जनकपुरधाम। बहुप्रतिक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन नहुँदै विवादमा तानिएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा राखेका १ सय ५१ जना कर्मचारीलाई जानकारी बिना नै हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि विरोध शुरू भएको छ। ५५ जना नयाँ कामदारलाई कम्पनीले आजदेखि जनकपुरधाममा तालिम दिन थालेको थियो, पुराना कर्मचारीहरुले तालिमस्थलमै पुगेर विरोध जनाएका छन्।
गुरु भट्टराईको कार्यकालमा ज्यालादारीमा नियुक्त भएका १ सय ५१ जना कर्मचारीलाई कम्पनीका वर्तमान महाप्रबन्धक निरञ्जन झाले बिना कुनै जानकारी हटाएका हुन्। पुराना कर्मचारीहरूले आफुलाई पुन समायोजन गर्नुपर्ने माग राखेका छन्।
सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले बिना कुनै जानकारी आफूहरुलाई नवनियूक्त महाप्रबन्धक झाले हटाएको बताए। उनले मनोमानी रुपमा आफु अनुकूलका नयाँ कार्यकर्ताहरू नियुक्त गरी झाले तालिम दिन थालेको आरोप लगाए । ‘‘हामीहरुले एक महिनाको तालिम लिइसकेका छौं। रकम समेत भुक्तानी लिन बाँकी छ। समायोजन नगरिने हामी आन्दोलन गर्छौं,’’ उनले भने।
त्यस्तै, २०५८ सालदेखि नै सहायक स्टेशन मास्टर पदमा कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम सञ्चालन गरिनु गलत भएको बताए। पुराना कर्मचारीलाई तालिममा सरकारको लाखौं रुपैयाँ खर्च गरिसकेको बताउँदै उनले ती कर्मचारीको व्यवस्थापन हुनुपर्ने बताए।
मनोमानी गरेको छैन : महाप्रबन्धक झा
महाप्रबन्धक झाले कानूनले दिएको अधिकार प्रयोग गरेर मात्रै आफूले नयाँ कर्मचारी नियुक्त गरेको बताए। नेपाल रेल्वे ऐनले दिएको अधिकार बमोजिम नै उनीहरुका लागि तालिम सञ्चालन गर्न लागिएको उनले बताए। महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौं कर्मचारीलाई हटाएका थिए। तर यस विषयमा भने उनले केहि बोलेनन्।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिका स्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा थन्काएर राखिएको छ।
महाप्रबन्धक झाले भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरहरुमार्फत नवनियुक्त कर्मचारीहरूलाई तालिम दिइएको बताए। गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको उनले बताए।
नयाँ कर्मचारी नियुक्त गर्दा मन्त्रीले पैसा उठाए : भट्टराई
नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले नयाँ कर्मचारी नियुक्त गर्दा विभागीय मन्त्रीले पैसा उठाएको आरोप लगाएका छन्। पूर्व महाप्रबन्धक भट्टराईले नयाँ नियुक्त भएका कर्मचारीहरुबाट जनही २ देखि ३ लाख रुपैयाँ असुल गरिएको आरोप लगाए।
भट्टराईले भने, ‘मेरो पालामा रेलमै काम गरेकाहरूमध्ये पुराना ६५ जनालाई घर–घरबाट खोजेर ल्याएको थिएँ । तर, अनुभवीलाई हटाएर सुटुक्क नयाँ कर्मचारी भर्ना गर्नु गलत छ।’’
पत्रकारमाथि हातपात
रेल्वेका पुराना कर्मचारीको आन्दोलनबारे समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले दव्र्यवहार गरेको छ। समाचार संकलनका लागि बुधबार दिउँसो जनकपुरधामस्थित मत्स्य विकास तालिम केन्द्र पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुरमाथि प्रहरी निरीक्षक अवधेश यादव र प्रहरी सहायक निरीक्षक राजाराम यादवले हातपात गरेका हुन्।
नेपाल पत्रकार महासंघ धनुषाले बिहीबार बिहानसम्म दोषी प्रहरीलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। रेल्वेका पुराना कर्मचारीले महाप्रबन्धक झा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिनका लागि बल प्रयोग गरेको थियो।
Facebook Comment
Comment