जात व्यवस्थाको दुष्परिणाम

ओछ्यानबाटै लगे माइतीले, केटालाई बेपत्ता पारे!

कानुनी रूपले अपराध र मानव अधिकारको दृष्टिले क्रूर र अमानवीय व्यवहारका घटना फेरि दोहोरिएको छ। उपल्लो जातकी केटीलाई बिहे गरेको भन्दै हुम्ला सुर्केगाड गाउँपालिका १ नाप्काका चन्द्रे कामीलाई केटी पक्षले ओछ्यानबाटै अपहरण गरी बेपत्ता बनाएका छन्।

ओछ्यानबाटै लगे माइतीले, केटालाई बेपत्ता पारे!
हुम्ला सुर्केगाड १ नाप्का (चन्द्रे कामीको घर भएको गाउँ) र, मुगुको सोरुकोट (सुन्तलीको घर भएको ठाउँ)को नक्सा र संकेत।

काठमाडौं। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा अन्तरजातीय विवाहकै कारण जाजरकोटका नवराज विक र उनका  पाँच साथीहरूलाई लखेटी-लखेटी हत्या गरे।

हातखुट्टा बाँधेर भेरीमा फालियो। यो घटनाविरुद्ध मुद्दा चल्यो, अनुसन्धान भयो तर डेढ वर्ष बितिसक्दा पनि पीडितले न्याय पाएनन्।

यो घटना सेलाउन नपाउँदै सोही प्रकृतिको घटना हुम्लामा दोहोरिएको छ। अन्तर्जातीय विवाह गरेको भन्दै हुम्ला सुर्केगाड गाउँपालिका-१ नाप्काका नञ्जय कामीको छोरा चन्द्रे कामी (१८ वर्ष) लाई केटी पक्षले अपहरण गरी बेपत्ता बनाएका छन्।

विवाह गर्ने र बरवधु छान्न पउने हक मानवीय मात्र होइन, कानूनी अधिकार पनि हो। तर ‘माथिल्लो जातकी केटीसँग प्रेम विवाह गरेको भन्दै’ हुम्लाका एक दलित युवालाई बेपत्ता बनाइएको हाे।

नेपालको कानूनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५८ वर्ष बितसकेको छ। मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय भनेको छ। २१ जेठ ०६३ मा मुलुक छुवाछूतमुक्त राष्ट्र घोषणा नै भयो। यो भनेको हरेक नागरिकको अधिकार मात्र होइन मानवीय मर्यादा र सम्मान समेत समान हुने भनिएको हो। तर, कानूनी रूपले अपराध र मानव अधिकारको दृष्टिले क्रूर र अमानवीय व्यवहारका घटना फेरि दोहोरिएको छ।

हुम्ला सुर्केगाडका चन्द्रेले छिमेकी जिल्ला मुगुको सोरुकोट गाउँपालिकाकी ४ लिब्रुकी वीरबहादुर मल्लकी १७ वर्षीया छोरी प्रेमिकासँग प्रेम विवाह गरेका थिए।

‘तल्लो जातिले माथिल्लो जातकी केटीलाई भगाएको’ भन्दै माइती पक्षले चन्द्रे र प्रेमिका दुवैलाई लगेका केटा पक्षले बताएको छ। २९ मंसीर मध्यरात १२ बजे माइती पक्षबाट आएका करीब २० जनाको टोलीले कुटपिट गर्दै उनीहरूलाई लगेर बेपत्ता बनाएको चन्द्रेका दाजु नाता पर्ने गगन लोहारले बताए।

माइती पक्षले घरबाटै निर्घात कुटपिट गर्दै लगेको चन्द्रेको अवस्था अज्ञात रहनु शंकाको विषयमा बन्न पुगेको छ। मध्यरात घरबाट उठाएर ल्याएको चन्द्रेको अवस्थाबारे केही नबताउने माइती पक्षको भूमिका शंकास्पद देखिएको छ।

चन्द्रे कामीको घर भएको गाउँ, सर्केगाड १ नाक्पा

सुतेको ठाउँबाटै लगे केटाकेटीलाई

चन्द्रे र प्रेमिकाले प्रेम विवाह गरेका थिए। उनीहरू घर नआई सर्केगार्ड गाउँपालिकाकै रीप गाउँमा बस्दै आएका थिए। घर फर्किएको दुई दिनमै माइती पक्षले चन्द्रेलाई कुटपिटका साथै दुवै जनालाई घरबाट लगेर बेपत्ता बनाएको गगनले बताए।

गगन लोहार, चन्द्र कामीका नाताले दाजु

‘‘भाइ चन्द्र साढे २ वर्षयता प्रेम सबन्धमा रहेछन्। परिवारले प्रेमिकाको अन्तै बिहे गरिदिने भएछन्। उनले मानिनन्। लामो समययता आफूहरू प्रेममा रहेको र चन्द्रेसँगै बिहे गर्ने बताए पनि परिवारले मानेनन्। ५ मंसीरमा चन्द र उनकी प्रेमिका भागे। १९ दिन बाहिर बसेछन्। २४ मंसीरमा घर फर्किए। चन्द्र र उनकी प्रेमिका भागेदेखि नै प्रेमिकाका परिवारले खोजिरहेका रहेछन्,’’ गगनले नेपाल भ्यूजसँग भने, ‘‘उनीहरू घर फर्किएको थाहा पाएछन्। २९ मंसीर मध्यरात १२ बजे माइती पक्ष चन्द्रको घर आए। उनीहरूको समूहमा २० जना जति थिए। घरका अरु मान्छे सुत्ने कोठामा चुकुल लगाइदिएछन्। चन्द्र र प्रेमिकालाई कोठाबाट निकाले। कुटपिट गरे। उनीहरू जस्तो अवस्थामा सुतेको त्यस्तै अवस्थामा नाङ्गै अपहरण गरी लगे। पछि अरू परिवार ढोका फोडेर बाहिर निस्किए।’’

चन्द्र कामीले प्रेमिका मल्ललाई भगाएर राखेको हुम्ला सुर्केगाडको रीप गाउँ, जहाँबाट उनीहरू तीन दिनअघि मात्रै फर्किएका थिए।

प्रेमिका माइतीमा भेटिइन्, भेटिएनन् चन्द्रे

सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले घटना भएको भोलिपल्ट १ पुषमा माइती पक्षमा जाँदा प्रेमिका भेटिएको बताए। तर, तर चन्द्रलाई नभेटिएको उनले सुनाए। माइत पक्षले भने चन्द्रेलाई नल्याएको बताएपछि प्रहरीले अनुसन्धान जारी राखेको रोकायले बताए।

कृष्ण रोकाया, अध्यक्ष, सर्केगाड गाउँपालिका, हुम्ला

अघिल्लो दिन राति घरमा सुतेको मान्छेलाई अपहरण गरेर लैजाने अनि भोलिपल्ट आफूहरूले नल्याएको बताउनाले उनीहरूको भूमिका शंकास्पद लागेको उनले बताए।

‘‘धनञ्जय कामीको घरमा राति बुहारीको माइती पक्ष आएछन्। छोरा चन्द्रे र बुहारी प्रेमिकालाई लिएर गएछन्। कुटपिट गर्दै लगेको परिवार र छिमेकीले बताए। भोलिपल्ट प्रहरीमा गएका थियौँ। प्रहरी टोलीसँग खोज्न गयौँ। छिमेकी जिल्ला मुगुको सोरुकोट ४ लिब्रुमा पुग्दा माइती घरमा प्रेमिकालाई लुकाइएको रहेछ। तर चन्द्रलाई कतै भेटिएन,’’ अध्यक्ष रोकायले नेपालभ्यूजसँग भने ‘‘चन्द्रेको बारेमा सोध्दा माइत पक्षले आफूहरूले नल्याएको बताए। अघिल्लो दिन राति घरबाट अपहरण गरेर ल्याउने तर भोलिपल्ट आफूहरूले नल्याएको बताएपछि घटना शंकास्पद लाग्यो। प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको छ।’’

भौगोलिक विकटताले अनुसन्धान प्रभावित

भौगोलिक विकटताका कारण अनुसन्धान प्रभावित भएको छ। घटनास्थल र प्रहरी चौकीबीच दूरी निकै टाढा रहेकाले अनुसन्धानका लागि प्रहरी टोली शनिबार मात्रै पुगेको छ। घटनाको जानकारी पाएलगतै प्रहरी परिचालन भए पनि एक टोली शनिबार मात्र पुगेको हो।

सुवाश हमाल, प्रहरी नायब उपरीक्षक, मुगु

मुगु प्रहरी प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक सुवाश हमालले अर्को टोली शनिबार फेरि माइती गाउँतर्फ पठाइएको बताए। हुम्ला प्रहरीसँगको समन्वयमा अनुसन्धान भइरहेपनि चन्द्रेको बारेमा पत्ता लाग्न नसेकेको उनले सुनाए।

हमालले भने, ‘‘युवती सम्पर्कमा आएकी छन्। तर, युवक अहिलेसम्म बेपत्ता छन्। युवकलाई पनि आफ्ना परिवारले सँगै ल्याएको युवतीले बताएकी छन्। तर, युवक कता छन् के छन् परिवारले बताएका छैनन्।’’

यता घटनाबारे हुम्ला प्रहरीले पनि अनुसन्धान गरिरहेको छ। हुम्लाका नायव उपरीक्षक हेरम्भ शर्माले भने, ‘‘खोजी कार्य तीव्र गरिरहेका छौँ। तर, अहिलेसम्म युवक पत्ता लाग्न सकेको छैन। युवती सम्पर्कमा आएको सूचना प्राप्त भएको। थप अनुसन्धानका लागि म आफैं घटनास्थलमा जाँदै छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved