अझै भेटिएनन् चन्द्रे कामी

प्रेमीका र उनका बुवा नियन्त्रणमा

अनुसन्धानको लागि प्रहरीले चन्द्रेकी प्रेमिका र उनका बुबा बीरबहादुर मल्ललाई नियन्त्रणमा लिएको छ। दुवै जनालाई मुगु प्रहरीले आइतबार नियन्त्रणमा लिएर हुम्ला प्रहरीको जिम्मा लगाएको हो।

अझै भेटिएनन् चन्द्रे कामी
चन्द्रे कामीको घर भएको गाउँ, सर्केगाड १ नाक्पा

काठमाडौं। अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षले उठाएर लगेको पाँच दिन बित्दा पनि हुम्ला सुर्केगाड १ का चन्द्रे कामी भेटिएका छैनन्। जातकै कारण मागी विवाह सम्भव नभएपछि भागेर बिहे गरेका चन्द्रे र उनकी प्रेमीकालाई माइती पक्षले लगेका थिए। प्रेमीका भने मुगुको सोरुकोट गाउँपालिकाकी ४ लिब्रुमा माइतीघरमै भेटिए पनि चन्द्रे भने अझै फेला परेका छैनन्।

अनुसन्धानको लागि प्रहरीले चन्द्रेकी प्रेमिका र उनका बुवा बीरबहादुर मल्ललाई नियन्त्रणमा लिएको छ। दुवै जनालाई मुगु प्रहरीले आइतबार नियन्त्रणमा लिएर हुम्ला प्रहरीको जिम्मा लगाएको हो।

हुम्लाबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेरम्ब शर्मासहितको टोली घटना अनुसन्धान गर्न मुगुको सोरुकोटस्थित बीरबहादुरको घरसम्म पुगेको थियो। मुगुका डिएसपी सुवास हमालले भने, ‘‘हुम्लामा घटना घटाएर आएकाहरू बीरबहादुर र उनकी छोरीलाई पनि नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न अरू केही फरार छन्। नियन्त्रणमा लिएकाहरूलाई हुम्लाबाट आएका टोलीलाई जिम्मा लगाएर पठाएका छौँ।’’

सुन्तली र चन्द्रेले गत ५ मंसीरमा भागेर विवाह गरेका थिए। केही दिन बाहिरै बसेका उनीहरु उनीहरु २४ मंसीरमा घर फर्किए। २९ मंसीर (बुधबार) राति सुन्तलीको माइती पक्षले दुवै जनालाई घरैबाट उठाएर लगेका चन्द्रेको परिवारले बताएको छ।

प्रहरी गएपछि भागे बीरबहादुरका छिमेकीहरू

घरका अरू सदस्यलाई ढोका थुनेर चन्द्रेलाई हात बाँधेर लगेको देखेको छिमेकीहरू बताउँछन्। तर, बीरबहादुरले भने चन्द्रेलाई नल्याएको प्रहरीलाई बयान दिएका छन्। बीरबहादुरले छरछिमेकीको टोली नै लिएर चन्द्रे र छोरी लिन गएका थिए। आफूले साथै लिएका गएकाहरूको नाम बीरबहादुरले प्रहरीलाई पनि भनेका छन्।

तर, उनीहरु सबैले गाउँ छाडेर गएका छन्। प्रहरी फन्दामा पर्न सक्ने भन्दै उनीहरु भागेको हुनसक्ने मुगुका डिएसपी हमालले भने।
उनले नेपाल भ्यूजसँग भने, ‘‘चन्द्रे र उनकी प्रेमीकालाई यता केटीपक्षले ल्याएको भनिए पनि केटी मात्रै फेला परिन्। केटाको केही पत्ता लागेको छैन। गाउँका केही मानिसहरू जम्मा गरेर लिन गएको भनिए पनि अरू सबै जना फरार छन्। सायद पक्राउ परिने डरले भागेका होलान्।’’

घटनाबारे हुम्लाका डिएसपी हेरम्भ शर्माको टोली पनि मुगुकै सिमानामा गएर अनुसन्धान गरिरहेको छ। मुगुको सोरुकोट गाउँपालिकाबाट नजिकै पर्ने हुम्लाकै एक प्रहरी चौकीमा टोली बसेको छ।

मुगुका डिएसपी हमालले भने,‘‘उहाँहरू सीमा क्षेत्रमा रहेको चौकीमा बस्नुभएको छ। त्यहाँबाट यताको केटी पक्षको गाउँ नजिक पर्ने हुँदा अनुसन्धानमा सहज होस् भनेर यतै बस्नुभएको हो। दिउँसो मैले माथि डाँडामा गएर फोन गरेको थिए, अहिले तल छु यहाँ मोबाइल नेटवर्क टिप्दैन।’’

श्रमिक मोर्चाले भन्यो बेपत्तालाई सार्वजनिक गर

घटना भएको पाँच दिनपछि ‘श्रमिक समुदाय मोर्चा नेपाल’ले दोषीलाई कारबाही, बेपत्तालाई खोजी गर्न माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै बेपत्तालाई अविलम्ब सार्वजनिक गर्न माग गरेको हो।

उक्त घटनाका दोषीलाई कारबाही गर्न र बेपत्ता चन्द्र विकलाई सार्वजनिक गर्न श्रमिक समुदाय मोर्चा नेपालका संयोजक हर्ष विकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

श्रमिक समुदाय मोर्चा नेपालले जारी गरेको विज्ञप्ति

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved