जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएपछि आजलाई निर्धारण गरिएको मतदान स्थगित गरिएको छ।
निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले दिएको जानकारी अनुसार मतदानको विषयलाई लिएर विवाद भएपछि आज लागि निर्वाचन कार्यक्रम स्थगित गर्दै भोलि बिहीबार बिहान ८ बजेदेखि मतदान हुनेछ।
सभापतिका उम्मेदवार कृष्णा यादव र रामसरोज यादव पक्षबीच मतदानको विषयलाई लिएर विवाद उत्पन्न भई झडप नै भएको हो।
जनकपुरधामस्थित अधिवेशनस्थल गोपाल धर्मशालामामा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र शेखर कोइरला-विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद उत्पन्न भएको थियो।
दुवै पक्षको विवादले उग्र लिँदै झडप हुँदा केही कार्यकर्ता घाइते पनि भएका छन्। निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो तर दुई पक्षबीचको विवादको कारण बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको र अब बिहीबार बिहान ८ बजे देखि मतदान हुने निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिए।
Facebook Comment
Comment