खोप कार्ड हरायो? अब यसो गर्नुस्

खोप कार्ड हराएर टेकु अस्पतालमा दुई दिनयता ९/१० जना आइसकेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। गौतम भन्छन्, “अस्पतालले खोप लगाए पनि यसको रेर्कड भने जिल्ला स्वास्थ्य कार्यालयसँग हुने भएकाले यसरी कार्ड हराएर आइरहेकाहरुलाई हामीले स्वास्थ्य कार्यालय पठाउने गरेका छौं।”

खोप कार्ड हरायो? अब यसो गर्नुस्

काठमाडौं। काठमाडौंका बसन्त गौतमले गत वैशाखमा कोभिड–१९ विरुद्धको कोभिशिल्डको पहिलो मात्रा खोप लगाए र दोस्रो मात्रा लगाउँदासम्म पनि बसन्तसँग खोप कार्ड सुरक्षित नै थियो तर अहिले उनीसँग खोप कार्ड छैन।

२५ पुसमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक ठाउँमा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेपछि मात्र बसन्त झसङ्ग भए र कार्ड खोज्न तिर लागे। तर भेटेनन्।

बसन्तले सबैतिर खोप कार्ड खोजे तर कतै नभेटेपछि खोप लगाएको खोप केन्द्र (टेकु अस्पताल) पुगे। अस्पतालमै पुनः खोप कार्ड बनाउन नमिल्ने भन्दै काठमाडौं जिल्ला स्वास्थ कार्यालय पठाउँछ।

बसन्त जस्तै खोप कार्ड हराएर टेकु अस्पतालमा दुई दिनयता ९/१० जना आइसकेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

गौतम भन्छन्, “अस्पतालले खोप लगाए पनि यसको रेर्कड भने जिल्ला स्वास्थ्य कार्यालयसँग हुने भएकाले यसरी कार्ड हराएर आइरहेकाहरुलाई हामीले स्वास्थ्य कार्यालय पठाउने गरेका छौं।”

सीसीएमसीले सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड देखाउनु पर्ने निर्देशन दिएपछि अस्पतालमा कार्ड हराएर आउनेको संख्या अझै बढ्दै जान सक्ने सम्भावना रहेको उनको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालयले तोकेको खोप केन्द्रबाट नै खोप लगाएको छ भने कार्यालयले नै पुनः खोप कार्ड बनाइदिने व्यवस्था गरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए।

“काठमाडौं जिल्लाको हकमा हामीले तोकेका खोप केन्द्रबाट नै लगाएको हो भने हामीले नै बनाइदिन्छौं। नत्र भने जहाँ खोप लगाएको हो, त्यहीँ सम्पर्क गर्नुपर्छ, हामीले बनाउन मिल्दैन,” काफ्लेले भने।

काफ्लेले पनि कार्ड हराएर पुनः बनाउन आउनेको संख्या बढ्दै गइरहेको जानकारी दिए।

खोप कार्ड हरायो भने पहिले जुन खोप केन्द्रबाट खोप लगाएको थियो त्यहीँ गएर सम्पर्क गर्नुपर्ने परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले बताए।

दाहाल भन्छन्, “खोप कार्ड सम्हाालेर राख्नुपर्ने हो। तर कारणबस हरायो भने आत्तिहाल्नु पर्दैन। यसको समाधान पनि छ। जहाँ खोप लगाएको हो, त्यसले नै पुनः खोप कार्ड सुनिश्चित गर्छ।”

सरकारले ३ माघदेखि सार्वजनिक स्थल, पार्क, फिल्म हल, रेस्टुरेन्ट, सपिङ मल, रंगशाला र हवाई यात्रा गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने नियम लागू गरेपछि सबैले खोप कार्डको खोजी गर्न लागेका छन्।

सरकारले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भनेका निकायहरुले खोप कार्ड भएपछि मात्र प्रवेश दिने नियम पालना गर्नुपर्नेछ। जसका लागि सीसीएमसीले खोप कार्डको फोटो मोबाइलमै राखेर देखाउँदा हुने पनि बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved