निर्माण शुरू भएको ६ महीनामा पनि सञ्चालन भएन होल्डिङ सेन्टर

नेपालभ्युज

निर्माण शुरू भएको ६ महीनामा पनि सञ्चालन भएन होल्डिङ सेन्टर

कपिलवस्तु ।  नेपालमा दोस्रो लहर चलिरहेका बेला निर्माण थालिएको कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवा नगरस्थित ४ सय शैय्याको होल्डिङ सेन्टर अझै सञ्चालनमा आउन सकेको छैन। ३ असारबाट यो होल्डिङ सेन्टरको निर्माण थालिएको थियो। दोस्रो लहर सकियो, तेस्रो लहर शुरू भयो। तर होल्डिङ सेन्टर सञ्चालनको सुरसार छैन।

भारतको नाका हुँदै नेपाल प्रवेश गर्नेलाई राख्नका लागि यो होल्डिङ सेन्टर निर्माण गरिएको थियो। निर्माण कार्य सम्पन्न भइसकेकाले यही महीना सञ्चालनमा आउने दाबी निर्माण कम्पनी श्री हनुमान कन्स्ट्रक्सन ललितपुरले गरेको छ।

भारतसँगको भन्सार नाकानजिकै अर्को एउटा ६ सय शैय्याको होल्डिङ सेन्टर पनि निर्माण हुँदैछ। भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपाल फर्किनेको सङ्ख्या फेरि बढेको छ। होल्डिङ सेन्टर नहुँदा कपिलवस्तुको कृष्णनगर नाका हुँदै आउने यात्रुको व्यवस्थापन र परीक्षणमा चुनौती थपिएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे भन्छन् । “एउटा (४ सय शैय्याको) होल्डिङ सेन्टर निर्माणको काम पूरा भएको छ, अर्का ६ सय शैय्याको होल्डिङ सेन्टर निर्माणको काम पूरा गर्न पनि ताकेता गरेका छौं । पहिला निर्माणको काम पूरा गरौँ, अहिले भर्खरै सञ्चालन गर्ने अवस्था छैन।”

वर्षाका कारण निर्माण कार्य ढिला भएको कम्पनीले जनाएको छ। अबको केही दिनमै उक्त स्थान (शिवा नगर) बाट सेवा सञ्चालन गर्ने सकिने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए। उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५३५ रुपैयाँ खर्च भएको थियो।

सञ्चालनमा अन्योल
होल्डिङ सेन्टर निर्माणको काम पूरा भए पनि सञ्चालनमा भने अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो । होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेको भनाइ छ ।

“निर्माण गरिएको छ, यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन”, पाण्डेले भने, “सीमा क्षेत्रमा रहेको चुनौतीका बीच सञ्चालन गर्नुपर्ने हुन्छ ।”
एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर स्थानीय तहले सञ्चालन गर्न नसक्ने नगर प्रमुख शाहले बताए। “त्यसै त पालिकामा स्रोतको अभाव छ, यति ठूलो होल्डिङ सेन्टर नगरले सञ्चालन गर्न सक्दैन”, शाहले भने। प्रदेश वा केन्द्रले होल्डिङ सेन्टर सञ्चालनको जिम्मा लिनुपर्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved