मास्क नलगाउनेलाई सय रुपैयाँ जरिबाना

नेपालभ्युज

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिबाना

काठमाडौं। कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि भन्दै काठमाडौंमा मास्क नलगाउनेलाई जरिबाना तिराउन थालिएको छ।
जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो। जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न थालेको छ ।

आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए। उनका अनुसार मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भएर नभएको बारे टोली नै बनाएर निगरानी थालिएको हो। हिजो कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्कलगायतका क्षेत्रमा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी पनि गराइएको छ। यस्तै, मास्क नलगाई किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेहरूलाई एक सय रुपैयाँ जरिबाना पनि तिराइएको उनले बताए।

सङ्क्रामक रोग ऐनमा महामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार कारबाही थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ। कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । यस्तै, अहिले कोरोना विरुद्धको खोप लगाउने खोप केन्द्रमा देखिएको भिड नियन्त्रणका लागि पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तयारी थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved