बुद्ध एअरको अर्को लापरबाही

प्राविधिक समस्या भएको बुद्धकाे जहाज, आकाशमै इन्जिन बन्द !

भरतपुरबाट काठमाडौंका लागिका लागि बिहीबार प्राविधिक समस्या भएको विमानलाई जोखिम मोल्दै उडाएपछि इन्जिनमा विस्फोट भएको छ। बुद्ध एअरले जानाजान प्राविधिक समस्या भएको विमान उडाएर आफूहरूको जीवनमाथि खेल भाँड गरेको यात्रुहरूले आरोप लगाएका छन्।

प्राविधिक समस्या भएको बुद्धकाे जहाज, आकाशमै इन्जिन बन्द !
भरतपुर विमानस्थल/फाइल तस्वीर

काठमाडौं। बुद्ध एअरको लापरबाहीका कारण फेरि अर्को घटना भएको छ। भरतपुरबाट काठमाडौंका लागि बिहीबार प्राविधिक समस्या भएको विमानलाई जोखिम मोल्दै उडाएपछि इन्जिनमा विस्फोट भएको छ। यद्यपी फोर्स ल्यान्ड गरेर १९ यात्रु र ३ जना विमान क्रुलाई पाइलटले बचाएका छन्।

मध्यान्ह साढे १२ बजेपछि नाइन एन एईईको उडान नम्बर ३६० जहाज उडेको केहीबेरमै बायाँ इन्जिन विस्फोट भयो। विमानभित्र समेत देखियो। केही फन्का आकाशमा उडाएर सोही विमानस्थलमै स–कुशल अवतरण गरियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरका अनुसार  प्राविधिक समस्या भएको विमानलाई जोखिम मोल्दै उडाइएकाे थियाे।

धन्न, जहाज ठुलो दुर्घटना हुनबाट जोगियो। घटनापछि बुद्ध एअरले जानाजान प्राविधिक समस्या भएको विमान उडाएर आफूहरूको जीवनमाथि खेल भाँड गरेको यात्रुहरूले आरोप लगाएका छन्। यद्यपी घटनाबारेमा छानबिन हुँदैछ।

जानाजान बिग्रिएकाे विमान उडाएको यात्रुहरूको आरोप छ। विमान मर्मतकै लागि एक घण्टा ढिलो उडाइएको यात्रुहरूको दाबी छ।

यात्रुको अनुभव

प्राविधिक समस्या भएको विमान उडाएर बुद्ध एअरले आफूहरूलाई झन्डै मृत्युको मुखमा पुर्‍याएको यात्रु शकु शाहको आरोप छ। बुद्ध एअरले अर्को विमानमा काठमाडौं पठाउने भनेपछि आफूहरू गाडी रिजर्भ गरेर काठमाडौं फर्किएको उनले बताइन्। बुद्ध एअरको विमानमा भरोसा नभएकाले गाडीमै ५ घण्टा लामो यात्रा गरेको उनले सुनाइन्।

‘हामीले टिकेट लिएको नाइन एन एईईको उडान नम्बर ३६० जहाजको बिहान साढे ११ बजेको उडान तालिका रहेको थियो। पौनै १२ बजेको, साढे १२ बजेको अरू उडान भयो। तर पौने त्यसअघिकै तालिका रहेको विमान उडेन। पछि हल्ला सुनियो। त्यो विमानमा प्राविधिक समस्या आएकोले मर्मत हुँदै रहेछ। यसकारण सामान्य मर्मतपछि उडान तालिकाभन्दा एक घण्टा ढिलो विमान उडाउने भयो। पछि यात्रुलाई बोलाइयो। हामी विमान चढ्यौ। विमान चढ्दा केही नमिठो गन्ध आइरहेको थियो। तर, त्यसलाई सबैलाई सबैले बेवास्ता गरे। विमानको इन्जिन अन नै थियो। एक छिनमा विमान गुड्यो। रनवेबाट केही मिटरपर गुडेपछि टेकअप भयो। विमानले बिस्तारै उचाइ लिँदै थियो। विमानले पुरा उचाइ नलिँदै ठुलो आवाजमा विफोष्ट भयो। लगतै विमान पिङ मच्चिए जस्तै मच्चियो। यात्रुहरू चिच्याउन थाले। धुवाँले विमान भरियो। दायाँबायाँ तलमाथि गरिरह्यो। विमान हल्लिँदै थियो।

माथि उचाइ लिइरहेको विमानलाई उचाइ घटाइँदै लगियो। विमानस्थलमै फर्काइएको रहेछ। विमानमा यात्रुहरू रुन र कराउन छाडेका थिएनन्। हामीले बाँच्ने आशा मारिसकेका थियौँ। किनभने एयर होस्टेज समेत आत्तिइसकेका थिए। मलाई पनि अब बाँचिँदैन कि क्या हो जस्तो लागेको थियो। क्याबिन क्रुबाट नआत्तिन भन्दै आग्रह गरिँदै थियो। म सेकेन्ड लास्ट सीटमा थिए। विमान ल्यान्ड भयो। केही मिटरको रनवे पारपछि विमान रोकियो। हामीलाई भगवानले मात्र बचाएको जस्तो लाग्छ। भगवान् पशुपति नाथको कृपाले बाँच्यौँ। सबैजनाले हात जोडेर भगवान् सम्झिँदै हतार हतार विमानबाट बाहिर निस्किएँ।

सबै जना हामीलाई बचाउने क्याप्टेनलाई धेरै धेरै धन्यवाद भन्दै बाहिर निस्किए। विमानबाट सबै यात्रु ओर्लिएपछि अर्को विमानमा लैजान्छौं भनेर बुद्ध एअरका कर्मचारीले भने। तर, बल्ल बल्ल बाँचियो भन्दै नयाँ जीवन पाएको महसुस गरेका यात्रुहरू सबैले टिकेट फिर्ता गरे।

पैसा फिर्ता लिए। विमानमा भएकाहरू त दोस्रो जीवन पाएको भन्दै खुसी मनाए। विमानस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अरू यात्रुहरूले दुर्घटना टरेकोमा खुसी साटासाट गरे। विमानस्थलबाट बाहिररियौं। हामी केही यात्रुहरू मिलेर स्ककिर्याे रिजर्भ गयौँ। फकिर्यौं।’’

घटना लुकाउँदै बुद्ध

बुद्ध एयरले भने यति ठुलो घटना लुकाउँदै सामान्य जानकारी मात्रै सामाजिक सञ्जालमा राखेर पन्छिएको छ। ‘‘बायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई तत्कालै सकुशल अवतरण गराइएको छ’ बुद्धले भनेको छ। तर, यात्रुलाई चित्त बुझ्दो गरी घटनाको विस्तृत जानकारी गराइएको छैन।

यस विषयमा बुद्ध एअरका जनसम्पर्क अधिकृत रूपक जोशीले सुरक्षामा कुनै लापरबाही नगरिएको दाबी गरे। बरु सुरक्षा सावधानी अपनाएर लगत्तै भरतपुरमै विमानस्थलमा अवतरण गरिएको उनले बताए। घटनाबारे अध्ययन गर्न कम्पनीले एउटा आन्तरिक छानबिन समिति गठन गरेको एक कर्मचारीले बताए।

घटनाबारे छानबिन गर्छौं : प्राधिकरण

बिहीबारको घटनाको सम्बन्धमा आफूहरूले अध्ययन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले घटनाबारे जानकारी भएको र प्राविधिकले परीक्षण गरेपछि थप विवरण आउने बताए।

राजकुमार क्षेत्री, महानिर्देशक, नागरिक उड्डयन प्राधिकरण

‘‘बायाँ इन्जिन सर्ट डाउन भएको रहेछ। तरपनि दायाँ इन्जिनको सहायताले फेरि विमानस्थलमै ल्यान्ड गरियो। फ्लाइट टेकअप हुनासाथ इन्जिन सर्टडाउन भयो। धेरै माथि उचाइ नलिँदै र धेरै पर नपुग्दै समस्या देखियो। यदि विमान धेरै पर उडिसकेको भए के हुन्थ्याे भन्न सकिन्न।

तर धेरै विमानस्थलबाटबाट टेकअप हुनासाथ इन्जिन बन्द भयो। यस कारण तत्कालै ल्यान्ड भयो,’’ निर्देशक क्षत्रीले नेपालभ्यूजसँग भने, ‘‘हाम्रो टिम पनि त्यहाँ गइसकेका छन्। उनीहरूको प्राविधिक टिम पनि गइसकेको छ।अब के भएको हो भन्ने चेकजाँच हुन्छ। थप विवरण त्यसपछि थाहा हुन्छ, समस्या सामान्य हो जस्तो लागेमा कम्पनीलाई सचेत गराएर सुरक्षा अभिवृद्धि गर्न लगाइने छ।” यदि जानाजान खराब विमान उडाइएको थाहा भएमा कारबाही हुने उनले बताए।

 

याे पनि पढ्नुस्

बुद्धकाे जहाजमा के भएकाे हाे? किन दोहोरिइरहन्छ?

किन दोहोरिरहन्छ बुद्ध एअरको जहाजमा समस्या ?

११ असोजमा काठमाडौँबाट पोखरा उडेको बुद्ध एअरकै जहाजमा आकाशकै धुवाँ आएर फर्किएको थियो। सोही दिन चालक दलका चार सदस्यसहित ७७ जना लिएर काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो। ल्यान्डिङ गियर खुलेपछि आकाशमा दुई घण्टा फनफनी घुमाएपछि फोर्स ल्यान्ड गराइएको थियो।

११ साउनमा बुद्धको एक जहाज काठमाडौँबाट धनगढीका लागि उडेको समयमा प्राविधिक समस्या आएपछि काठमाडौं नै डाइभर्ट गरी अवतरण गराइएको थियो। सोही दिन काठमाडौँबाट नेपालगन्ज उडेको जहाजमा समस्या आएको थियो।

नेपालमा ‘इन्सिडेन्ट (दुर्घटना बाहेकका घटना)’ हरुमा छानबिन समिति बनाउने प्रचलन छैन। तर, आन्तरिक रुपमा प्राविधिकले गर्ने अध्ययनबाट समस्या पहिचान गरिनेछ। यात्रुले भने नेपालमा जहाजहरू थोत्रा पुराना भएकाले समस्या आएको हो कि भन्दै आंशका गर्छन्।

हवाई इन्जिनियरहरूले भने समग्र जहाजको आयुभन्दा त्यसमा राखिएका छुट्टा–छुट्टै पार्टपूर्जामा आउने समस्याका कारण प्राविधिक समस्या देखिन्छ, जसलाई जहाजको आयुसँग जोडेर हेर्न मिल्दैन।

जहाजमा इन्जिनदेखि हरेक पाटपूर्जाको छुट्टा–छुट्टै आयु हुन्छ। त्यो आयु अनुसार सबै ठिकठाक छ की छैन भनेर निरन्तर चेकजाँच गर्नुपर्ने हुन्छ। तर, धेरै लापरबाही गरिएकाले यस्ता घटना दोहोरीरहने प्राधिकरणका एक पूर्वमहानिर्देशक बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved