नौ सय वर्ष पुरानो मूर्ति ४४ वर्षपछि पुरानै ठाउँमा (तस्वीरहरूमा हेर्नुहोस्)

नौ सय वर्ष पुरानो मूर्ति ४४ वर्षपछि पुरानै ठाउँमा (तस्वीरहरूमा हेर्नुहोस्)

काठमाडौं। एक हप्ताअघि नचिनेका एक विदेशी नागरिकले उनलाई म्यासेन्जरमा मेसेज पठाए। लेखिएको थियो- ‘तिमीले खोजीरहेको मूर्ति तिम्रै देशको राष्ट्रिय कला संग्रहालय छाउनीमा छ।’

मेसेज पाएपछि सम्पदा संरक्षण अभियन्ता यादव लाल कायस्थ साथीहरुलाई साथमा लिएर संग्रहालय पुगे। हराएको पुरानो मूर्तिको फोटो र संग्रहालयको मूर्तिबीच समानता खोजे। नभन्दै उनीहरुले खोजिरहेको पद्यपाणि लोकेश्वर (करणामय)को मूर्ति त त्यही रहेछ।

करीब ९ सय वर्ष पहिले नै निर्माण भएको पद्यपाणी लोकेश्वर(करुणामय) देउताको पूर्णकदको मूर्ति काठमाडौं महानगरपालिका १, नक्सालको शंकर कीर्ति महाविहारबाट ४४ वर्षअघि हराएको थियो। मूर्ति भेटिएपछि आज बाजागाजा र जात्रासहित मूर्तिलाई बिहारमै फर्काउन लागिएको छ।

उक्त मूर्ति हराएको विषय भने अभियन्ता कायस्थले दुई वर्ष अघि थाहा पाएका थिए। “हामी काठमाडौंको ढुंगेधारा संरक्षणको लागि काठमाडौंका थुप्रै ठाउँ पुग्ने क्रममा नक्साल पुगेका थियौँ,” उनी भन्छन्, “तब स्थानीयले मलाई यो मूर्ति हराएको विषयमा जानकारी गराउनुभएको थियो।”

मूर्ति हराएको थाहा पाएपछि उनले मूर्तिको बारेमा जानकारी लिने कोशिस गरे। केही स्थानीयले उक्त मूर्ति हनुमानढोका प्रहरी परिसरमा देखेको भनेपछि उनको टोलीले हनुमानढोकामा खोजे। तर त्यहाँ मूर्ति फेला परेन। त्यसपछि अन्य प्रहरी चौकीमा पनि मूर्ति खोज्दै पुगे। अन्य प्रहरी चौकीमा पनि मूर्ति नभेटिएपछि सामाजिक सञ्जालमा पोस्ट लेखे। तब मेसेन्जरमा एक विदेशी नागरिकले उनलाई ‘तिमीले खोजीरहेको देउता तिम्रै देशको राष्ट्रिय कला संग्रहालयमा छ’ यहाँ छ भनेर सूचना दिइन्।

अपरिचित विदेशीले दिएको सूचनाको भरमा उनीहरु छाउनीको राष्ट्रिय कला संग्रहालय पुगे। कायस्थ, जितेन्द्र तुलाधर, योगेश्वर अमात्य लगायतको टोली पुग्दा त्यहाँ उनीहरुले दुरुस्तै मूर्ति देखे। त्यसपछि हराएको मूर्ति र संग्रहालयमा भएको मूर्ति एउटै भनेर यथेस्ट प्रमाणहरु जुट्यो। त्यसपछि पुरातत्व विभागले संग्रहालयमा पुगेर छाउनीमा पुगेर यो मूर्ति फिर्ता गर्न भनेपछि फिर्ता ल्याउने प्रक्रिया अगाडि बढ्यो।

“मूर्ति भेटिएपछि पुरातत्व विभागको स्विकृतिमा संग्रहालयबाट मूर्तिलाई पुरानै ठाउँमा राख्न अनुमति लियौँ, ” उनले भने, “प्रमाण यथेस्ट भएका कारण लामो झन्झट भएन। ६ दिनमा सबै प्रक्रिया पुरा गरेर मूर्ति फिर्ता ल्याउन सफल भयौँ।”

४४ वर्षपछि भेटिएको मूर्तिलाई बाजागाजासहित भित्राउन सम्पदा संरक्षण महाभियानका तर्फबाट भद्रकालीको जंगी अड्डाको समारोह सञ्चालन निर्देशनालयलाई बग्गी र बाजा उपलब्ध गराइदिन आग्रह गरे। निर्देशनालयले पनि उनीहरुलाई बग्गी र गुरुजु सहितको पल्टन उपलब्ध गराइदिएको छ। र्‍याली सहित आज मूर्तिलाई पुरानै ठाउँमा स्थापना गरिँदैछ।

नेपाल संवत‍्को हरेक पहेलाथ्व अष्टमीको दिनमा करुणामय देउतालाई स्नान गराउने चलन छ। तिथीका हिसाबले अष्टमी भोलि परेको छ। त्यसैले आज पुरानै ठाउँमा मूर्तिलाई स्थापना गरेपछि भोलि अष्टमीको दिन पद्यपाणि करुणामयलाई स्नान गराएर पुनः दैनिक पुजाआजाका लागि खुला गरिने अभियन्ता कायस्थले जानकारी दिए।

 

तस्वीरहरू : गोपेन राई 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved