नेपाल रहेसम्म पृथ्वीनारायण अमर रहनेछन्

नेपाल रहेसम्म पृथ्वीनारायण अमर रहनेछन्

पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन्। उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेका छौं। यद्यपि, पछिल्लो कालखण्डमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यन गर्ने, अपमान गर्ने र ईतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखापरेको छ।
२०६२\६३ को जनआन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा परम्परादेखि नेपालको अस्तित्व र स्थायित्वको आधारस्तम्भको रुपमा रहेको हिन्दुराष्ट्र, राजसंस्था र एकात्मक राज्यव्यवस्थालाई हटाएर धर्मनिरपेक्षता, गणतन्त्र र संघियतालाई स्थापित गर्ने प्रयास भयो। मुलतः नेपालमा आफ्नो प्रभाव बिस्तार गर्न चाहने तथा नेपाललाई नवसांस्कृतिक उपनिवेश बनाउने उदेश्यबाट पश्चिमा मुलुकहरुबाट अभिप्रेरित र प्रायोजितरुपमा आएका हुन यी मान्यताहरु। यी मान्यताहरु स्थापित गर्न र संस्थागत गर्न राज्यव्यवस्थाको महत्वपूर्ण धरोहर राजसंस्थालाई समाप्त पार्नु नितान्त आवश्यक थियो। राजसंस्था समाप्त पार्न राजसंस्थालाई राक्षसीकरण गर्नु, नेपालको गौरवपूर्ण ईतिहासलाई अपव्याख्या गर्नु तथा राजासंस्थाको योगदानलाई न्युनीकरण गर्नु आवश्यक ठानियो।

त्यसैको फलस्वरुप राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र ईतिहासलाई समेत गलत ढंगबाट व्याख्या विश्लेषण गर्ने तथा कलंकित गर्ने प्रयासहरु भए। यस कार्यमा कतिपय राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजिविवर्ग र आमसंचार माध्यमहरुलाई समेत प्रयोग गरियो। नेपाली जनताको मन मस्तिष्कलाई बौद्धिकरुपमा प्रदुषित गर्न योजनाबद्ध र संगठित अभियान नै चलाईयो।

श्री ५ पृथ्वीनारायण शाहले राष्ट्रको एकिकरण गरेका होईनन्, केवल निहित स्वार्थपुर्ति गर्न नरसंहार गरेर गोरखा राज्यको बिस्तार गरेका हुन्, उनको अभियान र कार्यशैली निरंकुश र अधिनायकवादी थिए तथा विजित राज्यका जनताको संस्कृति र सम्पतिमाथि शोषण गरे, भन्ने जस्ता तथ्यहिन र भ्रामक प्रचारहरु गरियो।

प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परा समेत २०६२\६३ को परिवर्तन लगत्तै तत्कालीन सरकारले अन्त ग¥यो। सरकारीस्तरबाट उपेक्षा गरिएता पनि जनस्तरबाट भने पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने चलनमा कहिल्यै कमी आएन। बरु, त्यो अझ व्यापक हुँदै गएको छ।

राष्ट्रनिर्माताका बारेमा फैलाइएका भ्रमहरु समेत क्रमशः हट्दै गएका छन्। वास्तवमा २५० वर्षअघिको नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मुल्यांकन गरेर निस्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहर्दछ। एकिकरण अभियानको क्रममा केहि ज्यादति भए होलान् वा केहि कमजोरी भए होलान् तर, जे भएता पनि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरुप आज हामीले स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौं।

उक्त समयमा नेपालको एकिकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालिन ब्रिटिश साम्राज्यको एक अंग हुन पुग्ने थियो। दक्षिण एशियाली भूभागमा त्यसबेला रहेका सयौं ससाना राज्यहरुको नियति नेपालले समेत भोग्नुपर्ने हुनसक्थ्यो। भारतमा शुरुमा व्यापारको बहानामा पसेको ईस्ट ईण्डिया कम्पनीले कालान्तारमा सिंगो भारतलाई आफ्नो कब्जामा लिएर उपनिवेश बनाएको थियो। यही नीति नेपालमा समेत अबलम्बन गर्न अंग्रेजहरुले प्रयास गरेका थिए।

नेपाली जनतामा शिक्षा बिस्तार र स्वास्थ्य सेवा पु¥याउने बहानामा पादरीहरु नेपाल पसेका थिए, उनीहरु नेपाललाई कमजोर बनाएर व्यापारिक सम्बन्ध बढाउने र बिस्तारै राजनीतिक कब्जा जमाउन चाहन्थे। दूरदर्शी राजा श्री ५ पृथ्वीनारायण शाहले अंग्रेजहरुको यो षडयन्त्रलाई समयमै बुझेर असफल बनाई दिएका थिए।

साथै, ई.सं. १७६७ मा सिन्धुलीको लडाईमा अंग्रेजहरुलाई पराजित गरेर नेपालको अस्तित्व जोगाएका थिए। यस्तो घाम झै टड्कारो सत्यलाई उपेक्षा गर्दै राष्ट्रनिर्माताप्रति नकरात्मक र अनर्गल व्याख्या विश्लेषण गर्नु तथा राष्ट्रनिर्मातालाई सम्मान गर्न नचाहनु सर्वथा अतिशयोक्तिपुर्ण देखिन्छ।

आधुनिक नेपालको निर्माणसँगै प्रशासन व्यवस्था, न्याय व्यवस्था, अर्थनीति, परराष्ट्र व्यवस्था, सैन्य संगठन एवं राज्य व्यवस्थाको जग हाल्ने तथा पद्दति स्थापित गर्ने क्रममा पनि श्री ५ पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको छ।

आफ्नो जीवनको उत्तरार्द्धतिर उनले दिव्यउपदेशमार्फत भावी पिंढीलाई राज्यसंचालनको निमित्त सर्वकालिक महत्व रहेको मागदर्शन दिएका छन्। दिव्यउपदेशमा उल्लेख भएका कतिपय विचारहरु अहिले पनि सान्दर्भिक रहेको पाइन्छ। “यो नेपाल चार वर्ण छत्तिस जातको साझा फुलबारी हो र सबै मिलिजुली यसको रक्षा गर्नुपर्दछ“ भन्ने दिव्यउपदेशमा उल्लेखित महावाणीको औचित्य र महत्व अहिले पनि कायम नै छ। नेपाल अधिराज्य आफ्नो मात्र आर्जन होईन, यो राजाको व्यक्तिगत सम्पति पनि होईन, यो सबै नेपालीको साझा सम्पति हो भन्ने मान्यतालाई त्यसैबखत श्री ५ पृथ्वीनारायण शाहले स्थापित गरेका थिए।

एकिकरण मार्फत राज्यको सिमा बिस्तार गर्नुका साथै एकिकृत र विजित क्षेत्रका धार्मिक सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणमा समेत उनले ध्यान दिएका थिए। यही नीतिको परिणामस्वरुप नै एकिकरण अभियानमा व्यापक सहयोग र सहभागिता जुटन संभव भयो।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको गुण र चरित्रका बारेमा विद्वान  राजनीतिज्ञ डा= डिल्लीरमण रेग्मीले सटिक ढंगबाट चित्रण गरेका छन् । डा=रेग्मीको भनाईमा “श्री ५ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो। विजय उनको जीवनको ध्येय थियो, त्यस लक्ष्यको नियामक शक्ति उनको हृदयमा रहेको देशभक्ति थियो। देशभक्त, साहसी योद्धा, संगठनकर्ता र सेनापति सबै गुणहरु एकसाथ उनमा थिए।

त्यसैले नयाँ अधिकार गरेको बिस्तृत भूभाग एक संगठित केद्रीय शासनको अधिन होस् र तीनमा बसोबास गर्ने विभिन्न सम्प्रदाय र जातिका जनसाधारणले निर्भय भएर सुरक्षाको उपभोग गर्न पाउन् र उनीहरुको दमन नहोस् भन्ने कुरामा उनी सदा प्रयत्नशील रहन्थे।

श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई कुनै निश्चित राजनीतिक व्यवस्था वा संस्थासंग जोडेर हेर्नु अतिशयोक्तिपूर्ण हुने छ। तत्कालीन राजनीतिक प्रणालीलाई वर्तमान व्यवस्थाको औचित्यताको कसिमा विश्लेषण गर्नु पनि गलत हुनेछ।

श्री ५ पृथ्वीनारायण शाहप्रतिको सम्मानबाट राजसंस्थालााई समर्थन गरेको निस्कर्ष निकाल्नु वा त्यस कार्यबाट गणतन्त्र कमजोर हुन्छ भन्ने मानसिकता सर्वथा अनुपयुक्त छ। त्यो केवल हिन मनस्थितिको उपज मात्र हो। वास्तवमा राष्ट्रनिर्माताको सम्मान हामी नेपाली हुनुको गौरवको अभिव्यक्ति हो। नेपालमा राजसंस्था आवश्यक छ वा गण्नतन्त्र भन्ने बहस अलग राजनीतिक विषय हो।

श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र एकिकरण गरेका हुन वा गोरखा राज्यको बिस्तार गरेका हुन् भन्ने विवाद पनि निरर्थक छ। जसरी व्याख्या गरेपनि परिणाम एउटै हो– नेपाल राज्यको निर्माण। उनकै योगदानको कारणबाट नेपाल दक्षिण एशियाली भूभागको सबैभन्दा जेठो राष्ट्र, सगरमाथाको देश अनि बुद्ध र सिताको जन्मभूमी भन्ने सौभाग्य हामी नेपालीले प्राप्त गरेका छौं।

विगतमा जेजस्ता त्रुटि भएता पनि अब राष्ट्रनिर्मातालाई सम्मान गर्ने र राष्ट्रिय एकता दिवस मनाउनेबारे राष्ट्रिय सहमति हुनु आवश्यक छ। राष्ट्रनिर्माताको योगदानको अवमुल्यन गर्ने पिंढीले राष्ट्र बचाउन र बनाउन सक्दैन। श्री ५ पृथ्वीनारायण शाहको योगदान नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहन्छ। नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन्।

कमल थापाको फेसबुक पेजबाट 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved