मुक्त हुने प्रयास गरिएको छ।

मिग्नोलो भने अर्जेन्टिनी हुन्। उनी दशकौंसम्म संयुक्त राज्य अमेरिकामा बसे र पढाए। पुस्तकमा उनको अंश मूलतः चिन्तन प्रणालीसँग सम्बन्धित छ। त्यो चिन्तन प्रणालीले प्रकृति र दुईवटा विपरीत सिर्जना गर्ने पश्चिमा तरिकाको विरोध गर्छ। पश्चिमा चिन्तन प्रणालीले निर्माण गरेका त्यस्ता विपरीतहरू हुन्– प्रकृति र संस्कृति, पुरुष र महिला, विज्ञान र धर्म, सभ्यता र बर्बरता ।

उनको विचारमा डिकोलोनाइजेसन खासगरी दोस्रो विश्वयुद्धपछि उदाएका नयाँ राष्ट्रहरूले युरोपेली प्रभुत्वविरुद्ध देखाएको विशिष्ट र त्रुटीपूर्ण प्रतिक्रिया हो जसले उपनिवेशवादी राजनीतिक शासनका बन्धन त चुँडाए तर ‘आफ्ना मस्तिष्क उपनिवेशमुक्त (डिकोलोनाइज)’ गराउन असफल भए। बरु उनीहरू आधुनिकता र विकासको युरोपेली ज्ञान प्रणालीको पासोमा फसे।

यसअघिको आफ्नो कृतिमा मिग्नोलोले उपनिवेशवाद आधुनिकताको पश्चिमा कथासँग अभिन्न रूपमा गाँसिएको देखाएका थिए। आधुनिकता वा उपनिवेशवादका मुख्य प्रतिनिधि भने ती युरोपेली हुन्थे जसले तिनै मान्यतालाई दक्षिण अमेरिकी समाज र समुदायको स्थानीय संस्करणमा एकदमै भिन्दै जसरी प्रस्तुत गरे। आधुनिकताको यो परिकथा आक्रामक युनिभर्सलिज्म (इसाई धर्मशास्त्रमा यसको अर्थ एक दिन सिगो मानव समुदाय परमेश्वरबाट संरक्षण गरिनेछन् भन्ने मान्यता हुन्छ) भित्र पार्ने बन्धन हो।

मिग्नोलोको मुख्य अवधारणा हो– खासगरी पूँजीवाद, वर्ग र भौतिक शोषणमा केन्द्रित हुने मार्क्सवादका हरेक रूपले सांस्कृतिक र ज्ञान प्रणालीगत प्रभुत्वबाट आउने शक्तिका विविध स्वरूप छुटाउँछन्। यो ज्ञान प्रणालीगत विश्वदृष्टिकोणको विरोध गर्न र यसको प्रतिस्थापना गर्न वाल्श र मिग्नोलोले डिकोलोनियालिटी सिफारिस गरेका छन्।

वाल्टर डी. मिग्नोलो

डिकोलोनियालिटी त्यो विश्वदृष्टिकोण हो जसले आदिवासी चिन्तनप्रणालीलाई अपनाउँछ र उपनिवेशवाद र साम्राज्यमार्फत थोपरिएको आधुनिकताबारेको पश्चिमा विचार अस्विकार गर्छ।

वाल्श र मिग्नोलो दुवै डिकोलोनियालिटी र डिकोलोनाइजेसनका फरकबारे प्रतिबद्ध छन्। उनीहरूको विचारमा डिकोलोनियालिटी कोलोनियलिज्म (उपनिवेशवाद) र कोलोनियालिटीको उत्तराधिकारी होइन। डिकोलोनियालिटी त त्यसको विकल्प हो जुन प्रकृति, समुदाय र ऐक्यबद्धताबारे आदिवासी विचार र अभ्यासमा आधारित छ।

यसरी डिकोलोनाइजेसनको विपरीत डिकोलोनियालिटी राष्ट्र–राज्यको मान्यता र कर्पोरेट विश्वव्यापीकरणबाट उन्मुक्त हुन्छ। (राष्ट्र–राज्य एक राष्ट्रको एक राज्य हुन्छ भन्ने पश्चिमा राजनीतिक चिन्तन हो जुन मान्यताको विकास पुनर्जागरण कालमा भएको थियो ।)

वाल्श र मिग्नोलो दुवैको डिकोलोनियालिटीबारेको विचार ल्याटिन अमेरिकाको इतिहासको गहिरो अध्ययनबाट आएको हो। तर त्यो विचारले बाँकी विश्वलाई पनि एउटा नयाँ मोडलको रूपमा योगदान गर्छ। यो त्यस्तो राजनीतिको मोडल हो जसले प्रकृतिको दोहनलाई प्रकृतिसँगको सद्भावले र मानिसहरूबीचको उँचनिचलाई समभावले विस्थापन गर्छ ।

यो मोडल हामीलाई उपनिवेशकाल भन्दा अघिको वैभवमा फर्काउन चाहन्छ, र त्यो कस्तो थियो भन्ने कल्पना गर्नुपर्छ जबकी एम्बेम्बे वैकल्पिक भविष्यको वकालत गर्छन्।

०००

‘आउट अफ् द डार्क नाइट’ पनि युरोपेली साम्राज्यवादी अभ्यासले कसरी अझ मुक्तिदायी चिन्तन प्रणालीलाई अवमूल्यन र विस्थापन गर्‍यो भन्नेमै केन्द्रित छ। एम्बेम्बेले अफ्रिकालाई सन्दर्भको रूपमा लिएका छन्। उनका निष्कर्षहरूले भने पूँजीवाद पूर्वको वा औपनिवेशिक विश्वभन्दा पहिलेको विशेषता लागू गराउन खोज्दैन। त्यसको साटो उनी सुन्दर भविष्यको परिकल्पना गर्छन्। भविष्यको त्यो परिकल्पनाले जाति, शक्ति र प्रविधीको संरचनालाई थप स्वतन्त्र सम्बन्धको आधारमा पुननिर्माण गर्न माग गर्दछ।

एम्बेम्बे मिग्नोलो र वाल्श भन्दा कम समायवधीमा केन्द्रित भएका छन्। उनले १९ औं शताब्दीको उत्तराद्र्धदेखि वर्तमानसम्मको विश्लेषण गरेका छन्। र, ती लेखकद्वय भन्दा फरक उनी अफ्रिकालाई विभिन्न उपनिवेशमा विभाजन गर्ने युरोपेली शासन, त्यसविरुद्धको संघर्ष, त्यसले सिर्जना गरेका आजका राष्ट्र–राज्यमा केन्द्रित छन्। साथै उनले औपनिवेशीकरणको समय, उपनिवेशबाटमुक्त भइरहेको समय समेटेका छन्।

अघिल्ला लेखकद्वयले जस्तै एम्बेम्बेले पनि समकालीन राष्ट्र–राज्यको राजनीति र विश्वव्यापी पूँजीवादी अर्थतन्त्रभन्दा भिन्दै बाटोको प्रस्ताव गर्छन्। उनका लागि, डिकोलोनाइज्ड भविष्य त्यो हो जसले समकालीन अप्रिकालाई मालिक र दासबीचको सम्बन्धलाई क्रान्तिकारी तरिकाले पुनर्विचार गर्ने क्षेत्रको रूपमा लिन्छ। त्यही सम्बन्धमा अफ्रिकाली डायस्पोरा र गतिशीलता अडिएको छ।

एम्बेम्बेका लागि यी समिश्रण, बहाव र अन्तरक्रियाको प्रक्रियाले नै अफ्रिकालाई डिकोलोनाइजेसनतर्फको बाटो तय गर्न सघाउनेछ। त्यो प्रक्रिया केवल आदिवासीपनमा मात्रै आधारित रहनेछैन। उनको दाबी छ– यी अनुभवहरूले एफ्रोपोलिटानिज्मको द्वार खोल्ने छ। एफ्रोपोलिटानिज्म त्यो राजनीति हो जसले विश्वव्यापी मुक्तिका लागि अफ्रिकाको इतिहास र वर्तमान प्रयोग गर्छ।

एम्बेम्बेको मुक्तिको यो दृष्टिकोणको विश्वव्यापी उपयोग पनि छ। यस हिसाबले हामीले प्रान्ज फ्यानोन (उपनिवेशवादी दमनको सांस्कृतिक पाटाहरू उजागर गर्ने चिन्तक) को अवतारको रूपमा उनलाई देख्छौं।

तिनले गर्ने दाबी, आलोचनात्मक र भविष्यदर्शी अभिव्यक्ति, तिनको विधागत दायरा र समकालीन आवाजका कारण एम्बेम्बेका अवधारणाहरू पृथक छन्।

सन् २००१ मा ‘अन द पोस्टकोलोनी’ प्रकाशन गरेयता उनी अंग्रेजीभाषी पाठकमाझ परिचित भएका थिए। उक्त पुस्तकले जाति, नेक्रोपोलिटिक्स र डिकोलोनाइजेसनयता अफ्रिकाका आन्दोलनबारे उनका धारणालाई विश्वभरका पाठकमाझ पुर्‍याएको थियो। (नेक्रोपोलिटिक्सको अर्थ हो, केही मानिस बाँच्ने र केही मर्नैपर्ने गरी सामाजिक र राजनीतिक शक्तिको प्रयोग ।)

‘अन द पोस्टकोलोनी’ पछि उनले फ्रान्सेली र अंग्रेजी दुवै भाषामा पुस्तकहरू प्रकाशन गरे। ती पुस्तकका विषय थिए– अफ्रिकाली सौन्दर्यशास्त्र, अफ्रिकाको नक्सांकनको भौगोलिक परिणाम, त्यहाँ रहेको जाति–आधारित पूँजीवाद, दासत्वको इतिहास, राजनीतिक व्यंग्य र राष्ट्रिय स्वाधिनता।

धर्मप्रतिको दृष्टिकोण एम्बेम्बेको चिन्तन प्रणालीको मुख्य पाटो हो जुन ‘आउट अफ द डार्क नाइट’को पनि केन्द्रीय विषय बनेको छ। धर्मको आधुनिक सिमान्तिकरण र औपनिवेशिकरणबारेको युरोपेली विस्मृति अस्वाभाविक र आश्चर्यजनक रूपमा एकआपसमा गाँसिएका छन् भन्ने उनको धारणामा उनी कार्ल मार्क्स र मिशेल फुकोका पाठक हुन् भन्ने त्यहाँ प्रतिबिम्बित हुन्छ। उपनिवेशकारीहरूले अफ्रिकाली भूभागलाई आधुनिकताको प्रारम्भिक वाधाको रूपमा लिने गरेका थिए। सभ्य र धर्म निरपेक्षता बनाउने नाममा उनीहरू उपनिवेशवादलाई ढाक्न सफल भएका थिए। यो प्रक्रियाले आधुनिक ज्ञानलाई विश्वका धेरै भूगोलमा फैलायो। साथै यसले युरोपेलीहरूलाई उपनिवेशहरूबाट सम्पत्ति दोहन गर्न र त्यहाँका जनतालाई दमन गर्न सघायो।

असिले एम्बेम्बे

एम्बेम्बेका अनुसार युरोपेलीहरूले अफ्रिकामा छोडेको असन्तोष बाँकी विश्वसँग पनि जोडिएको छ। त्यहीँ विश्व जसलाई अहिले सीमाहीन पूँजीवादको रूपमा परिभाषित गरिएको छ। त्यसैले नै राजनीतिको पुनिर्मलन हिंसाको विरोध पनि हो जुन उपनिवेशसँगको असन्तोषसँगै आउँछ। परिणाम, उनको किताबमा शोक, बलिदान, सुधार र नवीकरण जस्ता शब्दहरू दोहोरिन्छ। यी शब्दहरूको धार्मिक उत्पत्ति क्यामेरुनमा छँदाको उनको क्याथोलिक पृष्ठभूमीसँग जोडिएको सहजै अनुमान गर्न सकिन्छ। तर यो पृष्ठभूमीले उनलाई मिग्नोलोको भन्दा बेग्लै तरिकाले आदिवासी चिन्तन प्रणाली, गतिविधी र व्यवहारबारे दृष्टिकोण बनाउन सघाएको छ।

आदिवासीपनलाई जोड दिने प्रवृत्ति प्रति एम्बेम्बेको थोरै मात्र सहानुभूती छ किनभने त्यसले अफ्रिकामा रहेको उपनिवेशकर्ता र औपनिवेशिकबीचको सम्बन्धको इतिहासलाई अस्वीकार गर्छ भन्ने उनी ठान्छन्।

‘आउट अफ द डार्क नाइट’मा एम्बेम्बेले विगतको मोहभंग र उपनिवेशवाद र वर्तमानको सिर्जनशीलत र पूँजीवादी कर्पोरेटकरणलाई अन्तरसम्बन्धित निबन्धहरूमार्फत् एक अर्कोसँग बुनेका छन्। ती निबन्धका माध्यमबाट उनले उपनिवेशकरणको अफ्रिकाली अनुभव र यसको इतिहास खोतलेका छन्।

एम्बेम्बे अफ्रिाकालाई युरोपेली उपनिवेशवादको निरिह शिकार ठान्ने वा उत्तरऔपनिवेशिक भविष्य छिन्नभिन्न पारेको भ्रष्ट र असफल राज्यहरूको समष्टिको रूपमा लिने दृष्टिकोणको खण्डन गर्छन्। त्यस विपरीत उनी अफ्रिकालाई स्रोत, ज्ञान प्रणाली र राजनीतिक संगठनको नयाँ स्वरूपमा धनी महादेशको रूपमा प्रस्तुत गर्छन्। विभिन्न विचार, मानिस, संस्कृति र सामानहरूको विश्वव्यापी परिचालनप्रति यसको खुलापनमा आज हामी बाँचिरहेको भन्दा वैकल्पिक आधुनिकता भेटाउन सकिने उनको तर्क छ।

उनका लागि डिकोलोनाइजेसनका असफलतामात्र मुख्य विषय होइनन् बरु अफ्रिकाले उदाहरण साबित गरेका दिगो भविष्यको सम्भव बाटो पनि छलफलको विषय हो।

पूँजीवादप्रति एम्बेम्बेको गहिरो रुची छ। साथै आर्थिक केन्द्र भन्दा पनि उनको रुची त्यसका सीमान्तमा छ जहाँ दास बनाइएका मानिसको शरीर, उपनिवेशको दोहोन गरिएको सामथ्र्य र शारीरिक हिंसा एकैठाउँमा थुप्रिन्छन्।

उनको दृष्टिकोणमा वर्तमान विश्वव्यापी पूँजीवादी व्यवस्था प्रशान्त महासागरपारको दासत्वमा आधारित छ जसले सन् १५००को दशकदेखि श्रमको जातिय प्रणाली सिर्जना गरेको छ।  सीमान्त र विस्तारहरूबाट नयाँ केन्द्रको निर्माण भएको छ।

इतिहासको त्रासदी स्विकार्न नचाहने पश्चिमा अनिच्छा फ्रान्समा राम्रोसँग देखिने एम्बेम्बेको अनुभव छ। विश्वविद्यालय तहसम्म उनले फ्रान्समै पढे जहाँ आज पनि तर्क, समानता र स्वतन्त्रता आफ्नै अश्वेत र गहुँगोरा नागरिकहरूको हकमा लागू हुँदैन। उनको विचारमा प्रकृति, मानवता र मुक्तिका अवधारणाहरूका विकास गरेर पाखण्डलाई निस्तेज पार्न सकिन्छ।

एम्बेम्बेको अफ्रिका त्यो हो जहाँ नयाँ प्रविधिहरू (डिजिटल, सञ्चार र वित्तीय) भाषा, कला र दर्शनको नयाँ स्वरूपसँग एकै मञ्चमा उभिन्छन्। ती परीक्षण हुन्छन् र नयाँ नयाँ आविष्कार गरिन्छन् ताकि उदाउँदो अफ्रिका विश्वकै डिकोलोनाइजेसनको उदाहरण बन्न सकोस्। त्यो पनि उपनिवेशवादी हस्तक्षेपको इतिहास नबिर्सिकनै।

०००

स्वाधीन भविष्यबारेको एम्बेम्बेको अवधारणा डिकोलोनाइजेसनबाट विकसित भएता पनि यसले आधुनिकताका जटिलतालाई एकसाथ परित्याग गर्न जरुरी नभएको ठान्छ। तर अफ्रिकाको राजनीतिक र प्राविधिक भविष्यप्रतिको उनको आशावाद यसको जातिय, राष्ट्रिय र स्थिर वर्तमानबारेको उनको तिक्ष्ण अवलोकनसँग मेल खाँदैन। आफूले सिर्जना गरेको अफ्रिकाली इतिहास र अफ्रिकाली भविष्यबीचको विरोधाभाषलाई उनले समाधान गर्न सकेका छैनन्।

वर्तमानको हिंसा र क्रुरतालाई बेवास्ता गरेकाले र भविष्यप्रति कम रुचीकर भएकाले मिग्नोलो र वाल्शले यो समस्या समाधान गर्नुपर्ने नै छैन। त्यो किन पनि भने, उनीहरू उपनिवेशभन्दा पहिलाको विगतमा फर्किनुपर्ने विचार राख्छन्। तर उनीहरूको पुस्तकले पनि डिकोलोनियालिटीबारे विचार गर्नैपर्ने प्रश्नहरू उजागर गर्छ।

उनीहरूको अवधारणामा बजार निकै नै छद्म रूपमा आउँछ। र, सामुद्रिक खोज, समुद्रबाट हुने व्यापार, दासत्वमा आधारित नाफा, कफी, उखु र कोकिनको वृक्षारोपणमा आधारित अर्थतन्त्रबारे पनि निकै कम चर्चा गरिएको छ। जबकी ती गतिविधीले केवल औपनिवेशिक क्षेत्रको होइन बरु सिंगो विश्वको संरचना निर्धारण गरेका थिए।

उपनिवेशवादी र पश्चिमा आधुनिकतालाई परिभाषित गर्ने क्रममा ज्ञान प्रणालीलाई एकदमै बढी र राजनीतिक अर्थशास्त्रलाई निकै कम महत्व दिएर मिग्नोलो र वाल्शले समकालीन पूँजीवादले यो संसारलाई आधुनिक ज्ञान प्रणालीले जति नै (भन्नैपर्दा अझ बढी) नोक्सान गरेको छ, सामाजिक असमानता बढाएको छ र वित्त बजारको शक्ति फैलाएको छ भन्ने यथार्थ नै छुटाएका छन् ।

त्यसोभए यी दुवै पुस्तकले कता दिशानिर्देश गर्छन् त? एउटा पुस्तकले आकर्षक विगततिर औल्याउँछ भने अर्कोले भविष्यतिर। तर वर्तमानबारे खोई त चर्चा ?

उपनिवेशवाद, शक्ति र आधुनिकताबारे एम्बेम्बेसँग कुनै सुसमाचार छैन। तर उनको लेखनमा हामी भविष्यप्रतिको कल्पनाको शुरुआत भेट्टाउँछौँ। एम्बेम्बेको चिन्तनको सबैभन्दा ध्यान तान्ने पक्ष हो, उनी सम्बन्धहरूमा केन्द्रित छन्। उपनिवेशकारी र औपनिवेशिक, राज्य र यसको कमजोर शासितहरू, विजयी र पराजित, मालिक र दास आदिबारे उनले गरेको चर्चामा ती सम्बन्धहरू स्थापित भएको स्थानलाई बढी ध्यान दिइएको छ। एम्बेम्बेको विचारमा युरोपेली पश्चिम र खासगरी फ्रान्स औपनिवेशिक शासितहरूलाई ऐक्यबद्धता, मानवता र सहृदयताको क्षेत्रभन्दा बाहिरै राख्न भरमग्दुर प्रयत्न गरिरहेथे।

उपनिवेशकारी र त्यसका शासितहरूले आफैलाई भेट्टाउने यो चरमपनको राजनीतिले आविष्कार र कल्पनाको नयाँ क्षेत्र सिर्जना गर्छ। उपनिवेशकारी मालिकको सभ्य बनाउने परियोजनाले असावधानीवश संवाद र सिर्जनाको नयाँ भूमी बनाइदिन्छ। एम्बेम्बेका अनुसार त्यसलाई महसुस गर्ने जिम्मेवारी हाम्रो हो।

एम्बेम्बेका लागि फ्रेन्चभाषी अफ्रिकामा भएको विचार, चिन्तन प्रणाली, भाषिक शैली र प्रविधिको उदय उपनिवेशवाद र यसले बनाउने सिर्जनाको नयाँ भूमीको अन्तरविरोधयुक्त परिणाम हो ।

एम्बेम्बेका लागि डिकोलोनियालिटी असम्भव र अरूचीकर दुवै हो किनभने हामी उपनिवेशपूर्वको समयमा फर्किन सक्दैनौं न त हामी त्यस्तो चाहन्छौं नै।

अहिलेको विश्व व्यवस्थाको साटो हामीलाई चाहिने विश्वव्यापी आधुनिकताको वैकल्पिक स्वरूप हो। यो लक्ष्य हामीले बोध गरिसकेका छैनौं भन्नेमा एम्बेम्बे सहमत छन् तर यसको अर्थ प्रयास नै गर्न सक्दैनौं भन्ने होइन।

एम्बेम्बेजस्तै म पनि विगतका ती उपनिवेशहरूको स्मरण गर्छु किनभने हामी तिनको उपस्थितिबाट भाग्न सक्दैनौं र ती आफैले आफ्नै पराजयको बीज बोकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved