जनस्वास्थ्यविद् भन्छन्- ओमिक्रोनसँग नडराऊँ, सचेत बनौं

लकडाउनको तयारी छैन

नेपाल भ्यूजसँग कुराकानी गर्दै जनस्वास्थ्यविद् डा. शरद वन्तले यो भेरिएन्टबाट त्रसित हुनुभन्दा पनि बढीभन्दा बढी जिम्मेवार र सचेत हुन आम नागरिकलाई आग्रह गरेका छन्।

जनस्वास्थ्यविद् भन्छन्- ओमिक्रोनसँग नडराऊँ, सचेत बनौं

काठमाडौं। विश्वका ३५ देशमा फैलिरहेको कोरोना भाइरसको नयाँ स्वरूप ‘ओमिक्रोन’का संक्रमित नेपालमा पनि पाइएपछि यसबारे चासो र चिन्ता बढेको छ।

यसअघि देखिएको डेल्टा भेरिएन्टमा भन्दा बढी उत्परिवर्तन भएकाले यो अझ बढी संक्रामक र घातक हुनसक्ने अनुमान गरिए पनि विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छैन।

जनस्वास्थ्यविद्हरुले भने यो भेरिएन्ट देखिँदैमा त्रसित नहुन र सचेत रहन आग्रह गरेका छन्।

नेपाल भ्यूजसँग कुरा गर्दै जनस्वास्थ्यविद् डा. शरद वन्तले यो भेरिएन्टबाट त्रसित हुनु भन्दा पनि बढीभन्दा बढी जिम्मेवार र सचेत हुन आम नागरिकलाई आग्रह गरेका छन्।

“नयाँ भेरिएन्ट देखियो भनेर आश्चर्यचकित हुनुपर्दैन। यस्ता भेरिएन्ट आउनसक्छन् भनेर धेरै पहिलेबाट अनुमान गरिएको थियो। यो प्राकृतिक प्रक्रिया हो। उत्परिवर्तन हुँदा भाइरस कमजोर पनि हुनक्छ वा झन् शक्तिशाली पनि हुनसक्छ। संक्रमणका हिसाबले ओमिक्रोन शक्तिशाली देखिए पनि यसको संक्रमणका लक्षण भने फरक छैनन्”, डा. वन्तले बताए।

विश्व स्वाथ्य संगठनले यो भेरिएन्टबारे अनुसन्धान गरिरहेकाले यसबारे धेरै व्याख्या गर्न सकिने स्थिति नरहेको उनको भनाइ छ। कोरोना भाइरसका अरू भेरिएन्टजस्तै यो पनि फैलिने माध्यम उस्तै भएकाले सचेत हुन जरुरी रहेको उनले बताए।

“भाइरसले रूप फेरे पनि सर्ने माध्यम अर्थात ‘रुट अफ टान्समिसन’ एउटै हो”, उनी भन्छन्, “त्यसैले संक्रमण रोक्न मास्क र स्यानिटाइजर प्रयोग गर्ने भौतिक दूरी पालना गर्ने, सरसफाइमा ध्यान दिन अत्यावश्यक छ।”

खोप र नेचुरल इम्युनिटी यो भेरिएन्टका लागि कत्तिको उपयोगी हुन्छ भन्नेबारे अहिलेसम्म केही निष्कर्ष नआइसकेको हुनाले यस्तै हो भन्ने अवस्था नभएको उनी बताउँछन्।

“हामीले लगाएको खोपले काम गर्छ भनेर आशावादी बनौं तर विश्वस्त हुन सकिँदैन”, डा. वन्त भन्छन्।

कस्तो छ सरकारको तयारी ?

ओमिक्रोन भेरिएन्ट तिव्रगतिमा फैलिन सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले केही समय पहिले सबै देशका नाकाहरूमा कडाइ गर्न आग्रह गरेको थियो। सोहीअनुरूप यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीर कुमार अधिकारीले बताए।

“नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पीसीआर रिपोर्ट अनिवार्य, पूर्ण खोप लगाएको कार्ड अनिवार्य, लक्षणको जाँच गर्ने तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरूको एन्टीजेन परीक्षण गर्ने गरिएको छ।”

एन्टीजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरूको नमुना संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमुनाहरूको जीन सिक्वेन्सिङ गर्ने गरेको उनले बताए।

उनका अनुसार नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाइएको छ।

के सरकार लकडाउनको तयारीमा छ ?

अहिले नै सरकारले लकडाउन गर्ने कुनै पनि तयारी नगरेको सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

नयाँ भेरिएन्ट देखिनेबित्तिकै सरकारले लकडाउनको तयारी गर्छ कि भन्ने लाग्न सक्ने भए पनि अहिले नै लकडाउनका लागि कुनै तयारी नभएको उनले बताए।

डा. अधिकारी भन्छन्, “लकडाउन विशेष परिस्थितिमा गर्नुपर्ने हुन्छ अहिले नै हामी त्यो अवस्थामा पुगेका छैनौं र जटिलताका हिसाबले हर्ने हो भने पनि हामीले खोपलाई प्रथामिकतामा राख्दै तीव्र गतिमा लगाइहेका छौं, त्यस्तै सबैले पूर्ण रूपमा स्वास्थ्यका मापदण्डहरू पालन गरे भने जनजीवनलाई सहजरू पमा लिएर जान सक्छौं।”

लकडाउनका आर्थिक, सामाजिकलगायत अन्य पाटा पनि रहेकाले त्यसलाई  विश्लेषण गरेर मात्र निर्णय लिनुपर्ने उनले बताए।

“सरकारले अहिले निगरानी बढाउने, जनस्वावस्थ्यका मापदण्डहरू पालना गर्ने, गराउने, खोप अभियान तीव्र गतिमा बढाउने मात्र सोचेको छ”, उनले थपे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved