बन्ने भयो बागमती नदीमाथि पुल, डुंगा चढ्नुपर्ने बाध्यता अन्त्य !

बन्ने भयो बागमती नदीमाथि पुल, डुंगा चढ्नुपर्ने बाध्यता अन्त्य !
फाइल तस्वीर

सर्लाही। सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुशी भएका छन्। लामो समयदेखि अलपत्र पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेको छ।

३१ जेठ २०६७मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास भएको बडहर्वा नजिकैको बाग्मती नदीको पुलको निर्माण हुँदाहुँदै ठेकेदार कम्पनीले छोडेको थियो। ११ वर्षदेखि अलपत्र पुल निर्माणका लागि हुलाकी राजमार्ग आयोजनाद्वारा हालै पुरानो रद्द गरी नयाँ बोलपत्र आह्वान गरिएको छ। बोलपत्र आह्वान भएपछि पुल निर्माण हुने आशा सर्लाही र रौतहटबासीमा पुनः पलाएको छ।

पुरानो ठेक्का सम्झौता रद्द गरी करिब ८० करोड रुपैयाँ लागतमा नयाँ ठेक्का आह्वान गरिएको आयोजनाका निर्देशक धर्मेन्द झाले जानकारी दिए। “लामो समयदेखि अलपत्र परेको निर्माण कार्यका कारण त्यस क्षेत्रको लाइफलाइन नै अस्तव्यस्त बनेको थियो । वर्षात्को समयमा स्थानीयवासीलाई आवतजावतमा निकै सास्ती भएको थियो”, उनले भने, “यसअघि सम्झौता भएको निर्माण कम्पनीसँगको ठेक्का रद्द गरिसकिएको र अब नयाँ ठेक्का लागेपछि समयमै काम सम्पन्न हुनेमा आयोजना विश्वस्त छ।”

आयोनाका अनुसार तराई-मधेसका जिल्ला सदरमुकामलाई जोड्ने महत्वाकांक्षी परियोजना हुलाकी राजमार्गअन्तर्गत दुर्गा भगवती गाउँपालिका-५ बडहर्वास्थित बागमती नदीमा निर्माण हुँदै गरेको उक्त पुलको ६० प्रतिशत मात्रै काम सकिएको छ । यसअघि ठेक्का लिएको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले पुलको पिलर मात्र बनाएर त्यतिकै छाडेको थियो । ३५ करोड ८९ लाख नौ हजार चार सय ३३ रुपैयाँमा ठेक्का सकारेको लुम्बिनीले ३० जेठ २०७० मा निर्माण सक्ने गरी ३१ जेठ २०६७ मा सम्झौता गरेको थियो । ६ सय ३३ मिटर लामो पुलमा १७ स्पान बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर सबै स्पान ठडिएपछि बाँकी काम अलपत्र परेको थियो।

लुम्बिनी बिल्डर्स प्रालिले ठेक्का सकारे पनि सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनलाई दिएको थियो । निर्माणकै क्रममा नदीले धार बदलेपछि पप्पुले पनि २०७० सालमै काम बन्द गरेको हो ।

साबिकको स्थानभन्दा पूर्वबाट नदी बग्न थालेपछि पुलको औचित्य नहुने भन्दै तत्काल काम रोकिएको थियो । त्यसपछि निर्माण कम्पनीले डिजाइन गलत भएको भन्दै एकतर्फी रूपमा ठेक्का रद्द गरेको पत्र पठायो ।

पुल बन्न लागेको भन्दा करिब ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि हुलाकी सडक आयोजनाले पनि निर्माणको काम रोकेको थियो । पुलको प्राविधिक डिजाइन परिवर्तन गरेर स्पान थप्ने, नदी नियन्त्रणको काम, पुलको अप्रोच सडक बनाउने, बिम ढलान गर्नेलगायत काम नयाँ ठेक्कामार्फत हुने आयोजना निर्देशक झाले बताए।

“निर्माण कम्पनीले बोलपत्र हालेपछि दुई महिनाजति सम्झौतालगायत प्रक्रिया पूरा गर्न लाग्नेछ”, उनले भने, “ठेकेदारले निरन्तर काम गर्‍यो भने आगामी दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।”

पुल निर्माण अलपत्र भएकै अवस्थामा एक वर्षअघि हुलाकी सडक निर्देशनालयको पहलमा अभियान कन्सल्टेन्ट काठमाडौंले ‘रिभ्यू’ गरेको थियो । विज्ञसहितको टोलीले स्थलगत अनुगमन गरेपछि नदीले धार परिवर्तन गर्दा समस्या आएको भन्दै पुलको उचाइ नपुग्ने र बढाउनुपर्ने सुझाव दिएको थियो । हाल उक्त टोलीको सुझावअनुसार नयाँ ठेक्कामार्फत काम गर्न लागिएको आयोजनाले जनाएको छ।

निर्माणकै क्रममा बागमती नदी पूर्ण रूपमा सर्लाहीतिर बग्न थालेपछि समस्या भएको हो । अहिले पुलको स्पान नदी किनारमा छ  भने नदी अर्कैतिर बगिरहेको छ । यो पुल बनेपछि तराई-मधेशका जिल्ला एक आपसमा जोडिने र लाखौं स्थानीयबासीलाई आवतजावतमा सहजता थपिनेछ।

यसैलाई मध्यनजर गर्दै संसदीय समिति, जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक आयोजनाले अनुगमन गरी निर्माण थाल्न पटक-पटक दबाब दिँदै आएका थिए। काम रोकेको ठेकेदार कम्पनीले भने क्षतिपूर्ति माग गर्दै दुई वर्षअघि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको फैसला गर्दै अदालतले पुल जुन अवस्थामा छ, त्यही अवस्थाबाट अर्को बोलपत्रमार्फत काम गराउन आदेश दिएको थियो । अदालतकै आदेशानुसार ठेकेदार कम्पनीलाई क्षति पूर्तिबापत पुरानो कामको भुक्तानी दिन लागिएको आयोजनाले जनाएको छ ।

स्पान निर्माण गरेबापत लुम्बिनी बिल्डर्सले दुई करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको आयोजना निर्देशक झाले बताए।

निर्माणमा किन ढिलाइ भएको थियो ?

हुलाकी सडककै कारण पुल निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका विष्णु शर्माले बताए। उनका अनुसार काम बन्द भएपछि आयोजनाले नै समयमा ‘साइट’ उपलब्ध गराउन नसकेको र पुरानै दररेटमा काम गर्न नसक्ने भएपछि आफ्नो पक्षबाट ठेक्का तोडेको बताए। निर्माणको काम शुरु गर्न लाग्दा स्थानीयस्तरमा अवरोध भएपछि करिब १३ महिना साइट उपलब्ध हुन नसकेको ठेकेदार कम्पनीको भनाइ छ।

आयोजनाले चाँडै काम शुरु गर्न निर्माण कम्पनीलाई धेरै पटक पत्राचार गरेको जनाएको छ। निर्माण कम्पनी, हुलाकी सडक निर्देशनालय र पुल महाशाखाका प्रतिनिधिबीच यसबीचमा धेरै पटक छलफलसमेत भएका थिए । निर्देशनालयले काम शुरु गर्न भनेपछि युद्धस्तरमा काम शुरु भएको र नदीले धार बदलेपछि काम बन्द गरिएको ठेकेदार कम्पनीले जनाएको छ।

समयमै पुल बनेको भए मुख्यतः रौतहट र सर्लाहीबासीलाई आवतजावतमा निकै सहज हुन्थ्यो । अहिले दुवै जिल्लावासी डुंगा चढेर नदी वारपार गर्छन्। वर्षायाममा भने आवतजावत ठप्प हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved