नियात्रा

रेलमा हुइँकिँदै स्वप्न नगरी मुम्बईतिर

रेलमा हुइँकिँदै स्वप्न नगरी मुम्बईतिर

भारतभरि रहेका नेपाली नागरिकहरूलाई नेपाल सरकारको तर्फबाट सेवा, सहयोग तथा अन्य आइपर्ने समस्याहरूलाई सम्बोधन गर्ने एक मात्र आधिकारिक संस्था नयाँ दिल्लीको बाराखम्बा रोडस्थित नेपाली राजदूतावास नै रहेको छ। अझ भन्ने हो भने राजदूतावासको कन्सुलर डिपार्टमेण्टले नेपाली नागरिकहरूको सम्बन्धमा प्रत्यक्ष सरोकार राख्ने गर्छ। यसो भन्नुको कारण नेपाली दूतावासमा मलाई कन्सुलर विभागको द्वितीय सचिवको उत्तरदायित्व बहन गर्ने गरी कार्य क्षेत्र तोकिएको छ। २०६२ माघदेखि २०६७ वैशाख (तद्नुसार जनवरी २००६ देखि अप्रैल २०१०) सम्म नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत रहँदा मेरो सम्पूर्ण कार्यकाल नै कन्सुलर डिपार्टमेण्टमा बित्यो।

म दूतावासमा कार्यरत रहेको समय नेपाली कमिसनखोरहरूले नेपाली चेलीहरूलाई आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै भारतका विभिन्न विमानस्थलहरू प्रयोग गरेर खाडी क्षेत्रका देशहरूमा पठाउने कार्यमा निकै वृद्धि भयो। नेपालबाट सीधै घरेलु कामदारका रूपमा अरब (खाडी क्षेत्र) पठाउन झन्झटिलो भएकोले अवैधानिक रूपले भारतीय भूमि प्रयोग गर्दै पठाउनेतर्फ म्यानपावर कम्पनीहरूको ध्यान मोडियोे। यसरी अवैधानिक रूपमा अरब पुगेर काम गर्न सुरु गरेपछि विभिन्न कारणबाट रोजगारदाता र बिचौलियाहरूले खासगरी महिलाहरूलाई अलपत्र पार्ने कार्य व्यापक रूपमा हुन थाल्यो।

त्यसरी अलपत्र पारिएका महिलाहरूलाई रोजगारदाताले विविध औषधि (मनोदीपक) खुवाएर लठ्याउँदै यात्राको उद्गम विमानस्थलसम्मको टिकट काटेर फिर्ता पठाउने कार्यमा निकै तीव्रता आयो। यस्ता अलपत्र पारिएका कामदारहरूलाई उद्गम विमानस्थलसम्मको मात्र टिकट काटेर पठाउने प्रचलन रहेको र अवैध रूपमा भारतका विभिन्न विमानस्थलहरूबाट खाडी क्षेत्रका देशमा काम गर्न पुगेका महिलाहरूलाई भारतीय विमानस्थलसम्मको टिकट काटी फिर्ता पठाइन थाल्यो। यसले अरब बाउण्ड विशेष गरेर महिला कामदारहरू अलपत्र पर्ने गरेको र तिनीहरूको उद्धार कार्यमा निकै समस्या आइपर्यो। स्मरणीय कुरा के छ भने नेपाली कमिसनखोरहरूले भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, मुम्बईको क्षत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल तथा चेन्नइको अन्ना अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर खाडी क्षेत्रका देशहरूमा हाउसमेड (घरेलु कामदार) का रूपमा पठाउने गरेका रहेछन्। जुन कुराको जानकारी उक्त विमानस्थलहरूमा फिर्ता गरी पठाइएका कामदारको ओइरो लाग्न थालेपछि नेपाली दूतावासलाई जानकारी हुन आयो।

चिन्तनीय कुरा यस्तो छ कि खाडी क्षेत्रमा पुगेपछि कामदारलाई मालिकबाट विविध शारीरिक शोषण, दमन, चरम यातना दिनेसम्मको हर्कत गरेको पाइयो। यिनै कारणबाट पीडितले मानसिक सन्तुलन गुमाएको स्थितिमा मालिकले जुन स्थानबाट उडान भरी आएको छ, त्यही स्थानसम्मको हवाई टिकट काटेर फिर्ता पठाउने काम अत्यधिक रूपले गर्न थाल्यो। यसरी फर्काइएका महिला कामदारहरू विमानस्थलमा नै अलपत्र पर्न थाले र सो को सूचना दिँदै उद्धार गरी दिन विमानस्थल सुरक्षादस्ताले दूतावासलाई अनुरोध गर्ने क्रम पनि दिनदिनै बढ्न थाल्यो। यस स्थितिलाई महत्व दिएर दूतावासले अग्रसरता देखाउँदै असन्तुलित अवस्थामा फर्की आएका पीडितहरू नयाँ दिल्ली र मुम्बईमा धेरै आउने गरेकोले सोबारे यकिन गरी उद्धार गर्ने नीति राजदूतावासले अख्तियार गर्‍यो।

चिन्तनीय कुरा यस्तो छ कि खाडी क्षेत्रमा पुगेपछि कामदारलाई मालिकबाट विविध शारीरिक शोषण, दमन, चरम यातना दिनेसम्मको हर्कत गरेको पाइयो। यिनै कारणबाट पीडितले मानसिक सन्तुलन गुमाएको स्थितिमा मालिकले जुन स्थानबाट उडान भरी आएको छ, त्यही स्थानसम्मको हवाई टिकट काटेर फिर्ता पठाउने काम अत्यधिक रूपले गर्न थाल्यो।

यसै क्रममा भारतीय विदेश मन्त्रालयको अनुमति लिएर नयाँ दिल्लीस्थित तिहाड जेलमा पुगी दूतावासबाट स्थलगत अध्ययन गर्ने कार्य गरियो। साथै विमानस्थलमा अलपत्र परेकाहरूलाई राजदूतावासबाट मान्छे पठाई उद्धार कार्य गर्ने क्रमलाई समेत निरन्तरता दिइयो। तर अधिक संख्यामा पीडित खाडी देशहरूबाट फर्काइनेहरूका नक्कली कागजात र भीसा रहेको पाइयो। नक्कली कागजातका कारणले मुम्बईमा जेल परेका महिलाहरूका बारेमा स्थलगत निरीक्षण गरी कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयलाई गम्भीर रूपमा लिइयो।

यसका लागि राजदूतावासबाट मुम्बई गएर प्रतिवेदन पेश गर्न मलाई खटाइने निर्णय भयो। सोही सिलसिलामा सपनाको सहर मुम्बई विशेष कार्यका लागि जानुपर्ने स्थिति आइलाग्यो मलाई।

नोभेम्वर २६, २००८ मा सन्दिग्ध पाकिस्तानी आतंककारी संगठन लस्कर-इ-तैवाका आतंककारीहरूले ताज महल प्यालेस होटल, ओबेराय ट्रिडेण्ट होटल, क्षत्रपति शिवाजी रेल्वे टर्मिनल, नारीमन हाउस, केफ लियोपोल्ड र कामा हस्पिटलमा अटोमेटिक हतियार तथा ग्रेनेडको सहायतामा हमला गरेको थियो।

उक्त हमलामा सुरक्षाका उच्च अधिकारी, पर्यटक लगायत १६६ जना हताहत हुनका साथै ६ सयभन्दा बढी सर्वसाधारणहरू घाइते भएका थिए। उक्त आतंककारी हमलालाई निस्तेज गराउन सैनिक, प्रहरी, दमकल आदिको योद्धाहरूले निरन्तर ६० घण्टासम्म भिड्नुपरेको थियो। दश जना आतंककारी दस्ताका नौ जना भिडन्तका क्रममा मारिएका थिए भने एकजना आतंककारी मोहम्मद अजमल कसाबलाई जिउँदै पक्रिएर कडा सुरक्षासहित जेलमा राखी इन्क्वारी गरिरहेको अवस्था छ। यसरी मुम्बई आक्रमण भएको आठ महिनापछि म पनि मुम्बई जान तम्तयार भएको छु। र, जाने मनस्थिति बनाएरै प्रस्थान गर्ने दिन र समयको प्रतीक्षामा छु।

मुम्बई प्रस्थान गर्ने मिति शनिवार असार २७, २०६६ अर्थात् जुलाई ११, २००९ को दिन र नयॉ दिल्ली जुलाई १५ का दिन फर्की आउने कार्यक्रम तय भएको छ। सोही अनुसार मुम्बई जान र दिल्ली आउनका लागि राजधानी ट्रेनको टिकट रिजर्भ गर्न राजदूतावासकै परिचर भरत साहलाई पठाउने कार्य गरेँ। (स्मरण रहोस्, दूतावासको सिफारिस पत्रसाथ रेलको टिकट रिजर्भ गर्न पठाउ‘दा पर्यटक कोटा अन्तर्गत सिट रिजर्भ हुने सुविधा रहेको छ।)

परिचर साहले निश्चित गरिएका मितिका लागि सेकेण्ड एसीको जातेआतेको टिकट रिजर्भ गरी सो को कन्फरमेशन स्लिप वा टिकट ल्याइदिए। सेकेण्ड एसीमा यात्रा गर्दाको भाडा भारु १,९७५ र फर्कदाको भाडा भारु १,९९५ लिएको रहेछ। आतेजातेको भाडा बराबरी हुनुपर्नेमा फर्कनका लागि अग्रिम बुकिङ बापत भनी भारु २० लिने भारतीय रेल्वे को नियम रहेछ।

त्यसैले फर्कँदा लाग्ने कमिसन समेत गरी जम्मा भारु ३,९९० भुक्तानी गरी ल्याइदिए- मुम्बई राजधानी रेलको टिकट।

भीएस् नयपालले त्यतिकै लेखेका होइनन् नि- ‘इन मद्रास द बस स्टेशन नियर द हाइ कोर्ट इज वान अफ द मोर पपुलर ल्याट्रिन्स। द ट्राभलर्स एराइभ्स, टु पास द टाइम्स हि राइजेज हिज धोती, डिफेकेट्स इन द गुटर। द बस एराइभ्स, हि बोर्डस् इट, द ओमन स्वीपर क्लिन्स अप आफ्टर हिम।’

यात्राको समय बेलुकीको साढे छ बजे भएकोले समयमा नै नयाँ दिल्ली रेल्वे स्टेशनको प्लेटफर्म नं. ३ मा पुर्याइदिए चालक टंक थापा मगरले। लगेज समाएर रेलको प्रतीक्षामा रहेँ। समयमा नै आइपुग्यो रेल र हतारिँदै कोच नं. २ को लोअर बर्थको सिट नं. ९ को मुन्तिर लगेज राखेँ। सेकेण्ड एसीको कोच भएकोले चार जनाको लागि यो कोच रिजर्भ छ।

मेरो सीधै माथिको तलामा एक जना र हामी विपरीतको सिटहरूमा तल र माथि गरी दुई जना यात्रु रहेका छन्। बस्ने सिटका बेडहरू सोफाजस्तै कपडाले बनाइएका छन् अर्थात् हाइड्रोलिक पद्धतिले बनेका छन्। (स्मरण रहोस्, अन्य रेलका सिटहरू साङ्ला-चेनका माध्यमबाट तलमाथि गराउने खालका हुने गरेका छन्।) ओढ्नका लागि कम्बल, फोमबाट बनेका सिरानी र सेता तन्ना समेत दिइएका छन्। बत्ती बाल्ने र निभाउने सुविधा छ। मोवाइल तथा कम्प्युटर चलाउन मिल्ने बिजुली प्लकहरूको उचित व्यवस्था मिलाइएका छन् बर्थमा। नीर वाटर (पिउने पानी सहितको बोतल) पनि प्रत्येक सिटसँगैको व्यागमा राखिदिएका छन्। म त्यही रेलको यात्रामा छु। जुन रेल यात्रा सन् १९७० को दशकमा अमेरिकी प्रसिद्ध ट्राभल राइटर पाउल थोरेक्सले गरेका थिए। उनको प्रसिद्ध पुस्तक ‘द ग्रेट रेल्वे बजार’ को एउटा यात्रा ‘द राजधानी (क्यापिटल) एक्स्प्रेस टु बम्बे’ मा वर्णन गरेका छन्।

राजधानी रेलको यात्रा करिब १६ घण्टाको हुनेछ। साँझ चढेको रेल रातभरि गुडेर भोलिपल्ट बिहान साढे आठ बजे मात्र मुम्बई पुग्नेछ। बेलुकी अलिअलि चुस्की नलिई रेलको यात्रा आरामपूर्वक हुन नसक्ने सोचेको छु। तर रेलमा मदिरा प्रयोग वर्जित छ। साँझको खाना खान अगाडि एक पेगजति लिने बानी छ मेरो। त्यसको निमित्त उपाय निकालेँ। कोकाकोलाको रङ्ग र ह्विस्कीको रङ्ग उस्तैउस्तै हुने भएकोले खाली कोकाकोलाको बोतलमा खुसुुक्क स्कच ह्विस्की भरेर बोकेको छु मैले।

अझ भन्ने हो भने नोवेल पुरस्कार विजेता भीएस् नयपाल आफ्नो पुस्तक ‘एन् एरिया अफ डार्कनेस’ मा उल्लेख गरेका छन्, ‘मैले स्कचको नयाँ बोतल खोलेर एक सिप लिएँ। अनि मेटाक्साको नयाँ बोतल खोलेर एक सीप लिएँ। यी मदिराका बोतलहरूलाई सुक्खा तथा प्रतिबन्धित मुम्बईमा भित्र्याउने आशामा छु। किनकि भारतीय पर्यटन विभागमा काम गर्ने साथीले सतर्कता अपनाउन सुझाव दिँदै भन्नुभएको थियो कि- नखोलेका मदिराका बोतलहरू मुम्बई ल्याएमा जफत गरिने छन्।’

यिनै कुराहरूको कारणबाट पनि कोकाकोलाको बोतलको शरणमा परेँ म पनि। मेरो लगेज मिलाउने क्रममा धर्मपत्नी रत्नले भन्दै थिइन्-

‘एक दुई दिन नपिए के हुन्छ र ? कथंकदाचित रेलको टी.टी. वा अन्यले थाहा पाए भने नराम्रो होला नि !’
म मौन रहेकोले गनगन गर्दै मिलाइदिएकी थिइन् लगेज। नयाँ ठाउँमा जाने भएकोले साह्रै तलतल लागेमा के गर्ने ? कहाँ किन्ने ? नेपालमा जस्तै साना किराना पसलमा किन्न पाइन्छ कि पाइँदैन मुम्बईमा ! फेरि गुजरात राज्यमा जस्तो पिउने प्रमाणपत्र नै चाहिने पो हो कि ? मैले सुनेको छु- गुजरातमा मदिरा किन्न परे एउटा लामै फर्म भर्नुपर्ने हुन्छ। जसमा हिन्दी भाषामा निम्न प्रश्नहरू सोधिएका हुन्छन्-

‘शराबीका नाम।
शराबीका पता।
शराबीका उम्र।
शराबीका बापका नाम।
शराबीका माँका नाम।
शराबी पता आदिआदि।’

त्यस्तै स्थिति भएमा मुम्बई बसाइका पाँच दिन छटपटीमा बिताउनु पर्ने हुन्छ भनेर कोकोकोलाको बोतलमा भरेर बोक्ने मनस्थिति बनाएको हुँ मैले।

राजधानी रेललाई एक प्रकार भीआईपी रेल भने पनि फरक पर्दैन। सितिमिति आफ्नो प्रस्थान समय र पुग्ने समयमा परिवर्तन हुँदैन। साढे चार बजे नयाँ दिल्ली रेल्वे स्टेशनबाट प्रस्थान गरेको रेलले उत्तर प्रदेशको फरिदावादको जमिन नापिरहेको छ सत्र बजे। दौड्दै गरेको रेलभित्रैबाट स्टेशनको नाम नोटबुकमा सारेँ खुसुक्क। त्यसपछि बल्लभगढ स्टेशनलाई छोड्दै दौडिरहेको छ रेल। हुन पनि अहिले चल्दै गरेको रेलले १३८६ किमि पार गर्नुपर्ने छ। जसमा सानाठूला २३२ वटा स्टेशनहरू रहेका छन्। सबै स्टेशनहरूमा रोकिन थाल्यो भने एक हप्ताजति लाग्ने छ मुम्बई पुग्न।

नयाँ दिल्लीबाट प्रस्थान गरेपछि रोकिने स्टेशनहरू जम्मा ७ वटा रहेका छन्। ती स्टेशन वा जक्सनहरूमाः उत्तर प्रदेशको मथुरा जक्सनमा दुई मिनेट, राजस्थानको कोटा जक्सनमा पाँच मिनेट।

त्यसैगरी मध्य प्रदेशको नाग्दा जक्सनमा दुई मिनेट, मध्यप्रदेशकै रात्लाम जक्सनमा तीन मिनेट, गुजरातको बडोदरा जक्सनमा सबैभन्दा बढी समय दश मिनेट, गुजरातकै सुरत स्टेशनमा पाँच मिनेट र महाराष्ट्रको बोरीभाली स्टेशनमा दुई मिनेट समेत गरी जम्मा २९ मिनेट रोकेर १५ घण्टा र पैंतीस मिनेटको यात्रा तय गरी मुम्बई सेण्ट्रल पुर्‍याउन छ मुम्बई सेण्ट्रल राजधानी ट्रेनले।

रेल चलिरहेको समयमा कताकता डर पनि लागेर आउँछ। रेलमा चोरीको धेरै सम्भावना रहेको कुरा सुन्दै आएको छु पहिलेदेखि नै। फेरि युरोपमा चल्ने संसारकै प्रसिद्ध ओरियण्ट एक्सप्रेस ट्रेन पेरिस-लुजियाना-मिलानो-ट्रियस्टी-जाग्रेव-सोफिया-इस्तानबुल चल्ने रेललाई विभिन्न लेखकहरूले आफ्ना लेखनमा अपराधिक परिवेशका लागि प्रयोग गरिएको उल्लेख गरेका छन् प्रसिद्ध नियात्राकार पाउल थोरोक्सले।

त्यसरी नै मद्रासबाट कोलकाता आउनका लागि हावडा मेलबाट यात्रा गर्ने समयमा एउटा ट्याक्सी ड्राइभरले सावधानी अपनाउनका लागि पाउल थोरोक्ससँग कुराकानी गरेको कुरा यसरी उल्लेख गरेका छन्-

‘यू ह्याव मनी ?’
‘आइ टोल्ड हिम आइ डिड।’
‘बी केयरफुल,’ हि सेड।
‘इण्डियन्स नो गुड। दे टेक फ्रम योर पकेट्स।’

यिनै कुराहरूबाट पनि अलिकति चिसिएको छु म। तर मसँग थोरै मात्र नगदी रहेको छ। क्रेडिट कार्ड भएकोले त्यत्ति घडबडाएको भने छुइनँ।

मेरो सामुन्नेको सिट अर्थात् बाह्र नम्बरको सिटमा सेतो कपडाको पट्टीले मुख छोपेर यात्रामा सहभागिता जनाइरहेका छन् एक भद्र पुरुष। उनीसँग परिचय भयो- मनोहर रहेछ उनको नाम र भारतीय नागरिक। मनोहर कुनै एक भारतीय एनजिओमा कार्यरत रहेको र साउथ अफ्रिकामा हुने सेमिनारमा सहभागी हुनका लागि जाँदै रहेछन् नयाँ दिल्लीबाट मुम्बई। उनको फ्लाइट मुम्बईबाट साउथ अफ्रिकाको प्रिटोरिया रहेको बताए। अनि मेरो सिटमाथि वा दश नम्बरको सिटमा (अमेरिकाको सिकागोबाट भारत घुम्न आएका) वाल्टन दाजुबहिनीमध्ये बहिनीको सिट रहेको छ भने दाइ वाल्टनको सिट भने मनोहरको माथिबाट रहेको छ। मुम्बई र गोवा घुम्नका लागि आएका रहेछन् वाल्टन दाजुबहिनी।

बेलुकीको छ बजेर पाँच मिनेटमा मथुरा जक्सन ल्याइपुर्‍याएको छ रेलले। मथुरामा दुई मिनेट रोकिन्छ रेल। नयाँ दिल्लीबाट प्रस्थान गरेपछि पहिलो पटक रोकियो रेल उत्तर प्रदेशको मथुरामा। धेरै यात्रुहरू ओर्लिए यहाँ। सायद धार्मिक तीर्थयात्रीहरू हुनुपर्छ भन्ने लाग्यो मलाई। खुट्टालाई एक्सरसाइज होस् र बाहिरको वातावरण बुझ्न  इच्छा लागेकोले उत्रिएँ एकैछिनका लागि। प्लेटफर्ममा बाक्लै यात्रुको उपस्थिति रहेको छ। रेलको लिकहरूका छेउछाउमा मान्छेका मलमूत्रहरू छरिएका छन्। दृश्यले चिमोट्यो मलाई। प्रसिद्ध धार्मिक क्षेत्रको गति देख्दा।

भीएस् नयपालले त्यतिकै लेखेका होइनन् नि- ‘इन मद्रास द बस स्टेशन नियर द हाइ कोर्ट इज वान अफ द मोर पपुलर ल्याट्रिन्स। द ट्राभलर्स एराइभ्स, टु पास द टाइम्स हि राइजेज हिज धोती, डिफेकेट्स इन द गुटर। द बस एराइभ्स, हि बोर्डस् इट, द ओमन स्वीपर क्लिन्स अप आफ्टर हिम।’

हुन त भारतको राजधानी सहरको मुटु एवं महत्वपूर्ण स्थान ओगटेका ठाउँ वा अझै स्पष्ट भन्ने नै हो भने नयाँ दिल्लीकै भीडभाड (किनमेल गर्ने होस् कि व्यापारको दृष्टिले वा पर्यटकीय हिसाबले) चौबीसै घण्टा भीडभाड रहने स्थान कनाटप्लेसको निकटमा रहेको वा बाराखम्बा रोडको शुरुवात हुने बिन्दुमा स्टेटम्यान्स हाउसको छेवैमा चौबीसै घण्टा पर्खाललाई साक्षी राखेर पिसाब गरिरहेका हुन्छन्। न कसैले वास्ता गर्छ न कसैले रोक्ने कोसिस गर्छ। जिउछाडाहरूका लागि कुनै औषधि छैन भन्ने कहावत मिल्छ यहाँका दृश्यहरूसँग। पिसाब गर्नेहरूमा पुरुषहरू नै देखिन्थे जहिले पनि। महिलाहरूले भित्तालाई साक्षी राखेर पिसाब फेरेको भने नयाँ दिल्ली बसुन्जेल कहिल्यै देखिन मैले।

मथुरामा पनि मलाई यस्तै खालका दृश्यहरूमा हराउन परेको छ। प्रतीक्षारत यात्रुहरूले भित्ताहरूमा पान थुकेका छन्। कोही खाइरहेछन्। कागजको कपमा चिया पिइरहेका छन्। लगेजलाई सिरानी बनाएर ढल्किएका छन्। फोहरहरू फालेका छन् यत्रतत्र। लिकका छेउमा घोष (ठूला आकारका मुसाहरू) दौडिरहेका देखिन्छन्। तर कुनै नौलो दृश्य देखेजस्तो पटक्कै लागेन मलाई। किनकि यस्तै वातावरण विद्यमान रहेको देख्दै आएको छु भीडभाड हुने भारतीय रेल्वे स्टेशनहरूमा।

बरु, अलिकति कौतुहल लागेको छ, कतातिर रहेको होला भगवान श्रीकृष्णको जन्मभूमि! श्रीकृष्णका मामा कंश कता खेलेर हुर्केका होलान् ? के कंश हुर्केको पाखापर्वत र समथरमा तीतेपाती घारी थियो कि काँढैकाँढा भएका वनस्पति कि अन्जानमै छुँदा पोलिहाल्न सिस्नो घारी। तर समयाभावले गर्दा थाहा पाए पनि पुग्न सक्ने स्थिति भने छैन अहिले।

रेलको समय हुनै लागेकोले आफ्नो बर्थतिर लागेँ म। दिउसोको खाजा बॉड्ने बेला भएको रहेछ अहिले। सिटमा बसेपछि प्याण्ट्री कार (भान्सा कोठा) बाट बर्थहरूमा खाना बॉड्दै आए- ‘पाउरोटी, टोमाटो सस, लालमोहन, समोसा, जम्प इन जुस, ग्लासमा पानी, अम्लेट र पेपर कप’ आदि प्राप्त भयो। रेलको यात्राले भोक पनि लागिरहेको छ। त्यसैले प्राप्त खानेकुराहरू कपाकप खाएँ मैले। मेरो सामुन्नेका मनोहर (मुखमा पट्टी बाँध्ने) ले खाजा वितरकहरूसँग अन्टसन्ट कुरा गरिरहेका छन्। ख्वै, मनोहरले खाए कि खाएनन् ? मैले वास्ता गरिनँ।

रेलको आफ्नै गति छ। दौडिरहेको छ। आनन्द लागिरहेको छ मलाई। रेलले नै दिन्छ खान। नयाँनयाँ दृश्यहरू देखाइरहन्छ। इच्छा लागुन्जेल हेर्यो नत्र चुपचाप सिटहरूमा चुपचाप बसिरहेका मान्छेहरूको गतिविधि हेर्‍यो। कोहीसँग आँखा जुध्छ मुसुक्क मुस्कुराइदियो। बोल्न इच्छा भए बोल्यो। नत्र चुपचाप खुट्टा तन्काएर ब्लांकेट ओढ्यो आँखा चिम्लियो।

रातको आठ बजेर पैतालीस मिनेटमा राजस्थानको कोटा स्टेशनमा आइपुगेछ रेल। पाँच मिनेट रोकियो रेल। रात भएकोले रेलमै बसिरहेँ म। मनोहर भने रेलबाट उत्रिए। केही चीज किन्नुपर्ने रहेछ। प्लाष्टिकको झोलामा सामान बोकेर उक्लिए। समय भएपछि रेलले विस्तारै स्वर केलाएर बढ्न थाल्यो अगाडि।

पैण्ट्री कारका मान्छेहरू सल्बलाए। बेलुकीको डिनरको समय भएछ। सिटअगाडि एउटा प्याकेट छोडेर गए। प्याकेटमा भात, दाल, चिकन, सब्जी, दुइटा रोटी, एउटा कपमा दही, एउटा कपमा भेनेला आइसक्रिम रहेछ। प्याकेटमा रहेका खानाहरू खोलेर हेरेँ। एक प्रकार मावली वा ससुरालीको मेजमानजस्तै लाग्यो मलाई रेलको डिनर। यही त हो नि मेवा मिष्ठान्न भनेको। खुब स्वाद मान्दै खाएँ रेलको डिनर।

बाह्र नम्बरको सिटमा विराजमान मनोहरले भने पेण्ट्री कारका सर्भरसँग सवाल-जवाफ गर्न लागे। उनी भन्दै छन्-

‘मैले टिकट बुक गराउँदा स्पष्ट भनेको थिएँ- धर्ममा जैन र भेजेटेरियन। तर खाना त जैन फुड आएन नि ?’
‘टिकट रिजर्भ गराउँदा लेखाएको अनुसार नै रहेको छ।’ पैण्ट्री कारको मान्छेले ओठे जवाफ दिए।
‘यहाँ आलुको परिकार पनि समावेश छ नि !’ पाकेटको खाना खोल्दै भने मनोहरले।
‘ठीकै छ। पैण्ट्रीमा गएर बुझी डिनर ल्याइदिन्छु।’ पैण्ट्रीवालाले पाकेट फिर्ता लिँदै भने।

मनोहर र पैण्ट्रीकारवालाको सवाल-जवाफ अचम्म लाग्यो मलाई। अनि मनोहरलाई विनयपूर्वक सोधेँ- ‘कस्तो हुन्छ नि जैन फुड ?’

‘जैन धर्मको मूलमन्त्र भन्नु नै अहिंसा र करुणा हो। यसमा श्वेताम्बर पन्थ र दिगम्बर गरी दुई शाखा हुन्छन्। दिगम्बरपन्थीको धर्मगुरु निर्वस्त्र हुने र महिलाहरूले सेतो साडी धारण गर्ने गर्छन्। अणुव्रतमार्गी सन्न्यासीहरूले सभा प्रवचनको आयोजना गर्ने गर्दछन्। पुनर्जन्ममा विश्वास गर्ने जैनीहरू पानीलाई पनि छानेर पिउने, मूर्तिपूजामा विश्वास नगर्ने र जातिप्रथालाई पनि नमान्ने हुन्छौँ। जीव आदिको अकाल मृत्युवहन गर्न नपरोस् भनेर मुखमा कपडाले छोप्ने गर्दछौँ। पृथ्वी, जल, अग्नि, वायु, वनस्पतिजस्ता ऐकेन्द्रीय जीवमाथिको हिंसालाई जीव हिंसा मानिने भएकोले जैन धर्ममा निषेध गरिएको छ। त्यसैले जमिनमुनि फलेका फलादिहरू जैनीहरूले उपभोग गर्न वर्जित छ। त्यसैगरी हरेक जीवले जिउन चाहन्छ। मर्न कुनै पनि जीवले चाहँदैन। तसर्थ प्राणीवधलाई त्याग्नु नै उत्तम धर्म हुनुका साथै अरूलाई पुर्याइने क्षति, कटुवचन, निन्दा, असत्य वचन, झुटो भाषण आदि पनि हिंसाकै अंगहरू हुनाले ती सबैको त्याग नै उत्तम धर्म मानिन्छ।’ एक प्रकारले जैन धर्मसम्बन्धी लामै प्रवचन दिए मनोहरले।

रेलको डिनर पश्चात् साथमा रहेको केही नेपाली साहित्यिक पत्रिका र हिन्दुस्तान टाइम्स पत्रिकाका केही लेख तथा समाचारहरू पढ्ने काम गर्दै अ‘ध्यारो र सुनसानलाई नियालें झ्यालबाट।

यसबेला राजस्थान स्टेट नाघेर महाराष्ट्रको भूमिमा दौडिन थालेछ रेल। रेलमा बसेको बेला एउटा सानो रेल्वे प्लेटफर्म देखियो र टाँगिएको साइनबोर्डलाई नियालेर थपक्क सारेँ नोट कपीमा- धौन्खेरी स्टेशन मध्य प्रदेश।

यो साइनबोर्डले निकै आशा जगायो। जानुपर्ने वा पुग्नुपर्ने स्थान निकै नजिकिएको अनुभव भयो मलाई। सायद आधा बाटो भयो होला कि अनुमान गरेँ मनमनै। रेलका बर्थहरू एकप्रकार सुनसान र अँध्यारो छ। यात्रुहरू बेलुकीको खान टन्न खाएर लम्पसार परेका छन् आआफ्ना सिटकम बेडमा। सननसनन गरेको आवाज मात्र गुञ्जिन्छ कानमा। रेलको गतिसँग हावाको घर्षण भएको आवाज होला भन्ने लाग्यो मलाई।

मध्यरात्रिमा नाग्डा जक्सन मध्य प्रदेशमा रोकियो रेल। दुई मिनेट रोकिने रहेछ। प्लेटफर्ममा चहलपहल छ। कतिपय यात्रुहरू आँखा मिच्दै उत्रिए र कतिपय यात्रुहरू बोर्डिङ भए। रेलबाट उत्रिनुपर्ने कुनै काम छैन। त्यसैले चुपचाप रमिता मात्र हेरेर बसिरहेँ म। नाग्डा जक्सनको रोकिने समय समाप्त भएपछि हुँइकिएर अगाडि बढ्न थाल्यो रेल। मध्यरातको यात्रामा सुनसान र अँध्यारो बाहेक केही देख्न सकिँदैन। हेर्नलायक कति दृश्यहरू अँध्यारोमा नै बिलाए। टिप्न पर्ने दृश्यहरू अँध्यारोमा नै लुकेर बसे।

कतिपय साना स्टेशनहरूले रमिता हेरेर पठाए हामीलाई। अँध्यारोमा नै बिदाइको हात हल्लाएँ मैले पनि। बिजुली बल्बमा रमाइरहेका छन् स्टेशनहरू। रेलको धर्म र कर्म नै अगाडि बढ्ने हो र बढिरहेको छ एकनासले। अर्को रोकिनुपर्ने जक्सनमा आइपुग्न लागेको आभास मिलिरहेको छ।

मध्यप्रदेशकै रात्लाम जक्सनमा पुर्‍याएर रोकियो फेरि रेल। अन्धाधुन्धको यात्रामा कुन स्थान कहाँ पर्छ र कुन स्थानमा यात्रारत छौँ केही अत्तोपत्तो हुँदैन। यत्तिचाहिँ पक्का हो कि रेलले गन्तव्यतिर नै डोर्याइरहेको छ। वास्तवमा भविष्यको जिन्दगीजस्तै लागिरहेको छ अँध्यारोको रेलको यात्रा। सर्वत्र अ‘ध्यारो देखिएजस्तै त हुन्छ नि भोलिहरूका जिन्दगीका यात्रा। कहाँ पुगिने हो र कसरी पुगिने हो ? त्यसको जवाफ देखिइरहेको अन्धकारजस्तै त हुन्छ नि !

मध्य प्रदेशको यात्रा सानो रेल्वे स्टेशन महारगढ पार गरेर शुरु भयो गुजरात स्टेट। यसै समयमा अनास स्टेशनको बोर्ड अँध्यारोमा झुण्डिरहेको देखेँ मैले।

रेलकै यात्राको क्रममा घडीले गते फेरेको देखायो। अनि बार पनि।

अर्थात् जुलाई १२ र आइतबार तद्नुसार असार २८, २०६६।

बिहानको चार बजेर बीस मिनेट जाँदा पुग्यौँ बडोदरा रेल्वे जक्सनमा। अर्धनिद्रित अवस्थामा नै छ बडोदरा। बिजुलीको प्रकाशमा ढकमक्क फुलेको फुलजस्तै देखिन्छ परपरसम्म। सबैभन्दा बढी समय रोकिने जक्सन रहेछ बडोदरा। कुँजिएका खुट्टाहरू तन्काउन अरू यात्रीहरूसँगै उत्रिएँ म पनि। पहिलो पटक आइपुगेकोले अनभिज्ञ नै छु म। कुन चीज कता पाइन्छ र कुन स्थान कता पर्छ भन्ने कुराको हेक्का हुने कुरै भएन मलाई ! स्थान र चीजहरू सबै नयाँ लागे। तैपनि अनौठो तरीकाको खुशीले पुरिएँ म। बडोदरा पुगिस् भन्दा पुगेको थिएँ भन्ने जवाफ दिन सक्षम भएँ। त्यसभन्दा अरू प्रश्नको जवाफ दिने हिम्मत नहुने भो मसँग। रमाइलो लाग्यो मलाई। एकैछिन खुला प्लेटफर्ममा यताउता चहारेर रेलभित्र नै भित्रिएँ।

बिहानको चिसो हावाको सिरेटो खप्न परेन। किनकि रेलको डब्बामा छु म। साढे पाँच बजे भरुच स्टेशन नजिकै पुगेका छौँ। एकजना पाका उमेरका यात्रीले नर्मदा…नर्मदा भन्दै रेलको ढोकातिर जान लागे। के रहेछ भनी म पनि उनकै पछिपछि लागेँ। पुल शुरु भएपछि पत्ता पाए नर्मदा नदी माथिको यात्रामा रहेछौँ। विशाल नर्मदा नदीको पुल तरिरहँदा ती पाका यात्रीले प्लाष्टिकका थैलाबाट चामल, फूल र रेच्की पैसा निकालेर नदीमा फ्याँके। यो एउटा विश्वासको चलन हो। चामल आदि अन्न नदीलाई जीवनदायिनी मान्ने जीवहरूले खान्छन्। रेच्की पैसा नदीमा समाहित हुन्छ र फूलका केस्राहरू बग्दै समुद्रसम्म पुग्छन्। यसबाट दान पनि भयो, धर्म पनि भयो र आफूले जानीनजानी गरेका पापलाई समुद्रसम्म पुर्‍याएर धोइदिन्छ भन्ने नै हो।

यस्तो विश्वास नेपालमा पनि छ। म आफैं पनि अरूण नदी, माइखोला आदि तर्दा रेच्की पैसा र साथमा भए चामल आदि नदीको पानीमा फाल्ने गर्छु। त्यही कुराको सम्झना गराइदिए आजका पाका यात्रुले। मसँग चामल र रेच्की पैसा नहुनाले नर्मदा नदीलाई चढाउन पाइनँ। अलिक खल्लोखल्लो अनुभूति भयो मलाई।

राम्रै किसिमले उज्यालो ओर्लिसकेको छ गुजरातको भूमिमा। बिहानको सवा छ भएछ। सुरत स्टेशनमा आइपुगेर रोकियो मुम्बई सेन्ट्रल राजधानी एक्स्प्रेस रेल। यहाँ विशाल सामुद्रिक बन्दरगाह रहेको कुरा पढेको थिएँ। तर बन्दरगाह हेर्न जाने समय छैन। त्यसरी नै डाइमण्ड कटिङ र पोलिसिङको ठूला उद्योगहरू रहेका छन्।

यिनीहरूको साथसाथै टेक्स्टायल तथा रेशमका नाम चलेका उद्योगहरू पनि रहेका छन्। अझ त्योभन्दा पनि महत्वपूर्ण महात्मा गान्धीको जन्मभूमि समेत गुजरात नै हो। यी सबै कुराको जानकारी र हेक्का हुँदाहुँदै पनि निरन्तर यात्रामा रहनुपर्ने विवशताले बाँधिएको छु म। त्यसैले ती सबै स्थानहरूमा घुम्न र देख्न असमर्थ छु अहिले। चुपचाप झ्यालबाट सम्भव भएसम्म सुरत सहरका छेउकुनालाई नियाल्ने चेष्टा गरेँ। नहुनु मामाभन्दा त कानो मामा भएको जाती भनेजस्तै भयो मलाई।

रेलको पैण्ट्री कारका सर्भरले गुजरात वैभव (हिन्दी) र द सण्डे एक्स्प्रेस (अंग्रेजी) भाषाको पत्रिका दिएर गए। त्यसको लगत्तै टी व्याग (चिया रहेको सानो पाकेट), चिनीको पाकेट, दूधको सानो प्लाष्टिक कप, तातो पानी रहेको भाँडा र म्यारी नामधारी बिस्कुट ल्याएर दिए। बिहानीको चिया समय भएको रहेछ यसबेला। सरजाम सबै अगाडि आएकोले चिया बनाएर बिस्कुटसँग खाएँ। केही यात्रुहरू ब्युँझेका छैनन्। र के भइरहेछ रेलमा अत्तोपत्तो छैन यात्रीहरूलाई। सुतेकालाई ब्युँझाएर दिने चलन भने रहेनछ।
रातभरिको रेल यात्रामा झकाउँदै, उङ्दै र अर्धनिद्रित अवस्थामा यात्रारत रहेकोले बिहानको उज्यालो जमिनभरि खनिए पनि बेग्लै किसिमको बिहानी देखेजस्तै भइरहेछ मलाई। सेतो र चमकदार बिहानी हुनुपर्नेमा अलिकति मधुरोमधुरो र पहेँलिएकोजस्तै दृश्यहरू देखिरहेको छु मैले। तैपनि आँखाले नझुक्याएसम्मका रेल्वे स्टेशनहरूका नाम नोटकपीमा उतार्ने काम भने जारी नै राखेको छु।

यस्तैमा एउटा सानो टुहुरोजस्तै स्टेशन देखा पर्यो गुजरातकै उमरगाम रोड स्टेशन रहेछ। यसको केही क्षणमा खुला स्थानमा टाँगिएको बोर्ड पनि देखियो महाराष्ट्रको बोर्डी रोड स्टेशन। यी साना स्टेशनहरूमा नरोकिने भएकोले रेलको गतीमा कमी आएको छैन।

बिहानी पनि जवानी हुँदै गएको छ। रेलको भित्रबाट नियालिरहेको छु। सडकहरूमा फुटपाथमा हिँड्नेहरू र सडक बीचमा चल्ने यातायातका साधानहरूले बाक्लै उपस्थिति देखाइरहेका छन्। आआफ्ना गन्तव्यका लागि पाइलाले जमिन नाप्नेहरू हतारमा छन्। यातायातका साधनका सहयोग लिएर यात्रा गर्नेहरू पनि हतारमा नै छन्। अरूको हतारलाई आरामले बसेर हेरिरहेको छु रेलबाट।

साढे नौ बजेछ अहिले। रेलले पनि विश्राम लिएको छ र आरामले स्टेशनको नाम नोटबुकमा सारेँ वोरीभाली स्टेशन मुम्बई महाराष्ट्र। मुम्बई क्षेत्रमा प्रवेश भएकोेमा अत्यन्तै खुशी लाग्यो मलाई।

भारतीय नागरिकहरूको सपनाको सहर हो मुम्बई। आर्थिक राजधानी हो भारतको। मनोरञ्जनको केन्द्र हो मुम्बई। धेरैको सुख र खुशीको मुहान हो मुम्बई। बलिउडको नामले विश्वकै मानचित्रमा प्रसिद्धिको शिखरमा रहेको स्थानको नाम हो मुम्बई। त्यस्तो स्थानमा आइपुग्दा खुशी नै खुशीले पुरिएको छु म पनि। मानौं जोडले बतास चलिरहेको बालुवाको ढिस्को मुन्तिर मस्तले सुतिरहेको छुजस्तो। बतासले खुशीका कणहरूलाई बालुवाको ढिस्कारूपमा दिएर सोही बालुवाका सानासाना कणहरूलाई मायाले उडाएर ल्याई मलाई एकदम कतै पीडा नहुने गरी पुरिरहेजस्तो। यस्तो खुशी बटुल्न संयोगले नै आइपुगेको छु म मुम्बईमा।

यसै बीचमा रेस्क्यू फाउण्डेशनमा कार्यरत चालक गौतम शर्माले फोन गर्नुभयो मलाई। अनि उनलाई वोरीभाली स्टेशन छोडी सकेको र मुम्बई सेण्ट्रलमा दश बजे पुग्ने खबर गरेँ। त्यही अनुसार मुम्बई सेण्ट्रलमा पुगी पर्खेर बस्नका लागि अनुरोध गर्नुभयो गौतमजीले।

वोरीभाली स्टेशनमा दुई मिनेट विश्राम लिएर अगाडि बढ्यो रेल मुम्बई सेण्ट्रललाई ताकेर। आफ्नो पनि अन्तिम गन्तव्य मुम्बई सेण्ट्रल भएकोले त्यसैमा ल्याप्चे लगाई रेलमै बसिरहेँ म। किनकि मुम्बई आउने कार्यक्रम बनेपछि इण्डियन सेण्ट्रल एड्भाइजरी कमिटीकी सदस्य तथा मेम्बर अफ स्टेट एड्भाइजरी कमिटी फर इम्मोरल ट्राफिक प्रिभेन्शन अफ द गभर्नमेन्ट अफ महाराष्ट्र एवं रेस्क्यू फाउण्डेशनकी अध्यक्ष श्रीमती त्रिवेणी आचार्यसँग सम्पर्क गरी इकोनमिक एफोर्डेबल होटलमा बुक गरी दिन अनुरोध गरेको थिएँ। त्यसैले रेस्क्यू फाउन्डेसनकी अध्यक्षले सुझाए अनुसार मुम्बई सेण्ट्रलमा पुग्नुपर्ने छ मैले। त्यहाँबाट होटलसम्म पुर्याउने कामको जिम्मा त्रिवेणीजीले मेरो हो भनी भन्नुभएकोले निरन्तर यात्रामा रहेको छु म।

यसै बीचमा रेस्क्यू फाउण्डेशनमा कार्यरत चालक गौतम शर्माले फोन गर्नुभयो मलाई। अनि उनलाई वोरीभाली स्टेशन छोडी सकेको र मुम्बई सेण्ट्रलमा दश बजे पुग्ने खबर गरेँ। त्यही अनुसार मुम्बई सेण्ट्रलमा पुगी पर्खेर बस्नका लागि अनुरोध गर्नुभयो गौतमजीले।

सवा दश बजे बिहान पुर्‍यो मुम्बई सेण्ट्रल राजधानी एक्स्प्रेस रेलले। लथालिंग हुने किसिमले छोडिदियो हामी सबै यात्रुलाई। एक प्रकार दिशाहीन अवस्थामा। यात्रुहरू रेलबाट उत्रिएर कोही दायाँ लागे। कोही बायाँतिर। एक प्रकार पिँजडाबाट छोडिएका पन्छीझैं लाग्यो रेलका यात्रुहरूको स्थितिलाई विचार गर्दा। मचाहिँ आफ्नो लगेजलाई अगाडि राखेर कुरिरहेको छु, कहिल्यै भेट नभएका, औपचारिक चिनजान नभएका मुम्बईवासी गौतम शर्मालाई। विश्वास छ मलाई गौतम शर्मा मेरै नजिक आउनेछन्। मेरा लगेज र मलाई सुरक्षितपूर्वक त्रिवेणी आचार्यजीले बुक गरेको होटलसम्म पुर्‍याउनेछन्।

प्रतीक्षाको क्रममा, मलाई लागिरहेको छ मुम्बईको यो रेल्वे जक्सनको मुहार कस्तो थियो होला नोभेम्वर २६, २००८ भन्दा अगाडिका दिनहरूमा। सायद निकै चहलपहल र झकिझकाउ हुन्थ्यो होला। आतंकले लगाइदिएको घाउ अझै सुकिसकेको छैन। त्यसैले अलिक निन्याउरो, त्रसितत्रसित, केही नपुगेकोजस्तो भएको आभास गरिरहेको छु। जे भए पनि मुम्बई नदीको एउटा किनारा हो भने म अर्को किनाराबाट आइपुगेको छु। एउटा यात्रा लेखकका लागि यो जरुरी र रुचिको विषय पनि हो। तर अन्य चाख र विचार राख्नुहुनेका लागि मेरो सोचाइ र विचारसँग मेल नखान पनि सक्छ। यसमा उहाँहरू स्वतन्त्र हुनुहुन्छ। जसरी साढे पन्द्र घण्टा सँगसँगै यात्रा गरेर आएका यात्रुहरूले मलाई रेल्वे जक्सनमा छोडी आआफ्नो बाटो समाइसकेका छन्। मभने गौतम शर्माको आगमनको प्रतीक्षामा झुण्डिरहेको छु थुप्रै मान्छेहरूको भीडमा एक्लै भएको अनुभूतिमा हराएर…।


Comment

One thought on “रेलमा हुइँकिँदै स्वप्न नगरी मुम्बईतिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved