दलित निर्वाचन क्षेत्र आरक्षित हुनुपर्दछ : यादव

नेपालभ्युज

दलित निर्वाचन क्षेत्र आरक्षित हुनुपर्दछ : यादव

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलितका लागि बेग्लै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने माग गरेका छन्। वर्तमान संविधानमा धेरै विषयहरू समावेश हुनबाट छुटेकाले संविधानको परिमार्जन एवं संशोधन आवश्यक भएको उनले बताए।

राजनीतिक सहभागिता सुनिश्चित गर्नसकेमात्रै दलित समुदायको उत्थान हुने धारणा उनले राखे। ‘अब आउने निर्वाचन निक्कै महँगो हुन लागेको र प्रदेश २ मा एउटा पनि यस्ता दलित छैन जसले ठूलो रकम खर्चेर निर्वाचन जित्न सक्छ । त्यसैले दलित निर्वाचन क्षेत्र आरक्षित हुनुपर्दछ,’ पार्टीको समाजवादी दलित मुक्ति सङ्गठन नेपालको राष्ट्रिय भेलाको जनकपुरधाममा उद्घाटन गर्दै उनले भने।

दलितलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त नबनाएसम्म मुलुकको गरिबी हटाउन नसकिने उनले बताए।

वर्ण व्यवस्थाका कारणले दलितमाथि सदियौँदेखि विभेद भएकाले सो व्यवस्थालाई परिवर्तन नगरेसम्म विभेद कायमै रहने बताए।

अध्यक्ष यादवले भने, ‘दलित समुदायहरु अहिले पनि न्याय पाउनबाट वन्चित छन् । सरकारी तथा राजनीति क्षेत्रमा प्रतिनिधित्व गर्न पाएमा मात्र न्यायका लागि लड्न सक्छन्, दलितहरुको समृद्धिका लागि शिक्षा र रोजगारी महत्वपूर्ण छ र यो दायित्व राज्यले निर्वाह गर्नुपर्दछ।’

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा रहेका १८ प्रतिशत दलितलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त नबनाएसम्म प्रदेश एवं देशको विकास हुन नसक्ने बताए। प्रदेश सरकारले दलित सशक्तीकरण ऐन ल्याएर विभिन्न प्रकारको सेवा तथा सुविधा प्रदान गर्ने नीति लिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved