ओमिक्रोनको असर रोक्न स्वास्थ्य संस्था सबल बनाउँछौं : मुख्यमन्त्री शाही

नेपालभ्युज

ओमिक्रोनको असर रोक्न स्वास्थ्य संस्था सबल बनाउँछौं : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सबलीकरणमा विशेष जोड दिइएको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले प्रदेश कोभिड व्यवस्थापन केन्द्र (पिसिएमसी) को बैठकबाट स्वास्थ्य संस्थाहरुको सबलीकरण, अक्सिजन प्लान्टको सञ्चालन तथा स्वास्थ्यकर्मीको परिचालनको प्रबन्ध मिलाइएको बताए।

उनले एम्बुलेन्स खरिदका लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, जाजरकोट र सल्यानका लागि रु २० लाखका दरले रु ८० लाख बजेट जानकारी दिए। सुर्खेत पञ्चपुरी नगरपालिकाको कोभिड–१९ व्यवस्थापकीय खर्चका लागि रु १० लाख, प्रदेश अस्पतालको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि रु ३८ लाख र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आवश्यक मेसिनरी औजार खरिदका लागि रु दुई करोड बजेट पठाइएको उनको भनाइ थियो।

कर्णाली प्रदेशबाट स्थापना भई स्थानीय तहमा सञ्चालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य एकाइका लागि प्रति एकाइ रु पाँच लाखका दरले रु तीन करोड ३० लाख सम्बन्धित स्थानीय तहमा बजेट पठाई सामुदायिक स्वास्थ्य एकाइको सेवा निरन्तर गरिएको मुख्यमन्त्री शाहीले बताए।

कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णाली प्रदेशले भोग्नुपरेको अभावको गहिरो समीक्षा गरिएको बताउँदै उनले सो अभाव पूर्ति गर्न यो अवधिमा कर्णाली प्रदेश अस्पताल, जिल्ला अस्पताल दैलेख, कालीकोट र रुकुमपश्चिम, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवं चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर अस्पताल र युएनडिपीको साझेदारीमा गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा एक÷एक गरी आठ जिल्लामा (१०० देखि ५०० एलपिएम) क्षमताका अक्सिजन प्लान्ट स्थापना गरेको जानकारी दिए।

प्रदेश सरकारका अनुसार कोरोनाको सम्भावित तेस्रो लहर रोक्नका लागि कर्णाली भित्रिने मुख्य तीन नाकामध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसियशन र अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीको सहयोग तथा विङ्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखि नै कोरोना परीक्षण तथा सुर्खेतको जामुमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको छ।

प्रदेशको मुख्य प्रवेशद्वार बबई भएर भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट कर्णाली प्रदेश आउने नागरिकलाई भेरीगङ्गा नगरपालिका–१२ स्थित सरुवा रोग अस्पताल निर्माणस्थलमा होल्डिङ सेन्टर निर्माण र गुर्भाकोट, पञ्चपुरी तथा सल्यानको कपुरकोटमा विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन तयारी थालिएको प्रदेश सरकारले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved