कांग्रेस महाधिवेशन उद्घाटन सत्र

संविधानप्रति फरक-फरक धारणादेखि नेतृत्वबारे घोचपेच

भारतीय नेताहरूले खुलेर प्रशंसा गरे

शुक्रबार अबेर दिउँसो काठमाडौँको भृकुटीमण्डपमा शुुुरु भएको महाधिवेशनको उद्घाटन कार्यक्रममा कांग्रेसकै शीर्ष नेताहरूले संविधानप्रति फरक-फरक धारणा राखे। उनीहरू त्यतिमै सीमित भने भएनन्। नेतृत्वप्रति घोचपेचसम्म गरे।

संविधानप्रति फरक-फरक धारणादेखि नेतृत्वबारे घोचपेच

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्र सकिएर अबेर रातिबाट बन्द सत्र शुरु भएको छ। बन्द सत्रमा तीन ओटा प्रतिवेदनहरू पारित हुनेछ। शनिबारदेखि कांग्रेस महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका लागु हुँदै छ।

शनिबार उम्मेदबारी मनोनयन गरेर आइतबार मतदान कार्यक्रम राखिएको छ। तर, शुक्रबार अबेर दिउँसो काठमाडौँको भृकुटीमण्डपमा शुुुरु भएको महाधिवेशनको उद्घाटन कार्यक्रममा कांग्रेसकै शीर्ष नेताहरूले संविधानप्रति फरक-फरक धारणा राखे। उनीहरू त्यतिमै सीमित भने भएनन्। नेतृत्वप्रति घोचपेचसम्म गरे।

संविधानबारे फरक-फरक धारणा

शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रममा महामन्त्री शशांक कोइराला बोल्न आउँदा साँझ परिसकेको थियो। महामन्त्री कोइरालाले छोटो सम्बोधन गरे। उनले त्यहाँ कांग्रेसले थुप्रै काम गर्न आवश्यक रहेको बताए।

संविधान जारी आफूहरूको नेतृत्वमा भएको बताएका उनले संविधान ‘लकिरको फकिर’ नभएको भन्दै त्यसलाई समयअनुसार परिमार्जन गर्नुपर्नेमा भने जोड दिए। उनले परिमार्जनको अरू कुरा उल्लेख नगरी सीधै धर्मको विषयमा आफ्नो धारणा राखे भने धर्म निरपेक्षता संविधानमा उल्लेख गर्नु ठिक नभएको बताए।

‘‘यो मलाई मन परेका छैन’’, कोइरालाले भने, ‘‘धर्म निरपेक्ष वा सापेक्ष हुनै सक्दैन, धर्म स्वतन्त्र हुन्छ। त्यसैले धार्मिक स्वतन्त्रताको भन्ने शब्दावली संविधानमा उल्लेख गर्नुपर्छ,’’ तर उनले त्यसका लागि व्यापक छलफलको खाँचो भने आवश्यक रहेको बताएका थिए।

तीन वर्षअघि काठमाडौंमा भएको कांग्रेस महासमिति बैठकमा सात सयभन्दा बढी प्रतिनिधिहरूले संविधानमा रहेको धर्मनिरपेक्षताको विरोधमा हस्ताक्षर गरेर महासमितिमा पेस गर्न खोजेका थिए। तर सभापति देउवाले अन्त्यमा त्यसलाई रोकेका थिए। एकाथरीले कांग्रेस महाधिवेशनमा धर्म मुद्दामा प्रवेश पाउन सक्ने आकलन गरिरहँदा महामन्त्री कोइरालाले उद्घाटन सत्रकै सार्वजनिक मञ्चबाट यो मुद्दालाई महाधिवेशनमा प्रवेश गराएका छन्।

तर, रोचक के छ भने महामन्त्री कोइरालालगत्तै सम्बोधन गर्न गएका उपसभापति विमलेन्द्र निधिले भने धर्म निरपेक्षतासहित संघीयता, गणतन्त्रसहित उपलब्धिलाई महत्त्वपूर्ण भन्दै यसको संस्थागत विकासका लागि कांग्रेसको एकल बहुमतीय सरकार आवश्यक रहेको दाबी गरे। उपसभापति निधिले पछिल्लो २० वर्षमा तीन ओटा प्रमुख राजनीतिक उपलब्धि देशमा भएका र त्यसको नेतृत्व कांग्रेसले गरेको दाबी पनि गरे।

निधिले माओवादीको १० वर्षे जनयुद्ध अन्त्य गरिँदै भएको शान्ति प्रकिया, संविधानसभाको निर्वाचन गरेर नयाँ संविधान र नयाँ संविधानमार्फत भएको राज्य पुनःर्संरचना गरी तीन काम राजनीतिक रुपमा महत्त्वपूर्ण भएको जिकिर गरे।

यसले ल्याएको गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षतालगायत मुद्दामा कांग्रेसले नेतृत्व गरेको निधिले दाबी गरे। अब यी कामहरूको संस्थागत विकासका लागि पुनः कांग्रेस नै बहुमतसहित उदाउनुपर्ने उनले बताएका थिए।

पौडेल-देउवा घोचपेच

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बोल्न जाँदा पनि साँझ परिसकेको थियो। चिसो मौसममा यति रातिसम्म खुला ठाउँमा पार्टी कार्यकर्तालाई राख्नु ठिक व्यवस्थापन नभएको उनले शुरुमै गुनासो गरे।भने, ‘‘पार्टीमा समयमा काम गर्ने संस्कृति नै बनेन।’’

त्यसकै परिणतिस्वरूप हतार हतारमा पार्टी महाधिवेशन गर्न लागेको उनको आरोप थियो। भने, ‘‘हामीसँग जसरी पनि महाधिवेशन गर्नैपर्ने बाध्यता आइलागेको छ। त्यही भएर हामी हतार हतारमा महाधिवेशन गर्न लागेका छौं। यो समय छँदै समय तालिका बनाएर राम्रोसँग गरेको भए यस्तो हुने थिएन।’’

पार्टी सभापति देउवाको नाम उल्लेख नगरे पनि पार्टी नेतृत्वको काम गर्ने शैलीको पनि उनले जमेर आलोचना गरे। साथै महाधिवेशन प्रतिनिधिहरूलाई यसबारे मूल्यांकन गर्न अनुरोध गरे।

उनले प्रतिपक्षी दल एमालेको महाधिवेशनको उदाहरण दिँदै आफूहरूको प्रतिस्पर्धी पार्टी अहिले पनि एकदमै बलियो रहेको भन्दै कांग्रेसले त्यसलाई जित्न आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान कार्यशैलीले पार्टी कहीँ नपुग्ने भन्दै सबैलाई आत्मसमीक्षा गर्न पनि आग्रह गरे।

पौडेलले बोलेर गएपछि अन्तिम वत्ताको रूपमा आएका सभापति देउवाले पनि पौडेलमाथि कटाक्ष गरेर आफ्नो सम्बोधन शुरु गरे। देउवाले वरिष्ठ नेता पौडेलले थप चिसो बनाएको भन्दै पाँच मिनेट सानो सम्बोधन गरे। जसमा उनले पौडेलेको आरोपको खण्डन गर्दै आफ्नो नेतृत्वको वर्तमान सरकार आएपछि नागरिकमा खुशी छाएको दाबी गरे। भने, ‘‘मेरो सरकार बन्नु अघिल्लो दिन र सरकार बनेको भोलिपल्ट आम नागरिकको मनोविज्ञानमा परिवर्तन आयो।’’

ओली-नेपाल र प्रचण्डबीच पनि घोचपेच

महाधिवेशनको शुभकामना दिन भृकुटीमण्डप पुगेका नेकपा (एमाले) अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपालबीच पनि घोचपेच भयो। नेकपा फुटेपछि पहिलो पटक एउटै मञ्चमा देखिएका प्रचण्ड, नेपाल र ओलीले पालैपालो सम्बोधन गरेका थिए।

नेपालले शुुुरुमै नाम नलिए पनि ओली नेतृत्वको तत्कालीन आफ्नै पार्टीको सरकारले गरेको कामहरूको विरोध गरे। त्यसैसरी प्रचण्डले पनि नाम नलिए पनि ओलीप्रति इंगित गरेर उनको आलोचना गरेका थिए।

त्यसपछि बोल्न गएका ओलीले आफू शुभकामना दिन आएको भन्दै अन्य नेताहरू जस्तो राजनीतिक मञ्चको कमी नरहेको भन्दै नेपाल र प्रचण्डप्रति व्यङ्ग्य गरे। उनी त्यत्तिमा मात्र समिति रहेनन्। प्रचण्डले यो गठबन्धन बलियो बनाउन गरेको कुरालाई प्रतिवाद गर्दै कतिपय पार्टी र नेतामा कांग्रेसले कति बेला सरकार निकालिदिने हो कि भन्ने पीडा रहेको व्यंग्य गरे।

भारतीय नेताले भने- यस्तो अरू कुनै देशमा देखेका थिइनँ

महाधिवेशनमा शुभकामना दिन भारतीय सत्तारुढ पार्टी भाजपा र भारतीय कांग्रेसका नेताहरू मञ्चमा देखिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा नेता तथा पूर्वमन्त्री हर्षबर्द्धनले एउटा पार्टीको महाधिवेशनमा यसरी सबै राजनीतिक दल र यतिको पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आफूले कतै नदेखेको दाबी गरे।

उनले भाजपा विश्वको सबैभन्दा ठुलो पार्टी भएको दाबी गर्दै भारत मात्रै नभई अन्य देशहरूमा पनि यस्तो आफूले नदेखेको बताए। उनले केही समयअघि एमालेको चितवनमा भएको महाधिवेशनमा पनि आफू सहभागी भएको बताए। उनले यहाँ नेपालका राजनीतिक दलहरूको संस्कारको खुलेर प्रशंसा गरे।

तस्वीरहरू : रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved