आरजु देउवा : ‘फष्ट लेडी’ कि ‘म्याडम प्राइममिनिष्टर’ ?

उनको सक्रियता, सरकारका निर्णयहरूमा प्रभाव आदि देख्दा लाग्छ, ‘फस्ट लेडी’ मा सीमित हुन उनलाई मञ्जुर छैन। र, त आलोचकहरूले उनलाई ‘डिफ्याक्टो प्राइमिनिस्टर’ भन्न थालेका छन्।

आरजु देउवा : ‘फष्ट लेडी’ कि ‘म्याडम प्राइममिनिष्टर’ ?

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु देउवाबीच खासै राजनीतिक बातचित हुँदैन।

‘यदाकदा भइहाले पनि तलाईं थाहा छैन चुप लाग भन्नुहुन्छ’, २०७२ भदौ १९ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित अन्तर्वार्तामा आरजुले भनेकी थिइन्।

तर, उनी ‘चुप’ लाग्ने पत्नीको श्रेणीमा पर्दिनन्। झन् शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री भइसकेपछि आरजुका अभिलाषा बढेका छन्। उनको सक्रियता, सरकारका निर्णयहरूमा प्रभाव आदि देख्दा लाग्छ, ‘फस्ट लेडी’ मा सीमित हुन उनलाई मञ्जुर छैन। र, त आलोचकहरूले उनलाई ‘डिफ्याक्टो प्राइमिनिस्टर’ भन्न थालेका छन्।

देशको कार्यकारी प्रमुखकी श्रीमतीलाई पश्चिमा देशमा ‘फष्ट लेडी’ भन्ने चलन छ। कानूनी मान्यता नभए पनि आदरपूर्वक व्यवहार गर्न ‘फस्ट लेडी’ भन्न थालिएको हो।

श्रीमती नभएका कार्यकारी प्रमुख पुरुष भएको अवस्थामा छोरी अथवा उनको नजिकका महिला आफन्तलाई पनि यो पदवी दिने गरेको पाइन्छ। नेपालमा पनि कानूनी हिसाबमा यो पदको कुनै मान्यता छैन। तथापी पश्चिमा देशको सिको गर्दै प्रधानमन्त्री पत्नीलाई ‘फष्ट लेडी’ भन्ने चलन यहाँ पनि भित्रिएको छ।

आरजुले त्यही चलन अनुरुप पाँचौ पटक ‘फस्ट लेडी’ सम्मान पाएकी हुन्। तर उनी ‘फस्ट लेडी’ कम,  ‘म्याडम प्राइमिनिस्टर’ बढी देखिन्छिन्।

हालैको एउटा सन्दर्भ हेरौं।

२६ पुसमा भारतको गुजरातमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल सम्मेलन’ बढ्दो कोभिड संक्रमणका कारण स्थगित भयो। २५ पुसमा उक्त सम्मेलनमा प्रधानमन्त्री देउवा जाने तय भइसकेको थियो। अरु चार देशका प्रधानमन्त्रीहरू पनि उक्त सम्मेलनमा आउने तरखरमा थिए।

भ्रमणको दुई साताअघि देखि आरजु देउवा उक्त भ्रमणलाई ‘राजकीय’ बनाउने लबिङमा थिइन्। ११ पुसमा व्यक्तिगत भ्रमण भनेर दिल्ली पुगेकी उनले १८ पुसमा भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरिन्। भाइ भुषण राणाको उपचारका लागि गएको भनिए पनि उनले राजनीतिक भेटघाट गर्न थालेपछि प्रश्न उब्जियो, “कुन हैसियतमा आरजु राजनीतिक भेटघाट गर्दैछिन् ?”

समान्यतः प्रधानमन्त्रीको विदेश भ्रमणअघि परराष्ट्र मन्त्रालयले गर्नुपर्ने तयारी आरजु आफैँले गरेकी थिइन्। तर २५ पुसका हुने तय भएको प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भएपछि २४ पुसमा उनी स्वदेश फर्किइन्।

प्रधानमन्त्रीको भ्रमणलाई ‘राजकीय’ बनाउन लबिङ गरेकी आरजुले चौथाइवालेलाई नेपालमै पनि भेटेकी थिइन्। चौथाइवाले ६ भदौमा नेपाल आएका थिए। विमानस्थलबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगेका चौथाईवालेलाई आरजुले ‘राखी’ बाँधेर स्वागत गरेकी थिइन्। उक्त भेटमा चौथाइवालेले पूर्व पाँच प्रधानमन्त्रीहरू देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले जारी गरेको संयुक्त रुपमा विज्ञप्तिप्रति असन्तुष्टी जनाएको स्रोत बताउँछ।

२९ जेठमा जारी उक्त विज्ञप्तीमा तत्कालीन ओली सरकारले अलोकतान्त्रिक कदमप्रति आलोचना र प्रतिक्रियावादी शक्तिहरूले नेपालको वर्तमान व्यवस्थामाथि प्रहार गर्न खोजेको आरोप थियो।

चौथाईवालेको आपत्तिमा आरजुले अगामी दिनमा यस्तो गल्ती नहुने विश्वस्त गराउँदै ‘विगतका घटना बिर्सिएर आफूहरू भारतसँगको सहकार्यमा अघि बढ्न खोजेको’ भनेको जानकार स्रोतले बतायो।

आरजुकै सल्लाहमा २१ असोजमा प्रकाशशरण महत नेतृत्वको कांग्रेस टोली भारत भ्रमणमा गएको पनि जानकार स्रोतले बतायो।  भारतीय सत्तारुढ दल भाजपासँग कांग्रेसको पार्टीगत सम्बन्ध विस्तार गर्ने योजना सहित नेपाली टोली भारत भ्रमणमा गएको थियो।

उसो त नेपाली नेताहरूले प्रोटोकलहरूको बेवास्ता गरेका अनेकौं उदाहरण छन्। त्यसमाथि प्रधानमन्त्री पत्नी आरजु यस्तो वेवास्ता गर्नेहरूमा अहिले अंग्रपंक्तिमा देखिन्छिन्। उनी विभिन्न देशका राजदूतहरूसँग भेटघाट गर्ने, दुतावासमा कार्यक्रममा सहभागी हुने गरेको भेटिन्छ। तर, यसखाले भेटघाट र सहभागीताबारे परराष्ट्र मन्त्रालय बेखबर हुने गरेको मन्त्रालयका एक अधिकारी बताउछँन्।

“उहाँ आफै विभिन्न क्षेत्रमा संलग्न व्यक्ति हो, सोही भूमिकामा उहाँले कूटनीतिक भेटघाट गरेको हुनसक्छ, यद्यपि, उहाँ वर्तमान प्रधानमन्त्री पत्नी पनि हो,” परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, “उहाँले गर्ने कूटनीतिक भेटघाटको विषय परराष्ट्र मन्त्रालयलाई जानकारी हुनुपर्ने भए पनि त्यस्तो भएको पाइँदैन।”

प्रधानमन्त्री कार्यकारी अधिकार प्राप्त शक्तिशाली संस्था हो। नेपालको संविधानले यो पदलाई यसैगरी व्यवस्था गरेको छ। संवैधानिक हिसाबमा प्राप्त अधिकार प्रधानमन्त्रीले प्रयोग गर्नु स्वभाविक हो। तर, प्रधानमन्त्री पत्नीका सीमा हुन्छन्। उनको सक्रियता र सरकार सञ्चालमा देखिएका प्रभावले प्रश्न खडा गर्छ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यस्ता सक्रियता र प्रभावले असंवैधानिक केन्द्र निर्माण गर्ने बताउँछन्। ‘फस्ट लेडी’ एउटा सम्मानित पदवी भएकाले त्यसमै सिमित हुनुपर्ने उनको धारणा छ।

“आर्थिक, राजनीतिक र कूटनीतिक क्षेत्रमा देखिएको उहाँको सक्रियताले असंवैधानिक केन्द्रको निर्माण गरिरहेको छ,” उनी थप्छन्, “प्रधानमन्त्री पत्नीको चौतर्फी सक्रियता हुनु खतरनाक हो। यस्ता असंवैधानिक क्रियाकलाप रोकिँदा नै लोकतन्त्रलाई फाइदा हुन्छ।”

नियुक्तिमा दबदबा

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा अमेरिका थिए। देउवा प्रधानमन्त्री भएपछि उनले डा. शर्मालाई काठमाडौं झिकाए, पुनः उपाध्यक्ष नियुक्त गर्न। तर, उपाध्यक्षमा नियुक्त भए, डा. विश्वनाथ पौडेल।

पौडेल आफैमा एकजना क्षमतावान अर्थविद् हुन्। पछिल्लो समयमा उनका लेख रचना, अन्तर्वार्ता मार्फत नेपाली समाज उनको विज्ञतासँग साक्षात्कार हुँदै थियो।

“तर उनी पनि आरजुको बैशाखी टेकेर योजना आयोग पुगे”, एकजना कांग्रेसका नेता भन्छन्। आरजु सञ्चालक रहेको ललितपुरस्थित युलियन्स स्कुलका ‘टस्टी बोर्ड’ मा डा.पौडेल पनि थिए।

पौडेलसँग पटक-पटक टेलिफोन सम्पर्क गर्न खोज्दा उनी उपलब्ध हुनसकेनन्। बरू शंकर शर्माले चाहिँ प्रधानमन्त्रीको आग्रहमा अमेरिकाबाट फर्किएको स्वीकारे। उनले भने, “अमेरिका भ्रमण रहेका बेला प्रधानमन्त्री कार्यालयबाट नेपाल आउन आग्रह गरेपछि फर्केको हुँ।”

तर उनले उपाध्यक्षमा दोहोरिन नचाहेको दाबी पनि गरे।

“राष्ट्रिय योजना आयोगको एक पटक उपाध्यक्ष भईसकेको हुँदा फेरी त्यही पदमा किन बस्ने बनेर मैले आनकानी गरेको थिएँ,” डा.शर्माले भने, “योजना आयोगको उपाध्यक्ष बन्न मैले अनिच्छा व्यक्त गरे पनि प्रधानमन्त्री कार्यालयबाट नेपाल आउन जोड दिएपछि म नेपाल आएको सत्य हो।”

डा. शर्मालाई देउवाले भारतका लागि नेपाली राजदूत नियुक्त गरेका छन्। संसदीय समितिबाट अनुमोदित भए पनि भारतबाट एग्रिमो आउन बाँकी छ।

यस्तै अरू नियुक्तिमा पनि आरजु जोडिएकी छन्। जस्तो, पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्ति। एक कांग्रेस नेता भन्छन्, “श्रेष्ठलाई आरजुकै जोडबलमा राज्यमन्त्री बनाइएको थियो। अहिले मन्त्रिपरिषद् बिस्तारपछि स्वास्थ्य नेकपा एकीकृतको भागमा परेपछि उनी प्रधानमन्त्री कार्यालयका विना विभागीय मन्त्रीमा सीमित भएका छन्।”

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि सत्ता गठबन्धन दलभित्रैबाट आलोचना भएपछि देउवाले आगामी दिनमा त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गरेका थिए।

देशभित्र हुने सानादेखि ठूला नियुक्तिदेखि आर्थिक, राजनीतिक र कूटनीतिक मामिलामा पनि प्रधानमन्त्री पत्नीको चासो बढेपछि उनको भूमिकालाई लिएर प्रश्न उठेको हो।

हाल चर्चामा रहेको ‘बतास समूह’सँग पनि प्रधानमन्त्रीपत्नीको सम्बन्ध रहेको देखिन्छ। आरजुले उक्त समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराए पनि बतास समूहका प्रमुुख आनन्द बतासले प्रधानमन्त्रीपत्नी आफ्नो समूहको सल्लाहकार रहेको बताएका छन्।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आनन्द बतासले सञ्चारमाध्यममा आफ्नो समूहको आलोचना हुन थालेपछि आरजुकै आग्रहमा उनलाई सल्लाकारबाट हटाएको दाबी गरेका छन्।

“विवाद बढ्दै जाँदा आरजुकै आग्रहमा उहाँको नाम सल्लाहकारबाट हटाएको हो,” आनन्द बतासले भनेका छन्।

बतास समूहले देशभरका सरकारी जमिन सस्तोमा भाडामा लिएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ। पछिल्लो समय यही समूहले नारायणहिटी संग्रहालय क्षेत्रमा रेष्टुरेन्ट निर्माण कार्य सञ्चालन गरेपछि विवादमा आएको हो। बतास समूह विवादमा आएसँगै प्रधानमन्त्री पत्नी आरजुले बतास समूहसँग सम्बन्ध नरहेको बताएकी हुन्।

आरजुले आफू बतास समूहसँग सम्बन्धित नरहेको बताए पनि पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्तिमा उनकै भूमिका छ। सुदूरपश्चिम कांग्रेसका एक नेताका अनुसार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापालाई आरजुकै दबाबका कारण प्रधानमन्त्रीले नियुक्त गरेका हुन्।

“बतास समूहको लबिङमा आरजुले थापालाई नियुक्त गरेकी हुन्,” ती नेताले भने।

व्यक्तिसँग परिचय भएकै आधारमा कुनै पद प्राप्तिका लागि भनसुन गरियो भन्न नमिल्ने पशुपति विकास कोषका सदस्य सचिव डा. थापा भन्छन्।

“म पशुपतिनाथको कृपाले सदस्य सचिवमा नियुक्त भएको हो, यस अघिका कसरी भए म भन्न सक्दिनँ। मानिसले एकअर्कालाई चिनेको हुन्छ, आवश्यक पर्दा सहयोग पनि गर्नसक्छ,” पशुपति विकास कोषका सदस्य सचिव डा.थापाले भने, “यद्यपि, मलाई कसैले सिफारिस गरेको होइन।”

पशुपति विकास कोषको कोषाध्यक्ष हुँदा थापा पशुपतिमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालामा होटल बनाउन गठन भएको अध्ययन समितिका संयोजक थिए। उनै थापाले बतास समूहलाई त्यहाँ होटल खोल्न अनुमति दिन सहयोग गरेका कांग्रेसका ती नेताको दाबी छ। धर्मशालामा होटल सञ्चालनका विषयमा संस्कृति तथा पर्यटन मन्त्रालयले एक छानविन समिति गठन गरेको छ। एक हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा मन्त्रालय लागेको छ।

डा.थापा कुनै एक व्यक्तिले सिफारिस गर्दैमा धर्मशालालाई होटलका रुपमा सञ्चालन गर्ने अनुमति दिइन्छ र? भन्दै प्रश्न गर्छन्।

“पर्यटन मन्त्रालयले धर्मशालामा होटल सञ्चालनको विषयमा छानविन गर्न एक कार्यदल बनाएको छ, बाँकी विषय प्रतिवेदनले बोल्छ मैले बोल्नु आश्वयक छैन,” पशुपति विकास कोषका सदस्य सचिव डा.थापाले भने।

विवादित व्यक्ति डा.आरपी बिच्छालाई प्रधानमन्त्रीको स्वास्थ्य सल्लाकार नियुक्त गर्दा पनि आरजुकै नाम विवादमा तानिएको थियो। डा.बिच्छा भने यो कुरा मान्न तयार छैनन्। प्रधानमन्त्रीको सल्लाहकारमा आफ्नो नियुक्तिलाई क्षेत्रगत हिसाबमा व्याख्या गर्दै उनले भने, “म सक्षम भएर नै यो पदमा नियुक्त भएको हो, तर मधेसी भएका कारण केही व्यक्तिलाई मेरो नियुक्ति मन परेको छैन। त्यसैले मेरा विषयमा यस्तो आरोप लगाइयो।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीबाट ७ कात्तिकमा अवकास पाएका डा.बिच्छालार्र्ई ८ कात्तिकमा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाकारका रुपमा नियुुक्त गरिएको थियो। “स्वास्थ्य सेवा विभागमा भ्रष्ट छवी बनाएका उनलाई आरजुकै बलमा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाकार नियुक्त गरिएको हो,” स्रोतको दाबी छ।

त्यसो त आरजु यो पटक मात्रै विवादमा आएकी होइनन्। यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा होस् वा अन्य अवसरमा उनी विवादको धेराभन्दा बाहिर छैनन्। यद्यपि, देउवा प्रधानमन्त्री हुँदा उनको सक्रियता भने ज्यादै नै बढ्ने गरेको हाल हाइड्रो पावर सञ्चालन गर्दै आएका कांग्रेसका एक पूरानो नेता बताउँछन्।

“प्रधानमन्त्रीका रुपमा देउवा जति विवादमा आउँछन् त्योभन्दा बढी उनकी पत्नी आरजु विवादित हुने गरेकी छन्,” ती पुराना कांग्रेस नेता बताउँछन्।

नेपालको संविधानले प्रधानमन्त्री पत्नी अथवा ‘फष्ट लेडी’को भूमिका लागि नचिन्ने बताउँछन् संविधानविद् डा.चन्द्रकान्त ज्ञवाली।

“संविधानमा फष्ट लेडीको भूमिका उल्लेख गरिनुपर्ने, त्यो गरिएको छैन,” ज्ञवाली भन्छन्, “संविधानले नै नचिन्ने व्यक्तिको कुनै संवैधानिक भूमिका रहँदैन। व्यक्तिगत रुपमा सक्रिय रहन सके पनि प्रधानमन्त्री संस्थालाई नै असर पुग्ने गरी सक्रिय हुनु गलत हुन्छ।”

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल ‘प्रधानमन्त्री पत्नी हुँदै निक्रिय रहनुपर्छ भन्ने छैन’ भन्छन। तर, प्रधानमन्त्री पत्नी भएकै कारण उहाँको कामलाई अतिरिक्त फाइदा पुग्ने अवस्था आयो भने त्यसले गलत सन्देश जाने उनको कथन छ।

“प्रधानमन्त्री पत्नीका विषयमा अहिले जुन प्रकारको चर्चा भएका छन् त्यसले संस्थाका रुपमा रहेको प्रधानमन्त्रीको पदलाई नै समस्यामा पार्छ, त्यो विषयमा उहाँहरूले सोच्नुपर्ने हो,” उनी भन्छन् भन्छन्, “जहाँसम्म नियुक्तिको प्रश्न छ, योग्य मान्छेले नियुक्ति पाएका छन् वा अयोग्य त्यसले पनि धेरै अर्थ राख्छ।”

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved