युवा छँदा

जापानी सिनेनिर्देशक अकिरा कुरोसावा

‘रोशोमान’ धेरै अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाउने फिल्ममा पर्दछ। सन् १९५१ को भेनिस फिल्म महोत्सवमा यो फिल्मले सर्वोच्च सम्मान पायो भने अस्कर अवार्डमा यो फिल्मले ‘उत्कृष्ट विदेशी फिल्म’ शीर्षकमा अस्कर पायो।

नेपालभ्युज

जापानी सिनेनिर्देशक अकिरा कुरोसावा

‘मेरा लागि फिल्म निर्माण गर्नुको अर्थ आफ्ना बाँकी सम्पूर्ण अधुरो कडीलाई जोड्नु हो। त्यही कारण मैले आफ्नो जिन्दगी नै फिल्मको नाममा समर्पण गरिदिएको छु। फिल्ममा पेन्टिङ, साहित्य, रङ्गमञ्च र संगीत सँगसँगै आउँछन् तर फिल्म एक फिल्म नै हो।’

उन्नाइसौं शताब्दीका महान् जापानी सिने निर्देशक अकिरा कुरोसावाले भनेजस्तै, उनले आफ्नो जीवनलाई सिनेमाकै नाममा अर्पण गरे, बाँचुन्जेलसम्म। कुरोसावाको गणना विश्वका त्यस्ता प्रख्यात सिनेकर्मीहरूको लहरमा आउँछन्, जसले शैशवावस्थाको विश्व सिनेमालाई नयाँ र परिभाषित रूपले अगाडि बढाउन सघाउ पुर्‍याए। एउटा गति र गन्तव्यसमेत दिए। विश्व सिनेमामा कहलिएका नामहरू क्रमशः ज्यां लुक गोदार (फ्रान्स), आन्द्रेई तारकोब्स्की (रुस), सत्यजीत रे (भारत), फेलिनी (इटाली) जस्ता प्रसिद्ध सिने निर्माताहरू जत्तिकै उचाइ उनले बनाए।

सन् १९१० मा जापानमा जन्मिएका कुरोसावा सिने क्षेत्रमा पाइला राख्नुअघि चित्रकलातिर झुकाव राख्थे। केही वर्षसम्मै चित्रकलामा राम्ररी भिजे पनि। तर, आफ्नै दाजु हिगोको सिनेमाप्रति अभिरुचि र सघन संलग्नता बढेको थाहा पाएपछि उनले सिने क्षेत्रलाई नै रोज्न पुगे र जापानको समुराई समुदायमा जन्मिएका कुरोसावाले युवावस्थामै सिने क्षेत्रमा नाम कमाइसकेका थिए। र, जीवनको आखिरी कालखण्डसम्म त उनले विश्व सिने जगत्मा नपत्याउँदो चुली नापिसकेका थिए, अथाह प्रसिद्धि बटुलिसकेका थिए।

सन् १९२९ अघि जापानमा मुक सिनेमाको जमाना थियो। कुरोसावाका दाजु हिगोले मुक सिनेमाहरूमा काम गर्थे। जब मुक सिनेमाको ठाउँ ध्वनि सिनेमाले लिन थाल्यो, मुक सिनेमामा काम गर्ने सिनेकर्मीहरूले बेरोजगारीको भारी थेग्नुपर्ने भयो। मुक सिनेमाका काम गर्ने सयौं कर्मीहरू बेरोजगार हुन थालेपछि हिगोले कलाकारहरूलाई बटुलेर हड्ताल गर्न थाले। दिनानुदिन तनाव झेल्न बाध्य हिगोले १९२९ मा आत्महत्या गरे। त्यसको चार महिनापछि कुरोसावाका अर्का दाजु बिमारीका कारण बिते। दाजुहरूसँग कुरोसावाको सम्बन्ध त सन् १९२३ मा जापानमा ठूलो भूकम्प जाँदा र त्यसबाट करिब डेढ लाख मानिस मर्दादेखि नै झाँगिएको थियो। तर पछिल्लो समय परिवारका तीन दाजुभाइमध्ये दुई दाजुको देहान्तपछि उनी परिवारका एक्ला छोरा भए। र, एकपछि अर्को पारिवारिक दुर्घटना झेल्नु परेपछि बेचैनीका दिनहरू गुजार्न बाध्य भए।

सन् १९३६ को त्यो दिन। जुन दिनले उनको जिन्दगीको पानालाई अर्कै ढंगले पल्टाइदियो। त्यो थियो- सिने क्षेत्रमा उनको पदार्पण। त्यतिबेला उनी २६ वर्षका युवा थिए र उनीभित्र चित्रकारिताप्रतिको समर्पणभाव बिस्तारै कम हुँदै गएको समय पनि थियो।

एउटा पत्रिकामा उनले विज्ञापन देखे, जसमा फोटो केमिकल ल्याब नामक एक चलचित्र कम्पनीका प्रख्यात जापानी निर्देशक काजिरो यामामोतोले सहायकको खोजी गरेको विज्ञापन थियो। उनले यस्तो सहायकको खोजी गरेका थिए, जसलाई राम्रो पटकथा लेख्न आओस् र पेन्टिङको पनि ज्ञान भएको होस्। केही हदसम्म पेन्टिङमा त दख्खल थियो, कुरोसावाको। तर पटकथामा भने उनको पर्याप्त ज्ञान थिए। उनले निवेदन पठाए। निवेदन सम्प्रेषण गरेको केही अवधिपछि उनी छानिए र बने- यामामोतोका तेस्रा सहायक।

करिब पाँच वर्षसम्म यामामोतोसँग उनले काम गरे। कठिन मिहिनेत र परिश्रमका कारण उनले फिल्मको सामान्य गणित जाने। हुन त कुरोसावाको फिल्मप्रतिको लगाव त दाजु हिगोले पहिले नै जगाइदिएका थिए, हिगोले उनलाई आफूसँगै फिल्म देखाउन लैजान्थे। कुरोसावाले आत्मकथा ‘समथिङ लाइक एन अटोबायोग्राफी’ मा लेखेका छन्, ‘मलाई याद छ, एक दिन जब हामी दुवै अबेल गाँसेको फिल्म ला राउ हेरेर फर्किएका थियौं, त्यतिबेला मेरो दिमागमा एउटै विचार उब्जिरहेको थियो, फिल्म निर्देशक बन्ने।’

कुरोसावाको मिहिनेत र लगन देखेर निर्देशक यामामोतोले उनलाई चिफ असिस्टेन्ट बनाए। त्यसको केही समयपछि नै उनलाई कम्पनीको द्वितीय डायरेक्टर पनि बनाइयो। त्यो यस्तो समय थियो, जतिबेला फिल्म निर्माणका लागि सबैजसो सामग्रीहरू युरोप र अमेरिकाबाट आयात गर्नु पर्दथ्यो। उनले बँचेको समयमा फिल्म निर्माणको प्राविधिक पक्ष पनि सिक्न थाले।

‘अ जर्मन एट द दारुमा टेम्पल’- कुरोसावाको पहिलो स्क्रिन प्ले थियो र निर्माण भएको थियो, सन् १९४१ मा। पहिलो स्क्रिन प्ले सार्वजनिक भएसँगै उनमा आत्मविश्वास बढ्दै गयो। त्यो बेलासम्म सिनेमाप्रति आमजनतामा अभिरुचि व्यापक हुँदै गइरहेको थियो र नयाँ नयाँ प्रविधिको विकासले सिनेमा निर्माणप्रति सिनेकर्मीहरूको लगाव पनि बढ्दै थियो।

सन् १९४३ मा कुरोसावाद्वारा निर्देशित ‘सुगाता सांशिरो’ प्रदर्शन भयो। यो मार्सल आर्टसम्बन्धी सिनेमा थियो, जसमा दुई युवा घाँसे मैदानमा भिडेका दृश्य थिए। यो परम्परागत जापानी आत्मरक्षा कलामा आधारित सिनेमा थियो। यो सिनेमा निर्माणपछि कुरोसावाको कामको सर्वत्र प्रशंसा हुन थाल्यो। पछि त यही फिल्मको दृश्यलाई बिस्तार गर्ने क्रममा क्राउचिङ टाइगर, हिडन ड्रयागनजस्ता सिनेमा बने।

दोस्रो विश्वयुद्धले जापानलाई तहसनहस तुल्यायो। अमेरिकाले जापानका दुई सहर हिरोसिमा र नागासाकीमा बम बर्साएपछि लाखौं मानिसले मृत्युवरण गरे। युद्धको गहिरो पीडा झेलिरहेको जापानी नागरिकहरू पुनः उठ्न खोज्दै गरेको बेला थियो, त्यो। सन् १९५० मा भने कुरोसावाले एउटा प्रभावशाली फिल्म बनाए- ‘रोशोमान’। यो फिल्म जापानी सिने जगत्मा ‘मिलको पत्थर’ सावित भयो। र, यही फिल्मबाट नै कुरोसावाले अन्तर्राष्ट्रिय ख्यातिसमेत पाए। भनिन्छ, दोस्रो विश्वयुद्धको अकथनीय पीडाबीच बाँचिरहेका जापानी समाज र नागरिकलाई यो फिल्मले मल्हम लगाउने काम गर्‍यो।

यो फिल्म चार जना साक्षीको बयानमा आधारित छ। एक पटक जंगलमा एक जना व्यक्तिको हत्या हुन्छ। त्यो हत्यालाई चार जना व्यक्तिले देखेका हुन्छन्। त्यसमा एकजना दाउरे, अर्को डाकु (हत्यारा), तेस्रो मृतकको पत्नी र चौथो मृतकको भूत। तर, चारै जनाले फरक-फरक बयान दिन्छन्।

‘रोशोमान’ धेरै अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाउने फिल्ममा पर्दछ। सन् १९५१ को भेनिस फिल्म महोत्सवमा यो फिल्मले सर्वोच्च सम्मान पायो भने अस्कर अवार्डमा यो फिल्मले ‘उत्कृष्ट विदेशी फिल्म’ शीर्षकमा अस्कर पायो।

रोशोमानले अन्तर्राष्ट्रिय रूपमै चर्चा बटुलिरहेकै बेला सन् १९५४ मा कुरोसावाले अर्को शक्तिशाली सिनेमा बनाए- ‘सेवन समुराई’। यो फिल्ममा डाकुहरूबाट उजाडिएको एउटा गाउँको कथा छ। डाकुहरूबाट त्रसित गाउँका बासिन्दाले सात ओटा नाकारा समुराईका योद्धाहरूको मद्दत लिन्छन्, जसका अधिकांश समय एकापसमा जुधेरै बित्दथ्यो। यो फिल्मले पनि विश्व सिने जगत्मा निकै उच्च चर्चा र सम्मान पायो।

अचेल फिल्ममा ‘प्रभाव’ र ‘रिमेक’ धेरै हुन थालेका छन्। कुनै चलचित्रको ‘रिमेक’ गर्नुलाई सामान्य नै मानिन्छ। कुरोसावा त्यस्ता निर्देशक सावित भए, उनका फिल्महरू युरोप र अमेरिकाका अधिकांश फिल्म निर्देशकहरूले कि त ‘रिमेक’ गरेका छन्, कि त परेका छन् अत्यधिक प्रभावमा। किनकि, विश्व सिने जगत्मा कुरोसावा थिए- ‘एक परिपक्व र पूर्ण फिल्म निर्देशक।’

‘सेवन समुराई’ बाट प्रेरित भएर हलिउड फिल्म ‘मेग्निफिसेन्ट सेवन’ बन्यो भने भारतका सन् सत्तरीको दशकमा चर्चित ‘शोले’ ले पनि यही फिल्मकै प्रभाव ग्रहण गरेको थियो।

हुन पनि, कुरोसावाले विश्व सिने जगत्मा जुन उचाइ बनाए, त्यसमा उनको अथक मिहिनेतले नै काम गरेको थियो। उनी यति मिहिनेत गर्दथे कि, दिनमा कुनै फिल्मको सुटिङ भएपछि रातको समयमा त्यो फिल्मको एडिट र रि-एडिट गर्दथे। फिल्मको सबै सुटिङ सिद्धिने बेला फिल्मको प्रारम्भिक स्वरूप आइसक्थ्यो।

युवाकालमा अनेक संघर्षहरू झेल्दै फिल्म निर्देशनमा उत्रिएका कुरोसावाले जति फिल्म बनाए, ती सबै अन्तर्राष्ट्रिय रूपमा चर्चा र सम्मान बटुल्न सफल भए। उनले भनेका पनि छन्, ‘एउटा राम्रो स्क्रिप्टका साथ, एक जना राम्रा निर्देशक एक मास्टरपिस बन्न सक्छन्। त्यही कथावस्तुका साथ एक सामान्य दर्जाका निर्देशक एक कामचलाउ फिल्म निर्माण गर्न सक्छन् तर एक राम्रा निर्देशकले एक खराब पटकथामा राम्रो फिल्म बनाउन सक्दैनन्। अन्तिम सत्य के हो भने, सिनेमा अभिव्यक्तिका लागि क्यामरा एक मात्र हतियार हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved