भूकम्पले फेरेको जीवन : मिस्त्री भइन् मनमाया (भिडिओसहित)

पुननिर्माण अभियानमा सीपमुलक तालिम लिएर श्रमिकका रूपमा काम गर्न थालेपछि उनको जीवन बदलियो।

भूकम्पले फेरेको जीवन : मिस्त्री भइन् मनमाया (भिडिओसहित)

गोरखा। १२ बैशाख ०७२, सम्झिँदै आङ जिरिङ्ग हुन्छ, डरले। आम नेपालीको जीवनमा कहर बनेर टुटेको त्यो दिनले गोरखाकी मनमाया सुनारलाई पनि कसरी छोड्थ्यो र ? झन् गोरखाकै बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो। उनी गोरखाको सदरमुकामस्थित वडा नं ११ मा रहेको दलित वस्तीमा बस्थिन्।

अरु धेरै झै उनी पनि भूकम्पको चपेटामा परेर बेघर भइन्। श्रीमान् केहीअघि मात्रै चार सन्तानसहित उनलाई छाडेर भागेका थिए। त्यसमाथि प्राकृतिक विपद्को वज्रपात परेपछि उनी असहाय भइन्। सन्तानसहित पालमुनि गुजारा गर्नुपर्ने भयो।

दिन बित्दै जाँदा मनमायाको जीवन पनि बद्लियो। भूकम्पले क्षतिग्रस्त भएका घरहरूको पुननिर्माण अभियान अति प्रभावित जिल्लाहरूबाट शुरु भयो। गोरखा भूकम्पले अत्यधिक प्रभावित जिल्लाहरू मध्येकै एक थियो। विदेशी सरकार, दातृ निकायहरू प्रभावित मानिसलाई राहत र पुनर्स्थापनाका प्याकेज लिएर गाउँतिर आउन थालेपछि त्यसबाट मनमाया पनि लाभान्वित भइन्। कतिसम्म भने, पुननिर्माण अभियानमा सीपमुलक तालिम लिएर श्रमिक रूपमा काम गर्न थालेपछि उनको जीवन बदलियो।

‘‘घर निर्माणको सीप सिकेर अहिले म मिस्त्रीको काम गर्छु’’, मनमायाले खुसी हुदै भनिन्, ‘‘सीप भएपछि पारिश्रमिक पनि हुने रैछ। अहिले म दैनिक ८ सय कमाउछु। यसले मेरो जिवन धेरै हदसम्म्म सहज भएको छ।’’

भूकम्पले क्षति भएका घरहरूको पुर्ननिर्माणको काम अहिले सकिएको छ। “पुर्ननिर्माणको क्रममा त भ्याइ-ननभ्याई हुन्थ्यो” उनी थप्छिन्। पुर्ननिर्माणको काम सकिएपछि बेलाबखत आफ्नै गाउँ टोलमा पनि उनी काम पाउँछिन्। तर बजारतिर उक्लेमा काम पाउने पीर उनलाई हुँदैन। ‘‘त्यहाँ प्रशस्त निर्माणका काम भइरहन्छन्। काम पाउन गाह्रो छैन’’, उनले भनिन्।

चार सन्तामध्ये दुई छोरा काम गर्छन्, एउटा काठमाडौं र अर्को भरतपुरमा। बाँकी दुई साना साना छोरी छन्। त्यसैले उनी कामका लागि बजार जान सक्दिनन्। तथापि मिस्त्रीको सीप जानेकाले उनको आत्मविश्वास बढेको छ।

सीप नहुँदा उनले दैनिक सयदेखि दुई सयसम्म ज्याला पाउँथिन् भने अहिले ८ सय कमाउँछिन्। धेरै पारिश्रमिक पाउँदा दैनिक छाक टार्ने समस्या मात्रै हल भएको होइन, उनलाई आफ्नो सामाजिक हैसियत र महत्व बढेको अनुभूति हुन्छ। भन्छिन्, ‘‘गर्न नसकिने के रहेछ र ? तालिमको अवसर पाएपछि मिस्त्री हुन सकेँ। शुरुमा पुरुषहरूको सहयोग चाहिन्थ्यो।अब त म एक्लै पनि गर्नसक्ने भएको छु।’’

पक्की घर बनाउन आवश्यक पर्ने बालुवा सिमेन्टको मसला बनाउनेदेखि ईट्टा जोड्नेसम्मको काम मनमाया गर्छिन्। “पहिला हामी ईट्टा बोक्ने वा बनाएको मसला पुर्याउने काम मात्रै गर्न सक्थ्यौं” उनी भन्छिन्, “तर अहिले गारो लगाउने, ट्वाइलेट र बाथरुम बनाउने काम गर्छौ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved