वीर अस्पतालको चिसोमा जो बिरामी कुरिरहेछन्

“त्यो पैसा पनि सकिइसक्यो”, पाँच र १० रुपैयाँका केही नोट देखाउँदै उनले भने, “अब यत्ति बाँकी छ, खोई! केले बुढीको उपचार गराउने हो ?”

वीर अस्पतालको चिसोमा जो बिरामी कुरिरहेछन्

काठमाडौं। झन् पछि झन् चिसो बढ्दै गएको मंसीरको चिसो। रातको १० बज्नै लागेको थियो। वीर अस्पतालको मूल ढोका छेउमै कार्टुनमाथि उनी सुतिरहेका थिए। सिरानीमा धुलोमैलो चप्पल थियो। पातलो तन्नाले शिरदेखि पाउसम्म ढाकेका थिए। झट्ट हेर्दा लाग्दैनथ्यो, त्यहाँ कोही सुतिरहेछ।

वरिपरिको हल्लाले ब्युँझिए उनी। चाउरी परेका गाला, भित्रै गडेका आँखा। अनुहारले देखाउँथ्यो थकान र दुःखले थलिएका छन् उनी।

उनी थिए, धादिङ गजुरीका ५० वर्षिय साइलो रोका। ४५ वर्षे श्रीमती सीता बिरामी भएपछि उनैलाई लिएर काठमाडौं आइपुगेका। तीन छोरा रहेछन्, किशोरवय नकटेका। मेलापात गरेर जिविका चलाउने परिवार उनको।

गत साउनदेखि सीतालाई खुट्टा दुख्न थाल्यो। बिस्तारै पेट पनि दुख्न थाल्यो। गानो गएको भन्दै शुरुमा त झारफुक गरे। तर स्वास्थ्य झनै बिग्रँदै गयो। तल्लो पेट दुख्ने र पिसाब रोकिएर पेट फुलिन थालेपछि उनीहरू उपचारका लागि गल्छी पुगे। त्यहाँको स्वास्थ्य संस्थाले पाटन अस्पताल पठायो। पाटन अस्पतालले पाठेघरको क्यान्सरको आशंका गर्दै भक्तपुर क्यान्सर अस्पताल पठायो। नभन्दै पाठेघरको क्यान्सर शरीरमा फैलिन थालिसकेको रहेछ। भक्तपुर अस्पतालले पठाएपछि उनीहरू वीर अस्पताल आइपुगेका रहेछन।

निम्न र मध्यमवर्गीयको उपचार केन्द्र बनिरहेको देशकै जेठो अस्पतालमा साइलो रोका श्रीमतीलाई निको बनाएर लैजाने आशाले पल्टिरहेका थिए। भुँइमा। कठ्यांग्रिँदो रातमा चिसो टायलमाथि।

गाउँलेले चन्दा उठाएर दिएको १० हजार रुपैयाँ बोकेर आइपुगेका रहेछन् उनी।

“त्यो पैसा पनि सकिइसक्यो”, पाँच र १० रुपैयाँका केही नोट देखाउँदै उनले भने, “अब यत्ति बाँकी छ, खोई! केले बुढीको उपचार गराउने हो ?”

अघिल्लो दिनदेखि खाना नखाएका साइलोलाई न भोकको सुर्ता थियो न चिसोको डर।

“उता बुढिलाई अगाडिपट्टि (इमेजेन्सी) मा राखेका छौं, बेड पाउनै चार–पाँच घण्टा नै कुर्नु पर्‍यो, दुख्यो–दुख्यो भन्दै कराउछे, छटपटाउछे अघिसम्म डाक्टर पनि हेर्न आएका थिएनन्, आफुसँग पैसा पनि छैन्”, उदास हुँदै उनले सुनाए।

कुरा गर्दै थिए, श्रीमतीको अवस्था बुझ्न उनी इमरजेन्सी वार्डमा गए। आफ्नै छेउबाट पति गएको उनकी श्रीमतीले पत्तै पाइनन्। रातो ब्ल्याङ्केट ओढेर आँखा बन्द गरेकी थिइन् उनले।

उपचाररत सीता

“यसले पनि निकै दुःख पाउने भई, मुख पाकेर जे पायो त्यही खान पनि मिलेको छैन अरू किन्ने क्षमता पनि छैन के गर्ने गरिबी ?”, उनले थक्थकाउँदै भने।

श्रीमतीको छेउमा धेरैबेर बस्न सकेनन् उनी। एकैछिनमा निस्किहाले। नजिकैको कुर्सीमा बसे। लामो सास फेरे मानौं ठाडो उकालोमा गह्रुंगो भारी बोकेर आएका हुन्।

“गाउँलेले पनि कति पटक सहयोग गरुन् ?”, आफैसँग गुनगुनाइरहेसरी भने उनले, “अब कसरी पैसा जुटाउने हो त्यहि पिरलोमा छु, बेच्नका लागि पनि केहि छैन, भिरालो सानो टुक्रा पाखो छ त्यो कसैले किन्दैन।साहुको बारीमा मकै लगाएका थिए सबै किराले खाइदिए के गर्ने ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved