उपेन्द्र यादवले एकलौटी गर्दा जसपामा फुटको खतरा, डा. भट्टराई-राईसँग अझै बढ्यो दूरी

पार्टीभित्र कार्यकारी अधिकारको बाँडफाँटलाई लिएर दुई पक्षबीच मतभेद चर्किरहेको छ।

उपेन्द्र यादवले एकलौटी गर्दा जसपामा फुटको खतरा, डा. भट्टराई-राईसँग अझै बढ्यो दूरी

काठमाडौ। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले एकलौटी रूपमा पार्टी चलाउन थालेपछि सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईसँगको दूरी झन् बढ्दै गएको छ।

यादवको स्वेच्छाचारी शैलीविरुद्ध उभिएका डा. भट्टराई, राईलगायतका नेताहरू दीर्घकालसम्म एकै पार्टीमा अघि बढ्न नसकिने हो कि भन्ने निष्कर्षनजिक पुगेको जसपा स्रोतले जनाएको छ।

पार्टीभित्र कार्यकारी अधिकारको बाँडफाँटलाई लिएर दुई पक्षबीच मतभेद चर्किरहेको छ। संघीय परिषद् अध्यक्ष डा. भट्टराई, वरिष्ठ नेता राईसहितका नेताहरूलाई बेवास्ता गर्दै अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा प्रदेश २ को पार्टी प्रशिक्षण चलाएका छन्। यसले थप विवाद सिर्जना गरेको छ।

अध्यक्ष यादवले पार्टीमा एकतर्फी गर्नथालेको भन्दै संघीय परिषद् अध्यक्ष डा. भट्टराईसहित वरिष्ठ नेता राईमा पनि कार्यकारी अधिकार बाँडफाँट हुनुपर्ने आवाज जसपाभित्र पछिल्लो समयमा जोड्तोडले उठेको छ।

पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा यादव अल्पमतमा परेका छन् तर आफूलाई सच्याएर अघि बढ्नुको साटो यादवले पेलेर जान खोज्दा विवाद सतहमा आएको हो। यादवका गतिविधिले पार्टी एकता जोगाउन मुस्किल पर्ने चिन्ता डा. भट्टराई पक्षको छ।

पार्टीभित्रको तीव्र मतभेदबीच सोमवारदेखि तीन दिनसम्म महोतरीको बर्दिबासमा जसपा अध्यक्ष उपेन्द्र यादवले आयोजना गरेको पार्टीको प्रशिक्षणमा संघीय परिषद् अध्यक्ष भट्टराई, कृषिमन्त्रीसमेत रहेका जसपा नेता महेन्द्र यादव पक्षका नेता–कार्यकर्ताहरू पनि सहभागी भएनन्।

मन्त्री यादवनिकट मानिने जसपा प्रदेश–२ का उपाध्यक्ष सुनील यादव स्वयम् प्रशिक्षणमा उपस्थित भएनन्। प्रशिक्षण बहिष्कार गरेका प्रदेश–२ उपाध्यक्ष यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा प्रशिक्षण गरेको आरोप लगाए।

शीर्ष तहमा अरु कुनै पनि नेताहरूसँग अध्यक्ष यादवले समन्वय नगरेको आरोप लगाउँदै नेपालभ्युजसँग भने, “शीर्षतहमा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अन्य नेताहरूलाई पनि कुनै जानकारी नै छैन। त्यही कारण हामी पनि सहभागी भएनौँ।”

अध्यक्ष यादवले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा आफैँले २६ वटा शीर्षकमा प्रशिक्षण दिएको बताइएको छ। यसअघि यादव पार्टीको प्रशिक्षणमा जाँदा सो पार्टीका नेता डम्बर खतिवडासहित जाने गरेका थिए। खतिवडाले भट्टराई, राई लगायतका नेताहरूको मतलाई समर्थन गरेका कारण यस पटक उनलाई पनि नडाकिएको बताइएको छ।

जसपा प्रदेश कमिटीले केन्द्रीय अध्यक्ष यादवसहित वरिष्ठ नेता राई र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ पनि उक्त प्रशिक्षण कार्यक्रम उपस्थित हुने भनी प्रचार गरिएको थियो तर पनि प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष यादवमात्र देखिएका थिए।

अध्यक्ष यादवले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा आफैँले २६ वटा शीर्षकमा प्रशिक्षण दिएको बताइएको छ। यसअघि यादव पार्टीको प्रशिक्षणमा जाँदा सो पार्टीका नेता डम्बर खतिवडासहित जाने गरेका थिए। खतिवडाले भट्टराई, राई लगायतका नेताहरूको मतलाई समर्थन गरेका कारण यस पटक उनलाई पनि नडाकिएको बताइएको छ।

अध्यक्ष यादवको एकलौटी व्यवहारविरुद्ध डा. भट्टराईसहित पार्टी नेताहरूले औपचारिक रुपमा मुख खोलेका छैन। जसपा कार्यकारणी समिति सदस्य नवराज सुवेदीले गत साता नेपालभ्युजलाई दिएको अन्तर्वार्तामा अध्यक्ष यादवको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

उपेन्द्र यादव पक्षले यसबारे अहिलेसम्म पछिल्लो मतभेदबारे मुख खोलेका छैन। अध्यक्ष यादवले पार्टीको आन्तरिक समीकरणलाई हेरेर डा. भट्टराईसँग जानसक्ने आफूसँग असन्तुष्ट नेताहरूलाई फकाउन थालेको जसपा स्रोतले जनाएको छ।

संघीय सरकारमा मन्त्री नबनाएपछि असन्तुष्ट प्रमोद साहलाई यादवले संसदीय दलको प्रमुख सचेतक बनाएका छन्। यसैगरी आफूलाई ‘धोका’ दिने छनक पाएपछि आफैँले कृषिमन्त्री बनाएका महेन्द्र यादवलाई सरकारबाट फिर्ता बोलाउनेसम्मको तयारी उपेन्द्र यादवले गरेको स्रोतले जनाएको छ।

तीन महिनाअघि महन्थ ठाकुरसँगको अन्तर्संघर्षमा महेन्द्र यादवले ठाकुरलाई छाडेर यादवको पक्षमा सबैभन्दा चर्कोसँग खुलेर लागेका थिए। पछिल्लो समय उनी भट्टराईतिर लागेको जसपा नेताहरूले बताउन थालेका छन्। उनी पछिल्लो समय अध्यक्ष यादवसँगै कार्यक्रममा देखिएका पनि छैन।

जसपा नेता देवेन्द्र यादवले अध्यक्ष यादवले कुन उद्देश्यले बर्दिबासमा पार्टी प्रशिक्षण राखेको भन्ने आफूहरूले बुझन नसकेको बताए। “पार्टी राम्रो बनाउने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम भएको भए सबैलाई बोलाउनुपथ्र्यो”, उनले नेपालभ्युजसँग भने, “यसलाई पार्टीका स्थानीय नेता–कार्यकर्ताहरूले पनि सकारात्मक रूपमा लिएका छैनन्।”

जसपाभित्र मतभेद कतिसम्म चर्किसकेको छ भने राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छान्न अध्यक्ष यादवले बोलाएको कार्यकारणी समिति बैठकमा डा. भट्टराईसहित उनी पक्षका नेताहरू उपस्थित भएनन्। डा. भट्टराई पार्टी कार्यक्रमका लागि काठमाडौंबाहिर रहेको जानकारी दिएका थिए। यादवले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी छान्न बोलाएको कार्यकारणी बैठकमा जम्मा ९ जना सहभागी भएका थिए।

डा. भट्टराई पक्षले मंसीर पहिलो साता नै अध्यक्ष यादवलाई कार्यकारी अधिकार बाँडफाँट गर्न र कार्यशैली सुधार्न चेतावनी दिइसकेको छ। डा.भट्टराई–राई पक्षले उपेन्द्र यादवले यो समस्यालाई सम्बोधन नगरेमा पार्टीको विधान अधिवेशनदेखि संघीय परिषद बैठकसम्म बोलाएर उक्त विषयमा सम्बोधनको प्रयास गर्ने स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved